सहुलियत कर्जा रोकिएपछि लघु तथा साना उद्यममा लगानी प्रभावित
काठमाडौँ– बैंकमा लगानीयोग्य पुँजी अभाव भएसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासपछि देखि नै बैंकहरूले सहुलियतपूर्ण कर्जा रोकेका छन् । जसका कारण कतिपय बैंकको एमएसएमईज (लघु, साना तथा मझौला उद्यममा) लगानी असारको भन्दा अझै घटेको छ ।
लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकहरूले ठूला कर्जामात्र स्वीकृत गर्दा कुल कर्जा पोर्टफोलियोमा एमएसएमईजतर्फको लगानीको हिस्सा कम देखिएको हो । नेपाल राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म बैंकहरूको कुल कर्जाको १५ प्रतिशत लघु, साना र मझौला उद्यममा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले लघु, साना र मझौला उद्यम वर्गमा एक करोड रुपैयाँभन्दा तलको ऋणलाई गणना गर्दै आएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म औसतमा कुल कर्जा लगानीको ११.१५ प्रतिशत कर्जा एमएसएजइज्को क्षेत्रमा गएको राष्ट्र बैंकले उल्लेख गरेको छ । लगानीयोग्य पुँजी अभावको समस्या लम्बिदैं गए लघु, साना र मझौला उद्यममा २०८१ असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कर्जा लगानी पुर्याउने सरकारको लक्ष्य प्रभावित हुने देखिन्छ । यद्यपि नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिलेसम्म राष्ट्र बैंकले यो लक्ष्य प्राप्तिका लागि समय थप गर्ने सम्बन्धमा कुनै गृहकार्य नगरेको बताए ।
कोभिड–१९ महामारीका कारण २०७८ असारमसान्तसम्म कुल कर्जा लगानीको ११ प्रतिशत एमएसएमईजमा लगानी गर्नुपर्ने व्यवस्था एक वर्ष समय दिएर २०७९ को असार मसान्तसम्म पुर्याइएको उनले बताए ।
‘कर्जा प्रवाहको विविधिकरण र समावेशीता अभिवृद्धि गर्न अर्थात् बढीभन्दा बढी उद्यमी तथा व्यवसायीहरूले कर्जा प्राप्त गरुन् भनेर यो व्यवस्था गरिएको हो,’ भट्टले भने, ‘धेरै बैंकहरूको यस क्षेत्रमा लगानी निकै कम छ ।’
उनले समावेशी, फराकिलो र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने सरकारको नीति रहेकाले क्रमशः यस्तो कर्जाको हिस्सा बढाउँदै धेरै जनसंख्यामा कर्जाको पहुँच पुर्याउनुपर्ने बताए । वित्तीय प्रणालीमा ४ करोड १८ लाख निक्षेप खाताहरू रहेका छन् भने कर्जा खाता जम्मा १८ लाख एक हजार मात्र छन् । यसले कर्जा उपभोग गर्नेहरूको संख्या निकै कम भएको देखाउँछ ।
नेपाल सरकारको स्वामित्व भएका तीन वाणिज्य बैंकहरू– राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले कुल कर्जाको क्रमशः २०.६१ प्रतिशत, ४०.९१ प्रतिशत र २७.६४ प्रतिशत लघु, साना र मझौला उद्यममा लगानी गरेका छन् ।
आर्थिक वर्ष २०७०–७१ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले युवाका लागि सहुलियत कृषि कर्जा कार्यक्रम शुरु गरेका थिए । जसले लघु, साना र मझौला उद्यममा बैंकहरूको लगानी बढाउन मद्दत गरेको छ । यसलाई विस्तार गरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ ले विभिन्न १० क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ ।
सरकारले सहुलियत कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने नीति अनुसार त्यसभन्दा माथिको बैंकको ब्याजदर सरकारी कोषबाट व्यहोर्ने व्यवस्था गरेको छ ।
उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, स्वरोजगार र उद्यमशीलता बढाउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो । हालसम्म २ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी भएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको कुल ऋण लगानी ४६ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि, चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (साउन–पुस)मा जम्मा ५२ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बढेको छ जबकी बैंक तथा वित्तीयसंस्थाहरूको कुल ऋण लगानी यो अवधिमा ४ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी छ ।
वाणिज्य बैंक |
विकास बैंक |
वित्त कम्पनी |
कुल |
|
संख्या |
२७ |
१७ |
१७ |
६१ |
कुल शाखा संख्या |
४,८५६ |
१,०६५ |
२४८ |
६,१६९ |
निक्षेप खाता संख्या |
३५,७८०,२९२ |
४,८५०,४१९ |
१,२०७,७८० |
४१,८३८,४९१ |
कर्जा खाता संख्या |
१,४५३,७३३ |
३०८,५९६ |
३९,२५५ |
१,८०१,५५४ |
बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक (१.१७%), हिमालयन बैंक (१.७९% ), लक्ष्मी बैंक (१.८५%) र नेपाल इन्भेस्टमेन्ट बैंक (३.४१% )को लघु, साना र मझौला उद्यममा सबैभन्दा कम लगानी रहेको देखिन्छ ।
नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल बैंक तथा वित्तीय संस्थाहरूले उद्यमशीलता विकासमा ठूलो योगदान गरेको बताउँछन् । ‘वास्तवमा बैंक तथा वित्तीय संस्थाहरूले खेलेको भूमिकाको हामीकहाँ राम्ररी कदर भएको छैन,’ उनी भन्छन्, ‘पछिल्लो तीस वर्षमा बैंकिङ्ग क्षेत्रमा रहेर मैंले अत्यन्त ठूलो रूपान्तरणकारी परिवर्तनको अनुभूति गरेको छु ।
वास्तवमा ती रूपान्तरणका कथाहरू राम्ररी बाहिर ल्याउन सकिएको छैन । बैंकहरूले कर्जा मात्र प्रवाह गरेनन्, धेरै उद्यमीहरू जन्माउन मद्दत गरेका छन् । तिनको सफलतामा बैंकको पुँजीमात्र होइन, सही सल्लाह तथा परामर्शको ठूलो हात छ ।’ सहुलियतपूर्ण कर्जामध्ये पनि सबैभन्दा ठूलो कर्जा व्यवसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा यो क्षेत्रमा कर्जा लगानी २९ अर्ब रुपैयाँले मात्र बढेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।
उनले बैंक तथा वित्तीय संस्थाहरू दीगो बैंकिङ्गको अभ्यासतर्फ मुखरित भैसकेको भन्दै यसले उत्पादन र उपभोग प्रणालीमा समावेशीता तथा विविधिकरण ल्याउने बताए । हाम्रो विकास अभियानको समग्र मार्गदर्शन ग्रीन, रिजिलियन्ट, इन्क्लुसिभ (हरित, उत्थानशील र समावेशीता)तर्फ रहेकोले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरूले पनि सोही स्कोपभित्र व्यवसाय विकास र विस्तार गर्ने उनले बताए ।
बैंकहरूको कुल ऋणमा लघु, साना र मझौला उद्यममा कर्जा लगानीको अंश
बैंक |
२०७८ पुस मसान्तसम्म कुल कर्जा |
लघु, साना र मझौला उद्यममा कर्जा लगानी % |
नेपाल बैंक |
१ खर्ब ६९ अर्ब रुपैयाँ |
४०.९१ |
राष्ट्रीय वाणिज्य बैंक |
२ खर्ब ११ अर्ब रुपैयाँ |
२०.६१ |
कृषि विकास बैंक |
१ खर्ब ७६ अर्ब रुपैयाँ |
२७.६४ |
नबिल बैंक |
२ खर्ब २३ अर्ब रुपैयाँ |
८.४३ |
नेपाल इन्भेष्टमेन्ट बैंक |
१ खर्ब ७३ अर्ब रुपैयाँ |
३.४१ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक |
८७ अर्ब ३४ करोड रुपैयाँ |
१.१७ |
हिमालयन बैंक |
१ खर्ब ५८ अर्ब रुपैयाँ |
१.७९ |
नेपाल एसबीआई बैंक |
१ खर्ब १४ अर्ब रुपैयाँ |
६.२२ |
एनबी बैंक |
७७ अर्ब ४७ करोड रुपैयाँ |
१२.६१ |
एभरेष्ट बैंक |
१ खर्ब ५२ अर्ब रुपैयाँ |
८.६८ |
बीओके बैंक |
१ खर्ब ६ अर्ब रुपैयाँ |
१०.०२ |
एनसीसी बैंक |
१ खर्ब १७ अर्ब रुपैयाँ |
११.९८ |
एनआईसी एसिया बैंक |
२ खर्ब ७२ अर्ब रुपैयाँ |
११.३६ |
माछापुछ्रे बैंक |
१ खर्ब ३५ अर्ब रुपैयाँ |
११.१२ |
कुमारी बैंक |
१ खर्ब ६१ अर्ब रुपैयाँ |
५.७८ |
लक्ष्मी बैंक |
१ खर्ब ३० अर्ब रुपैयाँ |
१.८५ |
सिद्धार्थ बैंक |
१ खर्ब ८३ अर्ब रुपैयाँ |
१०.६५ |
ग्लोबल आइएमइ बैंक |
२ खर्ब ६७ अर्ब रुपैयाँ |
९.०४ |
सिटीजन्स बैंक |
१ खर्ब ३१ अर्ब रुपैयाँ |
८.९४ |
प्राइम बैंक |
१ खर्ब ६१ अर्ब रुपैयाँ |
८.२३ |
सनराइज बैंक |
१ खर्ब २४ अर्ब रुपैयाँ |
१३.३९ |
एनएमबी बैंक |
१ खर्ब ७७ अर्ब रुपैयाँ |
१२.६२ |
प्रभु बैंक |
१ खर्ब ४९ अर्ब रुपैयाँ |
५.४४ |
मेगा बैंक |
१ खर्ब ४६ अर्ब रुपैयाँ |
१४.०३ |
सिभिल बैंक |
८७ अर्ब ५९ करोड रुपैयाँ |
८.४० |
सेञ्चुरी बैंक |
८७ अर्ब ३१ करोड रुपैयाँ |
६.५४ |
सानिमा बैंक |
१ खर्ब ४१ अर्ब रुपैयाँ |
६.८४ |
स्रोतः नेपाल राष्ट्र बैंक
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया