बैंक-वित्त

नेपाल राष्ट्र बैंकको वित्तीय सचेतना कार्यक्रम

इकागज |
चैत २, २०७७ सोमबार १४:५ बजे

वीरगन्‍ज: नेपाल राष्ट्र बैंंक, वीरगञ्ज कार्यालयले बारा जिल्ला, बारागढी गाउँपालिका–६, गडहलस्थीत श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालयमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम शुक्रबार सम्पन्‍न गरेको छ । सचेतना कार्यक्रममा वीरगञ्ज कार्यालयका का. मु. निर्देशक दण्ड प्रसाद खरेल र बारागढी गा.पा. का अध्यक्ष देवदत बछार थारुले अगुवाई गरेका थिए । 

कार्यक्रममा गभर्नर कार्यालयका उप¬निर्देशक डा. भागवत आचार्यले बैंकिङ तथा वित्तीय प्रणाली, बैंकिङ बानीको विकास तथा विस्तार, वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण एवं वित्तीय सशक्तीकरण वारे जानकारी गराएका थिए । उनले बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, अधिकार एवं बैंकिङ सेवाको सदुपयोग तथा दुरुपयोग गर्दा हुने परिणामबारे सामान्य जानकारीहरुको प्रस्तुतीकरण गर्दै वित्तीय साक्षरताका विभिन्न आयामहरुबारे चर्चा गरेका थिए । 


कार्यक्रममा उनले बचत गर्ने बानीको विकास र उपायहरु, बैकिङ्क सेवा, सफा नोट सम्बन्धि बानीको विकास, आधुनिक बैकिङ्क सेवाहरु लगायत विषयमा समेत सरल भाषामा विद्यार्थीहरुलाई बुझाउनु भएको थियो । सो साक्षात्कार कार्यक्रममा प्रश्नोत्तर मिलाउने केही विजेता विद्यार्थीहरुलाई पुस्तक उपहार प्रदान गरिएको थियो । 
कार्यक्रममा नेपाल राष्ट्र बैंंक, वीरगञ्ज कार्यालयका सहायक निर्देशक अमिष शर्माले सक्कली र नक्कली नोट छुट्याउने सामान्य विधिहरु बारे व्यवहारिक उपायहरूबारे जानकारी दिएका थिए । कामु सहायक निर्देशक दिनेश प्रसाद साहले वित्तीय साक्षरताबारे छलफल सत्र सञ्चालन गरेका थिए । 

उक्त वित्तीय सचेतना कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीका प्रतिनिधीहरु र सर्वसाधारण गरी करिब १२५ जनाको सहभागीता रहेको नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले जनाएको छ ।
 


Author

थप समाचार
x