बैंक तथा वित्तीय संस्थाको निक्षेप जीडीपीभन्दा धेरै
काठमाडौँः यस आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा धेरै हुने भएको छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप २०७७ असारको अन्तिमसम्म ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगिसकेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा जीडीपीको ९८.९ प्रतिशत र कर्जा ८२.८ प्रतिशत रहेको थियो ।
यस आर्थिक वर्षमा आर्थिक वृद्धिदर खासै उत्साहजनक हुने देखिदैंन । पहिलो त्रैमास (साउन–असोज) मा आर्थिक वृद्धिदर ४.६ प्रतिशत ऋणात्मक छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ४२ खर्ब ५६ अर्ब रुपैयाँ पुगिसकेको छ, जुन आर्थिक वर्ष २०७७–७८ को नेपालको जीडीपीभन्दा धेरै हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा परिचालन नै ३६ खर्ब ५८ अर्ब नाघिसकेको छ ।
जीडीपीभन्दा ठूलो आकारको निक्षेप र सोही हाराहारीको कर्जाले अर्थतन्त्रका अन्य क्षेत्रको तुलनामा वित्तीय क्षेत्रको विस्तार भने तीव्र रूपमा भएको देखिन्छ । ‘अर्थतन्त्रका विविध क्षेत्रमध्ये सबै क्षेत्रको आ–आफ्नो वृद्धि हुन्छ । २०–२५ वर्षयता रेमिट्यान्स बढेसँगै वित्तीय क्षेत्रका गतिविधि बढ्यो । तर वास्तविक क्षेत्र (रियल सेक्टर) मा रेमिट्यान्सको प्रभाव वित्तीय क्षेत्रको तुलनामा कम देखियो,’ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।
जोखिम
वित्तीय क्षेत्रको तीव्र विस्तारले गर्दा दुई किसिमका जोखिम हुनसक्ने जानकारहरू बताउँछन् । पहिलो, अर्थतन्त्रले वित्तीय क्षेत्रलाई धान्नुपर्ने हुन्छ भने दोस्रो, वित्तीय क्षेत्रमा सामान्य गडबडीले राष्ट्रिय अर्थतन्त्रलाई नै धक्का पुर्याउनसक्छ । अर्थतन्त्रले वित्तीय क्षेत्रलाई धान्नुपर्ने हुन्छ, अर्थतन्त्रका अन्य क्षेत्र राम्रोसँग विस्तार भएनन् भने त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ ।
‘यो पक्कै पनि नीति निर्माताका लागि संवेदनशील विषय हो,’ थापाले भने, ‘वित्तीय क्षेत्र यति विशाल भयो कि त्यसले राष्ट्रिय अर्थतन्त्रलाई ठूलो धक्का पुर्याउने भएकाले वित्तीय क्षेत्रको समग्र स्वास्थ्य, यसका सम्भावित जोखिम र स्थायित्वका सम्बन्धमा उनीहरू बढी सजग हुनुपर्छ ।’
अवसर
वित्तीय क्षेत्र जति विस्तार भयो त्यति सरकार र निजी क्षेत्रलाई वित्तीय स्रोत परिचालनमा सहज भएको छ । ‘वित्तीय स्रोतको उपलब्धता बढ्यो, पुँजी परिचालनको बजार बढेको छ,’ थापाले अगाडि भने, ‘यससँगै अन्य उत्पादनशील क्षेत्रमा पनि उत्पादकत्व बढाउन पुँजीसँगै प्रविधि, सीप र अन्य व्यवसायिक वातावरणमा ध्यान दिनुपर्छ ।’
ऋण बढ्छ, उत्पादन किन बढ्दैन ?
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहालका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह निराशाजनक नै रहेको थियो । ‘कात्तिकदेखि कर्जा विस्तारमा सुधार भएको छ, दोस्रो त्रैमासदेखि अर्थतन्त्र पनि पुनरुत्थान हुने क्रममा देखिने आशा गर्न सकिन्छ,’ दाहालले भने । तर कर्जा प्रवाह हुँदैमा अर्थतन्त्र विस्तार हुने भने होइन ।
‘कर्जा कहाँ गएको छ भन्ने महत्वपूर्ण हुन्छ,’ थापाले भने, ‘आर्थिक विस्तार भनेको उत्पादकत्वको विकास हो । पुँजी परिचालन भएको छ, श्रम पनि लागेको छ तर आधुनिक प्रविधिको अभाव वा अन्य प्रक्रियागत अवरोधले उत्पादकत्व नबढेको हुनसक्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया