बैंक-वित्त

राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर, पूर्व अर्थमन्त्रीका ज्वाइँ अनुसन्धान विभागका कामु हाकिम

इकागज |
चैत ३, २०७७ मंगलबार १४:५३ बजे

काठमाडौँः नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकहरू नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र डेपुटी गभर्नर नियुक्त भएपछि सबैजसो विभागका नेतृत्वमा जिम्मेवारी हेरफेर गरिएको छ । 

कतिपय महत्वपूर्ण विभाग कायम मुकायमको नेतृत्वमा जिम्मा लगाइएको छ । नेपाल राष्ट्र बैंकको ढुंगाना र मिश्र डेपुटी गभर्नर भएपछि राष्ट्र ऋण व्यवस्थापन विभाग र विदेशी विनियम विभागको नेतृत्व रिक्त भएको थियो । 


राष्ट्र ऋण व्यवस्थापन विभागमा बैंकिङ्ग विभागका नरेश शाक्य र विदेशी विनिमय विभागमा जनशक्ति व्यवस्थापन विभागका रामु पौडेललाई लगिएको छ । यसअघि केन्द्रीय बैंक मातहतको वित्तीय जानकारी इकाइ (फाइनान्सियल इन्टिलिजेन्स युनिट) मा समेत रहेर काम गरिसकेका पौडेलको विदेशी विनिमय विभागका लागि उपयुक्त पदस्थापन हो । 

अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई बैंक सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ । अर्थमन्त्रालयमा काजमा रहेका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठलाई अनुसन्धान विभागको कार्यकारी निर्देशकमा पदस्थापन गरिएको छ । श्रेष्ठ अहिले अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकार भएर अर्थमन्त्रालयमा काजमा छन् । श्रेष्ठ अर्थमन्त्रालयमा काजमा रहेकाले वरिष्ठ निर्देशकका रूपमा रामशरण खरेलले अनुसन्धान विभागको कायममुकाय प्रमुखको रूपमा काम गर्नेछन् । 

खरेल पूर्व अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाइँ हुन् । श्रेष्ठ अर्थमन्त्रालयमा रहँदासम्म कायम मुकायम प्रमुखको रूपमा काम गर्नेगरी केन्द्रीय बैंकको ‘ब्रेन’ (मष्तिस्क) मानिने अनुसन्धान विभागमा खरेललाई राखेर गभर्नर महाप्रसाद अधिकारीले खतिवडाले गभर्नरमा सिफारिश गरेको गुन तिरेको चर्चा राष्ट्र बैंकभित्र छ । 
भट्टलाई बैंक सुपरिवेक्षणको जिम्मेवारी दिएपछि त्यहाँका मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सुरुवा गरिएको छ ।

विकास बैंक सुपरिवेक्षण विभागका ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको प्रमुख बनाइएको छ । वित्त व्यवस्थापन विभागका प्रदीपराज पौडेललाई भने विकास बैंक सुपरिवेक्षण विभागमा लगिएको छ । 

प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा लगेपछि उनको ठाउँमा यसअघि सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका सुमनकुमार अधिकारी आएका छन् । 
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका रामबहादुर मानन्धरलाई बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 


Author

थप समाचार
x