बैंक-वित्त

बैंकहरूले प्रिपेड डलर कार्ड जारी गर्न सक्ने

५०० डलरसम्मको सटही जोसुकैले पाउने, निर्यात गर्नेलाई वार्षिक ५,००० डलरसम्मको सटही सुविधा

इकागज |
चैत ८, २०७७ आइतबार २१:२१ बजे

काठमाडौँः नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरू र राष्ट्रिय स्तरका विकास बैंकहरूलाई परिवर्त्य (कन्भर्टीबल) विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको छ । 

वार्षिक अधिकतम ५०० अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न केन्द्रीय बैंकले अनुमति दिएको हो । 


ग्राहकको अनुरोधमा बैंकहरूले उक्त कार्डमा नेपाली मुद्रासँगको विनिमयदरका आधारमा ५०० अमेरिकी डलरसम्म जम्मा गरिदिन सक्छन् । उपभोक्ताले उक्त कार्ड प्रयोग गरी अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । यस्ता प्रिपेड कार्ड अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्नेबाहेक अन्य पुँजीगत खर्चका लागि एटीएम वा प्वाइन्ट अन सेल (पीओएस) मा प्रयोग गर्न मिल्दैन । 

कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशमा सेवा निर्यात गरेर आर्जन गरेको रकम सोही कार्डमा जम्मा हुने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले कार्ड जारी गर्ने बैंकहरूलाई निर्देशन दिएको छ । निर्यातबाट प्राप्त आय उक्त रकम कार्ड होल्डरको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । 

५,००० अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी परिवर्त्य मुद्राभन्दा बढी हुनेबित्तिकै अनिवार्य रूपमा बैंक खातामा जम्मा गर्नुपर्छ । यस्तो खाता ग्राहकको स्वेच्छामा विदेशी मुद्रामा पनि वा त्यसलाई सटही गरेर नेपाली मुद्राकै खातामा पनि हुनसक्छ । 

सेवा निर्यात गर्नेले आफूले सेवा निर्यात गरी कमाएको रकममा पाँच सय डलरसम्म सटही लिन सक्नेछन् । उदाहरणका लागि कसैले ३००० डलरको सेवा निर्यात गरेको छ भने सो वर्षमा उक्त व्यक्तिले ३,५०० डलर वा सो बराबरको परिवर्त्य मुद्राको सटही पाउँछ । तर यस्तो सटहीको सीमा वार्षिक अधिकतम ५,००० डलर वा सो बराबरको परिवर्त्य मुद्राभन्दा बढी नपाउने नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । 


Author

थप समाचार
x