ब्लग

घुम्‍नलायक रहेछ आँपस्वारा

राजकुमार गजुरेल |
असार २३, २०७९ बिहीबार १३:१४ बजे

विशाल आँपको चौतारो । चौतारोमा गाउँलेहरू । पाहुनालाई स्वागत गर्न हातहातमा फूलमाला लिएर बसेका उनीहरू हामीलाई पर्खेर बसेका थिए। तनहुँको व्यास नगरपालिका–१३ आँपस्वारास्थित नेपालकै पहिलो दलित सामुदायिक होमस्टेमा हामीले पाइला टेक्दा आकाश उघ्रिएको थियो। बर्खायाम भए पनि पानी परेको थिएन । चारैतिर हरियाली थियो । चौतारीमुनि लहरै उभिएका महिलाले हामीलाई फूलमालाले स्वागत गरे। गत असार १५ गते दिउँसो चार बजे हामी त्यहाँ पुगेका थियौँ। 


 

दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टे गाउँ रहेछ आँपस्वारा । चौतारीमा स्वागत गरेपछि आडैको समाज भवनमा पस्यौँ । असार १५ भएकोले होला, हामीलाई दही च्यूरा खुवाइयो । मिठो भयो  ।

आपसमा चिनजान गर्‍यौँ। आँपस्वारा सामुदायिक दलित होमस्टेका अध्यक्ष रेशम विक र कोषाध्यक्ष मधुमाया विकले गाउँमा पर्यटनले ल्याएको परिवर्तनबारे आ–आफ्ना अनुभव सुनाउनुभयो।

होमस्टेको विशेषता नै घरघरमा बाँडिएर बस्नु हो। हामी ‘आँपस्वारा काव्ययात्रा–२०७९’का सहभागीलाई पनि दुई–दुई जनाका दरले बाँडेर विभिन्न घरमा राखियो। 

यसपालि पोखराको मेयर पदमा चुनाव लडेका अटेरी अभियानका संयोजक एवं लेखक गनेस पौडेल र म एउटै घरमा पर्‍यौँ । हाम्रो होमस्टेकी दिदी इन्द्रा सुनारले हामीलाई समाज भवनबाट आफ्नो घरमा लानुभयो।

मिठो चियाले स्वागत गर्नुभयो। हाम्रो छिमेकमा अमृत भादगाउँले, घानश्याम पौडेल, सागर उदास, प्रकाश गुरुङ र भूपिन हुनुहुन्थ्यो । हामीले सँगै बसेर होमस्टेका विषयमा छलफल गर्‍यौँ । खाजापानी खायौँ। 

बेलुकी ९ बजेतिर इन्द्रा दिदीले दाल, भात, तरकारी, अचार र पोलेको मकैले सत्कार गर्नुभयो। उहाँले खाना पस्किने बेला पकाउने, पाहुनालाई स्वागत गर्नेलगायतका होमस्टेमा आवश्यक कामको तालिम लिएको जानकारी गराउनुभयो।

उहाँका श्रीमान् कामको सिलसिलामा भारतको हैदरावादमा हुनुहुँदो रहेछ। दुई छोरामध्ये एउटाले भर्खर एसइई दिएका रहेछन्, अर्का  चाहिँ कक्षा ९ का विद्यार्थी। 

‘दिदी ! होमस्टे चलाउनु भन्दा पहिला के गर्नुहुन्थ्यो ?’ मैले सोधें  खेतीपाती र मेलोपात गर्दै आएको उहाँले सुनाउनु भयो।

‘उही खेतीपाती त हो । हाम्रो जग्गाजमिन पनि कम छ। मेलापर्म गरेर निर्वाह गरिन्थो। अहिले बेलाबेला पाहुना आउँछन्’, उहाँले भन्नुभयो।

व्यास नगरपालिकाले होमस्टेका आँगनमा ढुङ्गा विच्छ्याउन्, शौचालय बनाउन, बाटोमा ढुङ्गा बिच्छ्याउन आर्थिक सहयोग गरेको रहेछ गाउँलेले । होमस्टे व्यवस्थापनसम्बन्धी तालिम पनि पाइसकेका रहेछन्।

अहिले तनहुँको व्यास नगरपालिका–१३, आँपस्वारामा विश्वकर्मा समुदायका १८ घरमा सामुदायिक होमस्टे सञ्चालनमा छन् । ह्याण्ड्स अन इन्ष्टिच्यूट नामक संस्थाको सहयोगमा गाउँलेले वि.सं. २०७२ सालदेखि होमस्टे शुभारम्भ गरेका रहेछन्।

‘हाम्रो गाउँमा हामस्टे सुरु भएपछि विभिन्न टाउँबाट पाहुना आउनुभएको छ। उहाँहरूले पनि धेरै कुरा सिकाउनु भएको छ’, इन्द्रले भन्नुभयो – ‘होमस्टे चलाएपछि हामीले भान्सा, घरआँगन, बिछ्यौनाको विशेष सरसफाइ गर्नुपर्छ।’  

मेहनती, आत्मीय, फरासिला र सहयोगी रहेछन् आँपस्वारावासी । हामीले पनि नजिकबाट नियाल्यौँ । अनुभव गर्‍यौँ । उनीहरूको काम आर्थिक उपार्जनमा मात्र सीमित छैन, समाजमा जकडिएको छुवाछुत प्रथा हटाउन पनि उदाहरणीय छ ।

इन्द्रा दिदीले आफ्ना कथा सुनाउँदै गर्दा मैले उहाँलाई 'यो पेसाबाट खुसी हुनुहुन्छ ?' भनेर सोधेको थिएँ। उहाँ नियमित पाहुना आउने वातावरण बनेमा आर्थिक स्थिति सुध्रिनेमा आशावादी हुनुहुन्थ्यो।  आँपस्वारामा आक्कलझुक्कल मात्र पर्यटक आइपुग्छन् । तिनमा पनि स्वदेशी कम विदेशी बढी हुन्छन्।

‘सधैं पाहुना आइदिए हुन्थ्यो जस्तो लाग्छ । घरमा पाहुना कोठा थपेर तीन चार ओटा बनाउन पाए हुन्थ्यो’, इन्द्र दिदीले भन्नुभयो – ‘पाहुना नियमित भइदिए आम्दानी बढ्थ्यो । छोराहरू पढाउन खर्च पुग्थ्यो।’ 

गनेस दाइ र मैले उहाँका कुरा सुन्यौं। अनि खाना खाएर सुत्न गयौं । भोलिपल्ट बिहान हामी थानीमाई मन्दिर दर्शनका लागि उकालियौं। हामीलाई होमस्टेका सचिव मनोज विकले डुलाउनुभयो । डाँडाको थुम्कामा अवस्थित मन्दिरमा अविवाहित मगर कुमारहरू पुजारी हुने परम्परा रहेछ।

विगतमा दलित समुदायले यो मन्दिर प्रवेश गर्न निकै संघर्ष गर्नु परेको कथा अघिल्लो दिन हामीलाई मधुमाया दिदीले सुनाउनुभएको थियो।

हामी मन्दिर दर्शन गरेर फर्कियौं। फर्किने बेला मन्दिरको प्रवेशद्वार बाहिर लेखकहरू लोकराज भट्ट, अभय श्रेष्ठ, उषा थपलिया र हेमन्त विवशले लोकगीत गाउनुभयो । ज्यादै रमाइलो भयो।

त्यहाँबाट हामी आ–आफ्ना होमस्टेमा फर्केर खाना खायौं। मध्यान्ह फेरि उही आँप चौतारीमा भेला भयौं। काव्ययात्राका संयोजक एवं पर्यटन पत्रकार अमृत भादगाउँलेको नेतृत्वमा हामी २६ जना लेखक, कवि, पत्रकार र पर्यनकर्मी जम्मा भएका थियौं । साथमा थिए गाउँका उत्साही होमस्टे संचालकहरू  ।

व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा ‘आँपस्वारा काव्ययात्रा–७९’ को कार्यक्रम अघि बढ्यो । काव्ययात्राको आयोजक ‘कन्सेप्ट नेपाल’का तर्फबाट कार्यक्रमको सुरुमै स्थानीय ४ जना कलाकारलाई जनही १० हजार रुपैयाँसहित ‘आँपस्वारा काव्य सम्मान’ प्रदान गरियो ।


 
माटोका गहना बनाउने मेनुका विक, आरनको काम गर्ने डिलबहादुर विक, मादलबादक सुन्दर विक र बाँसका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको हो  सम्मानितहरूका अनुहार खुसीले चम्किएको देखिन्थ्यो।
 
सम्मान कार्यक्रमलगत्तै लेखक तथा कवीहरू केशव सिग्देल, सुमन थापा ‘संगम’, रमी प्रिया, उषा थपलिया, अभय श्रेष्ठ, मनिषा गौचन,  लोकराज भट्ट, हेमन्त विवश, सुजिता कार्की, भुपेन्द्र खड्का (भूपिन) सागर उदास, सूरज उपाध्याय, कवि अमृत, संजिब पौडेल, तारानाथ पहारी, प्रकाश गुरुङ र गनेस पौडेललगायतले आ–आफ्ना अनुभव र रचना सुनाए । बेग्लै अनुभूति भयो ।

घुम्नलायक रहेछ आँपस्वारा । दमौली बजारबाट मात्र ६ किलोमिटर दूरीमा रहेको बस्तीमा लगभग १३० घरधुरी रहेछन् । दलित बाहुल्य गाउँमा मगर, गुरुङ, क्षेत्री र बाहुन समुदायको बसोबास छ।
   
ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, अर्गानिक खाना आँपस्वाराका विशेषता रहेछन् । यहाँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबाराही मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर, सुन्तला बगानलगायतका मनोरम ठाउँहरू देख्न सकिँदो रहेछ ।
 
बर्खामास भएकाले होला, दुई रात त्यहाँ बस्दा हामीले हिमालयको दर्शन गर्न पाएनौं । 

हाइकिङ, साइक्लिङ र बर्डवाचिङका लागि समेत गाउँ उपयुक्त हुने देखिन्छ  गाउँमा परम्परागत रुपमा हँसिया, कुटो, कोदालाजस्ता औजार बनाएको प्रत्यक्ष  हेर्न पनि पाइन्छ ।
  
गाउँ सफा छ । होमस्टेका आँगनमा ढुङ्गा छापिएको छ । मेहनती, आत्मीय, फरासिला र सहयोगी रहेछन् गाउँलेहरू पर्यटनका माध्यमबाट आर्थिक विकास र जातीय छुवाछुत अन्त्य गर्न सामुदायिक होमस्टे सञ्चालन गरिएको रहेछ ।
  
पर्यटकको मागअनुसार आमा समूहले लोकगीत गाउने रहेछन् । हामी पनि सांस्कृतिक कार्यक्रममा झुम्यौं ।रमायौं ।
 
आँपस्वाराका बासिन्दाको छुवाछुत मेटाउने अभियानलाई हामीले पनि नजिकबाट अनुभव गर्‍यौँ ।  उनीहरूको यो काम आर्थिक उपार्जनसँग मात्र जोडिएको छैन । सदियौंदेखि हाम्रो समाजमा जकडिएको छुवाछुत प्रथालाई हटाउन उदाहरणीय पनि छ । हामीले यसलाई स्वागत गर्नुपर्दछ ।

साँच्चै सामाजिक तथा शैक्षिक भ्रमणका लागि आँपस्वारा उपयुक्त स्थान हो ।
 
हाम्रो यात्राको तेस्रो दिन असार १७ गते बिहानको खाजा खाइवरी इन्द्रा दिदीसँग टिका लगाएर बिदाबारी भएर फेरि उही आँपको चौतारीमा जम्मा भयौं । गाउँले आमाबुबा र दिदीबहिनी र दाजु भाइहरू चौतारीमा जम्मा हुनुभएको थियो । उहाँहरूले हामीलाई सामुहिक बिदाइ गर्नुभयो ।


  
आँपस्वारा सामुदायिक होमस्टेबाट काठमाडौं फर्कदै गर्दा मैल महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको एक प्यारा गुनगुनाए– 
क्षेत्रीको छोरो यो पाउँ छुन्छ घिनले छुदैन
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन.......


Author

थप समाचार
x