ब्लग

मसरुम र पनिर, नो प्लिज

सदिक्षा आचार्य |
भदौ १२, २०७९ आइतबार १७:५९ बजे

शनिबार अफिसमा खाजा खाने समय भएको थियो । फोनको घण्टी बज्यो, फोनमा भन्दा पनि मेसेन्जरमा । हेरेको माइजूको फोन रहेछ ।

मलाई पत्रकारितामा विशेष रुचि छ । मान्छेका कहानी पढ्न, सुन्न अनि लेख्न मन लाग्छ । एक महिना बित्यो, पत्रकारिताकै क्रममा इकागजसँग जोडिन पुगेकी छु ।  एलएलबी पनि अध्ययनरत मैले अफिसमा शनिबारभन्दा अरु नै बार बिदा मागेकी छु । अरु नै बार भन्नाले आइत, सोम, मंगल... शुक्रमध्ये जुन कुनै बार भए पनि हुन्छ । कहिलेकाहीँ क्याम्पसको काम पर्यो भने अरुलाई दुःख दिनु नपरोस् भनेर मैले यसो भनेकी हुँ । त्यसैले म शनिबार पनि अफिसमा थिएँ । 


हत्त न पत्त फोन उठाएर कुरा गर्न लागेँ, ‘माइजू दर्शन ।’ 

उताबाट माइजूले भन्नुभयो, ‘हजुर भान्जी दर्शन ।’ 

‘सन्चै हुनुहुन्छ ?’ मैले सोधेँ । ‘सन्चै भान्जी अनि तीज आयो म त भान्जीलाई लिन आएको, के कस्तो छ भान्जीको फुर्सद ? कता हुनुहुन्छ ?’ माइजूको यो सधैँको बानी हो । उहाँले प्रश्न गर्न लाग्नुभयो भने हत्तपत्त रोकिनुहुँदैन । म भने माइजूका सबै प्रश्नहरूको उत्तर दिन लागेँ ।

‘सन्चै छु माइजू, अफिसमा छु ।’ ‘अनि आज शनिबार पनि अफिसमा हो भान्जी ?’ माइजूले प्रतिप्रश्न गर्नुभयो । ‘हो नि माइजू, आज पनि, मेरो शुक्रबार बिदा हो ।’ 
‘दरमा के खाने त भान्जी ?’ अब भने भेजिटेरियन गाथा सुरु भयो । मैले शाकाहारी भोजन मात्रै ग्रहण गर्न लागेको दुई वर्ष भयो । दरमा के खाने भनेर सोध्नु भनेको पक्कै मासु नखाएपछि के खाने त ? भनेर प्रश्न तेर्स्याउनु हो जस्तो लाग्छ मलाई । साह्रै गह्रौँ प्रश्न छ यो मेरा लागि । उत्तर भन्नै कस्तो गाह्रो । 

माइजूसँग मेरो निकै आत्मियता छ । साथी जस्तै हुनुहुन्छ । मलाई असाध्यै माया गर्नुहुन्छ । मेरा कुराहरू सुन्नुहुन्छ । जीवनोपयोगी ज्ञान सिकाउनुहुन्छ । 
‘ओहो ! माइजू जे खाए पनि हुन्छ नि । हजुरले जे बनाएर दिए पनि मीठो हुन्छ,’ मैले भनेँ । 

‘होइन भान्जी, कहाँ यस्तो भनेर हुन्छ त ? पनिर, च्याउ के खाने त ? मासु खानुहुन्न हजुरले अनि के खाने त ? मीठो सब्जी खानुपर्यो नि त अनि,’ माइजूले भन्नुभयो । 
जे बनाए पनि हुन्छ माइजू भनेर यस्तै संवाद गर्दै उहाँसँग बिदा मागेँ दर खान जाने पक्कापक्की गरेर । 

चार आमाहरू, चार मामाहरूतर्फका हामी दिदीबहिनी, दाजुभाइमध्ये शाकाहारी भोजन ग्रहण गर्ने दुई जना मात्रै छौं । नवलपुरबाट मामाले एक हप्ता पहिले दर खाने निम्ता दिन फोन गर्नुभएको थियो । निमन्त्रणामा फेरि भोजनकै विषयमा कुरा भयो, यहाँ पनि उस्तै । उही भोजनकै चर्चा । 

पहिले झन् दिदी एक्लै । म सम्झन्छु तीजमा, दशैंमा, तिहारमा, अन्य चाडपर्वहरूमा, भेटघाटमा शाकाहारी मेरी दिदीलाई के पकाएर दिने होला त, च्याउ पाइएला कि नाइँ ? पनिर  पाइएला कि नाइँ ? भान्सै नमिल्ने के ? 

खाना खान आमन्त्रित गर्नेहरू सबै यस्तै यस्तै अलमलमा परेको देखिन्थ्यो । दिदी थोरै खाए पनि सन्तोक मान्ने मान्छे । जे बनाए पनि मीठो मानेर खाइदिने मान्छेलाई सब्जीकै अलमलमा निमन्त्रणा दिने व्यक्तिहरू किन पर्ने गर्छन्, म नै छक्क परेको छु, पहिले पर्थें । 

भेजिटेरियन मेरी साथी, विवाहपश्चात् पुनः ननभेज भएकी छन् । अस्ति भर्खरैको टेलिफोन संवादमा उनले पनि आफ्नो गाथा सुनाएकी थिइन् । भान्सा नै नमिल्ने आफैँ पकाउनुपर्ने, आफैँ भाँडा माझ्नुपर्ने, ससुरा बुवाले बुहारी खाऊ भो अब माछा, मासु केही हुँदैन भन्नुभयो । श्रीमान्ले पनि खान भन्नुभयो, अनि मासु खान थालेँ म त । 

बच्चैदेखि शाकाहारी जीवनशैलीमा बाँच्दै आएकी मेरी साथीको यो वेदनाको आफ्नै कथाव्यथा छ ।

मःम, चाउमिन खाँदा जहिले नन भेज खाने मान्छे म, अहिले शाकाहारी हुँदा साथीहरूसँगको भेटघाटमा के खाने त ? यसमै मतभेद हुने, मलाई भनेरै उनीहरू शाकाहारी भोजनालय खोज्न थाल्छन् । कति गाह्रो बनाइदिएको होला यति सामान्य कुरालाई !

साथीहरूलाई मेरो अनुरोध, तिमीहरूलाई खाजा पाउने ठाउँमा मलाई पनि खाजा पाइहाल्छ पक्कै, त्यति दुःख नगर तिमीहरू । गफ गर्ने हो, भेटघाट गर्ने हो, आफ्नै मगज किन भारी बनाउनु अनावश्यक कुरा सोचेर ? ए साथीहरू, म तिमीहरूसँग भेट्न पाएकैमा खुसी छु है । 

मेरो दिदीले सहजै जे बनाए त्यही खानुहुन्छ, एकजना शाकाहारी साथीसँग संवाद गर्दा उनले पनि सहजै जे बनाए त्यही खाने, कुनै विशेष बनाउनुनपर्ने भनिन् । 
स्नातकोत्तर अध्ययन पूरा गर्नुभएकी पूजा भट्ट दिदी जो सानैदेखि शाकाहारी भोजन र भान्सा गर्दे आउनुभएको छ, उहाँसँगको कुराकानीमा भन्नुभयो, ‘मलाई भनेर छुट्टै पनिर, च्याउ बनाउनुपर्छ भन्ने छैन । मलाई घरमा जे पाक्छ, त्यहीले सन्तोक लाग्छ, शाकाहारी भोजन बरु थरीथरीका हुन्छन्, कुन कुन खानु ? मासु खानेले आरामले खानु । मैले त्यस्तो छिःछि, दुरदुर पनि गर्दिनँ, मात्रै के अनुरोध छ भने, मलाई भनेर विशेष केही पनि पकाउनु पर्दैन ।’  

जसलाई जे इच्छा छ, त्यही खाने हो नि, होइन र ? दाल भात जे खाए पनि ठीक छ, मलाई त । 

अब म मेरा कुरा भन्छु, तीजको दर खाने समय छ । चारैतिरबाट दर खाने निमन्त्रणा आइरहेको छ । घरबाट टाढा भएपछि आफ्नै आमाले पनि निम्ता गर्नुभयो । कहिले मामा माइजूले । कहिले फुपूले । कहिले काका काकीले । कहिले साथीहरूले । भोलि मात्रै अफिसमा दर खाने कुरा छ । 

म जस्ता भेजिटेरियनलाई के खुवाउने भनेर दिदी–दाइलाई छुट्टै चिन्ता छ । म बुझ्छु, यो उहाँहरुको माया हो । तर, घरीघरी यस्तो लाग्छ, भेजिटेरियन भएर मैले उहाँहरुलाई अलि दुःख पो दिएकी छु कि ! माछामासुमा बढी भए तीनचार थरीका खानकी होलान्, सागपातमा सय थरी छन् । तर, माछामासु वा सो सरहका खानकी पनिर र मसरुम, लालमोहन र गुलाबजामुन हुन् भन्ने चलन कहिलेदेखि चल्यो, मलाई थाहा छैन । 

मलाई हजुरहरू सबै मेरा आफन्त, साथी, मन र भावनाले जोडिएका सम्बन्ध सबै सबैमा सादर अनुरोध के छ भने, हजुरहरूले कुनै खास पकवान बनाउनु पर्दैन । मेरो लागि भेटघाटको निमन्त्रणा दिनु नै ठूलो कुरा हो यसलाई म प्रेम, सद्भाव, सम्मान आदिका रुपमा ग्रहण गर्छु । 

भान्सामा अरु बेला जे पाक्छ, त्यही हामीलाई अमृत छ । पनिर, च्याउ आदि इत्यादिको झन्झट गर्नु पर्दैन । 

हामीले हजार रुपैयाँ पर्ने माछामासु खायौँ, यिनीहरूलाई पचास रुपैयाँ पर्ने तरकारी किन खुवाउने भनेर बिल्कुलै चिन्ता नलिनुस् । 

हजुरहरूको घरमा भएकै गुन्द्रुक, भटमास, मस्यौरा, सिन्की, बारीमा फलेका ताजा हरिया सागसब्जी, जे बनाउनुहुन्छ, म खुसीसाथ लिन्छु । मलाई भान्सा नमिल्ने छोरी, के ख्वाउने होला ह्या भनेर अलमल पारिदिने भान्जी, ह्या, मासु खाइदे आज भनेको सुन्नुपर्ने भतिजी, कुन भोजनालयमा खाजा खाने होला त, खाजै मिल्दैन वाला साथी नबनाइदिनुहोला ।  

हामीलाई बोलाउनुस् तर खुवाउनका लागि दौडधुप, हस्याङ्फस्याङ नगर्नुस् प्लिज । भान्सामा जे पाक्छ, त्यही परिकार दिनुभयो भने त्यही हो खुसी, त्यही हो रमाइलो, र त्यही हो दर । यही हो, पिकनिक । त्यही हो, चाडपर्व । 


Author

थप समाचार
x