ब्लग

‘रात’ र ‘दिन’को व्यथा, मेरो र जूनको कथा

हृदयन्द्रजंग शाही |
भदौ २५, २०७९ शनिबार ७:११ बजे

हिउँदमासको बेला अत्यन्तै चिसो,बादलको कालो धर्सा र कुहिरोले आकाश ढाकेको छ । हिमालको चिसो सिरेटोले एकदम जाडो छ ।  बाहिर सिमसिम पानी परिरहेको छ । गोठमा गाई कराउँछे हब्बा...सायद आफ्नी प्राण प्यारी बाच्छीको माया लागेर हो या जाडो भएर हो जिजुमुआलाई बोलाउँछे । भित्र अँगेनामा रापिलो आगो बल्दै छ । चुलामा भत्भत् पिँडो पाक्दै छ । अँगेनाको अलि पल्तिर बाच्छी बान्‍ने ठाँउ छ । बाच्छी मेरो कान चाट्दैछे अनि म उसलाई सुमसुम्याउँदै छु ।

जिजुमुआ चुलामा मकैको भुङ्ग्रे रोटी हालेर पिँडालुको पात ओड्दै गाईलाई पिँडो निकालेर गोठतिर गइबक्सिन्छ । म निकै उत्सुक मुद्रामा छु किनकि आज जिजुमुआको कथा सुनाउने पालो हो । मलाई जिजुबुवा भन्दा जिजुमुआको कथा सुन्‍न मन पथ्र्यो किनकि जिजुबुवाको कथा जीवन,संघर्ष र भूतप्रेतका कथा हुन्थे भने जिजुमुआको कथा राजा, रानी, राजकुमारी, अप्सराका कथा हुन्थे । प्राय सबैलाई सुरुमा प्रेमिल कथा नै सुन्‍न मन पर्छ क्यारे...आज त झन् राजकुमारीको कथा ।


जिजुमुआ गाईलाई पिँडो दिएर फर्किएपछि भुङग्रे रोटी निकालेर बाच्छी र मैले बाँडेर खायौँ । जिजुमुआ चुलोमा तावा बसालेर रोटी हाल्न बसिबक्सिन्छ । म उहाँको काखलाई सिरानी बनाएर भुङग्रे रोटी चपाउँदै पल्टिन्छु । रोटी हाल्दै जिजुमुआले कथा सुरु गरिबक्सिन्छ ।

‘एकादेशमा एउटा ‘‘रात’’ भन्‍ने राजकुमारी थिई । गहुँगोरी वर्णकी तर अत्यन्तै सुन्दरी । उसका मृगनयनी आँखा टलक्क हिरा टल्किए जस्तै टल्किन्थे । उसका दाँत अनारका दाना जस्तै टमक्क मिलेका थिए । स्याउ जस्ता गाला , लामो केश , आँखामा गाजल , निधारमा रक्तचन्दनको टीका लगाएर सेतो फराकमा साँच्चै पुतली नै देखिन्थी  । स्वभाव भने अत्यन्तै चन्चले । पुतलीसँग खेलिरहन्थी । उसलाई फूल एकदम मन पथ्र्यो । आफ्नो बगैँचाभन्दा पर पर जंगलसम्म पनि फूलको सुगन्धले लठ्ठ हुँदै दगुर्थी । बगैँचाका फूलहरूको बीचमा अर्की फूल साँच्चै स्वर्गबाट अप्सरा झरेजस्तै देखिन्थी  ।

एक‘दिन’ ‘रात’ पुतलीसँग लुकाछिपी गर्दैगर्दा जङगलभन्दा धेरै पर पुगिछे । ‘बिहानी’ भन्‍ने ठाउँमा । ठूलो घनघोर जंगल अत्यन्तै डरलाग्दो थियो । उसले बाटो बिर्सिई,  घर फर्किने मेसै पाइन । बेला बेला सुनिने बाघको गर्जन, चराचुरुङगीको चिरबिर आवाज, बाक्लो झाडी, अँध्यारो गुफा देखेर ऊ एकदम भयभित हुन्छे । डरले चिच्याउन, कराउन र रुन थाल्छे । यसैमा पर कतैबाट केही हिँडेको जस्तो खस्याङ खुसुङ आवाज आउँछ । उ हिक्क हिक्क गर्दै पाखुराले आँशु पुछेर वरिपरि नजर डुलाउन थाल्छे । यतिकैमा उसको छायाँ अगाडि एउटा नवयुवक देखा पर्छ । उसकै उमेर जत्तिकै सात आठ वर्षको । हेर्दा उसको व्यक्तित्व अत्यन्तै सभ्य र भद्र देखिन्छ ।

नजिकै आएर सोध्न थाल्छ । के भयो राजकुमारी ? राजकुमारी ‘‘रात’’ अझै डराएकी छे । मुखबाट शब्द निस्कन्‍न । एकछिन त्यो सुनसान जंगलमा मौनता थपिन्छ । फेरि उसले मौनता भङग गर्दै प्रश्न गर्छ, ‘ किन एक्लै ? किन रोएकी ?’ ‘रात’ले सँुक्कसुँक्क गर्दै सबै कुरा भन्छे । उसले ढाडस दिँदै भन्छे : म छु नि ! नडराउसँगै मिलेर घर जाउँला ।

यति भनेपछि ‘रात’ले अलिक सहज महसुस गर्दै प्रतिप्रश्न गर्छे । अनि तिमी चाहिँ किन एक्लै ? उसले आफू ‘प्रेम‘ राज्यको राजकुमार भएको र बुवाहजुरसँग शिकार खेल्न आएको बताउँछ । त्यसपछि दुवै जनाले परिचय गर्छन् । राजकुमारीले भन्छे म ‘‘रात’’ उसले भन्छ म ‘दिन’ ।

राजकुमारी ‘रात’ले घर जाने संकेत गर्छे । राजकुमार ‘दिन’ त्यो ‘बिहानी’ भन्‍ने ठाउँबाट बाटो खोज्न अघि अघि लाग्छ । बीचमा अनेकन गफ गर्दै राजकुमारीको राज्यतिर लम्किन्छन् । ‘‘रात’’ आफ्नो कोमल देब्रे हातले ‘दिन’को हात समाउदै दाहिने हातको चोर आँैलाले देखाउँदै भन्छे – उ त्यो पारी डाँडा छ नी ! त्यो ‘साँझ’ भन्‍ने ठाउ हो । त्यो भन्दा तल झरेपछि मेरो राज्य आउँछ ।

एकदिन अचानक राजकुमारीको राज्यमा हल्ला फैलिन्छ, ‘रात’ त दुश्मन राज्यको राजकुमार ‘दिन’सँग प्रेम सम्बन्धमा छिन् । राजकुमारीको मुआ र बुवाहजुरलाई यो सह्य हुँदैन ।

त्यसपछि दगुर्दै खेल्दै दुवै जना ‘साँझ’ भन्‍ने ठाउँमा पुग्छन् । भोलि फेरि भेट्ने वाचा गर्दै ‘रात’ आफ्नो राज्यतिर लाग्छे ‘दिन’ आफ्नो राज्यतिर फर्किन्छ । अब उनीहरू दैनिक भेटेर खेल्न थाल्छन् । ‘रात’ ‘दिन’लाई भेट्न बिहानीसम्म पुग्छे । ‘दिन’ ‘रात’लाई भेट्न साँझसम्म आइपुग्छ । अब उनीहरूको मित्रता बालसुलभ प्रेममा परिणत हुन्छ । ‘दिन’ले ‘रात’लाई बिहानीमा भेट्दा मुहारमा छुट्टै चमक आउँछ । हेर्दै उज्यालो देखिन्छ । ‘रात’ले ‘दिन’लाई साँझमा भेट्दा लाजले धपक्क बलेकी जस्ती देखिन्छे । अब उनीहरु एकअर्काका परिपूरक जस्तै छन् । नभेट्दा नदेख्दा एकअर्काको अनुपस्थिति महसुस गर्छन् । अत्यन्तै माया गर्छन् । एकअर्काको माया प्रेममा लडिबुटी गर्दैगर्दा उनीहरु जवान हुन्छन् ।

एकदिन अचानक राजकुमारीको राज्यमा हल्ला फैलिन्छ, ‘रात’ त दुश्मन राज्यको राजकुमार ‘दिन’सँग प्रेम सम्बन्धमा छिन् । राजकुमारीको मुआ र बुवाहजुरलाई यो सह्य हुँदैन । ‘रात’लाई अब दरबारबाट बाहिर निस्किन मनाही छ । बन्द कोठाभित्र थुनेर राखिन्छ । राजकुमारीको राज्यले ‘दिन’को राज्यमा हमला गर्छ । ‘दिन’ले पनि प्रयास नगरेको होइन तर स्थिति नै असहज बनिदिन्छ । ‘रात’ बन्द कोठाभित्र रुँदारुँदा दुब्लाउँदै जान्छे । भित्र भित्रै टुट्छे फुट्छे, रुन्छे फेरि आफैँ सम्हालिन्छे । ‘दिन’लाई पनि राज्य हडपेर कारागारमा थुनिन्छ ।

यसबीचमा दुवै एकअर्कालाई अत्यन्तै मिस गर्छन् । तर परिवार नै दुश्मन बनेपछि कसको के लाग्छ र ? ठूलै अपराध गरेजस्तो ‘रात’ र ‘दिन’ प्रेम गरेर छुट्टाछुट्टै बन्देजमा कैद भोग्न बाध्य हुन्छन् । एक दिन ‘रात’को सुसारेले राजकुमारीको हालत देख्न नसकेर बाहिर निस्किन सहयोग गर्छिन् । यसबीचमा ‘दिन’लाई मृत्युदण्डको सजाय सुनाइएको हुन्छ । ‘रात’ले बाहिर निस्किएर कसो कसो ‘दिन’लाई पनि बाहिर निकाल्छे । दरबार नजिकै ठूलो नदीको पुलमा रफ्तारले भागेर टक्क अडिन्छन् । चाहेर पनि सँगै हुन नसकिने दुवै जनाले बुझिसकेका छन् । भागे पनि खोजीखोजी मार्छन् भन्‍ने दुवैलाई थाहा छ ।

भित्र बस्दै गर्दा यो सब हँुदा पनि ‘दिन’ आफूलाई निर्धो देखेर रिसले चुरचुर, असिनपसिन हुन्थ्यो । कोही आएर थपथपाइदिओस्, मनलाई शान्त गराइदिओस् शीतलता मिलोस् भन्ठान्थ्यो । ‘रात’लाई पनि एक्लोपनले सताएर कसैले आएर अङगालिदिओस्, साथ दिओस् न्यानोपनको आभाष गराइदिओस् भन्‍ने हुटहुटी हुन्थ्यो । दुवै आ–आफ्ना दु:खमा थिए ।

‘रात’ले भन्छे–हाम्रो यात्रा यति नै रहेछ ‘दिन’ । हाम्रो प्रेम सफल हुन नसकेपनि हामी जस्तै प्रेम गर्नेलाई शीतल दिन, साहस दिन, उनीहरुको कुरा सुनिदिन , प्रेम गर्न सिकाउन म अर्काे जन्ममा जून बन्‍नेछु । सबैलाई माथि बसेर हेरिरहने छु ।

‘दिन’ले पनि थप्यो –मानिसलाई शीतल जत्तिकै न्यानोपनको पनि आवश्यकता हुने रहेछ ‘रात’ । हामी जस्तै प्रेम गर्नेलाई अर्को जन्ममा घाम बनेर न्यानोपनको आभाष दिलाउनेछु । तिमी जहाँ जान्छ्यौ म पनि त्यहीँ जान्छु ।
यति भनेर एक अर्काको हात समातेर आँखा चिम्म गर्छन् । अंगालो मारेर रुन्छन् । अन्तिम पटक चुम्बन गर्छन अनि त्यही नदीमा समाहित हुन पुग्छन् ।

कथा सक्दै जिजुमुआले लामो सुस्केरा हाल्दै भनिबक्सिन्छ– त्यसबेलादेखि यो ब्रहमाण्डमा ‘रात’ ‘दिन’ हुने नयाँ श्रृष्टिको रचना भयो । त्यसैले ‘रात’मा जून देखिन्छ । ‘दिन’मा घाम देखिन्छ । बिहानी र साँझ अझै छन् तर अब पहिले जस्तो ‘रात’ र ‘दिन’ कहिल्यै सँगै हुन सक्दैनन् । खेल्न सक्दैनन् । सँगै भएर पनि सँगै छैनन् । र यो श्रृष्टि यसरी नै चलेको छ नाति ।

म आज रातिको २ बजे बालकोनीमा बसेर त्यही जूनलाई हेर्दै विगतका यी ‘दिन’हरु सम्झिरहेछु । ती कहानी सम्झिरहेछु । आखिर राजकुमारीहरु सेतो लुगामा मात्रै किन देखिन्छन् ? ‘रात’ले मरिसकेपछि पनि सेतै देखिने जून नै किन रोजी ? घामले आजकाल किन बढी पोल्छ ? ‘रात’ र ‘दिन’ अनि राधा र कृष्ण जस्तै सँगै नहुने भए ईश्वरले प्रेमलीला किन रचे ? यस्तै यस्तै...

मलाई स्वयं भगवानसँग विश्वास छैन त बाहिरी संसारको के मतलब ? कोही कसैसँग बोल्न मन लाग्दैन । काम नभएको बेला कुनै किताब पढेर बस्छु या त केही लेखेर कि त मेरो कुकुर ‘लिली’ सँग खेलेर बस्छु । कसैले बोलाए बोलिदिन्छु । सोधे जवाफ दिन्छु । भने  सुनिदिन्छु तर गफ गरेर बस्दिन । आफ्नो कुरा कसैलाई भन्दिन । बरु जूनलाई हेरेर आफ्नो मनलाई भुलाउँछु ।

सोच्छु ‘रात’ अहिले जून बनेर एकान्तमा बसेर आफूलाई सम्झिँदै होली । उ कयौँ पटक लुटिनुपर्‍यो, दुख्नुपर्‍यो,रुनुपर्‍यो । बाहिर जति सुन्दर छे भित्र त्यति टुटेकी छे । मान्छेहरु उसकै सुन्दरतामा गीत, कविता, साहित्य लेख्छन् । प्रेमिल जोडीसँगै जिउने मर्ने कसम खान्छन् । उसले आफ्नो पीडा, रोदन , चित्कारलाई लुकाएर संसारलाई उज्यालो छरेकी छे र त चौतर्र्फी उसको तारिफ छ । दुनियाँ कति मतलबी छ है । तारिफ पनि केही पाउन्जेल प्रेम हुन्जेल न गर्ने रहेछन् । प्रेम सकिन्छ त जूनमा पनि दाग छ भनेर कालो धब्बा लगाइदिन्छन् ।

तर मसँग त्यो दाग देखाउने हिम्मत छैन । किनकि मैले जूनलाई बुझेको छु । ‘रात’लाई चिनेको छु । हररात कौसीमा उसलाई कुरेर बस्छु । घण्टौ उसँग बात मारेर बिताउँछु । आँैशीमा उ नआउँदा असह्य पीडा हुन्छ । टाढाबाटै उसलाई माया गरिरहन्छु । पर्खिरहन्छु । उ आउँछे त आफैँलाई बिर्सिन्छु । कतिपटक त रात नै छर्लङग भएका छन् । उसको र मेरो सम्बन्धमा कसैले आखा नलगाउन् भनेर कति पटक त हतार हतार तल झर्दै मलाई ‘बाइ’ भनेर गएकी छ जून ।

बुद्धिसागरले  ‘जब तारा खस्छ र ठाउँ खाली हुन्छ , तब भगवानले धर्तीको सुन्दर मन भएको मान्छेलाई बोलाउँछन् र तारा बनाउँछन्’ भनेको सम्झन्छु । तारा त खस्छ तर तिमी त जून हौ । तिमी अटल छ्यौ , अनन्त रहनुछ । तिमीले मलाई प्रेम गर्न सिकायौ । म जस्ता करोडौँलाई सिकाउन बाँकी छ । यो जन्ममा कुनै दिन राम्रो काम गरेछु भने भगवानको कृपाले तारा बनेर तिमीलाई भेट्न आउँला । अहिले यो हृदयलाई कठोर बनाएर आकाशतिर तिमीलाई हेर्दै दुई पलको जिन्दगी जिउँनुबाहेक केही गर्न सक्दिन । आइ लभ यु मेरी प्यारी जून मुन । धन्यवाद


Author

थप समाचार
x