अनि लाग्थ्यो, अब साँच्चै दसैँ आयो
मकवानपुर - त्यो बेला, तत्कालीन आमभञ्ज्याङ गाविस ३ को नमूना सामुदायिक वनको धेरै माथि पुगेपछि बाबियो भेटिन्थ्यो । त्यो पनि सहजै हैन, भीर र पहरामा मात्रै । सजिला ठाउँको त अरुले काटेर लगिरहेका हुन्थे । हामी त्यही भीर र पहरामा पुगेर बाबियो संकलन गर्दथ्यौ । घाँसको भारीसँगै दैनिक एक वा दुई साना साना मुठ्ठा बाबियो ल्याउँथ्यौ, छानामा सुकाउन राख्दथ्यौँ । यो काम सुरु हुन्थ्यो सोह्र श्राद्ध लाग्नु अगावैबाट ।
बाबियो कै खोजिमा धेरै टाढाटाढा पुग्थ्यौ जंगलमा । घाँस काट्दा भेटिएको त्यान्द्रा त्यान्द्रा बाबियो साथीहरू मिलेर जम्मा गर्दथ्यौ । झण्डै १५ मुठाजति बाबियो चाहिन्थ्यो, एउटा मज्जाको लठ्ठा बाट्ने बाबियो पुर्याउन ।
सोह्रा श्राद्ध लाग्नु अगावैबाट सुरु गरिएको बाबियो संकलन काम लगभग सोह्र श्राद्ध सकिनै लाग्दा पूरा हुन्थ्यो । नियमित काम सकेर गाइवस्तु चराउन चौरमा लैजान्थ्यौ, त्यै चौरमा लिङे पिङको लागि बठ्ठा बाट्न हामी भेला हुन्थ्यौँ । हामी पनि के भन्नु एक, दुई जना पाका बाले लठ्ठा मिलाउनु हुन्थ्यो । सिपालु अरु ३ जना लठ्ठा बाँट्नको लागि एक एक वटा भाग लिएर घुम्न सुरु गर्दथे । हामी लठ्ठाको लागि पय थप्नको लागि बाबियो लिएर उभिन्थ्यौँ ।
अन्य केही बाबियो समेट्न त केही लठ्डा मिलाउन लागि पर्नुहुन्थ्यो ।
केहीले सबैको वस्तुभाउ बालिमा जानबाट रोक्थे, अझ भनौ सबैको बस्तु हेरालुको जिम्मेवारीमा हुन्थे । हामी गोठालाहरू मात्रै हैन, पिङको लठ्ठा बाँट्ने भनेपछि हेर्नेहरूको पनि भीड नै लाग्थ्यो । बाबियोको लठ्ठा बाटेर भ्याएपछि सुरु हुन्थ्यो लिङ्गो गाड्नको लागि बाँसको खोजी ।
हामी आपसमा ४र५ रुपियाँ उठाउँथ्यौ र बाँस किन्थ्यौ । लिङ्गे पिङको लागि लिङ्गो गाड्न धेरै गाह्रो काम । यसको लागि बलिया ठूला ब्यक्तिनै खोज्नु पर्ने । पिङ हाल्न सुरु भएपछि गाउँभरीको भीड लाग्दथ्यो मैदानमा ।
“तँ र म दोहोरो खेल्ने है ।”
“मलाई त मच्चाउन आउन्न ।”
“मलाई त कहाली लाग्छ, बसेर मात्रै खेल्छु ।”
“फलानोले त पिङै फर्काएका है पोहोर साल ।”
“यस्तो भयो भने पिङ लिङ्गा जान्छ, यसो गरौ ।”
भीडमा यस्ता यस्तै कुरा सुनिन्थे ।
सानासाना भाइ बहिनीहरू झन् धेरै चहलपहल हुन्थ्यो । कस कसले नयाँ लुगा पाए, कस कसले बाँकी उनीहरू बीचमा रमाइलो कुरा हुन्थे । यो भीड देखेपछि अब साँच्चै दसैँ आयो भन्ने लाग्दथ्यो ।
पिङ तयार हुन्थ्यो । खेल्नको लागि पालो लगाइन्थ्यो । हाम्रो नयाँ रुटिङ बन्थ्यो घरधन्दा सक्यो कि चौरतिर पिङ खेल्न दौडिन्थ्यौ ।
अर्को दिन माटो खन्न जान्थ्यौँ । कमेरो माटो रातो माटो । कमेरो माटो खन्न धेरै गाह्रो हुन्थ्यो । पानी चुहिरहेको आडारबाट माटो लिकाल्नु पर्दथ्यो, दिदी, आमा, काकी र भाउनुहरू पालैपालो माटो खन्न ओडामा पस्नुहुन्थ्यो, उहाँहरूले खनेर बाहिर फालेको माटो हामी जम्मा गरेर बारोमा उठाउँथ्यौ । माटो खन्दा खन्दै भोक लाथ्यो, भाउजु काकीहरू कमेरो माटोको साना साना ठल्ला चक्लेट जस्तै बनाएर मिठो मानेर खानु हुन्थ्यो । हामी त्यै जंगलमा अम्बा खोज्न जान्थ्यौ, कट्टा अम्बा भेटिए बटुलेर ल्याउँथ्यौ । खान्थ्यौ ।
भोलिपल्ट पुराना गाग्राहरू, अल्मुलियमका बाटाहरूमा बिहानै माटो भिजाउन हालिथ्यो र दाउरा घाँस घेप्न जान्थ्यौँ । एकखेप घाँस दाउरा गरेर फर्केर खाना खाएपछि घर पोत्न थाल्दथ्यौँ । कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरू जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरूमा फुल्न थालेका सयपत्री र मखमली फूहरूले झन् घरको शोभामा चमक थप्दथ्यो ।
काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरू र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझैँ देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
अर्को दिन लुगा धुने काम हुन्थो । डोकोभरी ओड्ने ओछ्याउनेको खोल र तन्नाहरू बोकेर हामी आमाको पछिपछि लागेर खोलामा पुग्थ्यौ । खोला छेउमै आगो बालेर भैसीलाई कुँडो पकाउने बडेमाको डेक्चिमा आमाले खरानी पानी भकभक उमाल्नु हुन्थ्यो । ओड्ने ओछ्याउनेको खोलहरू त्यै खरानी पानीमा पकाउनु हुन्थ्यो । लुगा पानीमा गुजगुज गरी पाक्दथ्यो । आमाले एउटा एउटा गरेर बाँसको लौरोले च्यापेर झिक्नुहुन्थ्यो र सिलित्त मिलेको चाक्लो ढुङ्गामा राखेर मुङ्ग्रोले ड्यामड्याम पिट्नु हुन्थ्यो । त्यसपछि हामीलाई दिनुहुन्थ्यो त्यो लुगा । हामी खोलाको कञ्चन पानीमा पखाल्थ्यौ । मगमग बास्न आउँथ्यो कपडा ।
धोएको खोल र तन्नाहरू बगरै भरी सुकाउँथ्यौ । बगर क्या राम्रो देखिन्थ्यो रङ्गीचङ्की ।
धोएको लुगा सुकुञ्जेल नुहाइधुवाइ भ्याइन्थ्यो, नजिकैको चौरमा हिजो अस्ति हालेको पिङ खेलिथ्यो र सुकेका लुगा बटुलेर अबेर दिनमा घर फर्कन्थ्यौँ ।
भोलिपल्ट च्युरा कुटिन्थ्यो, मगमग बास्ना आउने तातो तातो चिउरा पाएपछि हामीलाई केही चाहिन्नथ्यो । तोरी पिस्न बुबा जानुहुन्थ्यो, सँगै दसैँको लागि लुगा भित्रन्थे घरमा । माछा मासु खानेहरूको घरैमा खसी बोकाको जोहो हुन्थ्यो, नखानेहरूको पनि आफ्नो तरिकाको दसैँ जोहो भैसक्थ्यो ।
अष्ठमीदेखि घाँस, दाउरा, सोतर खेप्न जंगल जान पार्दैनथ्यो । घरछेउकै पाखाको घाँस दसैँको लागि जोगाएर राखिन्थ्यो, एक घण्टामै घाँस सोतको जोहो हुन्थ्यो । अनि मिल्दथ्यो फुर्सद आमा, काकी, भाउजुहरूलाई, । अनि हामीलाई पनि । हामी पिङमा झुम्मिन्थ्यौ, हामी पौडीमा रमाउँथ्यौ, हामी आँगनमै ओखरको दाउ बनाएर उफ्रदै खेल्थ्यौँ, अनि लाग्थ्यो दसैँ । दसैँको टीकाको दिन घरघरमा टीका लगाइन्थ्यो । गाउँभरी एकअर्काको घरमा टीका थाप्न गइन्थ्यो, सुका, मोहोर र रुपियाँका सिक्का फ्रकको गोजीमा बजाउँदै दौडिन्थ्यौ । अनि आउँथ्यो दसैँको मज्जा ।
अनि बुझ्दथ्यौ परिवारको महत्व, अनि ज्ञात हुन्थ्यो आपसि सद्भावको उचाइ । अनि पो महत्व थियो दसैँ र अन्य पर्वहरूको ।
०००
र, आज, यो बेला । दसैँ भित्रिसकेको छ । अहँ दसैँ भित्रेकै छैन । अर्थात् भनौ तिथिको हिसाबले दसैँ लागि सकेको छ । तर कतै त्यो दसैँको जस्तो चहपहल छैन । दसैँसँग पर्याय जस्तो बनेको लिङ्गे पिङ देख्नै मुस्किल छ ।
आजका बालबालिकाहरूमा त्यो खुसी र रौनकता नै देखिन्न उनीहरू मोबाइल लिएर बन्द कोठामा छन् ।
अभिभावकहरूमा त्यो हर्ष छैन, व्यस्तता छैन, पर्व मनाउन छाडेर ट्रेकिङ हिडिरहेका छन् । गाउँघर सुनसान छ, सबैलाई सहरको कोलाहल प्रिय भएको छ । यही कोलाहालयुक्त सहरको बन्द कोठामा मनाइरहेको छ दसैँ । न रमझम छ लिङे पिङ र जाँते पिङको, घरघरमै सदाबहार पिङ छ ।
न भ्याइनभ्याइ छ काम र खुसी खुसीले भरिएको त्यो व्यस्तताको । न हराभरा देखिन्छ सहर त्यो गाउँ जस्तो, न आपसी जमघट छ सहरमा त्यो गाउँको जस्तो ।
बस्, हराउँदै गएको मौलिकताको छिटा छिटा बोकेर बाँचेको छ दसैँ । यही आधुनिकता भित्र सहजतामा रगमगिएको दसैँ र देखावटी खुसी बोकेर म पनि यो दसैँको दृश्य हेरिरहेको छु । खास दसैँ त्यो हो कि यो हो ? खास पर्वको मौलिकता यसरी बाँच्दछ कि त्यसरी ?
पहिचान नै गुम्ने डर भयोः समाजशास्त्री केशव तिमल्सिना
चाडपर्वको मौलिकता हराउँदै जानु भनेको हाम्रो पहिचान नै गुम्दै जाने खतरा बढ्नु हो । हामी विस्तारै पश्चिमा संस्कृतिको नक्कल गर्दै आयौँ । अचेल हामीले आफ्नो चाडपर्व मनाउने तौतरिका नै फेरिएको छ । पछिल्लो समय जस्तो सुकै चाडपर्व पनि खानपानसँग बढी जोडिने गरेको छ । खानपानमा हाम्रो शैली पहिले जस्तो छैन । हाम्रो खानपान, लवाइले नै हामी पश्चिमाकरणतर्फ ढल्किँदै छौँ भन्ने देखाउँछ । यो हाम्रो आर्थिक हैसियत फेरिएको कारण पनि हो । केहीले प्रयाप्त धुमधामसँग पर्व मनाउने हैसियत बनाउन सक्छन् । उनीहरूले पर्वको रौनकता बेजोड नै हुन्छ ।
तर गरिखाने विपन्न वर्गको पहुँच त्यहासम्म पुग्दैन । उनीहरूले पर्व मान्ने हैसियत नै पुग्दैन र उनीहरू विस्तारै झन् झन आर्थिक दलदलमा फस्दै जान्छन्, यस कारण पनि यो सामाजिक रुपमा विकराल समस्या हो ।
अहिले पश्चिमाकरणको नक्कल गर्दै गर्दा कुन पर्वको ठ्याक्कै मौलिकता के हो भन्ने नै गुमिसकेको छ । पश्चिमा संस्कृतिको देखासिकी गरेर पर्व मनाउँदै गर्दा गरिखाने वर्गमा मार थपिएने त छँदैछ, यसले समाजमा असमानता समेत जन्माउँछ । यसले समाजमा विस्तारै सामाजिक सद्भावको पाटोलाई पनि कमजोर बनाउँदै लैजान्छ । पहिले जस्तो दसैँमा घरघरमा नौरथा पूजा गर्ने संस्कृति अहिले छैन । कुनै चोकमा मन्दिर बनाएर, सामूहिक पूजा गरिन्छ । यो एक हिसाबले झ्वाट्ट हेर्दा समूहमा बाँधिएको जस्तो देखिएपनि अन्ततः पर्वको अनुसाशन र मौलिक पहिचान हैन ।
चाडपर्वको खबर पाटाहरू छन् भने सुधार आवश्यक हुन्छ, तर हामीले पर्वको शैली र तरिका नै छाड्दै छाड्दै जाँदा भोलि हाम्रा सन्ततीहरूले के सिक्लान भन्ने अर्को प्रश्न पनि छ । यसप्रति सामाजिक अभियन्ताहरूको पनि चासो र चिन्तत आवश्यक छ । सामाजिक मूल्य र मान्यता बचाउन, साँस्कृतिक तथा धार्मिक पर्वहरूको मौलिकता जोगाउनको लागि सामाजिक अभियन्ताहरूको अभियान पनि खाँचो छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया