ब्लग

ब्लग

रारा सपनाका कुइनेटाहरू

मोटरसाइकलमा काठमाडौँदेखि रारासम्म - शृंखला २

इकागज |
बैशाख १०, २०७८ ६:४१ बजे

हामी जीवनलाई यात्रा ठान्छौँ । अनि यात्रालाई जीवन । कहिलेकाहीँ यो जीवन खोलामा बगेको पानी जस्तै भन्ठान्छौँ । खोलाको पानी समुद्रसम्म पुग्ला नपुग्ला । तर आफूलाई अनवरत यात्रामा लैजान चाहन्छौँ । चाहे त्यो चन्द्रमा नै पुग्ने लक्ष्य किन नहोस् ।

कहिलेकाहीँ जबर्जस्त उद्देश्य राख्छौँ । पूरा गर्ने प्रण गर्छौ । केही सपनाका लागि । केही रहरका लागि । केही आवश्यकताका लागि । अनि केही बाध्यताका खातिर पनि ।

हामी बाइकमा रारा पुग्ने एउटा जबर्जस्त उद्देश्य बोकेर काठमाडौँदेखि हिडेका थियौँ । यात्राको पहिलो दिनमै छौँ । यी शब्द पढिरहँदा तपाई मुग्लिनसम्म पुग्नुभएको थियो । अब हामी तपाईंलाई त्यहाँबाट अगाडिको यात्राको कथा सुनाउँदै छौँ । हामी अर्थात् सशीन्द्र गौतम, प्रल्हाद अधिकारी र भाइ लोकेन्द्र । 

बाइकमा झण्डा गाडेपछि हाम्रो यात्रामा राराको छाप लाग्यो । प्रायः काठमाडौँमा समाचार बनिरहने नारायणघाट-मुग्लिन सडकखण्डमा थियौँ । पहिले पहिले यो सडकमा हिँड्दा सात्तो जान्थ्यो । अहिले काठमाडौँ आउँदा-जाँदा सबैभन्दा रोमाञ्चक यात्रा यही सडकमा हुन्छ ।

हाम्रो बाइकको स्पिड ६०/७० किलोमिटर प्रतिघण्टा थियो । केही मोडहरूमा बाहेक त्रिशुली किनारको यो सडकको यात्रा निकै रोमाञ्चक लाग्छ । त्यसमाथि साना ब्रेकरले चालक र यात्रुलाई छुट्टै महसुस गराउँछ ।

हामी मुग्लिनबाट अगाडि बढ्दा सरकारी कार्यालय खुलिसकेका थिए । मानिसहरूको दैनिकी सुरु भइसकेको थियो । मुग्लिनमा यो समय भनेको सडक खाली हुनु हो । काठमाडौँ आउजाउ गर्ने गाडीले यो समय बाटो काटिसकेका हुन्छन् ।

बिहान र बेलुकीको समयमा भने मुग्लिनमा ट्राफिक जाम नै देखिन्छ । गाडीको लाम हुन्छ । तर यसपटक हामी खाली सडकमा एक्लै बाइक 'रेस' गर्दै थियौँ ।

त्रिशुलीको किनारै किनारको मुग्लिन यात्रा जति पृथक् लाग्छ । बाइक चलाँउदै यात्रा गर्नेका लागि त्यो एक फरक अनुभूति बनेर मष्तिष्कमा रहन्छ । 

मुग्लिनबाट देवघाट 

मुग्लिनमा झण्डा किनेर बाइकको पछाडि साइडमा बाँधेर फरफराउँदै हिडेको १० मिनेटमा हामीले नारायणगढ-मुग्लिन सडकखण्डको पीच बाटो छाड्यौँ ।

पीचबाट दाहिनेतिर त्रिशुली नदीतर्फ लाग्यौँ । एउटा झोलुंगे पुल थियो । अगाडि सशीन्द्र दाइ र प्रह्लादजी । हामीले फलो गर्‍यौँ । पुल तर्यौं । पुल तरेपछि कच्ची बाटो हिड्यौँ ।

झण्डै ४५ मिनेट हामीले कच्ची बाटोको यात्रा गर्यौं । एउटा घर अगाडि प्रह्लादजीले बाइक रोक्नुभयो । अगाडि आमा देखिनुभयो । सशीन्द्र दाइको आमा तनहुँको देवघाट बस्नुहुन्छ । दाइले बेला बेला कुरा गर्नुहुन्थ्यो । 

यसपटक दाईले हामीलाई पनि लिएर जानुभयो । एउटा पवित्र ठाउँ, देवघाट । त्यो पवित्र ठाउँको यात्रा हाम्रा लागि विशेष थियो । यात्रामा निस्किँदा यस्तै धार्मिक ठाउँहरूप्रति असाध्यै धेरै भरोसा हुन्छ ।

आमा, हाम्रो पखाईमा हुनुहुन्थ्यो । भात, दाल, अचार, तरकारी र साथमा दही थियो । झण्डै ११ बजे हामी देवघाट पुग्दा पेटमा ‘मुसाको इन्ट्री’ भइसकेको थियो ।

आमाले पकाएको मीठो खाना खायौँ । पेटका मुसा धपायौँ । बाइक चलाउँदा थाकेका थियौँ । एकछिन आराम गर्न भनेर पिँडीमा बस्यौँ ।

दाइले वाइफाईको पासवर्ड दिनुभयो । फेसबुक खोल्यौँ । बाइकमा चढेको फोटो अपलोड गर्दै क्याप्सन लेख्यौँ, ‘बाइकमा काठमाडौँदेखि रारासम्म....।’ 

यो क्याप्सन लेख्दा औँला कापेका थिए । मुटु हल्लिएको थियो । किनकि लेख्न सजिलो थियो । रारा पुग्न गाह्रो थियो । त्यसमाथि बाइक चढेर । आफैँले चलाएर । मृत्युमार्ग भनिने कर्णाली राजमार्गको डरलाग्दो बाटो हिँडेर । रारा पुग्ने सपना थियो । एउटा दुस्साहस थियो । 

फोटोमा रारा क्याप्सनले लाइक र कमेन्ट आउन थाल्यो । मोबाइल स्क्रिन लक गरेर गोजीमा घुसायौँ । हामी फेरि यात्राको सुरसारमा लाग्यौँ । 

सशीन्द्र दाइले बाटोमा चाहिने औषधि किन्नुभयो । हिमाली जिल्लामा लेक लाग्ने हुँदा हामीले औषधि छुटाउन चाहेनौँ । औषधि किनेर झोला राम्रोसँग बाध्यौँ । 

झण्डा बाइकबाट निकालेर पिठ्युँमा बोकेको झोलामा बाध्ने निर्णय गर्यौँ । पछाडि बस्नेले झोलामा बाँधेर हिँड्दा बाटोमा शिरमाथि नेपाली झण्डा फरफराउँथ्यो । 

हामी आमासँग बिदा मागेर पुनः यात्रामा अघि बढ्यौँ । केहीबेर हिँडेपछि देवघाट पुग्यौँ । जहाँको झोलुंगे पुलमा हामीले अनौठो अनुभूति गर्यौं । पुल पुरानो देखिन्थ्यो । बाइक डोर्याएर पार गरिरहेका थिए । मैले यो धार्मिक आस्था र विश्वास होला सोँचे । तर मेरो अनुमान फेल खायो ।

बाइकमा चढेर पुल तर्दा पुल चुँडिने डर हुन्थ्यो । देवघाट उपभोक्ता समितिले बाइक चढेर आउनेलाई अनिवार्य डोर्याएर मात्रै पुल तर्न दिने नियम लगाएको थियो । हामीले पनि त्यही गर्यौं ।

बाइक डोर्याउँदै पुल पार गर्यौं । चर्को घाममा बाइक डोर्याउँदाको पीडा कम्ता थिएन । झण्डै दश मिनेट बाइक डोर्याउँदा असिनपसिन भयौँ । बाइक चलाउँदा लगाएको ज्याकेटभित्र पसिना बगिरहेको थियो ।

पारिपट्टि बाइक रोकेर एकछिन आराम गर्यौं । पोज पोजमा फोटो खिच्यौँ । देवघाटको गर्मी बहाना बन्यो । हाम्रो फोटो खिच्ने रहर पूरा भयो ।

घडीले दिउँसोको १ बजेको देखायो । हाम्रो मन आत्तियो । रारा पुग्नु थियो । यसरी अल्झिँदा ढिला हुन्थ्यो । सरासर बाइक चढेर स्पिड बढायौँ ।

कालीगण्डकी नदीको किनारै किनार हामी नारायणगढतर्फ लाग्यौँ । जंगलको बाटो पिच थियो । छेउमा कालीगण्डकी । आफ्नै रफ्तारमा हिड्यौँ । दिउँसोको समय थियो ।

प्रह्लादजी र म बाइक चलाउँदै गयौँ । पछाडि बसेका सशीन्द्र दाइ र लोकेन्द्र भाइको शिरमाथि झण्डा फहराउँथ्यो । यस्तो लाग्यो, यो केवल यात्रा होइन, अनुभूति हो । 

पन्ध्र मिनेटमा हामी नारायणगढ पुग्यौँ । नारायणी नदीको पुल तरेर अगाडि बढ्यौँ । नारायणगढबाट बुटवलतिरको रोड व्यस्त थियो । ठूला गाडीको वर्चश्व । बस, ट्रक र भ्यान छल्दै हामी अगाडि बढ्यौँ ।

दाउन्‍नेको दाउ

नारायणगढदेखि बुटवलसम्म साढे तीन घण्टाको बाटो । १२१ किलोमिटर लामो । यो बाटोमा सबैभन्दा ठूलो डर दाउन्नेको थियो । बाटो भत्केर धुलाम्मे । हिँड्दा हिँड्दै माथिबाट सुख्खा पहिरो खस्ने डर । ट्रक र टिप्परको रजाइँ । पहिलो दिन यो बाटो काट्नु हाम्रो मुख्य चुनौती बन्यो ।

योजना त पहिलो दिन नै हामी सुर्खेत पुग्ने थियो । तर मुग्लिनबाट हामी तनहुँ देवघाट पुगेपछि यात्रा लम्बियो । दिन छोट्टिँदै गयो । कम्तीमा बुटवल भए पनि पुग्ने हाम्रो योजना बन्यो ।

चुनौती दाउन्नेको थियो । बाइकको स्पिड बढायौँ । रोड खाली देख्नेबित्तिकै ७०/८० किलोमिटर प्रतिघण्टाको गतिमा हिड्यौँ । दाउन्नेको पुल आइपुग्यौँ । मुटु हल्का काँप्यो । यो बाटो किन डरलाग्दो छ भने अगाडि केही देखिँदैन । अनि माथिबाट कतिबेला पहिरो खस्ने हो, टुंगो हुँदैन । 

सबैभन्दा अप्ठ्यारो बाइकवालालाई हुन्थ्यो । ठूला गाडीले पेल्ने । सित्तिमित्ती साइड नदिने । ट्रक र टिप्परले धुलो उडाउनै नपर्ने । हेलमेटका कारण आँखा हेर्न सकिन्थ्यो । तर धुलोले अगाडि र पछाडिको गाडीको बत्ती पनि देखिँदैनथ्यो ।

कति ठाउँमा अन्दाजै बाइक चलाउनुपर्छ । आँखा तन्काएर हेरे केही देखिन्छ । त्यस्तो बेला आँखा हेर्नु कि बाइक चलाउनु ? साह्रै सकसको यात्रा हो, दाउन्ने । आँखा मिच्दै, ट्रक र टिप्परलाई हर्न थिच्दै, धेरथोर धुवाँ धुलो खाँदै ४५ मिनेटमा हामीले दाउन्ने काट्यौँ । दाउन्नेको डाँडोमा पुगेर बाइक रोक्यौँ । जहाँ होटल छन् ।

केहीबेर रोकिएर आफैँलाई हेर्यौं । धुलोबाहेक अरु केही देखिन्नथ्यो । ज्याकेट, पाइन्ट, जुत्ता आफ्नो थिएन । दुम्कीबास बजारनेर एकछिन रोकिएर हामी फेरि अगाडि बढ्यौँ ।

बर्दघाट बजार पुगेर खुल्ला चौरमा बाइक रोक्यौँ । थाकेर लखतरान थियौँ । घडीमा दिउँसोको तीन बजेको थियो । तराईमा जीउ पोल्ने गर्मी । हाँगा र पात नभएको रुखको छहारी भेट्यौँ ।

ज्याकेट उतार्यौं । जुत्ता फुकायौँ । चौरमा एकछिन टोलायौँ । एकछिन लम्पसार पर्यौं । भोक लागेको थियो । तिर्खा बढेको थियो । मिनरल पानी किनेर पियौँ ।

नजिकै ठेला पसल थियो । चटपटे र पोलेको मकै किनेर पेटमा हाल्यौँ । झण्डै एक घण्टा हामी बर्दघाटमा सुस्तायौँ । आज बुटवल भए पनि पुग्नुपर्छ भनेर फेरि बाइकको एक्सिलेटर घुमायौँ ।

बर्दघाटदेखि बुटवल ५२ किलोमिटर । रामनगर, सुनवल हुँदै हामी झण्डै ६ बजे बुटवल बजार टेक्यौँ । सूर्यास्तको समय थियो । ट्राफिक जाममा काठमाडौँलाई पछार्ने होडमा बुटवल देखिन्थ्यो ।

बिस्तारै हामी बुटवल बजारलाई दाहिने पारेर नेपालगन्ज रोडपट्टि लाग्यौँ । बाक्लो ट्राफिक जाम थियो । हेर्दा उज्यालै देखिन्थ्यो । केही अगाडि बढ्ने सुरमा हामी रोकिएनौँ ।

जहाँसम्म झमक्क रात पर्दैन, त्यहाँसम्म हिँड्ने हाम्रो नयाँ योजना बन्यो । बिस्तारौँ जाऔँ भने पनि हाम्रो मन आत्तिसकेको थियो । बाइक स्पिडमा कुदाउन थाल्यौँ । सैनामैना, सालझण्डी, वाणगंगा, चार नम्बर चोक हुँदै हामी गोरुसिंगे पुग्यौँ । त्यसपछि घना जंगल थियो । दाङसम्म पुग्न ढिला हुने भएपछि हामीले गोरुसिंगेमा बास बस्ने निर्णय गर्यौँ ।

गतिलो होटल भेट्न मुश्किल थियो । तर थाकेर ज्यान थिलथिलो भइसकेको थियो । अब अगाडि बढ्न सकिँदैन भनेपछि एक मध्यमखालको होटल भेट्यौँ । गोरुसिंगेबाट अर्घाखाँची जाने रोडको सामुन्नेको होटलमा हामी रात बिताउन तयार भयौँ ।

ज्यान थाकेर हामी लल्याकलुलुक भइसकेका थियौँ । बाइक होटलभित्र राखेर खाना खाएपछि हामी कतिबेला निदायौँ, पत्तो पाएनौँ । महेन्द्र राजमार्गको त्यो बाटोमा हिँड्ने मालवाहक ट्रकको हर्नले भने रातभर सुत्न दिएन । 

दोस्रो दिन : देउराली दर्शन 

राजमार्ग छेउकै होटलमा बिहानै ४ बजे निद्रा हरायो । हामीले मुस्किलले रात कटाएका थियौँ । ठूलो गाडीले ब्रेक लगाउँदा पनि चुइँक्क...आवाजले कानको जाली फुट्ने ध्वनि प्रदूषण हुन्थ्यो ।

४ बजे उठेर दाउन्नेको धुलो पखाल्यौँ । पाँच बज्यो । गोरुसिंगेबाट अर्घाखाँचीको सुपादेउराली मन्दिर नजिकै पर्छ भन्ने सुन्यौँ ।

जाऊँ न त । बिहानै मन्दिर पूजा गरेर हिँडे राम्रै हुन्छ भन्ने सोचेर हामी दाङ हिँड्नुपर्ने बेला गोरुसिंगेबाट उकालो लाग्यौँ । बिहानै ५ बजे हिड्यौँ । झण्डै साढे ८ बजेतिर पुग्यौँ । गोरुसिंगेबाट उकालो लागेर ठाडा हुँदै सीतापुर पुग्दा त हामी कर्णाली पुगेकै आभास गरिरहेका थियौँ ।

उकालो बाटो । कच्ची । त्यसमाथि ठाडै भीर कोतरेर निर्माण गरिएको बाटो डरलाग्दो थियो नै । सुपादेउरालीको चर्चा धेरै भए पनि मन्दिर सानो थियो । भीरमै निर्माण गरिएको मन्दिरमा आस्था र विश्वास भने ठूलो देखिन्थ्यो । जहाँ टाढा टाढादेखि आफूले गरेको भाकल पूरा हुँदा बोकाको बलि चढाउनेको संख्या बाक्लो देखिन्थ्यो ।

डाँडामाथिको टुप्पोमा देखिने मन्दिरमा हावा राम्रै चल्छ । दिउँसोतिर उडाउने गरी चल्छ । हामी बिहानको पारिलो घाममा मन्दिर पुगेर दर्शन गर्यौँ । खाजा खायौँ । केही थान फोटो खिच्यौँ ।

अर्घाखाँचीको सबैभन्दा चर्चित धार्मिकस्थल सुपादेउराली पनि घुम्यौँ । यस्तो लाग्यो, नामले कर्णाली विकट लाग्छ । भौगोलिक बनावटको ठूलो चर्चा हुन्छ । तर पहाडी जिल्ला अर्घाखाँची पनि कम लाग्दैन ।

बाटोको अवस्था हेर्दा सुपा देउराली पुग्न हामीलाई हम्मे हम्मे परेको थियो । त्यसभन्दा माथि सन्धीखर्क पुग्न झनै सकसको बाटो । हामी सन्धीखर्क नपुगी फरक्क गोरुसिंगे फर्कियौँ । 

उकालो ओरालोभन्दा बढी असाध्यै मोड । मोडै मोडमा निकै होसियार भएर चलाउनुपर्ने । हामी ११ बजे गोरुसिंगे फर्कियौँ । अनि महेन्द्र राजमार्गको व्यस्त सडकमा बाइकको स्पिड बढायौँ ।

सायद दिनभर बाइक चलाएर होला । हामी काठमाडौँबाट हिँडेको दोस्रो दिनमै कतै धेरै टाढा पुगेको महसुस भइसकेको थियो । हामी यात्रा गर्दै थियौँ । तर धेरै टाढा पुगेर धेरै टाढाका लागि हिँडेको जस्तो महसुस गरिरहेका थियौँ ।

हामी कपिलवस्तुबाट दाङ हिड्यौँ । मध्यान्हमा भालुबाङ पुग्यौँ । भालुबाङको नवनिर्मित पक्की पुलमा एकछिन अल्झियौँ । बाइक रोक्यो कि फोटो खिच्ने हाम्रो यात्रा थियो ।

आखिर जीवन यात्रा न हो । हामी यसैगरी यात्री बनेर हिँडिरह्यौँ । जहाँ रोकियौँ । त्यहाँ केही फोटो खिच्यौँ । केही सम्झना साटासाट गर्यौँ । जसमध्ये केही फेसबुकमार्फत सार्वजनिक गर्यौं । धेरै मोबाइलकै ग्यालरीमा थन्क्यायौँ ।

झण्डै एक घण्टा राप्ती नदी र उपत्यका नियालेर हामी अगाडि बढ्यौँ । बाटो फराकिलो थियो । बाँके राष्ट्रिय निकुञ्जको परिसर नजिकै पुग्दै थियौँ ।

कहीँ बस्ती । कही जंगल । कहीँ उकालो । कहीँ ओरालो ।  कहीँ कच्ची । कहीँ पक्की । केही ठाउँमा धुवाँ र धुलो । हामीले बाटोलाई खोला ठान्यौँ । अनि आफूलाई पानी । खोलाको बगरै बगर जसरी पानी बग्दै हिँड्छ । हामी पनि त्यसरी हिँड्यौँ ।

जहाँ मोड आए । स्पिड घटाएर हामीले मोड काट्यौँ । जहाँ सम्म छ । सिधा छ । फराकिलो छ । त्यहाँ ७०/८० को स्पिडमा हिड्यौँ । दाङदेखि बाँके नेपालगञ्जसम्मको धेरै बाटो फराकिलो छ ।

त्यसैले सास्ती कम छ । बाँके राष्ट्रिय निकुञ्जको बाटो झन् फराकिलो छ । राम्रो स्पिडमा हिँड्न पाइन्छ । धेरै नियन्त्रणबाहिर जान भने मनाही छ । हामीले सबै नियम पालना गरेर हिँड्यौँ ।

तराईको चर्को गर्मीले हामीलाई चुनौती दिइरह्यो । भालुबाङपछि लमही, घोराही, कुसुम लगायतका ठाउँमा हामी केही विश्राम लिँदै अगाडि बढ्यौँ ।

सडक, सहर र सपना 

बाँके राष्ट्रिय निकुञ्जको शीतल छहारी हुँदै हामी कोहलपुर पुग्यौँ । यतिञ्जेल घडीमा साढे चार बजेको थियो । हिँडेको पहिलो दिन नै सुर्खेत पुग्ने योजना फेल खाँदा दोस्रो दिन पनि हामीलाई सुर्खेत पुग्न हम्मेहम्मे पर्यो ।

एकातिर भोक लागेको थियो । अर्कोतिर सुर्खेत पुग्ने हतारो । कोहलपुरको विशाल चौकमा हामी एकछिन गन्थनमन्थनमा लाग्यौँ । आजै सुर्खेत पुग्ने । भोलि कर्णाली राजमार्गको यात्रा गरेर रारातिर लाग्ने । कति यतै अल्मलिनु ? हाम्रो गन्थन यस्तै रह्यो ।

कोहलपुरबाट चिसापानी जाने बाटोको एक ठाउँमा हामीले ठेलामा राखेको भेज मःम खायौँ । अनि केही पानीपुरी पनि । हामी यति हतारमा थियौँ कि कुनै शान्त रेस्टुरेन्टमा बसेर खाजा खाँदा रारा पुग्न ढिला हुन्छ भन्ने चिन्ता हुन्थ्यो ।

झण्डै १५ मिनेट हामीले मःम र पानीपुरी खाएर बाटो लाग्यौँ । तराईको गर्मी पन्छाउँदै हामी पहाडको चिसो काखमा पुग्दै थियौँ । चिसापानीको आर्मी ब्यारेकमा इन्ट्री गरेर हामी अघि बढ्यौँ ।

जतिबेला सूर्य डाँडाबाट ओझेल परिसकेको थियो । गोधुली साँझमा बाइकको इन्जिनबाट आउने आवाजबाहेक बाँके राष्ट्रिय निकुञ्जको शान्त समयले हाम्रो मन स्पर्श गर्दै गयो । 

चिसापानीबाट उकालो लाग्दै गयौँ । देउराली आयो । त्यसपछि हर्रे डाँडा । त्यतिञ्जेल अँध्यारो भइसकेको थियो । हामी हेडलाइटको सहारामा सुर्खेत वीरेन्द्रनगर पुग्ने धाउन्नमा थियौँ । 

तर यात्रामा हाम्रो एउटा नियम बनेको थियो, रातिमा सकभर नहिँड्ने । ढिलोमा ८ बजेसम्म । त्यसपछि एक पाइला पनि अघि नबढ्ने । टाढा पुग्नु थियो । रारा पुगेर स्वर्गकी अप्सरा हेर्नु थियो ।

हामी रातविरात हतार गरेर हिँड्ने पक्षमा थिएनौँ । लामो बाटोको यात्रा भएकाले बिस्तारै संयमित भएर हिँड्नु हाम्रो यात्राको अनुशासन थियो । जसलाई हामीले राम्रोसँग पछ्यायौँ ।

हर्रे पुग्दा रात परिसकेको थियो । थाकेका थियौँ । त्यसमाथि भोक लाग्न थालेको थियो । हर्रे डाडाँमा सुन्तला र बदाम खायौँ । झण्डै बीस मिनेट विश्राम लिएर हामी फेरि अघि बढ्यौँ ।

बाटो घुमाउरो । भिरालो पनि । अलिकति पनि संयम गुमाए सिधै भेरीको किनार पुगिने डर थियो । बिस्तारै बाइक चलायौँ । मन र तन दुवै थाकिसकेको थियो । राति ठीक ८ बजे हामी छिन्चु बजार पुग्यौँ । अब त्यहाँबाट वीरेन्द्रनगर पुग्न तीस मिनेटको समय बाँकी थियो । तर हामी थाकेर अगाडि बढ्न सक्ने अवस्थामा थिएनौँ ।

त्यसमाथि सशीन्द्र दाइ र प्रह्लादजी कुनै हालतमा छिन्चुबाट अगाडि जाने मुडमा थिएनन् । राति भएकाले छिन्चुमै बसेर अर्को दिन मात्रै वीरेन्द्रनगर हुँदै कर्णाली राजमार्ग हिँड्ने उहाँहरूको जोड रह्यो ।

त्यसपछि हामीले थाकेको शरीरलाई आराम दिन होटल खोज्यौँ । छिन्चु बजारकै होटलमा बसेर रारा पुग्ने सपनाको नजिक पुगेको महसुस गर्न थाल्यौँ । 

रारा सपना आफैँमा एउटा फरक र जोखिमपूर्ण सपना थियो । हामी त्यसैलाई पूरा गर्न काठमाडौँदेखि नै जोखिम मोलेर बाइक यात्रामा निस्केका थियौँ । यस्तो लाग्थ्यो, हामी जोखिम होइन, एउटा सुन्दर रोमाञ्चकतासाथ खोलाको पानीसरि आफूलाई यात्रामा बगाइरहेका छौँ ।

यही सोचेर कर्णाली राजमार्गको डरलाग्दो बाटो सम्झिँदै हामी छिन्चु बजारमा निदायौँ ।

क्रमशः 

र, यो पनि 

 

 


 

 


 



Author

थप समाचार