ब्लग

'घरीघरी त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने अवस्था के होला ?'

डा. अनुप वास्तोला |
बैशाख ११, २०७८ शनिबार ९:४७ बजे

डा. अनुप​ वास्तोला शुक्रराज सरुवा रोग अस्पतालका डाक्टर हुन् । शनिबार उनले लगातार एकपछि अर्को ट्‍वीट गरेका छन् । ट्‍वीटमा उनले नेपालमा पछिल्‍लो समय कोभिड-१९ संक्रमण बढिरहेकोप्रति चिन्‍ता व्‍यक्‍त गरेका छन् । संक्रमणको फैलावट यही गतिमा अघि बढे बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्‍नेतर्फ उनले समेत गराएका छन् । 

हामीले उनका केही ट्वीटलाई संकलन गरेर यहाँ प्रस्‍तुत गरेका छौ, हेरौ उनकै शब्‍दमा:


'मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।'

'जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।'

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रूपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो ।'

'संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ । अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।'

'कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।'

'तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । "चेन ब्रेक" नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।'

'कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौं ।'

'विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरीघरी त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?'


Author

थप समाचार
x