ब्लग

महाकवि देवकोटाको पत्र प्रधानमन्त्री केपी ओलीलाई !

प्रा.डा. ऋषिराम शर्मा |
कात्तिक २९, २०७७ ९:३७ बजे

नेपालका प्रम केपी ओलीज्यू,
स्वर्गवासी म लक्ष्मीप्रसादका तर्फबाट अभिवादन !

मैले ‘के नेपाल सानो छ ?’ निबन्धमा नेपाललाई सुन्दर, शान्त र विशाल भनेको थिएँ । विश्व मानचित्रमा नेपाल सिन्धुमा हराएको बिन्दुजस्तो सानो भए पनि यो बहुमूल्य हीरा र मोतीवत् मूल्यवान् र विशाल बन्नेछ भनेर त्यस निबन्धमा उहिल्यै सम्भाव्य समृद्ध नेपालको परिकल्पनासाथ भावुक हुँदै म पोखिएको थिएँ । तपाईंको प्रधानमन्त्रित्व कालमा  नेपालले आज राजनीतिक र व्यावहारिक रूपमा विशालताको अनुभूति गर्ने अवसर पाइरहेको कुराका केही दूरगामी परिणाम आउने अभिलक्षण देखापर्दै छन् ।

र यसले मलाई मात्र होइन, स्वर्गवासी हामी सारा साहित्यकारहरूलाई समेत गौरवान्वित तुल्याएको छ । आदिम ऋषिमुनिहरूको तपोभूमि र ज्ञानको अजस्र स्रोत नेपालको समृद्धताको सपना तपाईंमा जे जति छ, र नेपाली संस्कृति, साहित्य र सभ्यताका चेतनाको अमूल्य मूल्यबोध तपाईंमा जे जति छ, त्यतिको चेतना र त्यसलाई मूर्तता प्रदान गर्ने अठोट यसभन्दा अघिका अरु प्रधानमन्त्रीमा भइदिएको भए सायद प्रकृति र संस्कृतिका दृष्टिले विश्वकै समृद्ध यो सुन्दर, शान्त र विशाल मुलुक नेपाल, भौतिक र आर्थिक दृष्टिले पनि उहिल्यै समृद्ध र विशाल भइसक्थ्यो होला ।

प्रम केपीज्यू !
अँ, त पहिले म अलिकति आफ्नै सन्दर्भबाट कुरा सुरु गरूँ । सर्वप्रथम त म व्यक्तिगत रूपमा तपाईंलाई धन्यवाद दिन चाहन्छु । मुलुकको कार्यकारी प्रमुखको कार्यभार ग्रहण गर्दैगर्दा २०७५ सालको लक्ष्मीपूजा अर्थात् मेरै जन्मदिनका दिन सरकारी निवासमा मदन भण्डारी कला प्रतिष्ठानको ब्यानरमा भव्य कार्यक्रम गर्नुभयो । देशका कवि र साहित्यकारप्रति यहाँको अनुराग देखेर म गद्गद् भएको थिएँ । मलाई थाहा छ । त्यसबेला तपाईंको देह कति अस्वस्थ थियो । डाक्टरहरूले तपाईंलाई नबोल्न भनिरहेका थिए ।

अँ, तपाईंलाई डाक्टरहरूले नबोल्न सल्लाह दिँदादिँदै पनि र उद्घोषकले बोल्न नबोलाउँदा नबोलाउँदै पनि थोरै बोल्छु भनेर जिद्दी गर्नु भो । उपचारका नाममा रोपिएका तीखा र रूखा सुईले तपाईंको जिउ छियाछिया भएको थियो । तपाईंको देहमा अनेकौँ रोगहरूले हमला गरिरहेका थिए तर तपाईं मेडिकल औषधिका साथै आत्मबलका सम्बलको सशक्त महौषधि लिएर ती रोगहरूसँग भिडिरहनु भएको थियो । र त्यस दिन त्यस्तो अवस्थामा तपाईंले मेरो त्यो झुपडीलाई सरकारले खरिद गरी राष्ट्रिय संग्रहालय बनाउने घोषणा गर्नुभयो ।

मैले यो कुरो सुन्नासाथ मेरा आँखाबाट खुसीका आँसुको भल नै बगेको थियो । त्यसदिनको कार्यक्रममा मेरो अत्यन्तै प्यारो कृति मुनामदन लगायतका खण्डकाव्यमा पिएच्डी गर्ने महादेव अवस्थीले मेरो साहित्यिक पाटाका बारेमा नबोलेर राजनीतिक आयामका बारेमा बोल्नुभएको थियो र त्यस भाषणले मलाई आफ्नो जीवनकालमा राजनीतिमा लागेर निरंकुुश राणा शासनविरुद्ध नेपाली जनताको मुक्तिका लागि आफ्ना जहान परिवार र खाँदाछँदाको जागिर छाडेर बनारस पुगेको कुरा झल्झली सम्झायो ।

शिक्षामन्त्री भएर ‘नेपाल एकेडेमी’ र ‘त्रिभुवन विश्वविद्यालय’को स्थापना र त्यसका लागि कीर्तिपुरको कीर्तिमय नगरीमा जग्गा व्यवस्थापन गरेको अतीतको चित्र झ्याप्पै अगाडि आइपुग्यो । त्यतिबेला मेरै पहलमा स्थापना भएको एकेडेमीका नाममा आज मेरो कुटी नामसारी भएछ ! र मेरा नाममा सङ्ग्रहालय बन्ने भएछ, कस्तो संयोग ! कस्तो खुसीको कुरा !

केपीज्यू !
हुनत तपाईं निकै जिद्दीवाल हुनुहुन्छ भन्ने मुलुकभरि भाइरल बनाइएको छ र अलिअलि त्यो कुरा सत्य नै पनि हो रे । जनताको बहुदलीय जनवादको वैचारिक अस्त्रले सुसज्जित तपार्इंको त्यही जिद्दी भनौँ वा अडान, जसलाई नेपाली जनताले बिछट्टै मन पराएरै त होला तपाईंको नेतृत्वमा विश्वलाई नै विस्मित तुल्याउने गरी वामपन्थीलाई दुई तिहाइको हाराहारीको मत दिए !

तपाईंको जिद्दीको म पनि फ्यान नै छु ! मुलुकलाई काँक्रा चिरेझैँ चिरा पार्न र नुन खुर्सानी हालेर खान राल काढेकाहरू तपाईंको जिद्दीका अगाडि परास्त भए । संविधान जारी गर्न  नदिनेहरू तपार्इंकै जिद्दीका अगाडि लत्रन बाध्य भए ।  सौन्दर्य, सभ्यता र संस्कृतिको कल्पवृक्ष नेपाललाई विषवृक्ष बनाउनेहरू र नेपाली-नेपालीबीच सदियौँदेखिको सद्भावनाको पर्खाल भत्काउनेहरू बबुरा भए ।

विद्रोहपछि मौलाएको हुँडार प्रवृत्ति र दादागिरीलाई तपाईंको जिद्दीले धुलो चटाइदियो । करिब सात दशकदेखि अनागरिक बनाइएको वा लुटिएको नेपाल आमाको मुटुको टुक्रोभन्दा पनि प्यारो लिम्पियाधुराको धुरीले तपाईंको जिद्दीका कारण नेपालको नागरिकता पायो । तपाईंकै जिद्दीका कारण नेपाल भूपरिवेष्टित मुलुकको दुर्दशाबाट मुक्ति पाई भूजडित मुलुक बन्न पुग्यो । नेपालका नेताहरूलाई जुन सामन्तले आफ्ना दैलामा दर्शन भेटका लागि लाम लगाउन विवश पार्थे र जसले आफ्नो ढोकामा ढुक्न र लत्रन बाध्य पार्थे, तिनै सामन्तहरू अहिले तपाईंकै जिद्दीका कारण तपाईंका  ढोकामा धाउन बाध्य हुँदै छन् !

अँ, केपीज्यू, जब जब तपाईंको यो जिद्दी देशका लागि प्रयोग हुँदो रहेछ ! त्यसले तपाईंको प्रसिद्धिलाई लोकप्रियताको शिखरमा पुर्याउँदो रहेछ भन्ने यहाँबाटै हामीले अनुभूत गरिसक्यौँ ! तर त्यही जिद्दी अपवादका रूपमा र कदाचित् जब कुनै व्यक्तिविशेषमा पटकपटक (सकारात्मक वा नकारात्मक) प्रयोग भइरहन्छ त्यसले चाहिँ तपाईंलाई विवादित बनाउँदो रहेछ भन्ने हामीलाई पनि हो कि हो कि झैँ लाग्न थालेको छ । त्यसमा तपाईं सचेत हुनुहुने नै छ ! तपाईंका यिनै झिनामसिना जिद्दीका तिललाई पहाड बनाई अतीतमा देशको ढुकुटीलाई सुकुटी बनाएर चपाउने कतिपयहरूद्वारा तपाईंमाथि आक्रमण हुँदो छ रे । सतर्क रहनु होला । किनकि तपाईंको स्वस्थकर जिद्दीको व्यञ्जनले मुलुकको राष्ट्रियताको धीत अझै मरेको छैन र पेट अझै भरिएको छैन । 

अँ, केपीज्यू,
मीठो सपना बाँडेर जनधनको विनाश गर्दै खेलिएको  विद्रोहका नामको रागतको र विध्वंशको होली कुरूप विपना (परिवार र केही दर्जनको अमरावती) मा अनुवाद भएपछि मौलाएको विकृतिका कारण मुलुकमा त्यतिबेला  साहित्यकारका सालिक फोडिए भन्ने पनि सुनेँ । नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष भानुभक्त आचार्यको सालिक फोडिएको दिन म धुरुधुरु रोएको थिएँ । नेपाली भूमिमा ज्युँदा साहित्यकार मात्र होइन दिवङ्गत साहित्यकारको आत्माले पनि सुख नपाउने भो कि भनेर हामी स्वर्गवासी साहित्यकारहरू पनि चिन्तामग्न थियौँ ।

थाहा छ, केपीजी, जब मेरो यहाँ कहिलेकाहीँ विश्वका साहित्यकार सेक्सपियर, वर्डस्वर्थ र गेटेहरूसँग भेट हुन्छ । उहाँहरू भन्नुहुन्छ, हेर, देवकोटा तिमी जत्तिको प्रतिभाशाली लेखक युरोपमा जन्मेका भए ‘नोबल पुरस्कार’ पाइसक्थ्यौ ।

अनि म भन्ने गर्थेँ, हाम्रो देश प्रतिभै प्रतिभाहरूको खानी हो, हाम्रो देशमा सयौँ सेक्सपियरहरू हलो जोतिरहेका छन् र गेटेहरू गाई चराइरहेका छन्, टर्नरहरू टमाटर टिपिरहेका छन् !’ उहाँहरूलाई म बेलाबेला मेरो ‘के नेपाल सानो छ’, ‘पहाडी जीवन’ र ‘हाइहाइ अङ्ग्रेजी’ निबन्ध अङ्ग्रेजीमा सुनाउँछु, अनि एक रातमै ‘कुञ्जिनी’ खण्डकाव्य रचेको कुरो सनाउँछु विस्मित हुँदै उहाँहरू दङ्ग परेर सुनिरहनुहुन्छ र ट्वाल्ल परेर हेरिरहनुहुन्छ ।

अँ, केपीजी । तपाईंले आफ्नो सरकारी निवासमा २०७५ सालको भानु जयन्तीमा नेपालीहरूले बोल्ने नेपालका भाषा र नेपालीहरूका विविध संस्कृतिहरूको दक्षिण एसिया स्तरीय हिमवत् खण्डको विशाल सम्मिलन गर्नुभएको थियो । हामी यहीँबाट त्यो दृश्य दिव्य दृष्टिले बडो रुचिपूर्वक हेरेका थियौँ । यही सालको भानुजयन्ती भव्यरूपमा मनाउनु भएछ । भानुभक्तका रामयणको चर्चा गर्दागर्दै दक्षिणतिर सात रेक्टर स्केलको भूकम्प जाने गरी नेपालमा रामजन्मेको रहस्यको पर्दा पनि उघारिदिनु भएछ ।

सुन्छु, यहाँकी धर्मपत्नी प्रथम महिला राधिका शाक्यको विशेष पहलमा साहित्यकार झमक घिमिरेका लागि यहाँको नेतृत्वको सरकारले निजी घर अर्थात् साहित्य कुञ्ज नै बनाइदिएछ । देशको समृद्धिका लागि अक्षरको खेती गर्ने हामी साहित्यकारप्रति यहाँको सद्भावले हामी कृतकृत्य छौँ । यहाँ भर्खरै आइपुग्नु भएका राष्ट्रकवि माधव घिमिरेलाई भेट्न म, लेखनाथ, सम र भूपी गएका थियौँ । उहाँले पनि त्यहाँका धेरै कुरा हामीलाई सुनाउनु भएको छ ।

अँ, अर्को कहालीलाग्दो कुरो । कृष्ण सेन इच्छुकसँगै अकालमृत्यु वरण गरेर यहाँ आउनुभएका हजारौँ अलपत्रहरूको एउटा छुट्टै एउटा टोल छ । आज उहाँहरू आफ्नो सहादतबाट पछुताइरहनु भएको छ । आज मुलुकमा विकृति, विसङ्गति र भ्रष्टाचारमा चुर्लुम्म डुबेका आफ्ना ती त्यतिबेलाका आदर्श नेताहरूको अहिलेको बीभत्स चरित्र नियाल्दै इच्छुक पनि धुरुधुरु रुनुहुन्छ ।

उहाँहरूको गुनासो छ,  ‘हामीलाई धर्तीमा अमनचैनको सपना पस्कने कमान्डरज्यूहरू नयाँ राजा रानी, नयाँ अधिराजकुमारी र नयाँ चौतारिया र नयाँ भारदार बन्नु भाको छ रे । वहाँहरूको धेरै विश्वास गर्नाले हामी बिचल्लीमा परेका छौँ ।’त्यहाँ तपाईंको त उहाँहरूसँग भेट भैरहन्छ  । यो स्वर्गमा प्रेतका रूपमा भट्किरहेका आत्माहरूको व्यथा ती नेता महोदयलाई सुनाइदिनू ।

केपीजी !
तपाईंका आफ्ना सन्तान छैनन्, आम नेपाली जनता नै तपाईंका  सन्तान हुन्, आफ्नो रगतका सन्तानलाई तानेर वा मतपत्र च्यातेर राजनीतिमा स्थापित गर्नु पनि तपाईंलाई छैन । सात पुस्तालाई अकूत सम्पत्ति थुपार्नु पनि छैन ! यो कुरा दुनियाँलाई थाहा छ । तर तपाईंले विश्वास गरेका विश्वासपात्रहरूका त सन्तान छन् नि ! तिनीहरूलाई त सम्पत्तिको लोभ होला नि ! त्यतातिर पनि बेलाबेला कर्के नजर लाउँदै गर्नू ! कतै ती सबै आफू जस्तै छन् भन्ने नठान्नू, बेलाबेला छड्के जाँच गर्नू !

हामी साहित्यकार मात्र होइन, नेपाली इतिहास, दर्शन र सिङगो नेपाल राष्ट्रलाई माया गर्नेले जनचाहना बमोजिम स्थिरसरकार हुनैपर्ने मान्यता अनुरूप प्रधानमन्त्रीको पाँच वर्षे कार्यकालभरि कतै ठेस नलागोस् भन्ने मेरो र हामी स्वर्गवासी धेरै साहित्यकारहरूको पुनीत चाहना छ । सकेसम्म आफ्नो दलभित्रका पुराना मित्रहरूको मन नकुँडिने गरी कार्यकाल पूरा गर्नुस् ।

तपाईंका शुभेच्छुक नयाँ मित्रहरूको भावनाको सम्मान गर्नुस् । आफ्नो स्वास्थ्यको ध्यान राख्नुस् । तमाम नेपालीहरू अझै पनि तपाईंप्रति नै विश्वस्त छन् भन्ने खबर यतातिर आउनेहरूले भनिरहन्छन् र त्यसबारे हामी जानकार छौँ र खुसी छौँ । सधैँ नेपाल र नेपालीका हितमा काम गर्नू र आशीर्वाद पाइरहनू !! ल त केपीजी अहिलेलाई यत्ति ! 

उही स्वर्गवासी कवि लक्ष्मीप्रसाद देवकोटा 



Author

थप समाचार