ब्लग

हाम्रो समाज : लगामविनाको छाडा समाज

रूपा अधिकारी ‘आप्रशा’ |
बैशाख १८, २०७८ ११:५९ बजे

नेपालको जुन माटोमा सीता, बुद्ध, भृकुटी आदिले जन्म लिएर विश्वसामु हाम्रो देशको सान-मान र कृतिमान राख्‍न सफल भए । आज त्यही माटोमा दुर्गन्ध आउन थालेको छ । दुर्गन्धका राग विकृतिको पर्खाल बनेर यत्रतत्र फैलँदै हाम्रो नेपाली समाजलाई झक्झकाइरहेको छ ।

आधुनिक समाजमा इन्टरनेटको यथेष्ट सुविधा सम्पन्‍न रहेर नै होला, आज-भोलि समाजमा दिनानुदिन हेर्नसमेत लज्जास्पद हुने खाले घटना बढिरहेका छन् । दिनदहाडै बलात्कार अनि हत्या, हिंसा बढिरहेको यो नेपाली समाजले अब कलि आरम्भको संकेत दिएकै हो त ? 

बाबुद्वारा छोरी, दाजुद्वारा बहिनी, मामाद्वारा भान्जी, गुरुद्वारा चेली, देवरद्वारा भाउजू बलात्कृत भएको समाचार त कति सुनिए, देखिए । अनि जेठाजुले बुहारी काट्ने, लोग्‍नेले स्वास्‍नी काट्ने, स्वास्नीले लोग्‍ने काट्ने, सासूले बुहारी काट्ने, बुहारीले सासु काट्नेजस्ता मानसिकता नै खल्बलिने समाचार नचाहँदा-नचाहँदै पनि हामीले महिनैपिच्छे सुन्दै र देख्दै आउनुपरेको छ । 

अब त हुँदा-हुँदा आमाले आफ्नो छोराको सन्तान जन्माई न्यायको भिक माग्‍ने ? छिःछि अब यो समाजमा खुल्ला आँखाले कसको विश्वास गर्ने ? यस्तो समाजमा कसरी सन्तानलाई अनुशासनको बोध गराउने ? हद नै पार गरेर बेइज्जत र बदनामी कमाइसकेपछि फेरि सामाजिक न्यायका लागि कसरी लड्ने आँट जुटेको होला ? यो कुराले पो लाज लागेर आउनुपर्ने । हे नालीका फोहोरहरू ! तिमीहरूको कुकार्यले लाज मानेर हामी हिँड्नुपरेको छ । तिमीहरू भने कसरी न्याय मागेर दुनियाँकै ठूलो युद्ध जित्न खोज्दै छौ ? 

आखिर किन यस्तो विकृति र विसंगतिले जरा गाढिरहेछ हाम्रो समाजमा ? कहिलेसम्म यस्ता दुर्गन्धको सामना गर्ने हामीले यो समाजमा ? यस्ता दुर्गन्धलाई एकपछि अर्को गर्दै फैलन दिने हो भने भोलि हामीले यो समाजमा फैलँदै गरेको आपराधिक प्रदूषणलाई चाहेर पनि रोक्न सक्नेछैनौँ । तसर्थ हरेक समस्याको समाधान समयमै गर्ने कि ! हाम्रो देशको कानुन फितलो भएकै आधारमा आज नेपाली समाज यस्ता सामाजिक अपराधतर्फ उन्मुक्त त भइराखेको होइन ? राज्यले शिक्षित युवाहरूको पनि उचित रोजगारीको प्रबन्ध गर्न नसक्नु, जघन्य अपराध हुँदा पनि नातावाद र कृपावादका आधारमा कानुन फितलो बनाउनु जस्ता क्रियाकलापले नै आजको समाजमा दुर्गन्धको जरा फैलँदै गइरहेको कुरामा दुई मत नरहला ।

समाजको एउटा घरबाट मर्यादा सुरु गर्ने हो भने घरको अनुशासन राम्रो हुन्छ, आफ्ना सन्तानलाई मर्यादाको राम्रो किसिमको पाठ सिकाइन्छ र घरमा घरमूली मानिससँग ती सन्तानलाई डर छ भने त्यो घरको मर्यादाको इज्जतकै लागि पनि त्यस घरको छोरोले एउटा नारीको सम्मान गर्न जानेको हुन्छ । आफूले संगत गर्ने साथीभाइ अनि विकृति-विसंगतिबाट ऊ आफू बचेर हिँडेको हुन्छ । आखिर युवावस्था त उसलाई पनि त आएको हुन्छ । मनमा अनेक असीमित इच्छा-आकांक्षा त उसमा पनि हुन्छ । 

त के आफूलाई मन लागेका सबै चिज गर्नु छूट छ उसलाई ? मनमा होडबाजी चलेका सम्पूर्ण कार्य गरेर माफी माग्ने छुटकारा छ उसलाई ? कदापि छैन, तसर्थ ऊ आफूले के गर्दा राम्रो, के गर्दा नराम्रो ? सम्पूर्ण चीजबीजहरूलाई आफ्नो परिवारको डरमै भए पनि आफूलाई सम्हाल्दै आफ्नो काबूमा राख्‍न सफल हुन्छ र जीवनमा हुन सक्ने दुर्घटना पार गर्न ऊ सफल हुन्छ र आफ्नो युवावस्थामा सन्तुलन नगुमाई सतर्क हुने त्यो युवा जीवनकाल नै दुर्गन्धहरूबाट टाढा रहन सफल हुनेछ । 

यस्तै घरकी छोरीले पनि अवश्य आफ्नो जवानी आफ्नो पारिवारिक मर्यादाकै आडमा पनि खस्कन दिनेछैन र ऊ पूर्ण रूपमा समाजको सुगन्धित पात्र बन्‍ने छ । अपवाद कुनै नारी बलात्कृत हुनु भने उसको मर्यादाबाहिरको कुरा हुन सक्छ । तसर्थ हाम्रो देशको कानुन पनि यस्तै मर्यादित रहोस् जसको सीमा पार गर्नु अगावै सबैले सोच्ने गरून् कानुनको डर रह्यो भने पनि मानिस नैतिक प्राणी बन्‍नेछ र अनैतिक कार्य गर्न सक्नेछैन । तर विडम्बना समाजमा कसैलाई कोहीसँग डर नहुनाले मनोमानी तन्त्र चलेको छ ।  

नारीहरूलाई विवाहपूर्व परपुरुषको सम्बन्धमा रहनु पाप हो भनी सिकाउने समाजमा किन विवाहपूर्व कुनै युवतीसँग सम्बन्ध राख्‍नु पनि पाप हो भनी पुरुषलाई सिकाइँदैन ? मर्यादाका तौलमा बराबरी राखेर जोखिनुपर्छ, नारी-पुरुष !

हो, मेरो विचारमा मानिसलाई मर्यादाले यसरी बाँधेर राखेको हुन्छ । ऊ आफ्नो निगरानीमा रह्यो भने ऊ चाहेर पनि प्रदूषित हुन नै सक्दैन जबकि आफूले चालेका गलत कदमले भोलि समाजसामु आफू नांगे झार त होइन्‍न । यो डर मनमा हुने व्यक्ति कदापि दुर्गन्धको नजिक जान नै सक्ने छैन । कुकार्य गर्ने आँट नै गर्नेछैन । आज-भोलि नेपाली समाज विदेशी रहनसहनमा यति विक्षिप्त हुँदै गइरहेको छ कि देखासिकी बढी गर्ने । हो, आफूलाई अनुकूल राख्‍ने अवस्थासम्मका देखासिकी त सामान्य नै हुन् । तर आफ्नो परिवेश समाजमा असामान्य हुने तवरका देखासिकीले भने दिनानुदिन समाजलाई विकृतितर्फ डोर्याउन थालेका छन् । 

हाम्रो नेपाली समाजको इतिहास हेर्ने हो भने हाम्रा चाडपर्वहरू परम्पराले सुसज्जित भएको ठाउँमा जाँडरक्सी चलनचल्तीमा रहने थिएनन् । तर आधुनिक चाडपर्व, भोजभतेर ब्रान्डको जाँड-रक्सीहरूले मात्तिरहेका छन्, जहाँ कोही कसैको प्रवाह नगरी खुलेयाम मात्तिरहेका छन् । के यो गलत होइन ? अनि किन यस्तो विकृतिलाई बहिष्कार नगरी परम्परा बनाइन थालियो ? नैतिकता नै अशुद्ध हुनेहरूले समाजलाई शुद्ध गर्नु खोजियो । आदर्शको प्रचार गरेर व्यापार गर्ने तर चरित्रमा दाग हुनेहरू भेटियो । परिवारभित्रको अनुशासनका सीमा हदसम्म पार गरेर मात्र स्वतन्त्र हुन दिनुपर्छ हरेक परिवार, समाजले । तर आधुनिक युगको मागअनुसार स्वतन्त्रता पनि पाउनुपर्छ । तसर्थ सबैलाई अनुकूल सीमामा बाँधेर राख्‍ने मूलीको आवश्यकता छ । घर, समाज, अनि सिंगो राष्ट्रकै लागि । 

सामाजिक प्राणी भएपछि समाजमा अनैतिक कार्य गर्ने मनोमानीको के औचित्य ? अनि नारीहरूलाई विवाहपूर्व परपुरुषको सम्बन्धमा रहनु पाप हो भनी सिकाउने समाजमा किन विवाहपूर्व कुनै युवतीसँग सम्बन्ध राख्‍नु पनि पाप हो भनी सिकाइँदैन ? विषसेवनले ज्यान गुमे पनि, दुर्घटनाले गुमे पनि आखिर ज्यान त गुम्छ । मर्यादाका तौलमा बराबरी राखेर जोखिनुपर्छ नारी-पुरुष !

समाजमा ठूला-बडा भनिने बुज्रुकहरूले भने जे गरे पनि हुने । पहुँच र सम्पत्तिको आधारमा कानुन लागू हुने यावत् कारण पनि केही हदसम्म सामाजिक अपराधतर्फ प्रेरित भइरहेका त होइनन् ? जब एक गतिछाडा सन्तानकी आमा परपुरुषको अँगालोमा रमाउन पुग्छे तब उसका आफ्नाहरूले यसलाई दबाएर लुकाइदिन्छन् भने तिनै समाजका नमुनाहरू, अर्को एक सत्यवती नारी कोही परपुरुषसँग चिनजानको नाताले हाँसेर बोल्दा मात्र पनि त्यो परपुरुषसँग उसको बात लगाउन सकेसम्म प्रयास गर्छन् । 

हाम्रो समाजका नमुनाहरू पनि अचम्मको देखेर ताजुक लाग्छ, दया लागेर आउँछ । आफ्नाको गल्ती सकेसम्म ढाक-छोप गर्नु खोज्‍ने नै अरुको न्यायाधीश बन्‍नुपर्ने केही कारण छ ? भन्छन् नि- आफ्नो आङमा भैँसी नदेख्‍ने, अरुको आङमा जुम्रा पनि देख्‍ने । हो, यस्ता नमुनाहरूको खुलेर विरोध गर्नु आजको अपरिहार्यता छ । देखावटी गर्ने ढोँगीहरूका कारण पनि आज समाज आक्रान्त बन्‍नुपरेको छ ।

गल्ती जो कोही मानिसबाट नै हुने गर्छ तर गल्तीका किसिम हेरेर कानुन लागू गर्नुपर्यो । अन्जानमा या आवेगमा मानिसलाई एक थप्पड हान्‍नु र खुकुरी प्रहार गरी ज्यान नै लिनु के एकै किसिमका अपराध हुन् ? जवानीमा होस गुमाई भूलवश गरिने गल्ती र आमाबाबु बनिसकेका पुरुष/महिला, पर पुरुष/महिलासँगलाई त हुँदै परिवार बिगारेर नाजायज सम्बन्ध राख्दै हिँड्नु र फलस्वरूप एक अबोध शिशु अन्यायमा पर्नु के माफी दिनुलायक छन् ? जब यस्ता आपराधिक र समाजलाई विकृतिको सन्देह दिने जुनसुकै घटनाहरूको पूर्ण रूपमा निवारण गर्न हाम्रो देशको कानुनमा फाँसीको नयाँ विधान थपिन्‍न तबसम्म फितलो कानुनको आढमा नसोचेको घटनाहरूको सामना नेपाली समाजले भोगिरहनुपर्ने छ । तसर्थ समाजमा विकृतिलाई धेरै कुराबाट जोगाउन सामाजिक विकृतिसँगै काँडेतारको पनि व्यवस्था गर्न सकियोस् । जसका लागि कानुन परिमार्जन गरियोस् ।

कानुनमा अपराधको किसिम हेरेर परी आएमा फाँसीसमेत दिइने र यो कानुन जो कोहीको हकमा लागू गरिने नातावाद र कृपावादको आडमा यो नतोडियोस् । यदि कानुन फितलो नै हुने हो भने र सबैले मनोमानी गर्दै हिँड्ने अनि मेरो भूल भयो भनी भूललाई कानुनले फुकाइदिने हो भने जसलाई जे मन लाग्यो उही गर्न छूट छ भन्‍ने आशय नै बुझिन्छ र कानुनप्रतिको भरोसा टुटेर सबैको मनोमानीको शिकार भोलि जो कोही पनि हुनेछ । यस्तो कहालीलाग्दो समाजमा कसरी उज्ज्वल भविष्यको कामना गर्न सकिन्छ ? आखिर महिनैपिच्छे यस्ता सामाजिक अपराधबाट कयौँले ज्यान गुमाउनुपरेको छ । कयौँ शिशु नाजायज बनेर फालिनु परेको छँदै छ ।



Author

थप समाचार