आँखा आन्तरिक पर्यटककाे
कालिञ्चोक: अव्यवस्थित बासस्थान, महंगी तीन गुणाभन्दा बढी
हाेटलवालाकाे व्यवहार : ‘एकचोटी आउने ग्राहक’
कालिञ्चोक– काठमाण्डौबाट करिब एक सय ५१ किलोमिटरको दुरीमा रहेको धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर पछिल्ला केही वर्षदेखि निकै चर्चामा छ ।
यहाँ हिउँदमा हिउँसँगै रम्न, स्की खेल्न अनि चैत–वैशाखमा तीन प्रकारका रंग ओडेर फुल्ने लालीगुराँससँग तस्वीर लिनसमेत पर्यटकहरु पुग्ने गर्दछन् ।
दोलखाको सदरमुकाम चरिकोटबाट १५ किलोमिटरमध्ये एक किलोमिटर मात्र पक्की सडक हुँदै पुगिने कालिञ्चोक दोलखा जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको रुपमा लिइन्छ।
समुन्द्र सतहबाट तीन हजार आठ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर काभ्रेकाे पलान्चोक भगवती, काठमाडौंको शोभा भगवतीसहित सात भगवतीका दिदी–बहिनी हुन् भन्ने किम्बदन्ती छ ।
कालिञ्चोकमा भक्तजनहरु मन्दिरको दर्शनसँगै मन्दिर परिसरबाट मन नै लोभ्याउने रोल्वालिङ शृँखला, खुल्ला पहाड पर्वत, मनोरम प्राकृतिक दृष्यहरुको दृष्यावलोकन गर्न पुग्ने गर्छन् । यातायातको सुविधा नहुँदा भक्तजनहरु चरिकोटबाट ६ घण्टाको पैदल यात्रामा पुग्ने गर्दथे । त्यसबेला जनै पूर्णिमा दशैं, चैते दशैमा भक्तजनहरुको भिड लाग्थ्यो भने पछिल्लो वर्षहरूमा सडकसँगै यातायातको पहसँच पुगेपछि हरेक शुक्रबार, शनिबार, आइतबारलगायत अन्य चाड पर्वहरुमा पनि दर्शनार्थीहरुको भीड बढ्न थालेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल र छिमेकी मित्र राष्ट्र चीनको सिमानामा रहेको सात हजार एक सय चौतीस मिटर उचाइको गौरीशंकर हिमाल यसै दोलखा जिल्लामा पर्दछ । यही गौरीशंकर हिमालबाटै नेपालको प्रमाणिक समय निर्धारण गरेको छ । गौरीशंकर हिमाललाई नेपालले हिन्दू र्धमावलम्बीहरुको आराध्यादेव शिव र पार्वतीको प्रतीकका रुपमा पुजिने भएकोले यस हिमालमा आरोहण गर्न प्रतिबन्ध लगाइएको छ ।
सडकसँगै यातायात र केवलकारको सुविधाले कालिञ्चोक मन्दिरसम्म पुग्नलाई सहज बनाइ दिएको छ । यसका साथै विकृति पनि बढ्ने क्रममा रहेको छ ।
यात्राका क्रममा हामी त्यहाँ पुग्दा त्यहाँको व्यवस्थापन भने निकै फितलो रहेको पायौं । कुरीमा रहेका होटल सञ्चालकले ग्राहकको गुनासो खासै सुन्दैनन् । उनीहरुमा ‘एकचोटी आउने ग्राहक’ भन्ने धारणामा रहने गरेको अनुभव पाइयो ।
एकजना यात्रु बराबर पाँच हजारदेखि ६ हजार रुपैयाँसम्म लिने स्कर्पियोले कुरीसम्म यात्रुहरुलाई सहज रुपमा पुर्याए पनि गाडीमा मिनिरल वाटरको व्यवस्था छैन । फोहर तथा दुर्गन्धित शौचालयको प्रयोग गर्न यात्रुहरुलाई बाध्य पारिंदोरहेछ । होटलवालहरुले दिने कमिशनको लोभमा यात्रुको रोजाइमा परेका सफा, स्वस्थ खाना खाजा खान पाउने अवस्था छैन ।
कालिञ्चोकको कुरी, जहाँ प्रसस्तै होटलको ब्यवस्था छ, तर त्यहाँ पनि कमीसनकै चक्करका कारण दैनिक रुपमा काठमाण्डौंलगायतका स्थानहरुबाट चल्ने करिब १२–१५ वटा स्र्कापियोहरु एकै होटलको छानामुनि अटाउन बाध्य छन् ।
हामी बसेकाे एक होटलमा हालै एक रातमा करिब एक सय बीस जना मानिसहरू अटाएका थिए । मानिसको चापसँगै खाने भाँडादेखि चियाको कपसम्म सफा नभएको पाहुनाहरुके गुनासो थियो । यस्ता गुनासो होटल सन्चालक दिकी शेर्पालाई राख्दा उनले स्वीकार गरिन् । तर एक दिन पुग्ने पाहुनाका कुरामा खासै उनले हेक्का भने राखिनन् ।
तातोपानी, तातो चिया, तातो खाना भनेर ग्राहकलाई होटलवालाहरुले छक्याउने गरेको ग्राहकको गुनासो छ । ‘माग गरेको निक्कैपछि मात्र आइपुग्ने चिया चिसोका कारण चिया हो या चिसो पानी छुटाउन सकिँदैन ।’ एक ग्राहकले गुनासो पोखे, ‘चिसो खाना, चिसो नास्ता, चिसो वातावरण, खानासँगै जाडोले थरथर हुँदै वाध्यताले भोको पेटलाई सास्ती दिनुपर्ने अवस्था छ ।’
हरेक कोठाहरु सेयरिङ बेसमा तयार गरिएको छ । एक रुममा दुई वटा बेड, चारदेखि छ जना सुत्नुपर्छ । एक रातको प्रतिव्यक्ति १५ सयदेखि २ हजार रुपैयाँसम्म लिने बेडमा बेड हिटरको उपलब्धता छ । तर पलंगहरु अधिकांश जलेकाहरु छन्, जसले कुन बेला आगो बल्ने हो थाहा छैन ।
शौचालय छ, तर पानी नभएकाले दिशा र पिसाबले भरिएका हुन्छन् । यही कुरा होटल सञ्चालकलाई राख्दा चिसोका कारण पानी जम्छ भनेर टारिदिने गरेका छन् ।
कालिञ्चोक मन्दिरको दर्शन त छँदैछ । यहाँ कतिपय वृद्ध, अशक्तहरुको व्यवस्थापनमा त्यति ध्यान दिएको देखिन्न । अक्सिजनको कमीका कारण बिरामी परे वा हिंड्दाहिंड्दै घाइते भएमा चाँडै उपचार पाउने अवस्था छैन । यस्तो पवित्र अनि चर्चित ठाउँमा रकम असुल्ने यातायातदेखि होटलसम्म सिण्डिकेट देखियो । सेवा दिनुपर्ने ठाउँमा व्यवस्थापन, स्थानीय सरकार, होटल सञ्चालकले ध्यान दिएको देखिएन ।
कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको ४ डिब्बाको केवलकारमा त्यस्तै समस्या देखियो । जाडोले थरथर काँपिरहेका वृृद्धहरुको कुनै वास्ता थिएन बरु उल्टै पर जानुस् र वर आउनुस् भनेर नै दुःख दिइरहेका थिए । पहुँच हुनेहरु लाइन नै नबसी केवलकारको प्रवेशद्वारसम्म पुगेका थिए । कम्पनीबाट पनि भक्तजनहरुको अधिकारलाई सुरक्षित किन नगरेको भनेर सोध्दा केवलकार सञ्चालक तिलकप्रसाद दुलाल माथिबाट आउने आदेशलाई दोष लगाउँछन् । अनि ‘ग्राउण्ड जिरो’ को कुरा गर्दा पैसाको अभावले धेरै कुरा व्यवस्थित गर्न नसकिएको बताउँछन् । दुलाल भन्छन्, ‘तपाईलाई थाहा होला नि, अब चाँडै आईपिओ (सर्वसाधारणलाई शेयर) खुलाउँदै छौं । त्यसपछि हामी थप व्यवस्थित गर्नेछौं ।’
केवलकारबाट उत्रेपछि ढोका देखाइदिने मात्र काम केवलकार सञ्चालकहरुको रहेछ । त्यहाँबाट बाहिर निस्केपछि भक्तजनहरुले भक्तजनहरुलाई नै बाटो कता हो भनी सोध्दै जानुपर्दो रहेछ । ढुंगाका खुड्किलाहरु अव्यवस्थित हुँदा लड्ने सम्भावना त्यत्तिकै छ । उकालो र सानो बाटोबाट मन्दिर दर्शन सकेर फर्कंदा त्यस्तो अप्ठेरो बाटोमा अझै मन्दिर व्यवस्थापन समितिको ध्यान पुग्न सकेको छैन । त्यहाँ भक्तजनहरुको आवश्यकताभन्दा पनि स्थानीयको आवश्यकतामा बाटो निर्माण भएको देखिन्छ । स्थानीय त डाँडापाखा सहजै हिंड्न सक्लान्, तर तराईलगायत समथर भूभागमा बस्नेलाई त पहाडको उकालो, अनि डरैलाग्दो बाटो, त्यसमा मसिनो ढुंगाको खुट्किला ।
कालिञ्चोक भगवती मन्दिरको दर्शन मात्र हैन, यहाँ जन्मदिन, प्रेमालाप, स्की, हिउँ खेल्न मानिसहरु पुग्ने गर्दछन् । मादक पदार्थको खुल्ला व्यापारले साँझको समयमा शुरु हुने ‘क्याम्प फायर’सँगै मधुर गीतमा सबै नाच्न शुरु गर्छन् । चिसो ठाउँमा मादक पदार्थको खपत धेरै हुँदो रहेछ । कतै नृत्य, कतै ‘वन सट’, कतै जबर्जस्ती पिउन बाध्य पार्दै त कतै ग्लासमा भरिएका नसाहरु पोखिन थाल्छन्।
कतै मनका भडाँसहरु निस्कन थाल्छन् । समय बत्तिदै जान्छ । अनि झन् रमाइलो । एकले अर्काको विगत खोल्दै र मुड्की बजार्न सुरु, प्रेमलाप हैन त्यहाँ त पिउने अनि रिस पोख्ने क्याम्प फायर जस्तो लाग्छ । शरीरका अंगहरुले नियन्त्रण गुमाउँदै जान्छन् । अनि लखतरान हुँदै, उचाल्दै, घिर्सादै शयन कक्षमा पुर्याउनुपर्ने कस्तो एकराते यात्रा ? पवित्र ठाउँमा पवित्र भएर जान दिए होटल सञ्चालकहरुलाई के नै घाटा थियो होला ? ७०–८० रुपैयाँमा किनेको एक बोतललाई ३ सय पचासमा बिक्री हुन्छ भने दुई सयमा बन्ने तोम्बालाई चार सय ८० सम्म तिर्नुपर्छ ।
यसरी सम्भव छ व्यवस्थापन
कालिञ्चोक भगवती मन्दिर व्यवस्थापन समितिले स्थानीय गाउँपालिका र प्रहरी चौकीसँगको समन्वयमा आपत्कालीन सेवा, स्वयंसेवक, हिंडेर जाने भक्तजनहरुका लागि बाटोमा पानीको व्यवस्था शौचालय, प्रतीक्षालय, निःशुल्क बस्नका लागि भवनलगायत देवीको पिठमा पशुबलीबाट आउने रगतको व्यवस्थापन गरे भक्तजनहरुलाई सहज दर्शनका लागि सहयोग पुग्न सक्छ ।
वृद्ध-वृद्धाहरु अशक्त, शारीरिक अशक्तता भएका बfलबालिकाहरुका लागि छुट्टै लाइन वा सहज दर्शन गर्ने सक्ने व्यवस्था गरेमा मन्दिर व्यवस्थापन समितिलगायतलाई लागिरहने आरोपहरुबाट अबश्य छुटकारा मिल्ने छ ।
होटल सञ्चालक समितिबाट मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरी कुरी क्षेत्रलाई एक पवित्रस्थलको बास बनाएर अगाडि बढ्ने हो र एक्लै कमाऊँ भन्ने भावनालाई छाडेर सबै मिलेर कमाऔं, भक्तालुहरुलाइ खुशी बनाऔं भन्ने मुल मन्त्र बनाउने हो भने आगामी दिनमा देशभित्रका मात्र हैन बाहिरका भक्तजनहरुको पनि उल्लेख्य उपस्थिति हुनेमा दुइमत छैन ।
केवलकार सञ्चालकहरुले पाँच मिनेटको दूरीमा रहेको केवलकारबाट प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने, अनि घण्टौंसम्म लाइन लगाइरहने । लाइनमा बस्नेहरुलाई सामान्य बेञ्च, निःशुल्क पानीको व्यवस्था गरे भक्तजनहरुले आरामदायी र सहज रुपमा प्रतीक्षा गर्न सक्थे । लाइन बस्नु नपर्ने गरी टोकनको ब्यवस्था वा अनलाइन टिकेट लिने व्यवस्था गरेमा भक्तजनहरुले सहज रुपमा यात्रा गर्न सक्ने थिए।
एकपटक आउने हो भन्ने धारणा होटल सञ्चालकमा रह्यो र सफा स्वच्छ वातावरणबाट भक्तालुहरुलाई बेवास्ता गर्ने हो भने बल्ल फष्टाउन लागेको धार्मिक पर्यटन क्षेत्रले कतै बाटो मोडिदियो भने आउने दिन कस्तो होला एक पटक सोचौ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया