ब्लग

कुबेलामा लेखिएको एउटा लेख !

अर्जुन अपवाद |
बैशाख २८, २०७८ १८:२३ बजे

कहिलेकाहीँ बडो विचित्रको अवस्था सिर्जना हुन्छ । जस्तै, यो लेख लेख्ने समय ।
कोरोना भाइरसको महामारीमा राजनीतिक लेख । त्यो पनि अहिले कसैले नाम सुन्न नचाहेका तर हरहमेसा सुन्नु परिरहेका केपीबारे ! त्यसमा पनि विरोध हैन समर्थनको !
एक महिनाजति पहिले काठमाडौँ पुगेका बेला यो लेख लेख्ने विचार मनमा आएथ्यो । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नजिकै पुराना केपीको पोस्टर देखेर । अनामनगर छिर्ने आकाशे पुलमा पोस्टर देखेपछि केही लेख्नुपर्छ भन्ने लाग्यो । शीर्षक सोचेको थिएँ, ती केपी र यी केपी । तर बहानावाजीमा त्यसबेला लेखिएन । अब नलेखी भएन भन्ने लागेका बेलामा यसको सान्दर्भिकता त्यही बेला जस्तै नहुन पनि त सक्छ । 

भर्खरैको कुरा, केपीले अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनलाई अन्तर्वार्ता दिए । उनले नेपालमा कोरोना नियन्त्रणबाहिर गएको छैन भने । उनको यो भनाइलाई लिएर सामाजिक सञ्जाल रमाइलो भएको छ । उनको यो भनाइलाई लिएर विभिन्न सामग्री बनेका छन् । जुन हेर्दा, पढ्दा र सुन्दा हाँसो उठ्छ अनि दिक्क पनि लाग्छ । 
आफैँ हलुका भएर हो वा के हो प्रधानमन्त्रीलाई गम्भीर रुपमा लिइन्न । अहिलेमात्र हैन, नाकाबन्दीका बेलामा भूकम्पले थलिएका बेलामा पनि उनै प्रधानमन्त्री थिए । त्यसबेला पनि अवस्था यस्तै यस्तै थियो जस्तै लाग्छ, जस्तो अहिले छ । यहाँ तेल नपाएर गाडी चलाउन पाइएको छैन । प्रधानमन्त्री पानीजहाजका कुरा गर्ने ? मानिसहरुले त्यसबेला यस्तै यस्तै भन्थे । 

प्रधानमन्त्रीकै पक्षमा थप २÷४ लाइन । कोरोनामा हामीले सरकारले जसरी काम गर्नुपर्छ भन्ने सोच्यौँ, त्यो भएन । तर केही काम नै नभएका हुन् र ? पक्कै पनि विपद्को तयारी यो भन्दा राम्रोसँग गर्न सकिन्थ्यो होला । तर अहिले तयारी नै नभएको हो र ? सामान्यतया औषधीहरुको उत्पादन पनि एउटा प्रक्षेपणका आधारमा गरिन्छ । त्यो प्रक्षेपण नाघेपछि बजारमा सिटामोलजस्तो सामान्य अवस्थामा प्रयोग हुने औषधी पनि पाइँदैन । यो विश्वव्यापी विपद्का बेलामा अन्य सामान्य अवस्थाका बेलामा झैँ सबै कुरा पाइन सम्भव छ र ? 

अतिवादी सोचले बहस नियन्त्रण गर्छ । यसले आफूले सोचेजस्तै सबैले सोच्नपर्छ भन्ठान्छ । त्यस्तो नसोच्नेलाई प्रतिगमनकारी देख्छ । 

घरमा अभिभावकले ल अब म केही गर्न सक्दिनँ । जे जे गर्ने हो गर भनेका दिन आँट भएका परिवारका अन्य सदस्यले पनि कुनै काम गर्न सक्दैनन् । देश पनि एउटा परिवार न हो । यसमा हामी भयावह स्थितिमा छौँ । परिस्थिति हाम्रा हातबाट बाहिर गइसक्यो भनेर प्रधानमन्त्रीले भनेको भए २४÷२४ घण्टा पीपीईमा बाफिएर काम गर्ने स्वास्थ्यकर्मीले के सोच्थे होलान् । शव व्यवस्थापनको जिम्मा लिएको सेनाले के सोच्थ्यो होला ? परिवारलाई यहाँ केही भएको छैन, चिन्ता नगरी बस्नु भनेर काम गरिरहेको सुरक्षाकर्मी, कर्मचारीले अबका दिनमा कुन मनोबल लिएर काम गर्थे होलान् ?

हुन त यो बेलामा केपीका बारेमा बोल्नु भनेको ५९÷६० सालतिर माओवादीले व्यक्तिहत्या गर्नु गलत भन्नु जस्तै हो । यो भनेको ६५÷६६ सालतिर जातीय अग्राधिकारसहितको राज्यका विरोधमा कुरा गर्नु जस्तै हो । तर पनि अर्को अकाट्य सत्य के हो भने राजनीतिमा दाउपेचहरु भइरहन्छन् । जिते हाईहाई, हारे कुनाको बसाइ ! जसले केपी ओलीलाई तह लगाउने सामथ्र्य राख्छ, ऊ निदाएको छ वा निदाएजस्तो गरिरहेछ । बल खुट्टैमा भएको खेलाडीले प्रयोग नगरेपछि दर्शकले जतिसुकै ठूलो स्वरमा हुटिङ गरे पनि हुने के नै हो र ! धेरै भए हुटिङ गर्नेकै स्वर बस्ला !

अव अर्का केपीको कुरा गरौँ । कृष्णप्रसाद भट्टराई । जसले आफूसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि पार्टीको किचलोका कारण राजीनामा दिए । त्यसबेला संसद्मा दिएको मन्तव्य यही इकागजले छापेको थियो । त्यसमा उनले भनेका थिए, ‘मुलुक नसोचिएको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीँ बाहिर छैन– हामीभित्र नै छ । यसमा पध्दतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ ।’

नेपाली राजनीतिमा सामान्य चासो राख्नेलाई भलिभाँती थाहा छ । त्यसपछि केपीको हालत के भयो । उनले पार्टीमा कुनै ठाउँ पाएनन् । लगभग गुमनाम भए । गाईजात्राका क्यासेटहरुमा उनले चर्चा गरेको मेलम्चीका बारेमा थुप्रै प्यारोडीहरु बनाइए । तर मेलम्ची आएपछि उनलाई जिउँदो छँदा लखेट्ने कांग्रेसीहरुले पनि उनका बडे बडे फोटो राखेर पोस्टर बनाए । पुराना दिनमा बोलेका भिडियो संकलन गरे र भने हेर त हाम्रा नेता कति दूरदर्शी थिए !

अन्त्यमा, राजनीतिमा समस्या छन् । यसैलाई देखाएर नेपाल पूरै खत्तम छ । सबै व्यवस्था खत्तम छ भन्ने सोच अतिवादी सोच हो । अतिवादी सोचले बहस नियन्त्रण गर्छ । यसले आफूले सोचेजस्तै सबैले सोच्नपर्छ भन्ठान्छ । त्यस्तो नसोच्नेलाई प्रतिगमनकारी देख्छ । 

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै सबैका कुरा सबैले सुन्न सक्ने वातावरण हो । विचारसँग सहमत÷असहमत हुनु आफ्नो स्वतन्त्रता । बिट मार्दै गर्दा फेरि केपीकै कुरा, ‘यसमा पद्धतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ ।’
 



Author

थप समाचार