ब्लग

उनीहरू एक्लो छैनन्

उत्तम पुडासैनी |
जेठ १, २०७८ शनिवार १४:४४ बजे

झण्डै १५ दिन उमेरको एउटा बाछी नदी किनारमा फेला पर्‍यो । धेरै मुस्किलले उनलाई बचायौं । आज उनी आमा बन्ने भएकी छिन । धापासीमा कसैको खुकुरी प्रहारबाट शरीरको झण्डै २ केजीभन्दा ज्यादा मासु गायब भएको बाछाको उद्धार २०७७ साउन १५ गते भयो । होशियारीपूर्वक उसको उपचार गरियो, आज उ तन्दूरुस्त भएको छ । खान नपाएर जीर्ण बनेका पानी पिउन नपाएर प्याक-प्याक मुख सुकेको, सडक दूर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटोमा फालिएका, कुकुरले टोकेर रेबिज रोग लागेका र यस्तै अनेक किसिमले दूब्र्यवहारमा परेका गाईबाछाहरूको संरक्षणका लागि २०७६ जेठ १ गते स्थापना गरिएको असहाय गाईबाछा संरक्षण अभियानले तेश्रो वर्षमा पदार्पण गर्दैगर्दा धेरै सफलताका कथाहरू सिर्जना भएका छन् । 

बागमती नदी सफाईका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरेको क्रुर अनुभवलाई समेट्दै अब उनीहरूले अकालमा मृत्युवरण गर्नु नपरोस भन्ने हेतु असहाय गाईबाछा संरक्षण अभियानको थालनी भएको हो । २०७० देखि २०७६ को अवधिमा नदी किनारमा १४०० मृत गाईबाछाहरूको अन्तिम ब्यवस्थापन गर्नुपरेको कटु अनुभवले के दर्शाएको छ भने खासगरी काठमाडौं उपत्यकाभित्र हरेक दिन मासुका लागि असहाय गाईबाछाहरूको तस्कर गर्ने र उनीहरूलाई मार्ने गरिएको समेत पाइएको छ । नदी किनारमा देखिने लादीका थुप्रोहरू यस्का उदाहरण हुन । कुकुरको टोकाई, गाडीको ठक्करले दैनिक आधादर्जन गौप्राणीको हत्या हुने गर्दछ । अखाद्य पदार्थ खाएर या पानी पिउन नपाएर र खाना खानै नपाएर दैनिक ३ वटा यस्ता प्राणीहरू मर्ने गर्दछन् । अत्यन्तै साना महिना दिन पनि उमेर नपुगेका बाछाहरू खानै नजानेर कमजोर भै मर्ने गर्दछन । यसरी दैनिक एक दर्जन ज्यादा राष्ट्रिय जनावर या तीनका सन्तानले मृत्युवरण गरिरहेको सन्दर्भमा उनीहरूको उचित हेरचाह गर्दै जीवन दिने उदेश्यले स्थापना भएको असहाय गाईबाछा संरक्षण अभियान अन्तर्गत यसबखत २०० ज्यादा गाईबाछाले नयाँ जीवन पाइरहेका छन् । 


उपत्यकालगायत काभ्रे जिल्ला समेतबाट सडकमा बिचल्लीमा पारिएका गाईबाछाहरूलाई संकलन गर्दै उनीहरूलाई जीवन दिने कार्यलाई स्वयंसेवी रूपमा संचालन गरिएको हो । पूर्ण रूपमा स्वयंसेवी तवरले संचालन गरिएको यस अभियान अन्तर्गत पछिल्लो समयमा विभिन्न ब्यक्तिहरू आफ्नो जन्मदिन, आफन्तको स्मृतिलगायत विविध शुभकार्यका अवसरमा संरक्षण स्थल आई उनीहरूलाई भोजन गराउने गरिरहनु भएको छ । 

हामी गर्न सक्छौं र हामीले गर्नुपर्छ भन्ने आदर्शलाई पछ्याउँदै सुरु गरिएको यस अभियानका क्रममा बितेका २ वर्षमा ३५० ज्यादा गाईबाछाको विभिन्न स्थानबाट उद्धार गरिएको छ । छाना, खाना र उपचारको उचित प्रवन्धको सुनिश्चितता यस अभियानले गर्दै आएको छ । नेपालमा स्वयंसेवी अभियानको औचित्य पुष्टि गर्दै समाज परिवर्तनका लागि स्वयंसेवी अभियान सम्भव छ भन्ने मान्यता स्थापनामा यस अभियानले प्रमाणित गरेको छ ।
 
राष्ट्रिय जनावर र तिनका सन्तानमाथीको क्रुरता र अन्याय अन्त्य गरौं, प्राणी अधिकारको सम्मान गरौं भन्ने आग्रह गर्दै यसतर्फ सरकारी निकायको ध्यान आकर्षित गर्ने र गाईपालक कृषहरुलाई आफ्नो नैतिकतालाई बन्धकी नराख्न आग्रह गर्दै आएका छौं । स्थानीय सरकारले प्रत्येक नगर या गाउँ पालिकामा एउटा कान्जी हाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा सरकारी लगानीगर्दा बाछा ब्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले बहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तीनका सन्तामाथीको क्रुरतालाई कानुनी रूपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय ईकाईबाट अर्को ईकाईमा गाईबाछा ओसार पसारमा स्थानीय निकायको अनुमती अनिवार्य गर्नुपर्ने जस्ता बिषयमा यस अभियानले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण समेत गराएको छ । 

स्थापनाको तेश्रो वर्षमा प्रवेश गर्दैगर्दा प्रत्यक्ष वा परोक्ष रूपमा यस अभियानप्रति साथ र सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछौं । 
भवदीय
उत्तम पुडासैनी 
अध्यक्ष
असहाय गाईबाछा संरक्षण अभियान 
९८५११७५७७७
(दर्ता नं. गो.न.पा. ४९२/२०७६) 


Author

थप समाचार
x