प्रधानमन्त्रीलाई खुला पत्र
'जनता भोट बैंक मात्रै हो ?'
प्रधानमन्त्रीज्यू, नमस्कार ।
पहिलो चरणको कोभिड–१९ संक्रमण हाम्रा लागि ‘लेसन लर्न’जस्तै थियो । पहिलो पटक संक्रमण देखिँदा मानिसहरूमा एक खालको त्रास थियो । आपत्कालीन अवस्थामा जनता मात्र होइन, सरकार पनि दोधारमा थियो । जसलाई स्वाभाविक मान्न सकिन्छ । कुनै पूर्व तयारी थिएन । महामारीबारे विभिन्न धारणा र भ्रम थिए । बिस्तारै ती चिरिँदै गए । पहिलो चरणको संक्रमणले नेपालमा धेरै क्षति गर्यो । एक वर्षसम्म यसले मानवीय र ठूलो आर्थिक क्षति पुर्यायो ।
एक वर्षपछि दोस्रो भेरियन्ट आउँदा त पहिलोबाट धेरै पाठ सिकिसकेको हुनुपथ्र्यो । तर, अवस्था झन् बेहाल छ । न स्वास्थ्य उपचारको व्यवस्था छ, न महामारी नियन्त्रणको कुनै ठोस योजना । प्राण वायु नपाएर मान्छे मरिरहेका छन् । अस्पतालमा बेड अभाव छ । सरकार भने लाचार बनेको छ । विपक्षी नेताहरू लाचार छन् । कीरा–फट्यांग्रा जस्तै मान्छे मरिरहेका छन् । लाचार सरकारलाई केही मतलब छैन । अवस्था देख्दा रगत उम्लिन्छ । अहिलेको मुख्य काम जनतालाई बचाउने होइन ? कसैको बहुमत होस् कि नहोस् ।
एउटा निर्वाचित सांसद या पार्टीको प्राथमिकतामा महामारीमा जनतालाई कसरी बचाउने हुनुपर्ने होइन ? जनता मरिरहने, तपाईंहरूलाई चाहिँ भेला गरिरहनुपर्ने ? प्रधानमन्त्रीलाई कुर्सी जोगाइरहनुपर्ने ? विपक्षीलाई त्यही कुर्सी चाहिने ? जता जे गरे पनि हुने ?
प्रधानमन्त्रीज्यू, तपाईंले हावा तालमा भाषण दिन मिल्छ ? जे बोले पनि हुन्छ, जे भने पनि हुन्छ ? विश्वमा कहीँ हुन्छ यस्तो ? जुन नेपालमा हुन्छ । जुन हामीले देखिरहनुपरेको छ । यो लाचारी अवस्था हो । यस्तो बेलामा प्रधानमन्त्रीले आफूले बोलेको कुरा होस छैन । कुर्सीको पछि लाग्ने, कुर्सी उफार्ने ?
जसलाई पर्छ त्यसलाई मात्रै थाहा हुन्छ । प्रधानमन्त्रीले बेसार पानीको गफ दिएर बस्नुभयो । बेसारमा औषधीय गुण होला । तर, त्यसले के कोभिड निको पार्छ ? बेसार–पानीले रोग निको हुने भए दैनिक २ सयले किन ज्यान गुमाउने पथ्र्यो र ? अक्सिजन, आईसीयू खोज्दै किन कुदिरहनुपर्थ्यो ? सुरुमा नेपालीको इम्युनिटी बलियो छ भनेर बस्नुभयो । अहिले आएर यसरी फैलिएला भन्ने लागेको थिएन भन्दा अलिकति पनि लाज लागेन ?
स्थिति नाजुक छ । साथ सहयोग कसैलाई छैन । अब पास दिएर कर तिर्न भन्नुहुन्छ होला हैन ? उस्तै परे कर तिर्न निषेधाज्ञा खुल्ला । कर तिरेर हामीलाई मुआब्जा के ? हामी कुदिरहने मात्रै हो ? मरिरहने मात्रै हो ? भोट बैँक मात्रै हौँ हामी ? लाज लाग्दैन ?
तपाईंहरू त वर्षौं संघर्ष गरेर सत्तामा पुग्नुभएको कम्युनिस्ट होइन ? देश र जनताका लागि ज्यान दिन तयार हुनु भएको होइन ? समाजवाद ल्याउन हिँडेको होइन ? जनताले उपचार नपाएर मर्नुपर्ने । खान नपाएर ज्यान गुमाउनु पर्ने । खै समाजवाद ? यही हो तपाईंको समाजवाद ? महामारीमा सत्ताको यस्तो खेल । कुन देशमा हुन्छ यस्तो ?
यस्तो बेला केही गर्न नसके पद छोड्नु पर्दैन ? कुर्सीको पछिपछि लाग्ने ? लाज लाग्दैन ।
जनताको पक्षमा कसैले केही गर्यो ? केन्द्र सरकार लाचार नै भयो । शीर्ष नेतृत्व लाचार भएपछि प्रदेश र स्थानीय सरकार पनि सुते ? यस्तो बेला स्थानीय र प्रदेश सरकार सक्रिय हुनुपर्दैन ? खै त ? एउटा आइसोलेसन सेन्टर बनाएर पुग्छ ? गर्दै छौँ, गर्छौं मात्रै भन्ने ? गर्ने चाहिँ कहिले ? हुँदैछ । आउँदैछ । योबाहेक केही सुनिन्छ ? सम्झिँदा पनि रगत उम्लिन्छ ।
प्रधानमन्त्रीज्यू,
हामी रात–दिन भनेर खटिरहेका छौँ । मैले उपचार गरेर कसैको जिन्दगी बचाउन सक्दिनँ । तर, मैले भोका मान्छे बचाइरहेको छु । जनावरलाई बचाइरहेको छु । खाना बाँडिरहेको छु । कुकुर, बाँदर, गाइलाई खाना खुवाउँछु । राहत दिइरहेको छु । विभिन्न स्रोतबाट ल्याएर साथीहरू मिलेर काम गरिरहेका छौँ । आफैँले पनि सहयोग गरिरहेका छौँ । गत वर्ष पनि गरेका थियौँ ।
एउटा व्यक्तिले यति गर्न सक्छ । राज्यले सक्दैन ? हामी धेरै अनुभव भएका मान्छे होइनौँ । आज २५० कुकुर र दुई सय हाराहारीमा गाईलाई दैनिक खाना दिइरहेका छौँ ।
तपाईंहरू त वर्षौं संघर्ष गरेर सत्तामा पुग्नुभएको होइन ? कम्युनिस्ट होइन ? देश र जनताका लागि ज्यान दिन तयार हुनु भएको होइन ? समाजवाद ल्याउन हिँडेको होइन ? खै समाजवाद ? जनताले उपचार नपाएर मर्नुपर्ने । खान नपाएर मर्नुपर्ने । यही हो तपाईंको समाजवाद ?
महामारीमा सत्ताको यस्तो खेल । कुन देशमा हुन्छ ?
प्रधानमन्त्रीज्यू,
जनताप्रति माया नै छैन । भए त यस्तो स्थिति आउँदैन थियो । आज पनि दिनभर कोभिड बाहेकका आउने समाचार के हुन् ?
'एउटा पक्षले अर्को पक्षलाई कारबाही'
'एउटा नेता अर्को गुटमा'
'एउटाले भेट्यो अर्को नेतालाई'
देश र जनताका पक्षमा केही नगर्ने ?
जबकि जनतामा अक्सिजन नपाएर छट्पटिरहेका छन् । जनता मरिरहेका छन् र सरकारलाई किन लाचार बनेको ? केही मतलब छैन । हावादारी कुरा गर्ने, बस्ने ? सल्लाहकार कस्ता हुन् ? हावादारी कुरा गर्ने ?
अझै पनि सुध्रिने अन्तिम मौका छ । जे नहुनु थियो भइसक्यो । हजारौँको ज्यान गइसक्यो । अर्थतन्त्र ध्वस्त भइसक्यो । गरे सकिन्छ । चुनावको रटान लगाउन छोड्नुस् । अहिले चुनाव होइन, जनतालाई खोप चाहिएको छ । ज्यान बचाउनुपरेको छ । पहिले जनताको ज्यान जोगाऔँ । चुनाव त जनता बाँचेपछि जहिले गरे हुन्छ । धेरै कुरा बितिसक्यो । अब तत्काल खोप ल्याउनुपर्छ । स्वास्थ्यकर्मी बिचरा पीपीई लाएर १८ घण्टा खटिरहेका छन् । उनीहरूलाई सहयोग गर्नुपर्यो । स्वास्थ्य सामग्री व्यवस्था गर्नुपर्यो । लकडाउन थपेको छ । लकडाउन अन्तिम विकल्प होइन । जनतालाई थुनि मात्रै रहने ? आफू केही नगर्ने । भ्याक्सिन नै अबको विकल्प हो । अक्सिजन ल्याउनपर्यो । ल्याउन पहल गर्नुपर्यो ।
हामी खोप बनाउन सक्दैनौँ । अरु देशबाटै ल्याउने हो । ल्याउनु पर्यो । अहिले पहिलो चरणमा खोप लाएकाले दोस्रो डोज पाएका छैनन् । उनीहरूले खोप कहिले पाउने ?
बोल्न पाउनु हाम्रो हक होइन ? समस्या पर्दा बोल्ने न हो । जनता धेरै सहनशील छन् । नेपालीले अझै सहेर बसेका छन् । यसको फाइदा धेरै उठाइसक्नु भयो । अझै फाइदा उठाउने नसोच्नुस् । ब्युँझिनुस् । कसले खोप देला भनेर कुरेर बस्ने ? दिए ठीक छ । तर, आफूले केही त गर्नुपर्यो नि । सिलिन्डर दिएर फोटो टाँस्ने ?
थोरै जनताका नाममा...
यसमा जनताको पनि दोष छ । हामी जनता पनि दोषी छौँ । यिनीहरूले केही गर्दैनन् भन्ने कुरा थाहा हुँदाहुँदै फेरि भोट दिन्छौँ । मान्छेलाई एक, दुई या तीनपटक अवसर दिने हो । यी नेताहरू कति पटक सत्तामा पुगे ? अब त बुझ्नुपर्दैन ? यिनीहरूले गर्ने केही होइनन् । फेरि पनि यिनीहरूलाई नै भोट दिइरहेका छौँ । उनीहरू ढुक्क छन् । जनता भेडा हो । भेडा हाम्रो खल्तीमा छ भनेर । जति गाली गरे पनि भोट हामीलाई नै दिन्छ भन्ने भ्रम छ । घमण्ड छ । उनीहरू ढुक्क हुन्छ नि ।
आफै परीक्षा लिने आफै प्रश्न बनाउने, उत्तर पुस्तिका पनि आफै जाँच्ने । पास हुन्छु भन्ने पहिले नै थाहा हुन्छ । किन टाउको दुखाएने, किन पढ्ने ? हामीले भएभरको गाली दिँदा पनि यिनीहरूलाई नपच्ने भयो । यस्तो त फिल्ममा मात्रै हेर्न पाइन्छ । एकपछि अर्को ट्वीस्ट । बोलीको त ठेगान छैन । बोलीमा कुनै वेट छैन । मेरो बुवाले भन्नुहुन्थ्यो नेताको पछि लाग्यो भने आफू पनि केही बन्दैन । कि कुर्सी छोड्नुस् कि काम गरेर देखाउनुस् । अन्तिम विकल्प हो ।
(रिमाल कोभिड महामारीमा आपत्मा परेकाहरूलाई स्वयंसेवा गरिरहेका छन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया