ब्लग

भेनिसमा ‘द रेड सुटेकेस’सँगै ‘रेड कार्पेट’ हिँड्दा...

सामीप्यराज तिमल्सेना |
असोज २१, २०८० आइतबार १२:४५ बजे

काठमाडौँ- ‘इजन्ट देअर एनी प्राइज लेफ्ट फर हिम ?’ मलाई देखाउँदै लुसियसले फ्रन्ट डेस्कमा रहेका युवतीलाई प्रश्न गर्दा लुसियसको कुरा नबुझेर युवतीहरू मुखामुख गर्न थाले । ‘इजन्ट हि द लास्ट वन टु पिक अप प्रेस एक्रिडियन  ?’ लुसियसले यति थपेपछि भने युवतीहरू कुरा बुझेर मुस्कुराए । उनीहरूले त्यही मुस्कान कायम राख्दै मलाई ८० औँ संस्करणको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको ब्याज थपाए र भेनिसमा स्वागत गरे, ‘वेलकम टु भेनिस ।’

सेप्टेम्बर ६ तारिख दिउँसो २ बजे हामी लिडो आइल्यान्डस्थित भेनिस फिल्म फेस्टिभलको मुख्य ठाउँ पुग्दा अपेक्षित भिड थिएन । अझ प्रेस एक्रिडिएसन लिने ठाउँ त सुनसानै थियो । अक्टोबर ३० तारिखबाट सुरु भएको फेस्टिभल लगभग भिडभाडको हिसाबले निख्रिने मुडमा थियो । लुसियसले भनेझैँ सम्भवतः प्रेस प्रतिनिधिको रुपमा फेस्टिभलको ब्याज माग्न जाने म अन्तिम प्रेस प्रतिनिधि थिएँ । रातो कलरमा भेनिसको ८० औँ संस्करण प्रिन्टेट फितामा आफ्नो फोटो र नाम भएको कार्ड भिरेपछि मैले भने पहिलो भएँ कि अन्तिम खास मतलब गरिँन । किनकि यसरी विश्वको प्रतिष्ठित फेस्टिभल जाने र यसको साक्षी बस्ने सुषुप्त सपना भेनिस जस्तो सानदार सहरमा गएर पूरा भएको थियो । 


०००
‘ल सर एउटा गुड न्युज छ है ।’ जुलाई महिनाको अन्तिमतिर एक बिहान ओछ्यानमै बसेर मोबाइल चलाइरहँदा रामकृष्ण पोखरेलले सस्पेन्स शैलीमा ‘गुड न्युज’को हुकलाइनसहित फोन गर्नुभयो  । ‘कस्तो न्युज सर ?’ मैले सामान्य लवजमै सोधेँ । तर मैले मनमनै अनुमान गरेँ, उहाँले निर्माण गरेको ‘गुराँस’ फेरि अर्को कुनै ठूलो फेस्टिभलमा गएछ वा फेरि कुनै पुरस्कार जितेछ । तर होइन रहेछ । ‘द रेड सुटकेस भेनिसमा छानियौ है सर । पूरा डिटेल आको छैन । कम्पिटिसनमै छानिएको छ ।’ ‘गुड न्युज’ ‘द रेड सुटकेस’को रहेछ । 

चलचित्रकर्मी र चलचित्र पत्रकार भएको नाताले कुनै पनि नेपाली फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा छानिँदा खुसी लाग्छ । अझ भेनिसमा छानिनु झन् गर्वको कुरा हो किनकि यसलाई युरोपको कान फिल्म फेस्टिभल पछिको ठूलो फेस्टिभल मानिन्छ । यति मात्र नभएर यो फिल्म छानिनुको अनेक आयाम थिए जुन धेरै मिडियामा आइसकेका छन् । यो असाध्यै कम बजेटमा बनेको नेपाली सिनेमा थियो र लगभग सम्पूर्ण श्रम र सीप नेपाली । यस्ता फिल्मको अन्तर्राष्ट्रिय सफलताले धेरै फिल्मकर्मीलाई प्रेरित गर्छ ।

यसपछि हामीबीच अफिसियल अनाउसमेन्ट कुर्ने र यो कुरा अरु कसैलाई नभन्ने लगायतका कुरा भए जुन मैले अहिले बिर्सी पनि सकेँ । तर यसमा अहिले सम्झेको कुरा चाहिँ के हो भने मैले नजिकका केही साथीभाइलाई ‘अरु कसैलाई नभन्नु है, एउटा नेपाली फिल्म यो पटक भेनिसमा छानिएको छ ’ भन्दा उनीहरुले ‘ए दाइले द रेड सुटकेसको कुरा गर्नुभाको । हाम्लाई थाहा छ भनेर’ जिल्ल पारेका थिए । 

यसको दुई चार दिनपछि भेनिसको लाइनअप औपचारिक रुपमा सार्वजनिक भयो । ‘द रेड सुटकेस’ इटलियन भाषामा होरिजन्टे भनिने होराइजन भन्ने विधामा छनौट भएको खबर आयो । यसबीचमा निर्माता पोखरेलले फिल्ममा जोडिन सेल्स एजेन्टहरूले चासो देखाउन थालेको र अरु फेस्टिभलहरूले पनि फिल्म मागिरहेको आदि अपडेट गराइरहनु भएको थियो । यसैबीचमा एक दिन उहाँले ‘ल तपाईँ पनि अप्लाई गर्नुस् यार भेनिस । प्रेस एक्रिडिएसन मगाउनुस् । एसेप्ट गर्यो भने सँगै जान रमाइलो हुन्छ ।’ भनेर फ्याट्ट प्रस्ताव राख्नुभयो । 

म अनुभवका लागि कुनै न कुनै फेस्टिभल जान खोजिरहेको थिएँ । अहिले नेपाली फिल्म पनि छानिएको बेलामा जाँदा अनुभव र कभरेज दुवै हिसाबले फरक हुने थियो । भेनिसमा ‘द रेड सुटकेस’अघि अविनाश विक्रम शाहको ‘द एलिफेन्ट इन द फग’ पनि ग्याप फाइनान्सिङ मार्केटमा छानिएको खबर आइसकेको थियो । अर्थात् यो पटक भेनिसमा दुई दुई नेपाली फिल्मको उपस्थिति थियो । यस हिसाबले पनि भेनिस यात्रा उपलब्धिमुलक हुने ठम्याइ थियो । यही बुझाइका बीच मैले प्रेस एक्रिडिएसन अप्लाई गरेँ । उनीहरूले स्वीकार्याे र भिजा लगायतका प्रक्रिया पूरा गरेपछि हामी सेप्टेम्बर ५ तारिखका दिन नेपालको त्रिभुवन विमानस्थलबाट भेनिसका लागि प्रस्थान गर्‍यौँ । 

टोलीमा निर्माता पोखरेलसँग निर्माता शोभा थापा र उहाँहरूका दुई छोरा छोरी थिए भने छायांकार सुशन प्रजापति र कलाकारहरू सौगात मल्ल र विपिन कार्की यसको दुई दिनपछि भेनिस आउँदै थिए । अभिनेत्री सृष्टि श्रेष्ठ लन्डनबाट सिधै भेनिस आउने कार्यक्रम थियो ।

०००
हामी ६ तारिख लिडो आइल्यान्ड पुग्दा ‘द रेड रेडसुटकेस’का निर्देशक फिडेल देवकोटा श्रीमती श्रृजु श्रेष्ठसँगै निर्माता पोखरेलको प्रतीक्षामा हुनुहुन्थ्यो । जर्मनीको बर्लिन बस्ने फिडेल दम्पती केही समयअघि मात्र भेनिस उत्रनु भएको थियो । उहाँहरुसँगै सेल्स एजेन्ट डेनिस र लुसियस बरे पनि उहाँहरूकै प्रतीक्षामा थिए । लुसियसले तिनै थिए जसले मलाई फेस्टिभलको ब्याज लिन मद्दत गरेका थिए । ७० छेऊछाऊका म जस्ताले आँखा उठाएर हेर्नुपर्ने उचाइ भएका लुसियस ख्याल ठट्टा गरिरहनु पर्ने स्वभावका रहेछन् ।

फेस्टिभलको ब्याज हेरेर , उनी फेस्टिभलको प्रतिनिधि रहेछन् भन्ने ठानेको थिएँ । तर उनी त ‘द रेड रेडसुटकेस’ले केही दिनलाई ‘हायर’ गरेका प्रेस मेनेजर रहेछन् । मैले उनको तत्परता देखेर रामकृष्ण पोखरेलसँग तारिफ गर्दा उनले दिएको जवाफले म चकित परेको थिएँ । ‘यसलाई मैले लोकार्नोमा २०११ मा भेटेको थिएँ । एकदम मजाको छ । अहिले चाहिँ हामीले नै अमेरिकाबाट यही दुई तीन दिनका लागि बोलाएको ।’ उहाँको जवाफ सुनेपछि मैले मनमनै गुनेको थिएँ, ‘यो फेस्टिभल पनि सानोतिनो पैसोले नआए हुनेरैछ । यी लुसियसले दुई तीन दिनका लागि भए पनि नेपालका ठूलो स्टारले लिने बराबर पैसा त लिए होलान् ? तर मैले निर्माता पोखरेललाई त्यसको दाम भने सोधिँन ।

०००
भेनिसको ब्याज भिरेर ढक्क फुलेको छाती त्यतिबेला चौडा भयो जब फेस्टिभलमा मुख्य प्रतिस्पर्धाका फिल्म देखाउने हलको माथि नेपालको झण्डा देखियो । फेस्टिभलले प्रतिस्पर्धामा रहेका फिल्मका देशको झन्डा पनि राख्ने रैछ । विश्वका ठूला देशको बीचमा नेपालको झन्डा पनि फर्फराइरहेको थियो । तर क्षेत्रफल र बर्कतको अनुमान गरेर नै हो कि यहाँ पनि नेपालको झन्डा चाहिँ सानो राखेछन् । सायद बाँकी देशको भन्दा भिन्न आकारको भएर होला प्रिन्ट गर्न ढंग पुगेनछ । 

तर नेपालको राष्ट्रिय झन्डाले त्यो ठाउँ पाएको थियो एउटा नेपाली निर्माता/निर्देशकको प्रयासले । यस्तोमा सरकार वा यो क्षेत्रको प्रतिनिधित्व गर्ने चलचित्र विकास बोर्डले सुको लगानी नगर्ने बेहोरा देखेर भने विरक्त लाग्ने । बोर्डले दुई वर्षदेखि यस्ता फेस्टिभलमा जाने चलचित्रकर्मीलाई थोरै पैसा दिन्छ तर यो पैसाले एकतर्फी टिकट पनि आउँदैन । अझ बोर्डमा झोंक चल्यो भने फिचर फिल्मलाई सर्ट फिल्म लेखिदिएर पैसा ‘खा कि घिच’ भने जस्तो बनाउने सम्भावना पनि उत्तिकै छ । 

यसरी झन्डा राखिने फेस्टिभलको मुख्य हल पलाज्जो डेल सिनेमा कटेर अलि पर पुगेपछि त्यहाँ एउटा क्यानल भेटिन्थ्यो र त्यसको अघिल्तिर होटल एक्सेलसर । क्यानलमाथिको सडकमा बसेर दर्शकहरू सुमन्द्रतिर हेरिरहेका थिए । भिड त थिएन तर समुन्द्रतिर हेर्नलाई पर्याप्त ठाउँ पनि थिएन । सँगै हिँडिरहेका अरुलाई उछिनेर मैले त्यहाँ हेरेँ । तल डुंगै डुंगा थिए र कसैको प्रतीक्षा गरिरहेका फोटोग्राफर । फर्केर मैले लुसियसलाई नै ‘त्यहाँ किन मान्छे झुम्मिएका ? कोही ठूलो स्टार आउँदैछ हो ?’ भनेर प्रश्न गरेँ ।

लुसियसले मेरो अनुमानमा सही थाप्दै एयरपोर्टबाट ठूला ठूला स्टारहरू प्राइवेट बोटमा आउने र यहीँबाट निस्किएर एक्सेलसर होटल भित्र छिर्ने जानकारी गराए । उनले बताएअनुसार हलिउड वा जहाँ कहीँका हुन् ठूला स्टार यही होटलमा बस्ने रैछन् । लुसियसबाट यत्ति सुनेपछि कस्तो रैछ त हलिउड स्टार बस्ने होटल भनेर हेर्न लुसुक्क छिरियो पनि तर पर्सीपल्ट ‘द रेड सुटकेस’ले जितेको एउटा अवार्ड बाँड्ने कार्यक्रम यहीँ राखिएपछि तला चढेर पनि हेरियो । यही क्रममा देखियो भेनिसको मार्केट पनि यही होटलमा हुनेरैछ । हामी पुग्दासम्म मार्केट उठिसकेको थियो तर पनि साइनबोर्डहरू बाँकी थिए । यहीँ ‘द रेड सुटकेस’का लागि निर्देशक फिडेल देवकोटाले अनरेबल मेन्सन अवार्ड जिते । फोन्डाजियोन फाइ पर्सोना लाभोरो एम्बियन्टे भनिने यो विधामा उत्कृष्ट फिल्मको अवार्ड चाहिँ रेयुसुके हामागुचीले जितेका थिए । 

हामागुची नचिनेर आपत
हामी ६ तारिख भेनिस पुगेका थियौँ भने ८ तारिख दिउँसो २ बजे ‘द रेड सुटकेस’को प्रिमियर थियो । प्रिमियरअघि फोटोकलमा निर्मातासँगै कलाकार जाने सेड्युल लुसियसले बताएका थिए । अघिल्लो दिननै लुसियसले ‘तिमी पनि जाने हो । ’ भनेर सोधेका थिए । मैले नाइँ नास्ती गर्ने कुरै थिएन । अनुभव जो लिनु थियो । 

८ तारिखको दिन फोटोकलको समय १० बजे तोकिएको थियो । फेस्टिभलले नै दुइटा गाडी उपलब्ध गराएको थियो जसमा बसेर हामी फोटो खिच्ने ठाउँमा गयौँ । फोटोकलमा निर्देशक,कलाकार, निर्माताको फोटो खिच्ने र फोटोपछि निर्देशक फिडेल देवकोटा र सृष्टिको अन्तर्वार्ता गर्ने कार्यक्रम थियो । गेट्टी इमेज लगायत त्यहाँ भेला भएका फोटोग्राफरले पालैसँग पहिला कलाकार र पछि निर्माताको फोटो खिचे । पत्रकारलाई फोटो खिच्न सजिला सिंढी बनाइएको थियो र ८० औँ संस्करणको भेनिसको बोर्डअघि सबैको फोटो खिचियो ।

यसअघि भने लुसियसले मलाई रेडियो, स्टेसन, टिभी र त्यहाँ भएका अन्य विभागको भ्रमण गराए । भेनिसको अफिसियल च्यानलमा भएको फिडेल देवकोटा र सृष्टि श्रेष्ठको अन्तर्वार्ता पनि म कन्ट्रोल रुम भित्रै बसेर हेरेँ । यति गरेपछि भने कलाकारको टोली होटल फर्कियो हामी भने अनरेबल मेन्सन अवार्ड थाप्न होटल एक्सेलसर लाग्यौँ । 

७ तारिखको साँझ नै फिल्मले अनरेबल मेन्सन पाउन लागेको इमेल आएको थियो । भेनिसमा मुख्य विधाबाहेक स्वतन्त्र विधाका नै यति धेरै अवार्ड हुनेरैछन् कि फिल्ममेकरलाई नै के अवार्ड पाइराछु भन्ने थाहा नहुँदो रैछ । अवार्ड पाएको खबरपछि मैले फिडेल जी र आरकेजी दुवैलाई थप जानकारी लागि सोधेँ । उहाँहरुले इमेलको कुरा देखाउनु भयो । इमेल पढेर पनि पुरै कुरा बुझिएन । मैले लुसियसलाई पनि थाहा हुन्छ कि भनेर सोधेँ । उनले पनि इमेल नै फरवार्ड गरिदिए । मैले गुगल गरेर हेरेँ । तर इमेलमा भनेको अवार्ड र गुगलमा देखाउने अवार्डको नाम नै फरक फरक । आधाउधी मिल्ने पनि आधा उधी नमिल्ने पनि । 

फोटोकल सकिएपछि १२ बजे हामी हतारिँदै लुसियसलाई पछ्याउँदै कार्यक्रम हुने ठाउँमा पुग्यौँ । कार्यक्रम सुरु भइसकेको रहेछ । अवार्डका संस्थापक लगायत अरु मान्छे मञ्चमा बसिसकेका थिए । यसपछि माइक लिएर बोल्न थाले । सुन्न मजै आयो तर केही बुझिएन ।

किनकि उनीहरूले इटलीकै भाषामा कुरा गरिरहेका थिए । पछि विजेताको नाम घोषणा हुनथालेपछि मात्र साइटेसन अंग्रेजीमा लेखिएको थियो । पहिले अनरेबल मेन्सन पाउने फिल्मलाई अवार्ड बाँडियो अनि उत्कृष्ट फिल्मलाई । उत्कृष्ट फिल्मको नाम भनेपछि भने हामी तीनै जनाका कान ठाडा भए । ‘द रेड सुटकेस’ले अनरेबल मेन्सन पाएको विधाको विजेता फिल्म चाहिँ जापानिज निर्देशक रेयुसुके हामागुचीको नयाँ फिल्म रहेछ । 

भेनिस पुगेर आफूले चिन्ने न कुनै कलाकारसँग फोटो खिच्न पाइएको थियो न अन्तर्वार्ता । रेयुसुकेको नाम आएपछि उनको पछिल्लो फिल्म ‘ड्राइभ माई कार’ हेरेकाले सकेसम्म अन्तर्वार्ता नभए पनि फोटोसम्म चाहिँ खिच्नुपर्ला भन्ने सोचिरहेको थिएँ । पहिला उनीहरूले अनरेबल मेन्सनको अवार्ड बाँडे अनि उत्कृष्ट फिल्मको । विजेताको सामूहिक फोटो सेसन पनि भयो । 

फिडेलजीसँगै रेयसुके पनि आफ्नो कुर्सीमा फर्किए । गएर कुराकानी गर्नुपर्यो भनेर लम्कँदै थिएँ, लुसियसले होटल फर्कन गाडी कुरिरहेको भनेर अत्याए । फिडेलजी, आरकेजी सबै जना तल झर्नुभयो । मैले पनि थकथकी मान्दै उहाँहरूलाई पछयाएँ । 

तल झरिरहँदा फिडेलजीलाई भने ‘हामागुचीसँग फोटो खिच्न मन थियो । हतार भएर भ्याइएन ।’ हतारमा उहाँले मेरो सुने पनि कुनै उत्तर दिनु भएन । पछि मात्र भन्नु भयो , ‘सामीप्यजी, तपाईँले फोटो खिच्न खोजेको त हामागुची हैन रैछ नी । त्यो त उहाँको असिस्टेन्ट पो रैछ ।’
मैले सोचेँ, ओहो भेनिसमा झन्डै अन्तर्राष्ट्रिय बेइज्जत भएनछ । 

फिल्मको भन्दा सृष्टि–सौगात अफेयरको चासो 
फिल्मको वल्र्ड प्रिमियरका लागि सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ ७ तारिखका दिन भेनिस झरे । कतारको दोहा हुँदै इटलीको रोम झरेका सौगात र विपिनलाई अलि अघि रोम झरेका छायांकार सुशन प्रजापतिले गाइड गर्दै ट्रेनबाट इटलीको सान्टा लुइजा झारे । यहाँ विपिन र सौगातलाई स्वागत गर्न र होटलसम्म लैजान फेस्टिभलले प्रतिनिधि नै खटाएको रहेछ ।

ट्रेन स्टेसनमा ती महिला प्रतिनिधि पनि भेटिइन् ।  ट्रेन स्टेसनबाट बाहिर निस्केर दुई पाइला हिँड्ने बित्तिकै फेरि स्टेसन भेटिन्थ्यो । उनले सौगात र विपिनलाई प्राइवेट बोटमा बस्न आग्रह गरिन् । बोटमा बस्दा बस्दै सुशनले दुवैलाई आफूतिर हेर्न आग्रह गरे र दुई चार वटा फोटो खिचिक्क पारे । नेपाली कलाकारले पाएको यो इज्जत देखेर फेरि नेपाली मन भित्रभित्रै दंग पर्यो । सृष्टि भने सोही दिन बाबुआमासँग आएर होटलमा बसिसकेको खबर आइसकेको थियो । 

आठ तारिखको दिन हामी बिहानै होटल पुग्दा सबैजना फोटोकलका लागि तयार थिए । त्यहीँ सृष्टिसँग भेट भयो । उनी मलाई देखेर सरप्राइज भइन् । किनकि उनले म त्यहाँ हुने कुरा कल्पना पनि गरेकी थिइनन् । अनि भेनिस जाने केही दिनअघि सृष्टिसँग काठमाडौँमै भेट हुँदै मैले उनलाई त कहिले जाने ? कसरी जाने ? भनेर सोधेको थिएँ । तर म पनि जान सक्छु है भनेर भनेको थिइँन । यस हिसाबले पनि सृष्टि मलाई देखेर थोरै सरप्राइज भएकी थिइन् । 

माथि भने जस्तो यसरी भएको भेटघाटपछि हामी फोटोकलका लागि गयौँ । तर फोटोकलमा जानुअघि केही समय हामीले कुर्नुपर्यो । मैले यही समयमा सृष्टिसँग र सौगात विपिनसँग बेग्लाबेग्लै सेल्फी लिएँ र फेसबुकमा पोस्ट गरिदिएँ , क्याप्सन थियो, ‘हेर्नुस् है, मैले भेनिसमा कसलाई भेटेँ ?’ भेटिरहेकै मान्छे पनि नयाँ ठाउँमा भेट्दा बेग्लै अनुभूति हुँदोरहेछ । फोटो पोस्ट गर्नुको पछाडि यही अनुभूतिले प्रेरित गरेको थियो । तर यो फोटोले नेपालतिर भने अर्कै कुरा ‘ट्रिगर’ गरेछ । नेपालका चलचित्र पत्रकार साथीहरूले इन्बक्समा सौगात र सृष्टिको मिलन बिछोड र भलाकुसारीका प्रश्न सोध्न थाले । 

त्यसो त सौगात र सृष्टिको अफेयरको कुरा पनि उनीहरूले लुकाएका थिएनन् र ब्रेकअप पछि पनि सौगातले स्पष्टसँगै आफूहरु अलग्गिएको कुरा बताएका थिए । तर यो सबै पछाडि दुवै एउटै इभेन्टमा भेटिएको यो पहिलो अवसर थियो । यसले मिडियामा चासो उत्पन्न हुनु पनि स्वाभाविक नै थियो । नढाँटीभन्दा मलाई पनि दुवैको अहिले पोजिसन के थियो भन्ने जिज्ञासा थियो । त्यसैले मैले होटलमा भेट्दा नै विपिनलाई सोधेको थिएँ, ‘दुवैको के छ हालखबर ?’  विपिनले बोलचाल गरेको नदेखेको जवाफ दिएका थिए । मैले पनि त्यही देखिरहेको थिएँ । मैले सोहीअनुसार जवाफ दिएँ । एकैछिनमा ‘सौगात र सृष्टिको भेनिसमा भेट भयो तर बोलचाल भएन’ आसयका समाचार आए ।

यस्तो समाचार आएको केही समयपछि त सृष्टि र सौगातको मेलमिलाप भइहाल्यो । तर यो प्रकरणमा मलाई के कुरा चाहिँ खड्कियो भने हामीलाई कुनै फिल्म भेनिसमा जाने र त्यसले पार्ने प्रभावका बारेमा अझै चलचित्र पत्रकारमा पर्याप्त उत्सुकता जगाउन सकेका रहेनछौँ । किनकि कसैले पनि मलाई ‘दि रेड सुटकेस’ कस्तो थियो र त्यहाँ हेर्नेले कस्तो प्रतिक्रिया दिए भनेर सोधेनन् । न त फिल्मको वल्र्ड प्रिमियर हुँदाको माहोल कस्तो थियो भनेर सोधे । चासो थियो त केवल सृष्टि–सौगातको ।

प्रिमियरमा छायाँकारको गर्जन 
इटलीको समयअनुसार दिउँसो दुई बजे चलचित्रको प्रिमियर थियो । प्रचण्ड गर्मी थिएन तर गर्मी–गर्मी नै थियो । १३ सय क्षमताको हलमा प्रिमियर थियो । रेडकार्पेट हुँदै हल भित्र छिरियो । हल भरिभराउ थियो । दुई भागमा बाँडिएको हलको बीचको भागमा हामी सबैको नाम राखेर कुर्सी खाली  राखिएको रैछ । भित्र पस्ने बित्तिकै दर्शकले गडगडाहट तालीले स्वागत गरे । फिल्मकर्मीलाई गर्ने यो इज्जतले फेरि एक पटक नेपाली मन फुरुङ भयो । ताली थामिएको केही समयपछि नै चलचित्र सुरु भयो ।

एउटा लामो अफस्क्रिन भ्वाइस ओभरसँगै फिल्म सुरु हुन्छ र अस्थायी बसाइँसराइका नेपाली बाध्यतामाथि सशक्त प्रश्न छाड्दै फिल्म सकिन्छ । फिल्म सकिएपछि पनि हल लामो समय तालीले गुञ्जायमान भयो । धेरै चोटि यस्ता फिल्मले पाउने स्ट्यान्डिङ ओभेसनका समाचार लेखेको हुनाले स्वभावतः घडीमा आँखा गए । ताली बजिरहेको थियो । ताली बजुन्जेल कलाकारसहित हामी सबैले उठेर दर्शकलाई अनुग्रहित मुद्रा प्रवेश गर्यौँ । बीचमा दुई मिनेट जति भएपछि ताली पातलो भएर सबैजना बस्न लागेका थियौँ तर ताली रोकिएन । लगभग तीन मिनेट जति दर्शकले ताली बजाएर फिल्मलाई ‘स्ट्यान्डिङ ओभेसन’ दिए । यसपछि मञ्चमा प्रश्नोत्तर सेसन चल्यो जहाँ धेरै दर्शकले फिल्ममा प्रयुक्त मेटाफोर माथि जिज्ञासा राखे । अनि एउटा प्रश्न चाहिँ नेपाल र श्रीलंकाबीच कसरी सहकार्य सम्भव भयो भन्ने थियो । 

हुन पनि नेपालले अहिलेसम्म प्रडक्सनमा जति पनि सहकार्य गरेको छ , धेरै जसो युरोपियन छन् । तर ‘ द रेड सुटकेस’ पहिलो फिल्म परेछ जसलाई श्रीलंका र नेपाल मिलेर भेनिस पठाएका थिए । यो कुरालाई हलिउडको भेराइटी पत्रिकाले पनि खुबै महत्व दिएर छापेको थियो । तर ‘द रेड सुटकेस’ले यसरी अर्को एसियन देशसँग सहकार्य गरेको मूल्य पनि चुकाउनु पर्ने रहेछ । भेस्टिभलमा छानिएका फिल्मको दुई तीन चोटि स्क्रिनिङ हुनेरैछ । एउटा चाहिँ प्रेसका लागि । ताकि फिल्मको रिभ्यू होस् । तर युरोपका दुई तीन जना पत्रकारले फिडेलजीलाई मुखैमा तेरो फिल्म त मनपर्यो तर हामी समीक्षा चाहिँ गर्दैनौँ भनेर भनेछन् । कारण के भन्दा युरोपियन को–प्रडक्सन भएन रे । मैले मनमनै गमेँ, नेपाल जस्ता देशलाई केही गरे नी सुख रैनछ । 

अनि यो बीचमा एउटा रमाइलो घटना पनि घट्यो । फिडेलजीले ‘द रेड सुटकेस’को कुरा हुँदा, मेरो फिल्ममा त सबलाई सुताउने हो भन्नुहुन्थ्यो । फिल्म स्क्रिनिङभन्दा अगाडि नै फोनमा कुरा हुँदा यो कुरा मजाक मजाकमा भन्नु भए जस्तो लाग्छ । अनि भेनिस वा कान जस्ता फेस्टिभलमा जाने फिल्म ‘क्राउड प्लिजिङ’ सितिमिति हुँदा पनि हुँदैनन् । यस्ता फिल्मले धैर्यताको परीक्षा लिने सम्भावना रहन्थ्यो नै । अझ भेनिसमा त्यो बेला हल्का गर्मी थियो अनि हलभित्र एसीको चिसो ।

म आजभोलि हलमा प्रशस्त डाङडाङडुङ हुने ‘फास्ट एन्ड फ्युरियस’ जस्ता फिल्म हेर्दा पनि निदाउँछु । तर भेनिसमा एक्साइटमेन्ट बेग्लै थियो । म ननिदाउन कटिबद्ध थिएँ । तर फिल्म चलेको १५–२० मिनेट पछाडि घारघुरको आवाज आयो । आवाज आएतिर हेर्छु त यसरी हल थर्काउने अरु कोही नभएर फिल्मकै छायाँकार सुशन प्रजापती रहेछन् । लास्टै हाँस उठ्यो । फिडेलजीले सुताउने हो भनेको डाइलग पनि याद आयो । तर आफ्नै छायाँकार चाहिँ यसरी सुताउन नहुने हो भन्ने पनि लाग्यो ।

किनकि सुशनले पनि खिचेपछि पहिलो चोटि फिल्म हेरिरहेका थिए । फिल्मको वल्र्ड प्रिमियर हेर्नलाई सुशन पनि उत्साहित थिए । तर आफूभन्दा ठूलो आइलागेपछि कसको के लाग्छ ? तर सुशनको घुराइको आवाजले अरुलाई पनि डिस्टर्ब गर्ने देखेपछि एकाधपटक छेऊमा रहेका सौगातले ब्युँझाइदिए । एकाध पटक मैले । पछि फिल्मको स्क्रिनिङ सकेपछि मैले फिडेलजीलाई भने ‘तपाईँको सुताउने रहर सुशनबाट पूरा भयो है ।’ फिडेलजी आफ्नै छायाँकार आफ्नो फिल्म हेर्दा सुतेको खबर सुनेर गदगद हाँस्नुभयो । 

भेनिसले रुचाएको नेपाली ‘कलर ट्रिओलोजी’
‘कालो पोथी’, ‘सेतो सूर्य’ र ‘रातो सुटकेश’ यी तिनै फिल्मबीच नेपाली कथानक चलचित्र हुनुबाहेक अर्को एउटा समानता पनि छ । त्यो हो यी तीनै फिल्मको भेनिस फिल्म फेस्टिभलको यात्रा । योबाहेक यी तीनमा पाइने अर्को समानता हो नामको अघि आउने रङ । भेनिसमा ‘कालो पोथी’, ‘सेतो सूर्य’ र ‘रातो सुटकेश’ छानिनु संयोग हो र उत्तिकै संयोग हो सबै नाम रङसँग जोडिनु । तर यसो विचार्दा, यो रमाइलै कुरा हो ।

‘द रेड सुटेकेस’ भेनिसमा छानिएको खबरपछि मेरो दिमागमा आएको थियो भेनिसमा नेपाली रङ फाप्ने रहेछ । त्यो कसरी भने नेपालले पहिलोपल्ट यस्ता ठूला फेस्टिभलमा अवार्ड जितेको यही भेनिसमा थियो र जित्ने फिल्म थियो, ‘कालो पोथी’ । मिन भाम निर्देशित यो फिल्मले सन् २०१५ को संस्करणमा क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । भेनिसमा छानिने पहिलो नेपाली फिल्म नै यही थियो । 

यसको एक वर्षपछि अर्थात् सन् २०१६मा दीपक रौनियारको ‘ह्वाइट सन’ छानियो । यसले कुनै अवार्ड त जितेन तर भेनिसको प्रतिस्पर्धामा छानिने यो पहिलो फिल्म थियो । यो भेनिसमा दोस्रो ठूलो विधा मानिने होराइजन विधामा प्रतिस्पर्धामा थियो । अहिले ‘द रेड सुटकेस’ पनि यही विधामा छनौट भएको हो । ‘द रेड सुटकेस’ले पनि खाली हात फर्कन परेन । यसले दुई दुई वटा अवार्ड जित्यो जुन नेपाली फिल्मका लागि कम गौरवको कुरा होइन । रङको कुरालाई सामान्यीकरण गर्न त मिल्दैन तर भेनिसमा रङको यो संयोग मीठो थियो । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x