ब्लग

भेटिएर छुट्‌नुभन्दा नभेटिएकै जाति हुन्थ्यो !

सरोज भट्टराई |
जेठ १८, २०८१ शुक्रबार १३:२२ बजे

प्रिय मान्छे, तिम्रो नाम त मैले पत्ता लगाए तर धेरै कुरा थियो प्रिय- जुन मैले पत्ता लगाउन सकिनँ । आज एक्कासी तिम्रो याद आयो अनि सम्झिएँ- तिम्रो नजरमा त म तिम्रो आफ्नो मान्छे होइन रहेछु । तिम्रो चेतनामा मेरो स्वरूप पनि छैन होला, अनि छैन पनि होला म तिम्रो सम्झनाको अँध्यारो कुनामा । तर तिमीलाई सम्बोधन नगरेरै आज यो पत्र लेख्दैछु । यदि सम्बोधन गर्थेँ भने यो पत्र लेख्‍न धक मान्थें होला, लेखेपछि पठाउनै डर मान्थें होला । तिम्रो नजरमा नचिनेको मान्छे हुनुको जुन परिचय छ मेरो, त्यसैको भरोसामा यो पत्र कोर्दैछु ।

यो संसारमा मान्छे पहिले बन्यो होला कि उसको मन ? मन पहिले बन्यो होला कि त्यो भित्र पलाउने प्रेम ? प्रेम पहिले बन्यो होला कि घृणा ? यो ठूलो संसारको कुरा त म सानो मान्छेले कहाँ जानुँला र, तर यत्ति पक्कै भन्न सक्छु तिम्रो र मेरोबीचमा शुरुमा प्रेम बन्यो अनि मात्र घृणा ।


तिमीलाई त यो पनि थाहा छैन कि तिमीलाई बेहिसाब प्रेम गर्ने मान्छे को हो भनेर, यो पनि थाहा छैन तिमीले घृणा गरेको मान्छे को हो भनेर, तिमीलाई केही थाहा छैन प्रिय तिमीलाई पछ्याउने मान्छे को थियो, को थियो तिमीलाई आफ्नो हृदयमा राख्ने, मुटुको आँगनभरि फूलहरू बिछ्याउने ? को थियो एकान्तमा तिम्रै नाम लिएर चिच्याउने ? तिमीलाई केही थाहा छैन, तिम्रो एक झलक पाउन तिमी हिँड्ने बाटोमा घन्टौं कुरिरहने मान्छे को थियो भनेर ?

थाहा थिएन छल्दै-छल्दै नियतिले मलाई तिम्रै टोलमा ल्याइपुर्‍याउला भनेर । दुर्घटनाबाट बाँचेर, कैयौँ हेला, तिरस्कार र अपमानहरू सहेर आइपुगेको थिएँ म त्यही ठाउँमा । के.एस.एलको गेटको अँध्यारो कुनाबाट देख्‍न सक्थें म तिमी, त्यही छेऊको घरको दोस्रो तलामा हुन्थ्यौ । उन्मुक्त भएर हाँसिरहेकी तिमी, तिमीलाई कालो चश्मा लगाएर दिनरात आगोका झिल्काहरूबीचमा फलाम जोडिरहने मलाई के थाहा कलिला मुटुहरू जोड्न कति कठिन हुन्छ भनेर । एकछिन भए पनि आँखाहरूलाई सित्तल हुने गर्दथे जब म कलेजको गेटको बाँयातर्फको घरमा तिमिलाई देख्‍न पाउँथे, जब तिमी के.एस.एलकै पसलको छेउ भएर हिँड्थ्यौ । तिमीलाई थाहा छ बहुमूल्य गहनाहरू राखिने बट्टाहरू, सेफहरू पनि उत्तिकै शानदार हुन्छन् ! मलाई तिमी पनि त्यही बहुमूल्य गहनाहरू जस्तै, असर्फीहरू जस्तै लाग्दथ्यो जो म जस्ताको अंगालोमा प्रेमका गरिब हत्केलाहरूमा कदापि सुहाउन्‍नन् ।

प्रिय, प्रेम भनेको त कहाँ अनुहार हेरीहेरी, हैसियत हेरीहेरी, जात, धर्म अनि वर्ग हेरीहेरी आउँछ र ? यो त बर्खामा झरी आएजस्तो सबैलाई उत्तिकै रुझाउन आउँदो रहेछ । तिमीले कहिल्यै घामले गरिबलाई मात्र पोल्छु भनेर गर्मी गराएको देखेकी छौ ? कहिल्यै जाडोले सबैलाई चिसो गराउँदिन भनेको सुनेकी छौ ? जाडो मान्दिनँ भन्नेहरूले न्याना लुगा लगाउनु अलग कुरा हो । गर्मी मान्दिनँ भन्नेहरूले एसीमा बस्नु अलग कुरा हो । हो, मलाई पनि त्यही एउटा डर थियो, तिमीले मलाई प्रेम गर्दिनँ भन्छौ कि भनेर ?

सोचेको थिएँ तिमीले मसँग प्रेम गर्दिनँ भन्यौ भने म चुपचाप जानेछु । तर चिन्दै नचिने पो चुपचाप जान सकिन्छ । चिनिसकेपछि त सम्बन्धको साँग्लोले खुट्टाहरू अल्झाइदिने रहेछन् । नचिने पनि फरक नपर्ने मान्छे, चुपचाप जाँदा सजिलो हुँदो हो । तर चिन्न मन लागेको मान्छे, अलिकति भए पनि कौतुहल जागेर परिचयको घिडघिँडो बाँकी रहेको मान्छे चुपचाप जाँदा सहन गाह्रो हुन्छ । त्यसैले तिमीलाई कष्ट नहोस् भनेर म आज तिमीलाई पुराना कुराहरू सम्झाउने चेष्टा गर्दैछु ।

के.एस.एलको गेटमा तिमी निकैबेर साथीहरू कुरेर बस्थ्यौ । जस्तो सुकै भिडभाडमा पनि तिमीले एउटा साथी भेट्टाउँथ्यौ । मानौं तिमीलाई के.एस.एलमा मन नपराउने कोही पनि थिएन । तिमी के.एस.एल परिसरमा हुँदा साथीहरू खाजा समयपछिको कक्षा जानै बिर्सिन्थे । तिमी खुसीले गद्‌गद्‌ हुन्थ्यौ, को थियो त्यो मान्छे जसले तिम्रो खुसीको हिसाब बुझाउँथ्यो ? तिमीले खाने पानीपुरीमा एक प्लेटमा तीन वटा पुरी बढी आउँथ्यो, को थियो त्यो जसले तिम्रो खुसीको हिसाब साँझपख बुझाउँथ्यो ? तरकारी पसलेले तिमीलाई टमाटर बढी राखिदिन्थ्यो, अझ धनियाँ बोनस बाँड्थ्यो । अनि कसको खातामा गएर चढ्थ्यो तिम्रो त्यो उज्यालो चेहराको ब्याज ? म तिमी त्यँहा हुँदासम्म के.एस.एलभन्दा बढी मलाई तिमी हिँड्ने बाटो मन पर्ने थालेको थियो ।

के थाहा छ तिमीलाई, तिमीलाई पछ्याउँदै हिँड्ने मान्छे को थियो भनेर ? जब तिमी थिमी चोकबाट हिँडेर आउने गर्थेउ, तिमी हिँड्ने बाटोभरि फूलहरू फुलुन्, काँडाहरू नहुन् भनेर प्रार्थना गर्ने मान्छे को थियो भनेर ? के थाहा छ तिमीलाई, तिम्रो नराम्रो सुन्नै नसक्ने मान्छे को थियो भनेर ? तिमीलाई सबैले तिम्रो सुन्दरता देखेर, तिमीलाई वस्तुभन्दा सबैभन्दा मन भक्कानेर रिसाउने मान्छेको थियो ? तिम्रो कुरा काट्नेहरूसँग झगडा गरी हिँड्ने को थियो ? तिमीलाई थाहै नदिई प्रेम गर्नुमा पनि छुट्टै मज्जा थियो । तिमीलाई अन्जानमै सताउनुको मजा पनि अर्कै थियो ।

के.एस.एलको चमेना गृहमा सँगै खाना खाने साथीहरू त एउटै थिए तर जबदेखि तिमीलाई नराम्रो भन्न थाले, चिज भनेर शब्द उठाउन थाले, मैले उनीहरूको साथ नै छोडी दिएँ । प्रिय, सायद तिमी मेरो भइसकेको भए मैले हात उठाउन पनि पछाडि पर्दैनथें होला । किनकि प्रिय म तिम्रोबारेमा नराम्रो शब्द सुन्न सक्दैन्थें । म उनीहरूलाई मन-मनै घृणा गर्थें । तर तिमीलाई मेरोबारेमा धेरैले बताएनन् । न तिम्रो साथीहरूले कहिल्यै मेरोबारेमा तिमीलाई बताए । न त तिम्रो डेरा छेउमा बस्ने तरकारी पसलेले मेरो पोल खोलि दियो । पानीपुरीवाला पनि ज्ञानी थियो जसले मेरो उपस्थितिको सुइँकोसम्म पनि दिएन तिमीलाई । तैपनि कतै बाहिर निस्कँदा अपर्झट तिमीलाई बाटोमा देख्दा मन उसै आत्तिन्थ्यो ।

मान्छेमा कसैलाई पाउने अभिलाषा हुनु नराम्रो हैन तर प्रेमको अन्तिम गन्तव्य नै प्राप्ति सोचियो भने आफू झन् कमजोर भइने रहेछ, प्रेम कमजोर हुने रहेछ । प्रेममा त झन् लिनुभन्दा दिनुको मज्जा धेरै हुने रहेछ । पाउनुभन्दा गुमाउनुको मज्जा ज्यादा हुने रहेछ । जब आफूले चाहेको मान्छे आफ्ना लागि भाग्यमा लेखेकै छैन भनेर थाहा हुन्छ त्यति बेला त्याग पनि मीठो लाग्ने रहेछ ।

चिन्नेहरूले हामीलाई यसरी चिनुन्, तिमीलाई देख्दा मलाई सम्झिउन् मलाई देख्दा तिमीलाई सम्झिउन् हामी दुबैलाई एकैपटक देख्दा, आफैँलाई बिर्सिउन्!

मलाई त्यतिबेला नै मैले साहस गरेको त्याग मीठो लाग्न थाल्यो । मलाई केही गुनासो छैन मलाई तिमीले नचिन्नुमा । केही नराम्रो लागेको छैन तिमीले मलाई गरेको घृणामा । तिमीलाई त अझै कौतुहलताले व्यग्र बनाइसकेको होला है आखिर को हो यो मान्छे जसलाई थाहै नपाई मैले घृणा गर्छु भनेर ?

के तिमीलाई थाहा छ प्रिय, तिमीलाई म्यानेजमेन्ट विषय अप्ठ्यारो लाग्थ्यो । तिमीले मलाई म्यानेजमेन्ट गाह्रो लाग्छ र म बिरामी छु भनेकी थियौ । प्रिय, त्यतिबेला मैले तिमीसँग आँखा जुदाउन नसकेर म्यानेजमेन्टको किताब रिसेप्सनमा छाडेको थिँए । तिमीले राति इन्स्टाग्राममा धन्यवाद भनेकी थियौ । म त्यो रात खुशीले गद्‌गद्‌ भएको थिएँ । प्रिय, रुपरंग केही हैन, मन असल हुनु पर्दछ भनेर भन्न कति सजिलो हुने रहेछ । कति सजिलो हुने रहेछ आदर्शका कुराहरू छाँट्न । तर त्यही कुरा व्यवहारमा उतार्न कति अप्ठेरो हुँदो रहेछ है ? आज तिम्रा अनुहारमा खेलिरहने आभा कुनै दिन अँध्यारोको अनकन्टार गुफामा पुगेर हरायो भने तिमी के गर्छौ ? तिमी त सानो डण्डीफोर आउँदा पनि हतास भएर दुखी हुन्छौ होला । अलिकति सानो डार्क सर्कल आइदिएर आँखाका वरिपरी, अलिकति पोतो देखिए गालाको डिलमा, तिमी कति धेरै अतालिन्छौं होला है?

प्रिय मान्छे, तिमीलाई याद हुनुपर्ने वर्षौँ अघिको त्यो के.एस.एलको वादविवाद प्रतियोगिता । जसमा तिमीले एक जना सिनियर दाईलाई नभेट्दा, मेन्टर पत्ता नलाग्दा मैले तिमीलाई लुकीलुकी देखाई दिएको । न त आज‚ न त त्यतिबेला नै मलाई चिनेकी थियौ तिमीले, तैपनि प्रारम्भले हामीलाई यति लामो जीवनको एउटा छोटो दिनसँगै एउटै यात्रामा हिँड्न जुराएको थियो । भाग्यले भनौँ या दुर्भाग्यले मलाई तिमीसँग भेटाईदिएको । म तिम्रो सिनियर एउटा सामान्य व्यक्ति, तिम्रो हँसमुख चेहरासँग कति धेरै नजिकिएको थिएँ । तिमी त उता साथीहरूसँग नाच्न र वार्षिक उत्सवको दिनमा व्यस्त थियौ । के तिमीलाई थाहा छ प्रिय राष्ट्रियसभा गृहमा तिमीले नदेख्ने गरी तिम्रो १०० वटा फोटो खिची तिम्रो मेसेन्जरमा पठाउने मान्छे को हो भनेर ? तिम्रो चुलबुलेपना देख्दा लाग्थ्यो तेलमा फुरिरहेको फुरुन्दानाभन्दा ज्यादा तिमी खुसीले फुर्केकी थियौ प्रिय ।

तिमी जस्तो बेस्टफ्रेण्ड त कहिल्यै पाउँदिन होला मैले । तिमी मलाई यही भन्थेउ । म पनि तिमी जस्तो साथी पाएर आफूलाई भाग्यमानी ठान्न थालेको थिएँ । तिमीलाई साथीभन्दा पनि माथि बनाउन नपाएको कुरा मात्र मनमा खट्किरहन्थ्यो । 'हेर न मलाई सागरले (नाम परिवर्तित) दिएको गिफ्ट, तिमीले मेरो हातमा बाँधेको घडी देख्यौ 'जो चाहिँ ढिलो आउँछ, जतिबेला पनि कुराउँछ, उसैले घडी गिफ्ट दिन्छ भन्यौ । तिमीले रिसाए जस्तो स्वाङ पार्थेउ । तर मलाई भने सागरको नाम सुन्नासाथ मन चसक्क दुख्थ्यो । 'बरू तिमीजस्तो साथी नै धेरै ठिक । जतिबेला जता बोलाए पनि कमसेकम टाइममै आइपुग्छौ- उसले मलाई फुरूक्क पारेकी थिइ ।

मलाई अझै याद छ तिमी कति मज्जाले जिस्केकी थियौ मसँग । मलाई सिकाउन भनेर साँझ जिमेलमा नोट्स पठाउनुस्‌ न भनेर इन्स्टाग्राममा आइपुग्थ्यौ । मलाई लाग्थ्यो तिमीलाई त्यतिबेला साथीहरूले ‘जोडी सुहायो’ भनेर जिस्काउँदा कति मज्जाले मसँग उभिएर ‘मीठो-मीठो पकाएर खान दिने भए अरू को चाहियो’ भनेर खित्खिताएकी थियौ । सायद त्यो दिन तिमि रक्सिले मातेको हुनुपर्छ, मलाई तिमीले भिडियो पठाएको थियौ । यो त केबल म कल्पनामा गर्न सक्थे मान्छे त्यतिबेला मेरो मुटु पुरीजसरी बाटुलो बनेर ढक्क फुलेको थियो । जब तिमीले आज भेटौंभन्दा सुरुमा हुन्छ भनेकी थियौ, मलाई त तिम्रो मजाकमै पनि कल्पनाको एउटा सिङ्गो युग बाँच्‍न मन लागी सकेको थियो ।

प्रिय मान्छे, मैले तिमिलाई मनबाटै चाहेको थिएँ तर थाहा थिएन तिम्रो चाहनामा अरु कोही नै तिम्रो आफ्नो मान्छे रहेछ । प्रिय तिमीले मलाई एक पटक प्रेमको कुरा गर्दा, किन भेट्ने भनेर भनेको थियौ । प्रिय मलाई याद छ त्यो दिन म भुमरीमा परेको थिए। तिमीलाई मैले आफ्नो सामाजिक सञ्जालबाट हटाएको थिएँ । थाहा थिएन नियतिले मलाई फेरि तिम्रै अघिल्तिर लगेर उभ्याउँला भनेर । तर म हिम्मत हार्ने मान्छे कहाँ थिएँ र । मायामा हराएको म मायालाई नै जित्न निस्किएँ । अनुहार फेरियो, फेरियो शहर अनि सकियो हाम्रो यात्रा । किनकी के.एस.एलमा तिम्रो लागि म घृणाको पात्र भएको थिएँ, थाहा थिएन । तिमीसँग फेरि भेट होला कल्पना नै गरेको थिइनँ । जुन ठाउँको बतासमा म सास फेर्न आइपुगेको थिएँ । त्यहाँ तिम्रै महक फैलिएको छ भनेर । जुन ठाउँको माटोमा पाइला चाल्न आइपुगेको थिएँ । त्यहाँ तिम्रै पैतालाको डोब भेटिन्छ भनेर । पसलको ढोकाबाट म अकस्मात् निस्किँदा, साथीसँग एकसुरमा हाँस्दै खितखिताउँदै आइपुगेकी तिमीसँग बाटैमा जम्काभेट भएको त्यो दिन मेरो मुटु हत्केलामा धड्किरहेको जस्तो आभास भएको थियो । उफ्रेर कतै हराउला भनेर कसिलो गरेर मुट्ठी कसेको थिएँ । नर्भस भएर मुस्काएको थिएँ म तिमीलाई हेरेर । मान्छे, अब हाम्रो भेट कहिले पनि हुने छैन । केही यही चिठीमा भेटिनेछौं, केही तिम्रा यादहरूमा, केही मेरा सम्झनाहरूमा भेटिरहने छौँ हामी । है !

प्रिय मान्छे, निन्याउरो मनले सोचेको थिएँ मैले त्यसबेला, कति निस्ठुरी रहिछौ तिमी । तर माया गर्नेको मनमा त नराम्रो ख्याल आउँदै नआउने रहेछ । चिनेकी भए पक्कै मसँग मीठो बोली बोल्थ्यौ होला । सञ्चो बिसञ्चो सोथ्यौ होला ।

मैले केही कुरा तिमीलाई बताइनँ प्रिय, त्यसैले म घमण्डी हुँ । तिमीलाई त के जरुरी छ र हरेक बाटोमा भेटिनेहरूसँग सहानुभूति राख्दै हिँड्न । के जरुरी हुन्छ र कसैलाई हरेक ऐरेगैरेसँग माया बाँडेर हिँड्न । के माया प्रेम त्यति सस्तो चिज हो र प्रिय ? हर कोहीलाई बाँड्दै हिँड्नलाई ? प्रिय जब माया प्रेम सस्तो हुन थाल्छ, त्यो माया हैन प्रिय त्यसलाई दया भनिन्छ । प्रिय मान्छे, मलाई तिम्रो दया पाउने रहर कदापि हैन । मलाई त घाँटीसम्म हुने गरी भरिएर अड्किएको आफ्नो भावनाको भक्कानो तिम्रासामु फुटाउनु थियो । आज तिम्रो टोल हेर्ने र तिम्रो बाटो पछ्याउन छाडेको महिनौं दिनपछि यो पत्र कोर्न सकें ।

मैले यति धेरै कुरा बताइसकेपछि तिमीलाई पुराना दिनहरू ताजा भएर याद आए होलान् । तिमीलाई नोट्स पठाउने मान्छे, तिमी बिरामी हुँदा आफू नसुत्ने मान्छे, तिमीले गुड मर्निङको रिप्लाई रातlको ५ बजे दिँदा खुसी हुने मान्छे, तिमीलाई चिजभन्दा भक्कानेर रिसाउने मान्छे सायद मेरो अनुहारको धमिलो चित्र पनि मानसपटलमा खेले होलान् ।

म भन्दिनँ तिमी मलाई माया गर्‌ । भन्दिनँ मलाई खोज । मलाई थाहा छ प्रिय, तिम्रो दुनियाँमा म अटाउन सक्दिनँ र मेरो दुनियाँमा तिमी बाँच्न सक्दिनौ । तर केसँगै बाँच्ने अनि एउटाको जिन्दगीमा अर्कोको अधिकार कायम हुनु मात्र प्रेम सफल हुनु हो त ? मलाई त त्यस्तो लाग्दैन ।

बस्, अन्तिम पटक तिमीसामु संयोगले उभिन पुग्दा ‘छि: कस्तो जोसँग पनि बोल्ने मान्छे’ भनेर तिमीले बोलेका शब्दहरू मेरा कानमा अझैँ गुन्जिरहेका छन् । तिमी त्यति धेरै निष्ठुरी होइनौं । खराब त झन् हुँदै होइनौं । मान्छेको चेतना ऊ बाँचेको समाजले बोकी ल्याएको, उसको इतिहासको बिरासतले निर्दिष्ट भएको हुन्छ । यसमा तिम्रो कुनै गल्ती छैन प्रिय । तर परिस्थितिले तिम्रो हुन नपाउनुमा मेरो पनि त गल्ती छैन । त्यसैले यदि मनमा मेरा लागि सहानुभूति पलायो भने अबदेखि कसैलाई पनि सुनेको आधारमा घृणा गर्ने छैन भनेर वाचा गर्‌ ल ? यति गर्‍यौ भने म मेरो प्रेम सफल भएको ठान्नेछु ।

प्रिय, अब हाम्रो भेट कहिले पनि हुने छैन । मेरो पढाई सक्कियो । तिमीलाई सायदै देख्‍नेछु । कसैलाई बर्षौँसम्म बात मारेर पनि मनको कुरा बुझाउन सकिँदैन । कसैले एक इशारामै पनि मन पढिदिन्छन् । मायाको व्याकरण सोचेजस्तो सजिलो छैन । न त मायाको गणित त्यति धेरै नै अप्ठेरो छ । सम्बन्धको गुरूत्वबल त ठीक दूरीमा रहँदा नै टिक्ने रहेछ । अति नजिक हुनु पनि कहिलेकाहीँ सम्बन्ध टुट्नुको कारण बनिदिन्छ । ज्यादा टाढा बनिदिँदा पनि सम्बन्ध जोगिन सक्दैन कहिलेकाहीँ । प्रेम भनेको त संयोगले भेटिने र भाग्यले टिक्ने कुरा रहेछ ।

हामी सबै यहि प्रकृतिका अंश हौँ । प्रकृतिमा भएका सानाभन्दा साना चीजले हामीलाई प्रेम गर्न सिकाउँछ । तैपनि हामीलाई यही प्रेम भन्ने चीजले किन दुखाउँछ ? यति बिस्तार भएको प्रेमलाई एक जनामा मात्र ल्याएर किन खुम्च्याउँछौँ ? सबै थोकलाई प्रेम गरौँ । प्रेम बाँडौँ । फैलाएरै फैलिने चीज हो प्रेम हो । बाँडेरै धेरै हुने हो प्रेम ! कहिलेकाहीँ म जुनलाई हेरेर उनलाई सम्झिन्छु । संसारमा दुई वटा राम्रा सृजना छन् , एउटा चाँद अर्को उनको आँखा । 

उही

तिम्रो नोटस्‌हरू पठाई दिने

तिमीलाई सधै इरिटेट गर्ने

तिम्रो सिनियर

उही तिमीले नचिनेको मान्छे ।

    


Author

थप समाचार
x