यात्रा संस्मरण
आलेको थर्पु र गोसाईकुण्ड
धेरैजसो यात्राहरू योजनाबद्ध तरिकाले समय/साथी सबै मिलाएर जाने योजना बनाउँदा धेरै यात्राहरू योजनामा नै सिमित भएको नमिठो अनुभव छ । तर यो वर्षको जनैपुर्णिमामा गोसाईकुण्ड जाने आकास्मिक योजना बन्यो । छोटो समयमा पूर्वतयारी कमी होला साथीहरूको समय नमिल्ला तर आकस्मिक बनेको यात्राको अनन्द छुट्टै हुने रहेछ ।
यसरी छोटो समयमा बनेको योजनाले रसुवाको ४३८० मिटर उचाईमा रहेको गोसाईकुण्ड यात्रा तय गर्ने निधो गरियो । पहिलो दिन रसुवाको सदरमुकाम धुन्चेसम्म मोटरसाइकलमा जाने र केही उकालो बाटो हिँडेर सकिन्छ धिम्सा पुग्न सकिँदैन देउरालीसम्म जसरी पनि पुग्ने ।
दोस्रो दिन तीन चार बजेभित्र गोसाईकुण्ड पुग्ने तेस्रो दिन बिहानै कुण्डमा दर्शन गरी धुन्चे आउने र चौथो दिन सिन्धुपाल्चोक चौतारा आइपुग्ने गरी योजना बन्यो । हामी बिहान ८ बजे सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट यात्रा सुरु गर्यौँ ।
यात्राको क्रममा दोलालघाट ५२ किलोमा माथिबाट आएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको हुँदा एक घण्टा समय अलमलियो र यात्रामा समयको चाप बढ्यो । टोखाको बाटो हुँदै मध्यान्न १२ बजे बिहानको खाना खान हामी नुवाकोट छहरेमा पुग्यौं र लोकल नेपाली स्वादमा खाना खाई एकछिन आराम गरे हिँड्यौं ।
मेरो साथी तराईवासी शिव साह थिए हामी दुई जना बाल्यकालको दिनहरू स्मरण गर्दै तितो मिठो कुराकानी गर्दै आफ्ना अनुभवहरू सुनाउँदै विद्यालय र कलेज जीवनका दिनहरू स्मरण गर्दै नुवाकोटको सदरमुकाम विदुर हुँदै रसुवातर्फ लाग्यौं । यात्राको साथी साहजीको बाल्यकालको अवस्था घर परिवारको वातावरण, आधारभुत शिक्षा, कजेल जिन्दगी सुनेर वास्तवमै हिलोमा फुलेको कमलको सुन्दर फूल, खोलामा हजारौं हण्डर खाएर कडा गोलो ढुंगा बनेको याद आयो, यति कठिन संघर्ष गरेर जागिरे जीवनमा आएको साहजी यात्रामा मेरा लागि एक खुल्ला किताब जस्तो महसुस भयो । त्रिशुली नदिको आवाज र पारिपट्टीको हिउँ जस्ता सेता बाहुवली झर्ना हेर्दै घुम्तिहरू पार गर्दै विदुर शहरलाई पछि पार्दै यात्रा अगाडि बढ्यो रसुवाको कालिकास्थानमा मित्रद्वय अर्जुन पौड्याल र खामसुङ तामाङको न्यानो स्वागतले यात्रालाई थप उर्जामय बनायो ।
लाङटाङ राष्ट्रिय निकुन्जको चेकजाँज हुँदै हामी रसुवाको धुन्चेतर्फ लाग्यौं । रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालको भेट तथा न्यानो स्वागतले यात्राको क्रममा थप रोमाञ्चक थपियो । खनालको सरल र सहयोगी व्यवहारले हामीलाई प्रभावित बनायो र सामान्य गन्थनमन्थन गरेर सेल रोटी खाई सामुहिक फोटोसेसन गरी उहाँसँग विदा भइ हामी गोसाईकुण्ड जाने बाटोतर्फ अगाडि बढ्यौं । धुन्चे बजारमा पार्किङको व्यवस्था विद्यालय सरकारी तथा गैरसरकारी संघ संस्थाको सबै खाली जमिनहरू पार्किङको रुपमा तोकिएको रहेछ, जसले गर्दा भक्तजनहरूले पार्किङको कुनै पनि समस्या भोग्नु परेन यो मेला व्यवस्थापन समितिले व्यवस्था गरेको रहेछ ।
बाटोमा ठाउँ-ठाउँमा मेलामा आउनेहरूलाई स्वागत गेट र व्यानरहरू राखिएको थियो जसले मेलाको रौनक मात्र बढाएन यात्रालाई थप उत्साहित पनि बनाउने रहेछ । अब भने दिउँसोको साढे चार बजे हाम्रो यात्रा खेन्दीको उकालोतिर अगाडि बढ्यो । धुन्चे बजार आइपुग्न हामीले निर्धारण गरेको समयभन्दा डेढ घण्टा ढिला भइसकेको थियो । समयको चाप हामीलाई बढ्दै थियो । प्रजिअ खनालले तपाईंहरू देउराली पुग्न सकिँदैन खेन्दीको चमेली होटलमा बस्नुहोला भनेर सम्पर्क नम्बर दिनुभयो । उहाँले त्यसो भनेपछि हामी होटल चमेलीलाई सम्पर्क गरेर खेन्दीको उकालो लाग्यौं गोसाईकुण्डबाट बगेर आएको चिसो कञ्चन पानी बगिरहेको छ ।
खेन्दीको उकालोमा कमिलाको ताती जसरी भक्तजनहरूको लाइन थियो । के वृद्धा के तरुण के बालबालिका सबै लावालस्कर भएर उकालोको कठिन हिँडाईको कुनै प्रवाह नगरी जय शम्बो शिव शिव भन्दै भगवानलाई ठूलो स्वरमा पुकार्दै उकालो लागेका छन् । यात्राको पहिलो दिनको हिँडाई भएर होला सबै भक्तजनहरूको हिँडाई उकालो भएता पनि गतिमै थियो । मित्र ओम तामाङको शेर्पा गीत ब्लुटुथ स्पिकरमा लगाउँदै गीतको तालामा हाम्रो यात्रा अगाडि बढ्यो ।
कुण्ड पुगेर फर्किएकाहरूले आज धेरै मानिसहरूमाथि गइसकेको छ खेन्दीदेखि माथी देउराली चोलाङपाटीसम्म भरिसक्यो बस्ने ठाउँ पाउन कठिन छ भन्ने गर्थे । तर हामी डेढ घण्टा लाग्ने उकालो एक घण्टामै पुगेकाले खेन्दीमा नबस्ने अझै दुई घण्टा हिँड्ने भन्दै अगाडि बढ्यौं । बाटोमा भक्तजनहरूको लागि बास बस्न कोड नम्बरसहित थर्पुहरू निर्माण गरिएको रहेछ । खेन्दीदेखि देउराली पुग्नका लागि दुई घण्टाको उकालो बाटो रहेको छ यति हिँड्न सकिन्छ भन्दै हाम्रो यात्रा जारी रह्यो । देउराली पुग्नै लाग्दा साँझको अध्यारोले छपक्कै छोपिसकेको थियो । देउराली नपुग्दै थर्पुहरू सबै भक्तजनहरूले भरिभराउ भइसकेको रहेछ, देउरालीमा पनि सबै होटल थर्पुहरू भरिभराउ भइसकेको रहेछ ।
हामीले पनि यस्तो अवस्थामा बास बस्ने ठाउँ पाउने कुरै भएन । साँझ झपक्कै परिसकेको थियो । देउरालीमा भक्तजनहरूको भिड थियो हामीसँग देउरालीबाट हिँड्नुको विकल्प भएन देउरालीबाट धिम्सा पुग्नका लागि दुई घण्टाको उकालो हिँड्नुपर्ने हुन्छ तर बीचबीचमा छुर्पुहरू छन् बस्ने ठाँउ पाइने आशामा हामी उकालो हिँड्न सुरु गर्यौँ । तर बाटोको सबै थर्पुहरू भक्तजनहरूले भरिककेका रहेछन् अब भने हामीलाई बस्ने छुर्पु पाइँदैन भन्ने सुनिश्चित जस्तै भयो हाम्रो टोलीमा रातिमा बाल्ने टर्च कसैसँग रहेनछ मोबाइलको लाइट बाल्दै हामी लगभग बेलुकाको साढे ९ बजे हामी धिम्सा आइपुग्यौँ ।
हामी सबै जना धिम्सा आइपुग्दा निकै थकित भइसकेका थियौं । शरिर पसिनाले निथ्रुक्क भिजेको थियो अब धिम्साबाट माथि चोलाङपाटी जान सकिँदैन आज जेनतेन यतै रात कटाउनुपर्छ भन्ने सल्लाह भयो । धिम्साको सबै थर्पुहरू भरिभराउ थियो अगाडि पट्टीका थर्पुमा मादल र खैंचडी बजाउँदै रमाउँदै महौल सांस्कृतिकमय थियो । हामीलाई भने बास स्थान खोज्नको चटारो थियो । आलेको थर्पुमा चिया खाने भन्ने सल्लाह भयो आलेको थर्पुमा चिया खाँदै बाहिर म्याट ल्याइदिनु हामी पालिमै बस्छौं भन्यौँ । आलेले तपाईंहरूलाई बस्न म व्यवस्था मिलाउँछु बस्दै गर्नुहोला भन्नुभयो र अलिकति राहतको महसुस भयो । भित्र थर्पुमा खुट्टा राख्ने ठाउँ थिएन हामी ६ जना आलेकोमा नै खाना खाएर आलेको थर्पुमा बस्ने निधो गर्यौँ ।
रातको ११ बजेपछि आलेले लामो टर्च बाल्दै सबैलाई उत्तानो परेर होइन एकैतर्फ फर्किएर कोल्टे पार्दै सुत्न उर्दी लगाए, सबै जना यहाँ अटाउनुपर्छ सबैलाई गाह्रो भएको छ भन्दै रुखो स्वरमा आलेले भने । सबैलाई त्यसरी सुताएर निस्कने बाटो ढोकासँगै दुई मिटर जति ठाउँ खाली बनाए र ल तपाईंहरूभित्र छिरिहाल्नु भन्ने आलेको अर्को उर्दी जारी भयो ।
हामीलाई थर्पुभित्र छिर्न पाउँदा धेरै राहत भएको महसुस भयो रात छिप्पिँदै गयो एक लाइन महिलाहरू अर्को लाइन पुरुषहरूको थियो, खुट्टा भने दुवै लाइनको एकैतिर पर्ने गरि सुत्नुपर्ने थियो । आफैले बोकेको झोलालाई सिरानी बनाई जसोतसो ढल्कियौं निदाउनका लागि धेरै प्रयत्न गरियो तर निदाउन सकिएन, अनिँदोमै रात बित्यो । ओड्ने ब्लाङ्केट दिन्छु भन्ने आलेले ओड्ने केहि दिएनन् । आजको दिन धिम्साबाट चन्दनवारी, चोलङपाटी, लौरिविना र बुद्ध मन्दिर हुँदै गोसाईकुण्ड पुग्नुपर्ने छ ।
हिजोको हतारको यात्रा र रातभरी अनिँदोले गर्दा शरिरमा त्यति स्फुर्त थिएन । तैपनि दिउँसो ३ बजे कुण्ड पुग्ने योजनासहित हामी धिम्साबाट अगाडि बढ्यौं । विभिन्न जिल्लाहरूबाट आएका भक्तजनहरूसँग गफ गर्दै हामी बेलबेलमा नाचगान फोटोसेसन गर्दै चन्दनवारी आइपुग्यौं, चन्दनवारीमा सामान्य खाजा खाएर हामी चोलाङपाटीतिर लाग्यौं, बाटो सुरक्षित रहेको छ । मेला व्यवस्थापन समितिले यात्रा तथा मेलामा ध्यान दिनुपर्ने जानकारी बोर्डहरू ठाउँठाउँमा राखेकाले यात्रीहरूलाई यात्रा गर्न थप सहज बनाएको थियो ।
रेडपाण्डको संरक्षित क्षेत्र भएकाले रेडपाण्डको तस्बिरहरू जानकारीहरू ठाउँठाउँमा राखेको थियो । हामी यात्रालाई जति सकिन्छ त्यति मनोरञ्जनात्मक बनाउने कोसिस गर्दै त्रिशुली नदिको मुहान क्षेत्रबाट बगेर आएको कञ्जन पानी नियाल्दै हाम्रो यात्रा अगाडि बढ्छ । चोलाङपाटी हुँदै हामी दिनको मध्यतिर गोसाईकुण्ड यात्राकै कठिन लामो दुरीको उकालो लौरीविना पुग्यौं । नौ कुण्डबाट पारिपट्टी बग्दै गरेको पानी हेर्दै तीन घण्टाको उकालो यात्रा पश्चात हामी लौरीविना र बुद्ध मन्दिरको उकालो पुगेर बुद्ध मन्दिरको एउटा थर्पुमा खाना खायौं र केहिबेर आराम गरेर हामी कुण्डतर्फको बाटो लाग्यौं । उकालो ओरालो त कहिले तेर्स्यो बाटो हुँदै गोसाईकुण्डमा साँझको पाँच बजे पुग्यौं ।
उकालो लाग्दै गर्दा मेरो मनमा यदि गोसाईकुण्डमा आउन केवालकारको व्यवस्था भएमा यात्रा गर्न कति सहज हुन्थ्यो भन्ने खेल्यो । यो वर्ष १५ हजार भक्तजनहरू आउने अनुमान गरिएकोमा केवलकार भएमा अझ कति धेरै आउँथे होलान भन्ने मनभरी कुराहरू रह्यो ? देश विदेशबाट समेत यो ऐतिहासिक भूमिमा मानिसहरूको ओहिरो लाग्ने थियो होला । वर्षमा एक दिन मात्र मेला होइन लालिगुराँसले भरिएको पहाड हेर्न, हिउँ परेको बेलामा हिँउ खेल्न र जनैपूर्णिमाको मेलामा गरेर चार पटक भव्य मेला लाग्ने उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना रहेको अनुभूति भयो ।
देश तथा विदेशमा भएकाहरूलाई गोसाईकुण्डको दर्शन गर्न मन छ तर हिँड्नको समस्याले गर्दा दर्शन गर्न आउन सकेको छैन । जीवनमा एकचोटी गोसाईकुण्डमा जाने रहर कसलाई हुँदैन होला र राज्यले यस्तो उत्कृष्ट गन्तव्यमा गोसाईकुण्डमा आन्तरिक तथा बाह्य पर्यटको प्रचुर सम्भावना भएको मनोमोहक स्थानलाई किन विश्वबाट ओझेलमा परिरहेको छ । हाम्रो राज्यले किन गोसाईकुण्डको सुन्दरतालाई बुज्न सकेन ? यदि गोसाईकुण्डमा केवलकार स्थापना गर्न सकेकमा आन्तरिक तथा बाह्य पर्यटकको प्रचुर विकास गर्न सकिन्छ जसले राज्यको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान गर्न सक्छ । यस्तै यस्तै विषयहरू मनमा खेल्यो मेरो मनमा ।
गोसाईकुण्डलाई बादलले ढपक्कै ढाकेको थियो । मनमा कौतुहलता थियो साँच्चै प्रत्यक्ष नजिकबाट नियाल्दा कुण्ड कस्तो देखिन्छ होला ? हामीले बुक गरेको ८४ नम्बरको थर्पुमा पुग्यौं थर्पुको दाईले ठाउँ भरिएकाले यतै ढोका छेउतिर मिलाउँछु तपाईंहरूको टिमलाई बस्दै गर्नु भन्नुभयो । आजको रात पनि सुताई सहज हुने जस्तो देखिएन । गोसाइकुण्डको चिसो र पातालो ओडाइले निदाउन भने सकिएन । दुई रातको निन्द्राले शरिर कमजोर जस्तो अनुभूति भइरहेको थियो । गोसाईकुण्ड आइपुगेकाले मन भने चंगा थियो ।
बिहान पाँच बजे कुण्डमा भक्तजनहरूको ठूलो आवाज सुनिन्थ्यो । हामी सबै जना उठेर झिसमिसेमा नै कुण्डमा डुबुल्की मारियो तर चिसो भने मुटु काप्ने थियो । धेरै जना भक्तजनहरू पोखरीमा डुबुल्की रहेकाले हामीलाई पनि हलुका भएको जस्तो अनुभूति भयो । त्यसपछि मुख्य मन्दिरतर्फ पुजापाठतिर लाग्यौं र त्रिशुल धारामा गई जल लिएर हामी फर्किने तयारीमा जुट्यौं । फोटोसेसन गर्दै ४३८० मिटरको उचाईमा रहेको सुन्दर मनोमोहक पोखरी गोसाईकुण्डलाई प्रत्यक्ष रुपमा अनुभूति गर्न पाउँदा कसको मन आनन्दित नहोला र ।
वरिपरी पहाडले घेरिएर रहेको गोसाईकुण्ड विहानीको उज्यालोसँगै खुल्ला मन, सफा र सुन्दर मनमोहक देखिन थाल्यो हामी मन्त्रमुग्ध भएर एकैछिन कुण्डलाई हेरिरह्यौँ । आहा कति सुन्दर अदभुत रहेछ गोसाईकुण्ड जीवनमा सके पटक-पटक नसके एक पटक जसरी पनि पुग्नुपर्ने स्थान रहेछ भन्ने अनुभूति भयो । अब हामी गोसाईकुण्डलाई विदाईको गरेर फर्किने तरखरमा लाग्यौं । उकालो बाटो छैन ओरालो बाटो हिँड्न सजिलो हुन्छ भन्ने कुराले मनलाई घर फर्किन हतार भइरहेको थियो ।
धुन्चेमा बास पाउन कठिन हुनसक्छ, सकिन्छ भने नुवाकोट विदुरसम्म पुग्ने भन्दै हाम्रो यात्रा ओरालोतर्फ सुरु भयो । ओरालो हिँड्दै गर्दा देउरालीबाट ओरालो लागेपछि खुट्टालाई अलि सकस भएको अनुभूति भयो दुखाईको प्रवाह नगरि फर्किदाको मन भने हलुका भएको थियो । त्यो साँझ नुवाकोट विदुरमा बास बसी हामी काठमाडौँ हुँदै सिन्धुपाल्चोक आइपुग्यौँ ।
प्राकृतिक रुपमा सुन्दर भूमिको रुपमा रहेको गोसाईकुण्ड हिन्दु र बुद्धिस्ट धर्मालम्बीहरूको धार्मिक आस्था रहेको छ । लालिगुराँस, सुनपाती धुपी, उल्लेख्य मात्रामा पाइने मनमोहक शिव महादेव त्रिशुल खोपेर मुल फुटाएको स्थानको प्रत्यक्ष दर्शन गर्न पाउने भन्ने ठूलो जनविश्वाससमेत रहेकाले यस स्थानमा विभिन्न पूर्वधार तथा यातयातको सुविधा विकास गर्न सकेमा प्रचुर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पर्यटकको विकास गर्न सक्ने प्रचुर सम्भावना भएको पवित्र भूमिको अनुभूति रह्यो ।
तस्बिरहरू : ज्ञानेन्द्र तिमिल्सिना, मिलन लामा, अर्जुन शर्मा र प्रविण चौलागाईं
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया