ब्लग

चाइना जर्नल

महामारीबीच यात्रा

अजय अलौकिक |
मंसिर १३, २०७७ शनिबार ७:४६ बजे

वर्तमान विश्व परिदृश्य यात्रा या भ्रमणका लागि उपयुक्त छैन । हरेक दिन बीस, पच्चिसभन्दा बढी देशमा हजार बढी कोभिड-१९ सङ्क्रमित थपिरहेको यो भयानक स्थितिमा देशविदेश होइन आफ्नै सहरको विचरण गर्नु पनि उचित छैन । यद्यपि मानिसहरू कामविशेषले साथै अध्ययन, रोजगारका लागि जोखिम मोलेर विदेश यात्रा गरिरहेकै पनि छन् ।

साथसाथै झण्डै वर्षदिनदेखि आक्रान्त तुल्याइरहेको यो कोरोना कहरका कारण रोजगारी गुमाएर स्वदेश फर्कनुपर्ने बाध्यता पनि प्रशस्तै छन् । यसै गरी अर्को पाटो रह्यो, पारिवारिक पुनःमिलन । यसरी महामारीबीच पनि आवागमन निरन्तर छ र महामारीकै कारण आवागमन अवरूद्ध पनि छ । यस्तै परिस्थिति नेपालले पनि भोगेको छ ।


दुई पटक लकडाउन समेत गरी आवागमनमा रोक लगाएको नेपाललाई कोरोना कहरले छोपेको पनि आठ महिना भइसकेको छ । वर्तमान अवस्थामा नेपाल कोभिड-१९ को भुङ्ग्रोमा नराम्रोसित जाकिसकेको छ । यस्तै अवस्था दक्षिणी छिमेक भारत, अमेरिका र युरोपमा पनि छ । तर हालको मेरो कर्मथलो बेइजिङको परिवेश भने बिल्कुलै फरक बनिसकेको छ ।

चीनले यो कोमिड-१९ माथि लगभग विजय हासिल गरिसकेको अवस्था छ । हुन त अप्रिलको अन्तसम्ममा नै चीनले यो कोमिड-१९ लाई नियन्त्रणमा लिइसकेको देखिन्थ्यो तर डर, आशंका अझै थियो । यही डर र आशंकाका कारण मैले बेइजिङ (१६,८०८ वर्ग किलोमिटर) सहरको समेत यत्रतत्र यात्रा गरिन । क्षेत्रफलको आधारमा न्यू योर्क (७८१ वर्ग किलोमिटर) भन्दा २२ गुणाले र काठमाण्डुभन्दा ३३६ गुणाले बेइजिङ ठूलो छ ।

यसैबीच बेइजिङमा ५६ दिनपछि जुन ११ मा फेरि नयाँ सङ्क्रमित फेला परेको थियो । यो समयमा विश्वभरि कोरोनाले डंका मारिरहेको अवस्था थियो तापनि एक हप्ताभित्रै चीनको राष्ट्रिय रोग केन्द्रले नियन्त्रणमा लिइसकेको जनायो । त्यसपछि बेइजिङमा आजको दिनसम्म कुनै डर रहेन किनभने यो दोस्रो लहरको क्रममा सङ्क्रमित कसैको मृत्यु पनि भएन र समय क्रममा सबै सङ्क्रमितको सफल उपचार पनि भयो । बेइजिङमा हालसम्म ९५० जना सङ्क्रमित देखिएकोमा ९ जनाको मृत्यु भएको छ । तर महामारीबीच घुमफिर र रात बसाइका लागि बेइजिङको कछाड क्षेत्रसम्म पनि गइएन । झन् जोखिम मोलेर पाउने विदा लिएर घरदेश फर्कने सवाल नै उठ्दैन । (गत वर्ष पनि नगएको र यस पटक अगस्त महिनामा विदा लिएर जन्मभूमि फर्किने योजना थियो ।)

यसरी दिन महिना बित्दै गयो र चीनको राष्ट्रिय दिवसको अवसर पारेर सुनौलो सप्ताह मानिने सात दिनको विदा लिएर अक्टुबरको पहिलो दिन आयो । यस पटक मध्य शरद चाड पनि सोही दिन परेकोले विदा लम्बेर आठ दिन पुगेको थियो । तर जाने कता, के गर्ने मनको बाघले तर्साइरहेको थियो । यसै अवधिमा ६३ करोड ७० लाख चिनियाँ आन्तरिक पर्यटकहरूले देशभित्र यात्रा गरे । हुन त सेप्टम्बरमा एक चिनियाँ साथीले हाइनान घुम्न जाने प्रस्ताव पनि राखेका थिए, सबै निःशुल्क । तर ‘नो’ नै मेरो पहिलो शब्द र आवाज थियो ।

एउटा आफू सङ्क्रमित हुने डर, अर्को आफूबाट घरपरिवारसँगै अरू धेरैलाई सार्ने डर अनि क्वारेन्टाइन, आइसोलेसन झमेलाको झारी थियो ।

आउँदा जाँदा न्यूक्लिक एसिड टेस्ट गरेर रोग नभएको प्रमाण पेश गर्न पाइने भए पनि त्यो बेला सहकर्मी तथा घरपरिवारले कतै अफ्ठ्यारो महसूस गर्ने हुन् कि भन्ने पनि थियो । त्यसबाहेक कथमकदाचित् चोक्टा खान गएकी बुढीजस्तो होला भन्ने डर पनि थियो नै, अघि नै भने नि, बाघ, मनको । यसैकारण त्यो प्रस्तावलाई अस्विकार गरे । तर हाइरिस्क क्षेत्रबाहेक चीन भित्रका अरू सहर, क्षेत्र र प्रान्तमा ओहोरदोहोर गर्न कुनै रोकटोक भने थिएन ।

हाइरिस्क क्षेत्रमा भने सकेसम्म यात्रा नगर्नलाई सुझाइएको थियो । एउटा आफू सङ्क्रमित हुने डर, अर्को आफूबाट घरपरिवारसँगै अरू धेरैलाई सार्ने डर अनि क्वारेन्टाइन, आइसोलेसन झमेलाको झारी थियो । कुनै पनि बेला कुनै पनि ठाउँमा यस्तो अवस्था सिर्जना हुनसक्ने सम्भावना त छ नै किनकी यो कोभिड-१९ को अन्त्य थाहा छैन अनि खोप पनि तयार भइसकेको छैन । तर सजिलै संसारको विचरण गर्ने चरी मन कहिले चङ्गा मन बनिदिन्छ । त्यसलाई आफैले उडाइदिनुपर्ने अवस्था आइदिन्छ ।

हो पनि गत नोभम्बरको अन्तमा सछ्वान प्रान्तको भूकम्पप्रभावित क्षेत्रहरूको भ्रमणपछि बेइजिङबाट कतै पुगेको छैन, यो देह । त्यसपछि त कोभिड-१९ का कारण कहीँकतै जाने पनि कुरै भएन । तर बेइजिङ या चीनभरि कोरोना कहर साम्य भइसकेको अवस्था या चीनले मानव शत्रु कोभिड-१९ लाई काबुमा लिइसकेको अवस्थामा चरा मनले पनि पखेटा फिँजाउन चाहिरहेको थियो ।

यसैबीच अफिस, चाइना मिडिया ग्रुप (चिनियाँ अन्तर्राष्ट्रिय रेडियो) ले तेस्रो चीन आयात मेलाको रिपोर्टिङका लागि साङहाई जाने सम्भावना छ भन्ने जानकारी दियो । के खोज्छस् कानो आँखा । यो त चिट्ठा परेझैं भयो । तर केही दिनपछि सो यात्रा कार्यक्रम रद्द भएको जानकारी पाएँ । यसै बेला छिङताओ सहरमा केही नयाँ सङ्क्रमित थपिएका पनि थिए । खासमा पछिल्लो समयमा चीनमा विशेषत विदेशबाट आएकाहरू अर्थात् आयातित सङ्क्रमित मात्र थपिएका छन् ।

यो छिङताओको घटनाले हाललाई सहर सहरबीचको यात्रा गर्नु उचित छैन भनेर सम्झाउने प्रयास गर्यो । तर अकस्मात् चिनियाँ सहकर्मी समुद्र (नेपाली नाम) ले हामी पर्सि साङहाई जाँदैछौं, तयारी गर्नुहोस् भनेपछि यो नयन, मन तुरून्तै फूसिङहाओ चढेर साङहाई पुगी बण्डको आकर्षणमा लुटपुटिन थालिहाल्यो । इतिहास, संस्कृतिसँगै आधुनिकता बोकेको एउटा रहस्यमय, जादुमयी अनि आफ्नो आकर्षणमा वशीभूत गर्नसक्ने अनौठो र अद्भुत भूमि हो, साङहाई ।

साङहाईको फुतोङ विकास क्षेत्रले तीस वर्षमा आफ्नो काँचुली फेरेको रिपोर्टिङ तथा अनुभव सङ्गाल्न तितु अर्थात् राजधानी सहर बेइजिङबाट हामी ३०० किमि प्रतिघण्टाको तीव्र गतिमा उड्ने, उड्ने होइन तर हवाइजहाजको माध्यमबाट पनि साढे दुई घण्टा थपक्कै लाग्छ, गुड्ने रेलमा साढे चार घण्टामा पूर्वको मोती मानिने साङहाई पुग्यौं । साङहाई चीनको सबैभन्दा ठूलो, समृद्ध र धनी सहरमध्येको एक हो र यो सबैभन्दा धेरै जनसंख्या भएको चिनियाँ सहर पनि हो । यो महानगरमा दुई करोड चालिस लाखभन्दा बढी मानिसको बसोबास छ ।

भनिहालेँ, यसको चमकदमक यस्तो छ कि यसको वर्णन गर्न असमर्थ छु ।

संसारमा जानुपर्ने, घुम्नुपर्ने ठाउँ सहरहरू धेरै छन्, चीनमा पनि पुग्नुपर्ने ठाउँ अझै धेरै छन् तर हालसम्म घुमिसकेका चालिस बढी चिनियाँ सहरमा साङहाईको धित् मरेको थिएन र अझै छैन । पूर्वको पेरिस मानिने साङहाई सहरको चकमकमा विश्वका मानिसहरू कीरा जसरी आकर्षित छन् । यो रातभर जाग्ने विशाल सहर यहाँको सुविधा, विकास, हावापानी, संस्कृति, भव्यता, शालिनपन, गगनचुम्बी भवन, पुराना शैलीका युरोपेली तथा मिश्रित संरचना, ह्वाङफु नदी, बण्ड (ह्वाङफु नदी किनारमा निर्माण गरिएको बाटो), नवीनता, उच्चप्रविधि, या सारा विश्व नै यहाँ देख्नपाइने भएकोले कि खोइ केले हो केले मलाई आकर्षित गरिरहेको छ । मानौं एक दिव्यसुन्दरी एक निमेष आँखा अगाडि आइ अन्तर्ध्यान भएपछिको कौतुहलता, उत्सुकता र उत्कण्ठा रहेजस्तै ।

भनिहालेँ, यसको चमकदमक यस्तो छ कि यसको वर्णन गर्न असमर्थ छु । यो विश्वको एक आर्थिक केन्द्र हो, वित्तिय सहर हो जहाँ विश्वका तीन सय बढी बहुअन्तर्राष्ट्रिय कम्पनीहरूको क्षेत्रिय कार्यालय तथा मुख्यालयहरू छन्, हजार बढी वाणिज्य बैङ्कहरू छन् । पूर्वको वालस्ट्रिट पनि भनिने यहाँको सेयरबजारले पनि विश्व आर्थिक बजारमा हलचल मचाउने गरेको छ । (मुख्यभूमि चीनमा दुईवटा स्टक एक्सचेञ्ज सञ्चालित छन्, एउटा सनचनमा र अर्को यहीँ साङहाई स्टक एक्सचेञ्ज ।) यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड, कलकारखाना, विविध संस्थाहरूमा करिब दुई लाख विदेशीहरू काम गर्दछन् । यहाँ अमेरिकापछिकै सबैभन्दा ठूलो स्टारबक्स रोस्टरी रिजर्भेटरी पनि छ । अहिलेको स्मार्ट टेक्नोलोजीमा पनि अब्बल छ, यो सहर । आफ्नै स्थानीय लवचको भाषा, स्थानीय खाना, संस्कृतिले पनि भरिपूर्ण छ, साङहाई ।

अनि माथि नै जानकारी दिइसकेको छु कि मेरो यस पटकको अफिसियल ट्रिप साङहाईको फुतोङ यानीकी ह्वाङफु नदीको पूर्वपट्टिको भाग (चिनियाँमा तोङको अर्थ पूर्व) ले अपनाएको विकास मोडलको अवलोकन थियो । यो फुतोङ विकास क्षेत्रले आफ्नो ३०औँ वार्षिकोत्सव गत नोभेम्बर १२ तारिखमा मनाएको छ । विगत तीस वर्षमा यो फुतोङ अकल्पनीय तथा असाधारण रूपमा परिवर्तन भएको रहेछ । पहिले यो धान खेतमात्रै थियो भने अहिले धनखेत बनेको छ । गगनचुम्बी भवनको सहर, अन्तर्राष्ट्रिय ब्राण्डको केन्द्र बनेको छ ।

हाल यहाँ मात्रै बहुराष्ट्रिय संस्थाहरू, पसल, रेस्टुराँ, मनोरञ्जनस्थल आदि भएका दुई सय पचासी वटा गगनचुम्बी भवनहरू छन् । अर्को घतलाग्दो कुरा भनेको यो क्षेत्रको कुल गार्हस्थ उत्पादन जीडिपी तीस वर्षमा दुई सय एघार गुणाले वृद्धि भएको रहेछ । सन् १९९० को ६ अर्ब दुई करोड ४० लाख चिनियाँ युआनको जीडिपीबाट सन् २०१९ मा १२ खर्ब ७३ अर्ब ४० करोड युआन पुगेको रहेछ । साँच्चै भिजन हुने हो भने त धानखेतलाई धनखेत पनि बनाउन सकिने रहेछ त ।

विश्वकै दोस्रो अग्लो भवन ६३२ मिटर उचाइको साङहाई टावर (१३२ तल्ला) उभिएको यो क्षेत्रले एउटा धानखेतबाट असोचनीय विकास गरेको पाएँ । अबको तीस, होइन दश वर्षमा यो फुतोङसँगै साङहाईको स्वरूप कस्तो हुने होला । साङहाईको प्रशंसामा जसरी शब्दविहिन छु, यसमा पनि त्यही । तीस वर्ष हुन आँट्यो मेलम्ची पुगेकी छैनन्, मेरो जन्मथलो काठमाण्डुमा । म अवाक् नभए को त ?

यसै गरी साङहाई टावरमा विश्वकै सबैभन्दा तीव्र गतिको लिफ्ट (इलभेटर) अधिकतम १८ मिटर प्रति सेकेण्डको गतिमा कुद्ने लिफ्ट चढ्नुको अनुभव पनि गज्जबको रह्यो । ५४६ मिटरको उचाइमा रहेको ११८ तल्लामा अवस्थित प्ल्याटफर्म पुग्न मात्र ५५ सेकेण्ड । कति तेज! अनि साङहाई, समग्र चीनको विकास पनि यसरी नै तेज गतिमा जारी छ ।

फुतोङ विमानस्थलमा कार्यरत् एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको समाचार आगोसरी सल्क्यो ।

यही तेजिलो, उज्यालो सहरको एक व्यस्त सडकको एक कुनामा विगत बीस वर्षदेखि नेपाली स्वाद पस्किरहेको नेपाली किचेनमा क्षणिक विश्राम र खानपान र त्यहाँका साथीहरूसँगको भलाकुसारी पनि खानाजस्तै मीठो मनैमा स्वाद गढेको छ । साङहाईमा 'मिनी नेपाल' ekagaj.com अनि साङहाईको पाङ्ग्रेटो, आकाशेपुल, भूमिगत बाटो, गल्ली अनि चोक, पार्क र मल चहार्दा चिउँडोमा पनि देखेँ, मास्क । बेइजिङमा भन्दा यता मानिस अलि बिन्दास नै लाग्यो । तर मल, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्दा त्यस्तै नै हो, मास्कको उचित प्रयोग अनि स्वास्थ्य कोड अनिवार्य नै थियो । यसै गरी रोबोट स्वास्थ्यकर्मी अर्थात् स्मार्ट टेक्नोलोजीबाट कोभिड-१९ मा के कसरी योगदान पुर्याइएको थियो भन्ने पनि जानकारी लिने अवसर त्यहाँ मिल्यो ।

यसैबीच फुतोङ विमानस्थलमा कार्यरत् एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको समाचार आगोसरी सल्क्यो । तर साङहाईको भीड र रफ्तारमा कुनै कमी थिएन । मास्क चिउँडो र हातमा पनि थियो । सायद जनतालाई सरकारमाथि पूर्ण विश्वास छ । उनीहरू जहाँ घुमिरहेका छन्, त्यहाँ डर मान्नुपर्ने छैन । हो, नभन्दै सरकारले उक्त सङ्क्रमितलाई ट्रेसिङ गर्दै झण्डै आठ हजार मानिसको न्यूक्लिक एसिड टेस्ट लियो र नतिजा सबै नेगेटिभ ।
यसबाट म, हामी भने उम्कनसकेनौं, अर्थात् बेइजिङ फर्केलगत्तै न्यूक्लिक एसिड टेस्ट गर्नुपर्ने भयो । यो साङहाई सहर जसलाई चिनियाँहरू मोतु पनि भन्ने गर्छन्, मोतु अर्थात् इभल सिटी । यो शैतानी सहरले कतै हामीमाथि कोरोना भाइरस त सारेन ? तर त्यस्तो कुनै डर या आशंका भने थिएन । फूसिङहाओ हुँदै फर्कँदा पनि हामी निर्धक्क थियौं ।

महामारीबीचको यो यात्राले तनमनमा नयाँ ऊर्जा थपिदिएको छ । तर विश्व पृष्ठभूमिमा हाललाई अनावश्यक यात्रा नगर्दा नै वेश हुन्छ । चीनभित्र हो भने अवश्य डराउनुपर्दैन, तेस्रो चीन आयात एक्स्पोमा आएका नेपाली व्यापारीहरूले भनेजस्तै, १४ दिनको क्वारेन्टाइन र टेस्टपछि प्राप्त हरियो रङ्गको स्वास्थ्य कोडले हामी चीनमा निर्धक्क साथ घुम्नपाएका छौं, यहाँ सामान्य भइसकेको छ । अवश्य, अनुशासित जनता, सरकारको नेतृत्वदायी भूमिका र नेताको दूरदर्शीताका कारण चीनभित्र निर्धक्कसँग महामारीबीच पनि यात्रा गर्नसकिन्छ । चीनले महामारीमाथि जीत हासिल गरिसकेको छ ।
 


Author

थप समाचार
x