ब्लग

कांग्रेस महाधिवेशन : यथास्थितिको अनुमोदन कि आत्मसमीक्षा गर्ने मञ्‍च ?

प्रतिपक्षको भूमिकामा कांग्रेसलाई कति नम्बर दिने ?

सन्तोषराज सुवेदी |
असार २४, २०७८ बिहीबार १४:७ बजे

राष्ट्रियता, लोकतन्त्र र समाजवाद, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र विधिको शासनप्रति प्रतिबद्ध मुलुकको स्थायी शक्ति नेपाली कांग्रेस आफ्नो १४औँ महाधिवेशनको सँघारमा छ । जहानियाँ राणाशासन, राजाको प्रत्यक्ष शासन हुँदै अनेक आवरणमा उदाएका नक्कली कम्युनिस्टहरूको दुःस्वप्नलाई परास्त गर्दै विधिको शासन र संवैैधानिक सर्वोच्चता स्थापित गर्न कुशल नेतृत्व प्रदान गर्ने नेताहरू लोकतान्त्रिक नेपालका नायक हुन् । गौरवशाली विगतलाई स्मरण गर्दै, वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले खेलेको भूमिका र महाधिवेशनपश्चात् नेतृत्व कस्तो बन्ने ? मूलभूत विषयमा केन्द्रित रहेर एउटा जीवन्त संगठनले आफूलाई महाधिवेशनको माहोलतर्फ डोर्या‍एको छ । 

१३औं महाधिवेशनको नेतृत्वले नै मुलुकमा संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय सरकार निर्माणका निम्ति सफलतापूर्वक चुनाव सम्पन्न गरायो । प्रतिनिधि सभामा प्राप्त अनपेक्षित परिणामले दल प्रतिपक्षी भूमिकामा पुग्यो । संविधान निर्माणको नेतृत्वकर्ता कांग्रेसले आफूलाई शालीन प्रतिपक्षका रूपमा स्थापित गरेको भन्ने बुझाइ एकथरीको भए तापनि यसबीच देउवा–ओलीबीच अघोषित सहकार्यका अनेकौं विवरण सञ्चार माध्यममा आए । ती विवरणहरूका आधारमा कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेन भन्ने आरोपहरू खेप्नुपर्‍यो ।


जनताले प्रतिपक्षीय भूमिकाको निरन्तर मूल्यांकनमा कांग्रेसलाई कति नम्बर देलान् ? आम नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी प्रतिपक्षी दल जाग्न सकेन । यो साँचो हो । कांग्रेस नागरिकको सुख–दुःखमा किन सडकमा देखिँदैन ? कम्युनिस्ट अराजकताबाट आक्रान्त जनतालाई ‘कांग्रेस साथमा छ’ भन्ने आभास किन सक्यो ? जनताको पक्षमा दमदार उपस्थिति जनायो ? यसको मूल्यांकन जनताले पनि गरेको हुनपर्छ ।

वास्तविक लोकतन्त्रको अनुभूति नै गर्न नपाएका लोकतन्त्रवादीहरू जसले सीमित नेताहरूका लागि मात्र लोकतन्त्र बचाइदिन किन स्वतःस्फूर्त सडक झरिदिनुपर्ने ? लोकतन्त्रको प्रत्यक्ष अनुभूति भुइँमान्छेको तहसम्म दिलाउन सक्ने र हरेक संकटबाट मुलुकलाई निकाल्न सक्ने नेतृत्वको चयन गर्नुपर्ने अभिभारा कांग्रेसको १४औं महाधिवेशनमाथि छ । 

कांग्रेसको आसन्न महाधिवेशनमा धेरैको चासो छ । कांग्रेसको नेतृत्वमा को आउँछ, यो पनि चासोको विषय हो । मुलुकको लोकतन्त्र र नेपाली जनताको भाग्य निर्माणमा अहोरात्र खटिरहेको पार्टीप्रति आम चासो स्वाभाविक हो । पार्टीलाई वैैचारिक एवम् सांगठनिक संकटबाट पार लगाउदै युवापुस्तालाई अघि बढाउने साहस कांग्रेसले देखाउन सक्नुपर्छ । वस्तुतः यसैमा मुलुकको लोकतन्त्र र कांग्रेसको कल्याण निहित छ । अहिले चलिरहेको घनचक्करबाट कांग्रेस बाहिर निस्कोस् र आफ्नो सार्थक प्रयत्नतर्फ लम्कियोस् ।

पार्टीलाई वैैचारिक एवम् सांगठनिक संकटबाट पार लगाउँदै युवापुस्तालाई अघि बढाउने साहस कांग्रेसले देखाउन सक्नुपर्छ । यसैमा मुलुकको लोकतन्त्र र कांग्रेसको कल्याण निहित छ । अहिले चलिरहेको घनचक्करबाट कांग्रेस बाहिर निस्कोस् र आफ्नो सार्थक प्रयत्नतर्फ लम्कियोस् ।
   

महाधिवेशनबाट कस्तो नेतृत्व छान्ने ? त्यसको जगमा १३औं महाधिवेशन पछि कांग्रेसको नेतृत्वदायी भूमिकालाई नियाल्नुपर्ने हुन्छ । १३औं महाधिवेशनपश्चात् धेरै समय कांग्रेस प्रतिपक्षी भूमिकामा छ । अहिलेसम्म पनि । प्रश्न उठ्छ, संसदीय भूमिकामा प्रमुख विपक्षी दलको जिम्मेवारीमा आएको शिथिलताको प्रमुख कारण के हो ? सत्ताबाट लोकतन्त्रको गला निमोठ्दै भ्रष्टाचारका काण्डहरू मच्चाइरहँदा कांग्रेसले के गर्‍यो ? सत्ताबाट विधि र विधानको हुर्मत लिने प्रयास र प्रयत्न हुँदा धृतराष्ट्र प्रवृत्तिलाई अँगाल्न पार्टी नेतृत्व किन उद्धत भयो ?

यी प्रमुख कारणलाई आधार मानेर कांग्रेसभित्र उचित सवाल–जवाफ भएन र उसले सुध्रने नैतिक ताकत राख्न सकेन भने आम जनताले कांग्रेसलाई भरोसा गर्न सक्दैनन् । न्याय पनि गर्न सक्दैनन् । त्यसैले कांग्रेसको आसन्न महाधिवेशन एउटा औपचारिकता र यथास्थितिको अनुमोदनमा सीमित हुन्छ कि ? आत्मसमीक्षासहित देशलाई नयाँ, निर्णायक र भरपर्दो नेतृत्व प्रदान गर्ने मञ्च बन्छ ? प्रश्नको उत्तर भेट्न कांग्रेसको महाधिवेशन नै कुर्नुपर्छ । 

कांग्रेसभित्र व्यक्तिवादी चरित्र प्रधान छ भन्ने कुरा आउँछ । स्वार्थीहरूको अखडा जस्तो बनेको छ पार्टी । जसले बढी तडकभडक गर्छ, अवसरका निम्ति पैसाको प्रचुर जोहो गर्न सक्छ, विचारको राजनीति छोडेर समूहको राजनीति गर्छ उ नै अघि बढेका दृष्टान्त छन् । पार्टीभित्र एक–अर्कामा हार्दिकता नभएको सन्दर्भमा, कार्यकर्ताहरूलाई काखा र पाखा गर्ने प्रवृत्तिका आधारमा परिश्रमी कार्यकर्ताहरू किनारा लाग्नु बाध्यताको उपज हो । पराक्रमी कार्यकर्ताहरूको रजगज चल्नु नै विडम्बना हो । 

के व्यक्तिवादी चिन्तनले पार्टीलाई बलियो बनाउँछ ? कमजोर संगठनमा व्यक्ति बलियो भएर पुगिन्छ कहाँ ? आफू बलियो बनेर अरु सबैलाई कमजोर ठान्ने प्रवृत्ति सामन्तवादी मनोवृत्ति हो । यो भ्रमबाट सबै मुक्त हुन जरुरी छ । महाधिवेशनबाट नेतादेखि कार्यकर्तासम्म सबैलाई समान हक, अधिकार, अवसर र जिम्मेवारीबाट सम्मानित तुल्याउँदै पार्टीको जग कार्यकर्ता पंक्तिलाई स्वाभिमानको ऊर्जा भर्न आवश्यक छ । नैतिक मनोबलको विश्वसनीय आधार खडा गर्दै आत्मगौरवको सत्अभियानतर्फ लम्किनैपर्छ ।

माथि उल्लिखित सबै कुराहरू पार्टीप्रति गरिएका चासो र चिन्ताका विषय हुन् । कांग्रेसीजनहरू कोही जिल्ला प्रतिनिधि हुनुहोला, कोही महाधिवेशन प्रतिनिधि । खैर, जो भए पनि त हुनुहुन्छ । तपाईंहरू स्वीकार्नुहुन्छ, नभए पनि तपाईंको अन्तरमनले स्वीकारेको छ । आजको कांग्रेससँग सपना छैन, नवीन अठोट छैन । दक्षता छैन । क्षमता छैन । न त दृष्टिकोण नै । कतिपय युवा तन्नेरीहरू हुनुहुन्छ । तपाईंहरू बूढा नेताको भर्याङ बनेर कांग्रेसभित्र एउटा पद त सुरक्षित गर्न सक्नुहुन्छ । तर गुम्दै गइरहेको पार्टीको साख र लाखौं मतदाताको मतलाई कसरी सुरक्षित गर्नसक्नुहुन्छ ? आफू सुरक्षित हुने नाउँमा तपाईंहरू कुन बाटो तय गर्दै हुनुहुन्छ ? तपाईंमा युवाको उमेर छ तर युवामन छैन, तपार्इंहरूमा परिवर्तनकारी चेत छैन । जे छ ठीक ठाक छ भन्ने प्रवृत्ति प्रवृत्त छ । 

प्रिय कांग्रेसीजनहरू ! तपाईंहरूलाई के लाग्छ, मलाई त कसैले शीर्षस्थानमा बसेकाहरूबाटै कांग्रेसको नवजीवन सम्भव देख्छ भने ऊ बीपीको अवसानअघि नै निदाएको कुम्भकर्ण हो जस्तो लाग्छ । यो लक्षित अभिव्यक्ति कुनै अमूक नेताप्रति होइन, अचेल पार्टीमा हराउँदै गएको विश्वासहीनता, विचारहीनता र मूल्यहीनताको प्रवृत्तिप्रति हो ।

एउटा भर्चुल मिटिङमार्फत सभापतिज्यूले कांग्रेसलाई पहिलो शक्ति बनाउने तर्कसहित पुनः सभापतिको चुनाव लड्ने धारणा प्रकट गर्नुभएछ । सभापतिज्यू, केही थान आफू समर्थक महाधिवेशन प्रतिनिधिलाई काठमाडौँका होटलमा आइसोलेटेड गरेर चुनाव त जितिएला तर त्यसरी लाखौँ कार्यकर्ताको मन कसरी जित्न सकिन्छ ? कम्युनिस्ट विभाजित भएको अवस्थामा अर्को जो आए पनि कांग्रेस पहिलो बन्न सक्छ । अपेक्षा त बहुमतको हुनुपर्ने हो । सभापतिज्यू, के सभापति पदको चुनाव जित्नुले मात्र सबै कुराको दायित्व पूरा हुने हो ? के कांग्रेस सभापति निर्वाचित हुनुको ओज, पराक्रम र प्रतिष्ठा नै हो ? तसर्थ कम्युनिस्ट सत्ताले संविधानमाथि गरेको घात–प्रतिघात पूर्ण शृंखलालाई पूर्णविराम लगाउँदै जे जति अराजकताका नौला दृश्यहरू घटाइएको छ, कांग्रेस शक्तिशाली भएर यी सबै घात–प्रतिघात पूर्ण व्यवहारलाई सुशासन र विकासका फेहरिस्तमार्फत पत्यारिलो जवाफ दिनुपर्नेछ । त्यसै त नैतिकवान् नेतृत्वलाई स्थापित गर्नुपर्ने अभिभारा कांग्रेसको महाधिवेशनसामु छ ।

अग्रजहरू, कांग्रेस पहिला आफू परिवर्तन भएर मात्र देशलाई परिवर्तन गर्नसक्छ । विगतमा जनताले कुन–कुन मुद्दामा कांग्रेसमाथि गुनासो गरे ? संविधान निर्माण र त्यसको राजनैतिक नेतृत्व गर्ने पार्टी किन संघीय र प्रदेश सभामा कमजोर रह्यो ? १३औं महाधिवेशनपश्चात् केही समय सरकारमा रहँदा त्यसको कार्यशैलीको प्रभाव जनतामा कस्तो रह्यो ? सुशासन कांग्रेसले कति दिन सक्यो ? खुला हृदयका साथ यथार्थमा विश्लेषण गरौं । पार्टीका आजका कर्महरू त्यती सन्तोषजनक छैनन् । विगतको सुन्दर काम र युगको स्वैरकल्पनामा रमाएर मात्रै सत्ताको सिँढी उक्लने कुरा गाह्रो रहेछ । न त बीपी र गणेशमानका महान् कार्यहरूको धुनी जगाएरै पुगिँदो रहेछ । कम्युनिस्ट असफलतामा आफुनै निर्विकल्प रहेको र केही नगरी सत्तामा पुग्ने कुरा पार्टीको इथिक्ससँग जोडिएको कुरा होइन । पार्टी सत्तामा जाँदा त्यसैमा मदहोस भएर जनतासँगको संंवादलाई उपेक्षा गरिरहने परम्रागत नियतिलाई तोड्न पनि यो महाधिवेशन अत्यन्तै बहुप्रतीक्षित छ ।

अन्तिममा यो महाधिवेशन पार्टीको नेतृत्व र यसको कार्यशैलीबीच देखिएको दरारलाई सम्बोेधन गर्दै सबल कांग्रेस बनाउने मञ्च बन्न सक्छ त ? पार्टीको आन्तरिक सत्ता सञ्चालनको क्रिया र नेतृत्वको कार्यशैलीलाई सुधार्नका निमित्त के यो कोसेढुंगा साबित हुनसक्छ ? पार्टीको संरचनालाई नदी जस्तै गतिशील बनाउन के तपाईं वेगको गतिमा प्रवाहित हुन तयार हुनुहुन्छ ? वैचारिक यात्रालाई आलोकित गर्दै प्रत्येक युवा कांग्रेसको मनमा परिवर्तनको आगो सल्काउन र उग्रवामपन्थी रोमाञ्चकतासँग जुध्ने शक्ति सञ्चार गर्न भुमिका खेल्न सक्नुहुन्छ ? के तपाईंहरू महाधिवेशनमा उपस्थित हुँदै गर्दा माथि उल्लिखित विषयमा बोल्न र काम गर्न तयार हुनुहुन्छ ? कांग्रेसीजनहरू एक मत दिने भन्ने कुरा मन दिने कुरा हो । तपाईंहरूले महाधिवेशनको संघारमा मत मनले दिने कि अनुचित लाभहानिको दाउमा मनसमेत बेचेर आउने ? आजको कांग्रेस तपाईंहरूकै हातमा गएको छ ।


Author

थप समाचार
x