ब्लग

तिब्बतबाट सगरमाथा आधार शिविरको यात्रा

महिमा अधिकारी |
पुस ४, २०७७ शनिबार १३:५५ बजे

नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गरी हालै नयाँ उचाइ सार्वजनिक गरेका छन् । यसअघिको उचाइभन्दा दुई फिट बढी अर्थात् ८,८४८.८६ मिटर । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालको ऐतिहासिक पहिचान पनि हो । नेपाल र चीनको साझा सीमास्तम्भ भव्यता सहितको प्राकृतिक धरोहर, जसलाई दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकको रूपमा व्याख्या गर्दै आएका छन् । 

सन् २०१७ को सेप्टेम्बरमा अष्ट्रेलियाबाट केही साथीहरूको समूहमा तिब्बततर्फबाट सगरमाथा अर्थात् चिनियाँ भाषामा ‘झुमलङमा’ को आधारशिविरको भ्रमण गरेका थियौं । विश्वको सर्वोच्च शिखरलाई अनुभूति गर्ने पहिलो पाइला हो – आधारशिविर । नेपालबाट भन्दा तिब्बतबाट आधार शिविरसम्मको यात्रा सहज छ । पदयात्रा बिना सवारी साधनमै आधार शिविरसम्म पुग्न सक्ने भएकाले छोटो छुट्टीको अवधिभित्रै पनि आधारशिविर (बेसक्याम्प) बाट विश्वको सर्वोच्च शिखर नियाल्ने यात्रानुभूति बटुल्न हामी उत्साहीत थियौं ।  


तिब्बत यात्राका लागि प्रवेशाज्ञा (भीजा) लिन निकै गाह्रो हुँदो रहेछ । तिब्बतको संवेदनशीलताका कारण चिनियाँ दूतावासले प्रवेशाज्ञामा कडाइँ गरिएको होला । हामीले तिब्बतको ट्राभल एजेन्टसँग सम्पर्क गर्‍यौं, उनले चीनको मुख्य भूमि भएर तिब्बत आउन सुझाव दिए । हामीले मेनल्याण्ड भएर तिब्बत आउने निधो गर्‍यौं । अष्ट्रेलियाबाट हामी तीनजना उक्त यात्राका लागि निस्केका थियौं, मलेसियामा हाम्रा अरु तीनजना साथी थपिए । मलेसियाबाट हामी चीनको दक्षिण पश्चिमी सहर सिचुवानको राजधानी छेङ्दु सहरमा ओर्लियौं । छेंङ्दुबाट ल्हासा र ल्हासाबाट तिब्बततर्फ सगरमाथाको बेसक्याम्प पुग्ने हाम्रो पूर्व निर्धारित योजना अनुसार छेङ्दुबाट ल्हासा आयौं । 

ल्हासातर्फको हवाइयात्रामा मैंले जमिनतिर नियाले । चट्टानी अग्ला पहाड बीचबाट उड्दै हामी सवार यात्रुवहाक जहाज ल्हासा गोङ्गार विमानस्थलमा ओर्लियो ।आधार शिविरका लागि निस्कनु अघि ल्हासामा हाम्रो तीन दिनको बसाइ तय थियो । उचाइसँग शरिरलाई अभ्यस्त राख्न हामीले केही दिन ल्हासामा बस्ने र त्यहाँका महत्वपूर्ण ठाउँहरू घुम्ने योजना बनाएका थियौं । पुरानो भोट भनिने ल्हासा नेपालको परम्परागत व्यापारिक सम्बन्धबारे पढ्न पाइन्छ । ल्हासाबाट नेपालले सुनदेखि नुनसम्म किन्थ्यो । नेपाली कृषि उत्पादनहरू ल्हासामा बिक्री गरिन्थ्यो । यातायातको विकास भैसकेको थिएन, मानिसहरू लेकमा चौरी र अलिक कम उचाइमा गधा, खच्चडहरूलाई भारी बोकाएर सामान ओसारपसार गर्थे । कतिपय भरियाहरूले नुनको भारी खेप्दै महिनौं लगाएर भोटबाट नेपालको यात्रा गर्थे भन्ने परिवारमै हजुरबुबाहरूबाट सुनेको हुँ । 

ल्हासामा रहँदा हामीले भव्य पोताला दरबारको भ्रमण गर्‍यौं । निकै कलात्मक उक्त दरबार सन् १९९४ देखि विश्व सम्पदा सूचीमा सूचीकृत छ । सन् १६४९ देखि १९५९ सम्म दलाइ लामाको हिउँदे दरबारको रूपमा रहेको पोताला दरबार त्यसपछि संग्राहलयको रूपमा संरक्षण गरिएको छ । शरीरले उचाइलाई सहज रूपमा लेओस् भनेर ल्हासामा हामीले तीन दिन बिताएका थियौं । 

चौथो दिन बिहानै हामी ल्हासाबाट सडकमार्ग हुँदै सगरमाथाको बेसक्याप्पतर्फ लाग्यौं । बिहान ६ बजे शुरु भएको हाम्रो यात्रा दिनभर जारी रह्यो । बेसक्याम्पसम्म नै राम्रो सडक निर्माण गरिएकोले यात्रा सुविधाजनक थियो । बेलुका झण्डै ८ बजे हामी आधार शिविरको टेण्ट होटलमा पुग्यौं । स्थानीय व्यावसायीले नै त्यो होटल सञ्चालन गरेको थियो । गोबरबाट ‘हिटिङ सिस्टम’ निर्माण गरी टेण्टहरूलाई तातो राखिएको थियो । तर हिटिङ त्यो दुई–तीन घण्टाका लागि मात्र हुँदो रहेछ । लेक नलागोस् भनेर प्रोटीनभन्दा कार्बोहाइड्रेट खान सुझाइएको थियो । हामीले लेक (अल्टिच्युड सिकनेस) नलागोस् भनेर औषधी पनि खाएका थियौं । तर मेरो शरिरले प्रतिवाद गर्न थाल्यो । लामो समय अष्ट्रेलियामा रहेकाले हामीले औषधी लगायत शरीरले उचाइलाई सहज रूपमा लियोस् भनेर कार्बोहाइड्रेट पनि प्रयोग गरेका थियौं । बेलुका स्वास फेर्न गाह्रो हुन थाल्यो । म रातभरी नै सुत्न सकिनँ । कहिले बिहान उज्यालो होला र तल झरौं भन्ने भइरह्यो । बिहान उज्यालो भएपछि भने स्थानीय सहयोगीहरूले मलाई कार्बोहाइड्रेट दिए । त्यसपछि हामी दुई घण्टा बेसक्याम्पमा बितायौं । सगरमाथालाई नजिकबाट स्पर्श गर्‍यौं । सेप्टेम्बर महिना हिमाल आरोहणको लागि उपयुक्त समय पनि हो । नेपालमा यो मौसममा  धेरै पर्यटकहरू हिमाल आरोहरण र आधारशिविरसम्म पदयात्राका लागि आउँछन् । तर तिब्बततर्फको भागमा भने  पर्यटकहरू खासै थिएनन् । तिब्बतको प्रवेशाज्ञामा कडाइँका कारण पनि होला । ५,२०० मिटरको उचाइमा रहेको आधारशिविरको मानक स्तम्भमा मैंले नेपालको झण्डा लिएर फोटो खिचाएँ । सगरमाथाको शिखरमा पुग्न नसकेपछि पनि फेदी उभिएर मैंले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अनुभूत गरें । नेपाली हुनुको गर्वले मेरो शिर उचो भएको थियो । यात्राको यो क्षण म निकै रोमाञ्चित भएँ । 

आधारशिविरमा दुई घण्टा घुमेपछि हामी तल ओर्लियौं । शरिरले उचाइमा प्रतिवाद गरेका कारण बाटोमा मलाई एक पटक भोमिट भएको थियो । झण्डै डेढ घण्टा तल झरेपछि भने मैंले निकै राहत महशुष गरें । बाटोमा फर्कदैं गर्दा लाग्यो यदि त्यस्तै सडक पूर्वाधारको सहजता हुने हो भने नेपालमा धेरै पर्यटकहरूले परिवारसहित आधार शिविरसम्म भ्रमण गर्ने सौभाग्य पाउँछन् । पदयात्रा गर्न चाहानेका लागि उक्त मार्गलाई समेत स्तरोन्नति गर्दै सडक मार्गबाट पनि सहज पहुँच हुने हो भने नेपालले धेरै लाभ लिन सक्छ । पर्यटनको अथाह सम्भावना भएपनि यथोचित पर्यटन पूर्वाधारको अभावमा हाम्रा भव्य हिमालका फेदीहरूसम्म पनि मोटरबाट पुग्न सहज पहुँच छैन । पदयात्राका आफ्नै विशेषता, सुन्दरता र महत्व छन् । त्यसलाई जीवितै राख्दै थप पूर्वाधार निर्माणले नेपालको पर्यटन विकासमा कायापलट हुनसक्छ । 

ल्हासा फर्केपछि दुई दिन पुनः ल्हासा बसेर रेलको यात्राबाट अर्को दुई दिन लगाएर छेङ्दु पुग्यौं । बेसक्याम्पको हाम्रो यात्राका रोमाञ्चक र रमणीय अनुभूति भए । अब पुनः नेपालबाट पनि एकपटक बेसक्याम्पसम्म पुग्ने आकांक्षा कायमै छ । 
 


Author

महिमा अधिकारी

अधिकारी हाल सिड्नी,अष्ट्रेलियामा मेडिकल डाक्टरको रूपमा कार्यरत छिन् ।


थप समाचार
x