‘नसोच्नुस्’ अब के हुन्छ ?
मान्छेहरूलाई फेरि लाग्न थालेको छ, अब के हुन्छ ? भोलि के होला ? कलाकार मनोज गजुरेलकै शब्दमा भनौं ‘ढुक्क हुनुहोस् केही नहुञ्जेलसम्म केही हुँदैन ।’ आज या भोलि केही हुनलाई हिजो केही नयाँ भएको हुुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि देश अस्थिरतातर्फ धकेलिन लाग्यो भन्दै धेरैले रोइलो गरेका छन् । हाम्रोमा यसअघि कहिले चाहिँ स्थिरताको अभ्यास भएको थियो र ?
अनि ओली, प्रचण्ड, माधव नेपालसँग बढी अपेक्षा गरेको हौं भने त्यो उनीहरूको गल्ती होइन । हाम्रो भ्रम हो । कोदो पेलेर तेल आउने सपना देखेका थियौं भने त्यो कमजोरी थियो । उनीहरूबाट हुने नै यही हो भने अब के होला भनेर समय बर्बाद नगरौं ।
अब विगततर्फ जाऔं । विसं २००७ मा प्रजातन्त्र आयो । २०१५ सालमा बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री भए । २०१७ मा राजा महेन्द्रले दलहरूलाई प्रतिबन्ध लगाए । ती घटनाक्रमपछि देशमा केही भयो । अहँ केही भएन । २०४६ सालमा देशमा पुनः प्रजातन्त्र आयो । २०५२ मा माओवादीले सशस्त्र छापामार युद्ध थाल्यो । १७ हजार निर्दोष नेपालीले ज्यान गुमाए । २०६२/०६३ मा जनआन्दोलन भयो, लोकतन्त्र आयो भनियो । २०६४ देखि २०७४ सम्ममा तीन पटक चुनाव भयो ।
नयाँ संविधान बन्यो । देशले एक दशकमा करिब वर्षैपिच्छे नयाँनयाँ प्रधानमन्त्री पाइराख्यो । मन्त्री र सांसदको संख्याको त कुरै छोडौं । सिंहदरबार र बालुवाटारका भित्ता भरिइसके होलान् । नेमप्लेट बनाउने पेन्टर थाकिसके होलान् । आखिर देशमा यतिका धेरै परिवर्तन त भइसकेको रहेछ । तर पनि केही भएको छ त ? त्यसैले फेरि पनि ढुक्क हुनुस् केही हुँदैन । धर्ती फाट्नेवाला छैन, आकाश चोइटिने पनि छैन । सगरमाथा समुद्र बन्ने पनि छैन । अनि समुद्र नै नभएको हाम्रो देशमा छाल पनि आउने छैन । त्यसैले आत्तिएकाहरू नआत्तिनुस्, फुर्किएकाहरू नमात्तिनुस् केही हुनेवाला नै छैन ।
यस्ता काण्ड र फण्डा त कति भए कति खै त के भयो ? अहिले फेरि भएको यत्ति हो, सांसदहरूको जागिर खुस्कियो । नचाहँदा नचाहँदै दुई, चार जना मन्त्री राजीनामा धस्काउन बाध्य भए । बेमौसमको चुनाव घोषणा गरेर राज्यको ढुकुटी सिध्याउन लागे भन्ने कतिलाई चिन्ता होला । अब भन्नुस् त त्यो ढुकुटी जोगिँदा पनि त जनतालाई के भएको थियो र खै ? तसर्थ तपाईं हामी भुइँमान्छेलाई केही भए पनि केही हुनेवाला छैन । यसको मतलव हामी जनता न उत्तेजित भई हाल्नुपर्छ न हतोत्साही नै । घाटा या नाफाको हिसाब त टाउकेहरूकै लागि हो ।
ए साँच्चै केही चाहिँ फेरि अवश्य हुन्छ है, ढुक्क हुनुहोस् । उसो भए के हुन्छ त ? ‘प्वाक्क आफैंले आफैंलाई प्रश्न सोधें ।’ उत्तर पनि आइहाल्यो । हिजो जे भएको थियो त्यही नै हुन्छ । संसद् विघटनको पक्ष र विपक्षमा गरमागरम बहस हुन्छन् । अब केही दिन या महिनासम्म स्वघोषित विश्लेषकहरूको चर्काचर्का अन्तरवार्ता टेलिभिजनका पर्दा र युट्युब च्यानलहरूमा हेर्न पाइन्छ । पत्रपत्रिका र न्युज पोर्टलहरूमा क्षणक्षणमै न्युज ब्रेकिड हुन थाल्छन् ।
गाउँका चिया पसलहरूमा झिसमिसेदेखि भट्टीहरूमा मध्यरातसम्म समस्याको चुरो खोज्न वादविवाद चल्नेछ । कतिले टाउको फोराफोर गर्लान् । हामी कहाँ ठाउँ र स्तरअनुसार एकसेएक विश्लेषक छँदैछन् । कुनै एउटा दलको ट्याग नभिरी कोही बस्नै सक्दैन । विद्यार्थीदेखि शिक्षकसम्म डाक्टरदेखि इन्जिनियरसम्म सबैको आआफ्नै दलीय संगठन छँदैछ । कामविहीन बेरोजगारहरू गाउँदेखि सहरसम्म हिमालदेखि तराईसम्म यत्रतत्र सर्वत्र छँदैछन् । तिनीहरूले फेरि काम पाउने नै भए । काम भएका रोजगारकर्मीलाई पनि राजनीतिक बहस गरेर समय काट्न अवसर जुरिहाल्यो । हो यो सब हिजो भएकै थिए त्यसैले आज या भोलि पनि हुने यत्ति नै हो ।
वास्तवमा केही चाहिँ फेरि अवश्य हुन्छ है । कोरोना कालमा बढ्दो पक्ष विपक्षको जुलुसले कि कोरोना ह्वात्तै बढाउनेछ । कि कोरोना यत्तिमै सीमित रह्यो भने कोरोनाको डर भ्रम हो भन्ने पुष्टि गर्नेछ । किनकि हाम्रोमा जस्तो परिस्थिति होस् सभा, जुलुस, चक्काजाम, नेपाल बन्द, तोडफोड नगरी राजनीतिक गतिविधि हुने त कुरै भएन । हिजो सिकाउनेले पनि त्यही सिकाए ।
आज सिक्नेले पनि त्योभन्दा बढी केही सिकेन । त्यसैले त हामी हिजो जहाँ थियौं त्यहीं नै छौं । यो परिवर्तन, विकास, समृिध्द, सुशासन त नेताले भाषणमा भन्ने कुरा हो । अहिले च्याउसरी उम्रेका ठुटे नेताहरूले पनि त्यही नै सिकिरहेका छन् । यसर्थ हामीले अनियमितता, भ्रष्टाचार, कुशासनको प्रतिस्पर्धामा एसियालाई उछिनी सक्यौं । अब बाँकी विश्वलाई पनि जित्ने दौडमा छौं । स्थिरता, त्यागी र इमानदार नेतृत्व पाउने त नेपालीको भाग्यमा लेखेको छैन ।
हामीलाई २०६४ सालपछि शान्ति, स्थिरता, समानता आइहाल्यो जस्तो लाग्यो । २०७४ सालमा आइपुग्दा त अब विकासको मूल नै फुट्ने भयो जस्तो गर्यौं । निःशुल्क शिक्षा, स्वस्थ्य, रोजगार, रेल पानीजहाज, घरघरमा ग्यांस पाइप विकास त कति हो कति । दिउँसै सपना देख्न थाल्यौं । जुन हिजो पनि पटकपटक देखेकैै थियौं ।
तानातान, हानाहान अनि अस्थिरता त दुई तिहाइको जादुले सखाप पार्छ भन्ने ठान्यौं ।
जुन तीन वर्ष पनि टिक्न सकेन । हिजो पनि भएको यही थियो । दुई तिहाइमा पनि त्यही भयो । केही नयाँ भएकै छैन । वास्तवमा देश चलाउँछु भन्नेले जानेकै यत्ति नै हो । कति देशप्रेमीलाई चिन्ता पनि होला देश अझ बिग्रिने भयो ? कतिले भन्ने थालिसके अझ ठूलो संकट आउने भयो ? सोच्नुस् त, अझ पनि देश बिग्रिने ठाउँ छ र ? कस्ताकस्ता संकट त पचाइसक्यौं हामीले । हत्या, आतंक, त्रासदी कति कति । उनीहरूको व्यक्तिगत स्वार्थको लडांइँमा हिजो पनि जनता पिसिएकै थिए । आज पनि पिसिएकै छन् । पात्रहरू उही, प्रवृत्ति उही, पारा उही ।
अनि अर्को कुरा कमरेड केपी ओलीको ठाउँमा कमरेड प्रचण्ड या माधव नेपाल भएको भए संसद् विघटन हुन्थ्यो हुन्थेन त्यो तपसिलको कुरा हो । तर देश भने आज जहाँ छ त्यहीँ नै हुने थियो । कुशासन, भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद, ब्रम्हलुटको अवस्था उही नै हुने थियो । किनकि उनीहरूको सफलता पनि हिजोदेखि सकेकै हो । अब पनि फेरि के होला भनेर टाउको नदुखाउनु होला ।
अझ महत्वपूर्ण कुरा त भन्नै भुलिएछ । वैशाखमा चुनाव होला नहोला तर एक दिन चाहिँ अवश्य हुनेछ । त्यो चुनावमा तंपार्इं हामीमाझ उनीहरू फेरि आउने छन् । टीभीको स्क्रिनमा मात्र देखेका उनीहरूलाई हामीले आँखै अगाडि देख्न पाउँदा भगवान् नै पैदा भए जस्तो गर्नेछौं । ‘उनीहरू आउन थालेपछि झुपडीहरूमा स्वर्ण युगको बहार आउनेछ । भोका नांगाहरूको पनि दिन आउनेछ । कोही बेरोजगार बस्नुपर्ने छैन । देशमा रामराज्य छाउनेछ ।’ चर्काचर्का स्वरमा यो सब सुनिरहेका हामीहरू फेरि केही वर्ष पछि दंग पर्नेछौं ।
पेटमा भोकको ज्वाला छुटे पनि, शरीर नांगै भए पनि, आकाशकै छानो हालेर फेरि एक पटक आफ्नो नेतालाई जिताउन तँछाडमछाड गर्ने नै छौं । उनीहरूका लागि बुथ कब्जा गर्न जानेछौं । मतपत्र च्यातेर, टाउको फोराफोर गरेर भए पनि चुनाव जिताउन कुनै कसर बाँकी राख्ने छैनौं । चुनाव जिताएर फर्काएपछि फेरि हामी गाली गर्न थाल्नेछौं । खै त विकास, खै त सुशाशन, खै निःशुल्क स्वस्थ्य, शिक्षा के भयो रोजगारका नारा आदि आदि ।
केही वर्ष पछि फेरि उनीहरू उसै गरी फर्केर आउनेछन् । हामी सबै भुल्नेछौं । उनीहरूलाई देखेर उसैगरी छक्क पर्नेछौं । देशले यसैगरी हारी रहनेछ । उनीहरूले पटकपटक जिती रहनेछन् । जबसम्म हामीले उनीहरूलाई सही रूपमा चिन्न सक्दैनौं तवसम्म यही चक्र चलिरहनेछ । अरू केही हुने छैन ।
कथंकदाचित चुनाव छिट्टै भइहाल्यो भने केही चाहिँ फेरि अवश्य हुनेछ । लुकाइएको कालोधनको वर्षा हुनेछ । ती पैसाले निरीह गरिब, असहायको स्वाभिमान माथि फेरि खेलवाड गरिनेछ । भोटको खरिद बिक्री गरिनेछ । सधै यसैगरी स्वाभिमान माथि खेलवाड गर्न चाहने उनीहरूको छलकपट सोझा गरिबहरूलाई जहिलेसम्म थाहा हुँदैन तवसम्म केही हुँदैन । जवसम्म अभाव र गरिबी ती नेताका निम्ति अवसर बनी राख्नेछ तवसम्म केही हुनेवाला छैन ।
यही प्रवृत्ति भएकाको हातमा सत्ता र शक्ति रहेसम्म यस्ता काण्ड, फण्डा र उद्दण्ड त मच्ची नै रहनेछ । फेरि चुनाव होला कांग्रेस, कम्युनिस्ट, राजावादी अनेकथरीेले जित्लान् । तर हाम्रो भोटमा चोट पुर्याउनेले जबसम्म जित्नेछन् तवसम्म केही हुँदैन । त्यसैेले उनीहरू रहेसम्म र यही अवस्था रहेसम्म फेरि पनि भन्नैपर्छ हामी भुइँमान्छेका लागि केही हुँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया