साल बीसबीस र एक्काइसौँ शदीको एक्काईस
विश्वभरि नै फैलिएको डर, अन्योल, अनि चिन्ताका बीच नै सुरु भएको साल बीसबीस (२०२०) त्यस्तै अन्योल, डर, अनि चिन्ता बोकेरै सकिएको छ । ती सबको प्रमुख कारकतत्व भने एउटै नैः विश्वव्यापी कोरोना महामारी । कतै दोस्रो अनि तेस्रो लहरका रूपमा आएको यसको पुनः संक्रमण चक्रले आक्रान्त पारिरहेको छ भने कतै चाहिँ भ्याक्सिनले अलिअलि भए पनि आशाको सञ्चार गराइरहेको देखिन्छ । तर विश्वका करिब आठ करोड जनसंख्यालाई संक्रमित अनि १८ लाखको ज्यान लिइसक्दा पनि अझै अघाएको छैन जस्तो छ यो भाइरस ।
नयाँ साल २०२१ मा यसले अझै कस्तो रूप लिने हो ? समयलाई मात्र थाहा होला ।
‘न हि प्रजानामि तव प्रवृत्तिम्’ भनेर अर्जुनले श्रीमद्भगवद्गीतामा विश्वरूपधारी श्रीकृष्णको विराट स्वरूपलाई भनेझैं ईश्वर भनौं या प्रकृति, काल भनौं या समयको गतिलाई हामीले कसरी अनुमान गर्न सक्दछौं र ? ‘समय बडा बलवान्’ भनी त्यसै भनिएको त होइन होला पनि ।
समयको गति विश्वभरि नै उस्तै रहेछ, छ, अनि रहिरहनेछ नै ।
नेपाल भन्ने सानो मुलुककै मात्र उदाहरण लिँदा पनि वि.सं.२०३५–३६ सालमा जन्मिएको म अनि मसँगसँगै हुर्किएको हाम्रो पुस्ताले नै कालरूपी समयको चक्र भनौं या खेल धेरै नै देखिसकेका छौं ।
जन्मको समयमा राजा अनि पञ्चहरूको जगजगी अनि चकचकी रहेको बेला, हामीले त्यत्ति नबुझे पनि, विद्यार्थी आन्दोलनको बलमा जनमत संग्रह हुनु, सुधारिएको भनिएको पञ्चायती शासन, भारतले थोपरेको नाकाबन्दी, २०४६ को जनआन्दोलन, कर्फ्यु, संवैधानिक राजतन्त्रको समय, कांग्रेस अनि कम्युनिस्टहरूको तानातान अनि घृणा एवं प्रेमको सम्बन्धले चलेको बहुदलीय व्यवस्था, संसदीय किनबेच अनि घात–अन्तर्घातको घृणित राजनीति, २०५२ बाट सुरु भई १७ हजारको ज्यान लिने गरी भएको माओवादीनामक हिंसात्मक गृहयुद्ध, सर्वप्रिय अनि सर्वग्राह्य बन्दै गरेका राजा वीरेन्द्रको अकल्पनीय अनि रहस्यमय वंशनाश, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको महत्वाकांक्षाले ल्याएको अशान्ति अनि अराजनीति, रहस्यमय रूपमा नै विदेशी भूमिमा भएको बाह्रबुँदे सम्झौता, माओवादी अनि बहुदलवादीले हाँकेको संयुक्त आन्दोलन, लोकतन्त्रकाल, २४० वर्षको इतिहास भएको शाहवंशीय राजतन्त्रको अन्त्य, संविधान सभाको दुई–दुईपटक भएको चुनाव, गणतन्त्रको घोषणा, संविधान निर्माणका नाममा भएका खिचातानी, मधेस विद्रोह, पहाडे र मधिसेको नाममा भएको हिंसा, छिमेकीले लादेको दोस्रो नाकाबन्दी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको घोषणा, संविधान मान्ने र नमान्ने समूहबीचको लफडा अनि झगडा, गणतन्त्रात्मक संविधानको जगमा भएका संघीय, प्रादेशिक अनि स्थानीय चुनाव ... लाग्दथ्यो हाम्रो पुस्ताले देख्न बाँकी केही पनि त छैन अब ।
यो चार दशकमा हुनुपर्ने त सबै घटना भइसके नि हाम्रै देशमा मात्र । साढे दुई शताब्दी राज गरेको राजाको शासन फालिनु सानो कुरा थियो र ? ‘एक युगमा एक पटक’ हुने यस्तो घटनाको साक्षी हुन पुग्यो हाम्रो पुस्ता !
‘राजा मरे भने के होला ?’, सोच्थ्यौं हामी सानामा । तर आफू दुई दशक पुग्दा नपुग्दै राजाको सम्पूर्ण परिवार आफ्नै दरबारभित्र नै मारिन पुगेको समाचार सुन्यौं मध्यरातमा ।
राज्यका लागि परिवारका आफ्ना आफ्ना नै लडेका, मार्न र मर्न तयार भएका कथा पढेका थियौं महाभारतमा । पारिवारिक कलहका कारण शासन ढलेका, आफ्नै दाजुभाइका हातबाट श्री ३ मारिएका, धपाइएका कुरा पुराण अनि इतिहासमा पढेका हामीले सेनाका परमाधिपति श्री ५ को हत्या भएको, अनि श्री ५ नै पत्रकार सम्मेलन गरेर मध्यरातमा आफ्नो दरबार छोडेर गएको समेत देख्यौं ।
राजाबिनाको पनि देश हुने अनुभव गर्दैछौं अहिले । धर्मका नाममा, जातीयताका नाममा भएका कलहहरू विश्व इतिहासमा पढेका हामीले आफ्नै देशमा पनि भोग्यौं । बलियो छिमेकी देशले आफ्ना कमजोर छिमेकलाई कतिसम्म दुःख दिन सक्दो रहेछ, त्यो नमीठो अनुभव पनि पनि पायो हाम्रो पुस्ताले ।
यो चार दशकमा विश्वमा भएका अरू घटना पनि विशिष्ट नै थिए । आफ्नो सम्झनामा आइरहने भनौं या आफूलाई धेरै छाप परेका घटनाहरू उल्लेख गर्नुपर्दा भारतमा भएको राजीव गान्धीको हत्या, श्रीलंकाको गृहयुद्धको समाप्ति, बर्लिन पर्खाल ढल्नु, खाडीयुद्ध, सोभियत संघको पतन, सार्समर्स आदि महामारी नै होलान् । मध्यपूर्वमा भइरहेका इजरायल–प्यालिस्टाइन द्वन्द्व, भारत–पाकिस्तान कलह, तालिवान विद्रोह आदि घटना पनि उल्लेखनीय नै रहन्छन् सधैं ।
यी सबै समयका नै खेल त होलान् ।
तर हाम्रो पुस्ताले देख्न अझै बाँकी नै रहेछ । यो जानेवाला साल वर्ष २०२० मा पनि उल्लेखनीय घटना नै घटेका हुन् । विश्व आक्रान्त पारेको कोरोना महामारीको कुरा त माथि नै गरें । त्यसैले पुस्तकमा पढेका हैजा, प्लेग, बिफर आदिका महामारी नै बिर्साइदियो ।
२०२० को ३६५ दिन अनि ८७६० घण्टामा आफ्नो भोगाइको सबैभन्दा गढेका विषय, अन्य लघुत्तम विषय त कति होलान् कति ? तिनको लेखाजोखा समयले नै राखोस्, म राख्न सक्दिनँ ।
नेपालमै पनि यसले धेरै नै प्रभाव पार्यो नै । हालसम्म यसका कारण अढाइ लाखभन्दा बढी जनता प्रभावित अनि झन्डै दुई हजारको मृत्यु भइसकेको छ । त्यस्तै यसैका कारण लकडाउन अर्थात् लकडाउन नामक नौलो अनुभव पनि हासिल भयो यो साल ।
इन्टरनेटको माध्यमद्वारा कक्षा, बैठक अनि बिरामीहरूको जाँचपडताल गर्ने थुप्रै नै अवस्थाको सामना गर्नुप¥यो । घरैभित्र बाँधिएर अनि थुनिएरै पनि दिन कटाउन भनौं या समय बिताउन पनि सकिने रहेछ भन्ने शिक्षा दिलायो साल बीसबीस (२०२०)ले । वर्षको अन्त्यतिर दुई तिहाइ बहुमतको सरकारका शक्तिशाली प्रधानमन्त्रीले चालेका अनि राजाको ठाउँ लिएकी राष्ट्रपतिले स्वीकार गरेको कदमले अर्को राजनैतिक भूकम्प आएको छ हाम्रो देशमा ।
यसको पराकम्पका कारण अर्को साल फेरि चुनाव देखिने हो या हाम्रो पुस्ताले राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, अनि गणतन्त्र पछि अर्को कुनै तन्त्र देख्न भोग्न गर्ने हो । यो पनि समयकै हातमा छोडिदिऊँ अहिले । हुन त त्योबाहेक अरु के नै पो गर्न सकिन्छ र ? ‘प्रतीक्षा गर......समयले मानिसलाई कहाँ कहाँ पु¥याउँछ ?’ भनेझैं प्रतीक्षाबाहेक हामी अरू के नै पो गर्न सक्छौं र ?
यी त भए विश्वका, अनि मुलुकका कुरा । मेरो व्यक्तिगत जीवनमा नै पनि यो साल अविस्मरणीय नै रह्यो, रहनेछ पनि सधैंभरि नै । २०२० को मार्च अन्ततिर मैले आफ्नो जन्मदाता–कर्मदाता पिता गुमाएँ अचानकसँग । एक बिहान उहाँ हामी सबैलाई छोडेर दिव्यधामतिर लाग्नुभयो । त्यो बिछोड, त्यो रिक्तता अब मेरो जीवनभर नै पूरा हुँदैन ।
‘जातस्य हि ध्रुवो मृत्यु.....’ भनाइ त सत्य नै हो, तर आफैंलाई पर्दा भने आफैंलाई सम्झाउन अनि भोग्न अलि गाह्रो नै हुने रहेछ । त्यस्तै वर्षको अन्ततिर नोभेम्बर महिनामा विश्वव्यापी महामारीले आफ्नै परिवार अनि आफैँलाई नै समायो ।
आफू अनि सपरिवार नै कोरोना संक्रमित भई सेल्फ आइसोलेसनमा घरैमा बस्न विवश भइयो । समयको यो ठूलो पाठ भनौं या कठिन भोगाइ जीवनभर नै अविस्मरणीय रूपमा नै सम्झनामा रहिरहनेछ । यी त भए २०२० को ३६५ दिन अनि ८७६० घण्टामा आफ्नो भोगाइको सबैभन्दा गढेका विषय, अन्य लघुत्तम विषय त कति होलान् कति ? तिनको लेखाजोखा समयले नै राखोस्, म राख्न सक्दिनँ ।
‘कालो न यातो वयमेव याताः’ भनेर भनिएको छ । अर्थात्, समय कहीँ गइरहेको होइन, हामी नै बितिरहेका छौं । थाहा छैन, कुन दिन चुपचाप सबै छोडेर हिँड्नुपर्नेछ, कहाँ जानुपर्ने हो ? त्यो पनि त थाहा छैन । ‘व्यर्थको यो सिंहावलोकन किन गरिरहेछु म ?’ जस्तो पनि लाग्छ कहिलेकाहीँ ।
तर, आशा त सकारात्मक नै गरौं, गर्नुपर्छ आफ्नै लागि पनि । यसै साल हामीबाट बिदा भएका राष्ट्रकविको शब्दमाः ‘बोक्रा फेरिकन समयले घाउ सारा पुरिन्छन् ....’ । त्यसैले २०२० त गयो, २०२१ मा २०२० का सारा घाउ मेटिऊन् । कोरोनालाई जित्न सकौं सबैले, भ्याक्सिन पाइयोस् नेपालमै पनि । नेपाली राजनैतिक आकाशमा लागेका कुहिराहरू फाटुन् । उज्यालो होस् सबैतिर । सर्वे सन्तु निरामयाः.... ।
(रिसाल मानसिक रोग विशेषज्ञ हुन् । उनी धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालयमा कार्यरत छन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया