ब्लग

सातदोबाटोको साहित्य गन्थन

चिरञ्‍जीवी मास्के |
पुस १८, २०७७ शनिबार १६:२४ बजे

शकुन्तला भाउजूले ‘पत्रकारहरूले बढी साहित्यिक पुस्तक पढ्छन्’ भन्दा मन प्रफुल्लित भयो । साहित्यले समाचारलाई पठनीय बनाउन सहयोग गर्छ भन्ने मेरो मान्यतालाई शकुन्तला भाउजूको यो भनाइले कहीँ न कहीँ बल पुगिरहेको मेरो आकलन रह्यो । 

यो चरीकोट सातदोबाटोको भलाकुसारीको एउटा प्रसंग हो । मोफसलको जिल्ला दोलखाको सदरमुकाम चरीकोटको सातदोबाटो चोक निक्कै चर्चित छ । विभिन्‍न कार्यक्रमको जुलुस र नाराबाजी, सवारीसाधनहरूको घार्रघुर्र, फुटपाथ व्यापारीको लस्कर अनि पुस-माघमा पारिलो घाम ताम्ने बटुवाको गन्तव्यस्थल, सातदोबाटो चोक ।
 
हो, यही चोकमा छ आचार्य बुक्स सेन्टर । आचार्य बुक्सका र्‍याकमा विभिन्न साहित्यिक पुस्तक सजिएका छन् । उनै शकुन्तला आचार्य भाउजू पुस्तक बिक्रेता हुनुहुन्छ । अनि फुर्सदिलो समयमा बटुवा बनी सातदोबाटो चोकमा घाम ताप्‍न पुग्ने पत्रकार, कर्मचारी, समाजसेवी, बुध्दिजीवीहरूको आँखा आचार्य बुक्सको र्‍याकमा पुग्छन् र साहित्यिक पुस्तकहरूबारे छलफल, बहस तथा खरिद बिक्रीसमेत हुने गर्छ ।


मैले भोगेको समय, २०४४/४५ सालतिर साहित्यिक पुस्तक पढ्ने हुटहुटी अचम्मकै थियो । पुस्तक पसल नभएको र हतपती पुस्तक नपाउने त्यो बेला राजेन्द्र, भोजराज, शम्भु, विष्णु, चिरनहरूसँग सहकार्य गरेर साहित्यिक पुस्तक पढिन्थ्यो ।

पुस्तक अध्ययनले पत्रकारिताको लेखन मात्र खारिने हैन सामाजिक सद्भाव र सहकार्यलाई समेत सौहाद्रता प्राप्त हुन्छ ।जसले समग्रमा समाजको सभ्यतालाई समेत प्रतिविम्बित गरिरहेको हुन्छ ।

दार्जिलिङका लेखक प्रकाश कोविद, युधीर थापा, सुवास घिसिङ, शिवकुमार राई, इन्द्रबहादुर राई, गोविन्दबहादुर मल्ल गोठाले, पिटर जे कार्थकहरूको पुस्तक मात्र हैन, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, दौलतविक्रम विष्ट आदिको पुस्तक पनि खुबै पढिन्थ्यो । अझ २०४६ सालको जनआन्दोलनपछि त रसियन कम्युनिस्ट पुस्तक पनि निक्कै पढियो- आमा, अग्‍निदीक्षा आदि ।

त्यसपछि लामो समय दोलखाको चरीकोटमा साहित्यिक अध्ययनको सिलसिला अवरुध्द हुन पुग्यो । फाट्टफुट्ट साहित्यिक गतिविधि हुने गरेको भए पनि पुस्तक अध्ययनको रुचि हामीमध्येका धेरैले देखाएनौँ । यो बीचमा साहित्यिक अध्ययनभन्दा पनि बौध्दिक बहस धेरै भए । साहित्यिक अभियानमा चोकबहादुर दाहाल, कृष्णबहादुर गौतम, पुष्करनाथ पोखरेल, टेक जिरेल, बिर्ख क्रान्ति, शंकरलाल श्रेष्ठ, जित कार्की, विष्णु सुवेदीहरूको अभियान अब्बल रह्यो । 

मुरारी दुलाल, रामप्रसाद सापकोटा, ध्रुव खड्का, डम्बर चौलागाँई, नवराज शिवाकोटी, सौरभ कार्की, झलनाथ कोइराला, रवीन्द्र गौतम, गोकर्ण भण्डारी, अवतार ढकाल, गीताकृष्ण शर्मा, भोजराज खोटाङ्गे, टहल आचार्य, डीबी जिरेलहरूले जर्मको साहित्य यात्राजस्ता विभिन्‍न नाममा कार्यक्रमहरू गर्नुभयो । तर मागेर वा किनेर पुस्तक पढ्ने चासो भने खासै देखिएन । 

२०७२ सालको विनाशकारी भूकम्प, २०७२ साल वैशाख १२, १३ र २९ गतेको कम्पनले धेरै जनधनको क्षतिसँगै धेरैको उठिबास लाग्यो । मानिसको मनस्थिति बिगारिदियो, भविष्य बिगारिदियो । यो अकल्पनीय समय र यो समयले ल्याएको अत्यासलाग्दो पीडाले एउटा सकारात्मक परिर्वतन भने देखियो, साहित्यको अध्ययन गर्ने बानी । शकुन्तला भाउजूकै कुरा सुन्‍ने हो भने पनि विनाशकारी भूकम्पको पीडादायी समयलगत्तै धेरैले साहित्यिक अध्ययनलाई आफ्नो दैनिकी बनाए ।
 
साहित्य, अन्तरमनको निष्कपट अभिव्यक्ति, मिठास शाब्दिक लहरसहितको तथ्य प्रकटीकरण । हो, भूकम्पले आल्हादित मनहरूलाई साहित्यको यिनै मिष्ठान्नसरि शाब्दिक परिकारले त्यतिबेला अविचलित राखेको तथ्यलाई आचार्य बुक्समा झुल्कने पाठकहरूको आवतजावतले प्रमाणित गरिदिएको थियो । सायद त्यसपछि नै होला चरीकोटका अन्य पुस्तक पसलहरूमा पनि साहित्यिक पुस्तकहरू सजिने गरेको । त्यो बेला साहित्यकार, पत्रकार, कर्मचारी, व्यवसायी, सामाजिक कार्यकर्ता सबैले खोजी खोजी साहित्यिक पुस्तक अध्ययन गरे । 

मन नै फुरुङ्ग हुन्छ, प्रत्येक पुस्तकका विषयवस्तु, शीर्षक, लेखक र लेखनीबारे बहस गर्दा । 

भूकम्पपछिको अवधि भने मोफसलको पर्यटकीय जिल्ला दोलखाको लागि साहित्य अध्ययनको निरन्तरताको अवधि बन्यो । त्यसपछि लगातार साहित्य अध्ययनको संख्यामा वृध्दि हुँदै गएको तथ्य चरीकोटका पुस्तक पसलहरूमा झुन्डिएका साहित्यिक पुस्तकहरू स्वयम् छन् । आचार्य बुक्सले त साहित्यिक पुस्तकको अनलाइन व्यवसायसमेत सुरु गरिसकेको छ । 

चरीकोटमा पछिल्लो अवधिमा पत्रकारहरू जीवन लामा, शेरबहादुर भुजेल, अर्जुन अपवाद, इन्जिनियर सुरेश राउत, समाजसेवी वेदबहादुर केसी, साहित्यकार विष्णु सुवेदी, शंकरलाल श्रेष्ठहरू साहित्यिक तथा गैरसाहित्यिक पुस्तक बढी पढ्ने जमातमा दरिनु भएको छ ।

चरीकोटका पुस्तक पसलहरूमा कुनै नयाँ किताब आयो कि आएन भनेर सोध्न यिनै पाठकहरू पहिले पुग्ने गरेको पुस्तक बिक्रेताहरू बताउनुहुन्छ । स्थानीय, प्रदेश र संघीय कार्यालयमा काम गर्ने केही कर्मचारी साथीहरू पनि साहित्यिक पुस्तक अध्ययनमा निक्कै रुचि राख्नुहुन्छ रे । 

साहित्यिक अध्ययनको जमातमा साहित्यकारहरू दरिनु स्वाभाविक हो तर यो जमातमा पत्रकार, कर्मचारी र व्यवसायी तथा समाजसेवीहरूको रुचि देखिनु अर्को सुखद पक्ष हो । पत्रकारको प्रसंग मैले माथि उल्लेख गरेँ, साहित्यको रुचिले पत्रकारको समाचारमा पठनीय संयोजन जुराइदिन्छ ।

समाचारमा तथ्य अपरिर्वतनीय आवश्यकता हो । योसँगै समाचार प्रस्तुतिमा शब्दको मिठास संयोजन र लेआउटको व्यवस्थापनले सुनमा सुगन्धको काम गर्छ ।चरीकोटमा बसेर लामो समय पत्रकारिता गर्ने राजेन्द्र, भोजराज र बालकृष्णहरू अहिले काठमाडौंतिर छन् । साहित्यमा अभिरुचि राख्‍ने यिनीहरूको लेखनमा तथ्यपूर्ण मिठास हुने गरेको छ ।

यो साहित्यको ज्ञान र अभिरुचिको परिणाम हो भन्‍ने मलाई लाग्छ । भोजराज, राजेन्द्रहरूकै लहरमा रहेका पत्रकार शम्भु गौतमको लेखनी पनि निक्कै सुन्दर छ । २०४४/०४५ ताका चपाइएका अनुहार, बसाइँ, एक चिहानजस्ता साहित्यिक कृति अध्ययनको प्रभाव हो भन्‍ने कुरामा शम्भुको एकमत होला नहोला मेरो तथ्य निष्कर्ष भने यही हो । चरीकोटमा बसेर पत्रकारिता गर्ने अरु साथीहरूको रुचि पनि पछिल्लो अवधिमा साहित्यतिर निक्कै झाङ्गिएको देखिन्छ ।

यो मेरो फगत कल्पना हो, तर यो फगत कल्पना हैन पनि । जीवन, शेरबहादुर र सुरेशहरू जस्तै पुस्तक चासोमा पुस्तक पसल धाउनेहरूको लस्कर सातदोबाटो चोकको ‍...

पत्रकार भैरव रिसाल, सुधीर शर्मा, हरिबहादुर थापा, सरोजराज अधिकारी, विजयकुमार पाण्डे, मोहन मैनालीहरू त पुस्तक लेखनमा निक्कै अगाडि पुगिसक्नुभएको छ । अनि मह र विनोद चौधरीहरूमात्र हैन शारदा शर्मा, चन्द्रप्रकाश बानियाँ, सगुना शाह, महेशविक्रम शाह, पारिजात, सरुभक्त, नारायण ढकाल, सरस्वती प्रतीक्षा, राजन मुकारुङ, मनु ब्राजाकीहरू पढ्ने पत्रकारको जमात पनि थपिँदै गएको छ । अनि साहित्य अध्ययनको लाममा देखिने तिनै पत्रकारहरूको लेखन साहित्यिक कल्प आवरणमा तथ्यको आभूषणसहितको सशक्त र प्रभावशाली देखिएको छ ।
 
चरीकोटको सुन्दरतामा साहित्यको चमकले उदाउदो सूर्य र अस्ताउँदो सूर्यमा आकर्षक बनेर खित्खिताइरहेको गौरीशंकर हिमशृंखलाको महकलाई थप मादक बनाइदिएको छ । सातदोबाटो चोकको पारिलो घाममा बसेर गौरीशंकरको चमक नियाल्दै महारानी, कान्छा महारानी, हरिबहादुर, मदनकृष्णको म, छापामारको छोरा, युगान्त, जिजीविषा, सम्बन्धहरू, खुसी, जीवन काँडा कि फूल, अन्तर्मनको यात्रा, लाटो पहाड, घामका पाइला, प्रतिगन्ध, नथिया, दामिनी भीर, वृषम वध, प्रेतकल्पहरूजस्ता पुस्तकको विषयमा बहस, तर्क-विर्तक, छलफल गर्दा साहित्यिक ज्ञानमा कम्ता ताकत भरिँदैन । मन नै फुरुङ्ग हुन्छ, प्रत्येक पुस्तकका विषयवस्तु, शीर्षक, लेखक र लेखनीबारे बहस गर्दा ।
 
पुस्तक अध्ययनले पत्रकारिताको लेखन मात्र खारिने हैन सामाजिक सद्भाव र सहकार्यलाई समेत सौहाद्रता प्राप्त हुन्छ । जसले समग्रमा समाजको सभ्यतालाई समेत प्रतिविम्बित गरिरहेको हुन्छ । पर्यटकीय जिल्ला दोलखा, पर्यटकीय केन्द्र चरीकोट । साहित्यको यो माहोलले भोलिका दिनमा दोलखालाई मोफसलको साहित्य पर्यटनको केन्द्रको रूपमा विकास गर्न सकियो भने, साहित्य र पत्रकारिताको अन्तरसम्बन्ध अध्ययनको आधारभूमिका रूपमा विकास गर्न सकियो भने या शब्दको संकलन र संयोजनको अध्ययन थलोका रूपमा विकास गर्न सकियो भने ? 

त्यसैले म त्यो समय २०४४/०४५ सालतिर फर्कंदै छु अनि नियाल्दै छु मोफसलमा दोलखाको साहित्य । साहित्यको उर्वर समय त्यो र साहित्यको उर्वर समय यो ।

यो मेरो फगत कल्पना हो, तर यो फगत कल्पना हैन पनि । जीवन, शेरबहादुर र सुरेशहरू जस्तै पुस्तक चासोमा पुस्तक पसल धाउनेहरूको लस्कर सातदोबाटो चोकको आचार्य बुक्स या हारती, भीमेश्‍वर, कार्की बुक्स, पशुपति भेराइटी, सुन्द्रावती बुक्स, युगल भेराइटीहरूमा देखिन थाल्यो भने ?!

शकुन्तला भाउजू मात्र खुसी हुनुहुन्‍न, सातदोबाटो चोकमा पारिलो घामका प्रफुल्लित मन पनि खुसी हुनेछन् । नेपालको समय मापनको आधार गौरीशंकर हिमालको जिल्ला, विश्‍वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार जिरीको जिल्ला, हिमआरोहीहरूको गाउँ बेदिङवासीहरूको जिल्ला, भीमेश्‍वर, कालिञ्‍चोक, च्छो रोल्पाले देश चिनाएको जिल्ला । 

अब मोफसलको साहित्यले देश चिनाउने जिल्ला बन्न सक्नेछ । विजयकुमार, झमक घिमिरे, चन्द्रप्रकाश बानियाँ, रामलाल जोशी, डा. तीर्थबहादुर श्रेष्ठ, सुधीर शर्मा, मनीषा कोइराला, अमर न्यौपाने, उपेन्द्र सुब्बा, जगदीश घिमिरे, ददि सापकोटा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनीछोइङ डोल्मा, सुजित मैनाली, शारदा शर्मा, नारायण ढकाल, सरस्वती प्रतीक्षा, सरुभक्त, सगुना शाहहरूलाई पढ्न, बुझ्न र व्याख्या गर्न सक्ने जिल्ला बन्‍न सक्नेछ । 

त्यसैले म त्यो समय २०४४/०४५ सालतिर फर्कंदै छु अनि नियाल्दै छु मोफसलमा दोलखाको साहित्य । साहित्यको उर्वर समय त्यो र साहित्यको उर्वर समय यो । त्यतिबेला दार्जिलिङ र काठमाडौंको साहित्यलाई पछ्याउँदै थियौं । सत्य तर धेरै काल्पनिक- त्यतिबेलाको साहित्य । सत्य, इतिहास, संस्कृति र भोगाइ- अहिलेको साहित्य । मिठास दुवैमा छ, सिकाइ दुवैमा छ त्यसैले पाठकको लाम निरन्तर बढ्दो छ । 


Author

थप समाचार
x