ब्लग

भ्यालेन्टाइन डे विशेष

प्रेम स्वीकृत वा अस्वीकृत किन हुन्छ त ?

सुवास पाेखरेल |
फागुन २, २०७७ आइतबार ७:३३ बजे

कुनै ज्ञान यस्ता हुन्छन्, जसको प्राप्तिले मनमा सन्तोष र शान्ति हुन्छ । कोही किन कसैको प्रेम पाउन सक्षम वा अक्षम हुन्छ भन्ने ज्ञान जब विज्ञानले तथ्य र तर्कसाथ दिन्छ, तब म यो लेख लेख्न उत्साहित भएँ । 

हालसालै अमेरिकी वैज्ञानिक र मानवशास्त्रीको पुस्तक ‘एनाटोमी अफ लभ’ पढेपछि मेरो विचार पेस गरेको छु । सायद प्रेमको मौसम 'भ्यालेन्टाइन डे'सँग सम्बन्धित होला । 


प्रेमको उच्चतम आदर्शका रूपमा चिनिएका सन्त भ्यालेन्टाइनको नाममा पश्चिमी मुलुकमा फेब्रुअरी महिनामा प्रेम दिवस मनाइँदै आएको छ । नेपालमा पनि प्रेमीहरू यस दिवसलाई उत्सवका रूपमा मनाउँछन् । 

वास्तवमा प्रेम के हो ? प्रेम हुँदा दिव्यभाव किन आउँछ ? अथवा विशेष गरी प्रेमीहरूमा उत्पन्न हुने भाव के हो ? वा प्रेम पाउन/गर्न किन लालायित हुन्छन् मानव वा अन्य जीवहरू । 

मानवशास्त्री हेलेन फिसर यस प्रेमभावलाई भावनात्मक आगो, मन परेको मान्छे सर्वप्रिय, ऊसँग रहँदा उच्चतम भाव हुने, यो जत्तिको उत्कृष्ट आनन्द केही नहुने र प्रेमीहरू आफ्ना सबै गतिविधि आफ्नो मन परेको मान्छेमा समर्पित गर्नेसम्म गर्दछन् भन्ने गर्छिन् । यी सब गतिविधिले चाहे अन्य काम नै किन नबिगारोस् । 

प्रेम प्राप्त गर्ने मान्छे त खुसी नै हुने भए । आफूले माया गर्ने र पाउने भएपछि कुरै सकियो । तर प्रेम प्राप्त गर्न असफलहरू निराश हुनु त ? त्यस्तै प्रेमाभावका कारण अवसादमा जानु त ? कोही मानिस त आत्महत्यासम्म गर्ने गरेका छन् । 

तर प्रकृति चाहिँ अन्यायी नै छ । Nature is not fair त्यसै भनिएको छैन । विज्ञानले यस्तो प्रेमको उच्छ्वासलाई कसरी हेर्ने गर्दछ त ? मानव जन्मिएपछि युवास्थामा पुग्दा सृष्टिजनित वा जैविक आवश्यकता स्वरूप यौन हर्मोनको विकास हुने र यौनावेग उत्पन्न भई मानसिक रूपमा हाम्रो दिमागमा रसायन तँछाड मछाड  गर्ने गर्दछन् ।

यस्तो अवस्थामा निकै ऊर्जा हाम्रो शरीरमा हुने गर्छ । कसैले यस ऊर्जालाई यौन प्राप्तिमा खर्च गर्दछन् भने कसैले विशिष्ट काम, अनुष्ठान, कला, साहित्य, कविता वा अध्यात्ममा यस ऊर्जालाई लगाउँछन् । 

यो माया-प्रेममा तपाईंलाई कसैले दयामाया र सहानुभुति दिँदैन । चाहे केटा होस् वा केटी । प्रेम हुने प्रक्रिया निकै क्रुर हुन्छ ।

 

केही गुण (रूप, रंग, स्रोत साधन वा शारीरिक तन्दुरुस्ती आदि) आफूमा नभए तथाकथित प्रेम प्राप्त गर्ने प्रक्रियामा ब्रेक लाग्ने सम्भावना प्रबल हुन्छ ।  मानिसहरू प्रेम या यौन प्राप्तिका लागि जुनै हदसम्म पनि जान सक्दछन् ।

ज्यान दिनेसम्मका हर्कत हामी सुन्‍ने गर्दछौं । यो हाम्रो मानव विकासक्रमदेखि रहेका आदिम प्रवृत्ति (Instinctive Impulse)का कारण, सहवास गर्ने र सन्तानोत्पादन गर्न विकास भएको हो । विज्ञान त यही भन्छ । प्रेम वा यौन भनुम्, सबै हाम्रो दिमागमा रहेका विभिन्न न्युरोनको सक्रियताका कारण सिर्जित हुने गर्दछ ।

त्यसैले मानवशास्त्री हेलेन फिसरका अनुसार, कसैले कसैको प्रेम पाउन वा आकर्षणका लागि न्यूनतम मापदण्ड चाहिँ पूरा गर्नुपर्ने हुन्छ । जस्तोः पुरुषको हकमा उनीहरू आर्थिक रूपमा सक्षम, स्वस्थ र शारीरिक रूपमा फिट, जोखिम मोल्न सक्ने आदि गुण भएमा महिला आकर्षित हुने सम्भावना धेरै हुने गर्छ । 

त्यस्तै महिलाको हकमा शारीरिक रूपमा स्वस्थ, तन्दुरुस्त (जसको कारण महिला सुन्दर देखिने सम्भावना धेरै हुने गर्छ) जस्ता गुण पुरुषले खोज्ने गर्छन् । अहिले आधुनिक युगमा केही अन्य गुण खोजिन्छ, जस्तो सामाजिक हैसियत, प्रभाव, राम्रो व्यवसाय वा जागिर, शिक्षा, जात, वर्ग आदि तर यी गुणहरूलाई खुम्च्याउँदै जाँदा त्यही आदिम गुणहरूमा पुग्‍न सकिन्छ । 

यी गुणहरू नभई जोरजुलुम वा जबर्जस्तीबाट प्रेमीको माया वा प्रेम पाउन सकिन्‍न । यति रहस्य बुझेपछि भावनाभन्दा आफ्नो विवेक प्रयोग गरी कसरी विपरीत लिंगी साथीलाई प्रभावमा पार्न सकिन्छ भन्‍ने रणनिति अपनाए प्रेम पाउन त्यति असम्भव छैन । 

त्यही भएर युवक युवतीहरू धेरै भावनामा नबहकिई आफ्नो उत्कृष्ट स्वरूप आफ्नो हुनेवाला प्रेमीलाई दिन सक्ने हुनुपर्छ । यो हाम्रो आदिम 'जिन' निकै स्वार्थी छ । यहाँ कमजोर (शारीरिक वा मानसिक रूपमा) प्रेमी वा प्रेमिकालाई कसैले हेर्दैन । 

रोइकराई गर्नुको कुनै तुक छैन । आफूलाई कमजोर बनाउनु आफ्नै हितमा छैन । अरुले आफूलाई किन अस्वीकार गर्‍यो भन्दा पनि आफूमा त्यस्तो के गुण छ र अरु आफूप्रति आकर्षित होस् भन्‍ने कुरा मनन गर्दा राम्रो । सोअनुरूप आफूमा प्रेमी/प्रेमिकालाई आकर्षित गर्ने गरी गुणहरूको विकास गर्नु नै प्रेम प्राप्त गर्ने मार्ग हो । 


Author

थप समाचार
x