भाषिक समानताको सवाल र भाषिक आन्दोलन
नेपाली नबोल्ने मातृभाषीलाई नेपाली नै होइन झैँ नगरौँ न
मेरो गाउँमा दुईवटा भाषा बोलिन्छन्– पहाडीहरूले बोल्ने नेपाली भाषा र थारुहरूले बोल्ने थारु भाषा ।
म थारु भाषा पूरै बुझ्छु तर त्यति राम्रो बोल्न सक्दिनँ । सानैदेखि गाउँमा हुर्केकाले थारु भाषा मलाई आफ्नो मातृभाषा नेपाली जत्तिकै प्यारो लाग्छ । थारु भाषासँग मेरो भावनात्मक सम्बन्ध छ । तर थारु भाषाको अहिलेको दयनीय स्थिति देख्दा मलाई पीडा हुन्छ । हुन त थारू भाषा र संस्कृतिको उत्थानमा धेरै संघ संस्था सक्रिय छन् तर नपाली भाषाको दबदबाले गर्दा थारू भाषाको मौलिकता जोगाउन दिन प्रतिदिन कठिन हुँदै गएको छ ।
५०–६० वर्षभन्दा माथि पुगेका थारूहरूबाहेक नयाँ पुस्ताका थारु सबैले नेपाली बोल्ने र बुझ्ने भइसकेका छन् । म बस्ने नगरपालिकाले थारु भाषालाई त्यहाँको सरकारी कामकाजको भाषा बनाउँदा मलाई हृदयदेखि नै खुसी लागेको थियो ।
म उच्च अध्ययनका लागि काठमाडौं पुगेपछि म नेवार भाषाको सम्पर्कमा आएँ । स्कुलमा पढ्दा मेरा नेवार साथीहरू भए पनि उनीहरूलाई नेवार बोल्न आउँदैनथ्यो । त्यसैले काठमाडौंमा नै मैले पहिलो पटक नेवारी बोलेको सुनेको थिएँ । पाटनतिर सामान किन्न जाँदा होस् या बल्खुबाट रत्नपार्कसम्म बसमा यात्रा गर्दा होस्, बसमा नेवारी बूढाबूढीहरूले नेवारीमा कुरा गरेको सुन्दा मलाई रिस उठ्थ्यो । तर जब पछिपछि नेवार साथीहरूसँग संगत हुन थाल्यो, मैले नेवारको संस्कृतिबारे केही अध्ययन पनि गरेँ । त्यसपछि मलाई नेवार भाषा र नेवार संस्कृति निकै प्रिय लाग्न थाल्यो ।
नेवार संस्कृतिको सामान्य अध्ययनले मात्र पनि हाम्रो मौलिक संस्कृति त नेवारी नै रहेछ भन्ने मलाई भान भयो । त्यसपछि मैले आफूले नबुझे पनि नेवार भाषा मन पराउन थालेँ । उनीहरू बोल्दा मलाई कसैले हाम्रो संस्कृतिको रक्षा गरिरहेको जस्तो भान हुन थाल्यो । तर थारू भाषा जस्तै नेवारी भाषाको अहिले जुन स्थिति छ, त्यो पनि निकै दयनीय छ ।
नेपालीबाहेक मलाई थारु भाषा र नेवार भाषा मात्र आत्मीय लाग्छ, तिनको माया लाग्छ किनभने म ती दुई भाषाको मात्रको सम्पर्कमा आएको थिएँ ।
नेपालमा बोलिने अन्य भाषाका मातृभाषीहरू र त्यो भाषासँग भावनात्मक सम्बन्ध भएकाहरू सबैलाई निःसन्देह ती भाषा निकै प्रिय लाग्दो होलान् । भाषा सानो होस् या ठूलो त्यसमा मानिसको भावनात्मक सम्बन्ध जोडिएको हुन्छ ।
त्यति मात्र हैन, नेपालमा बोलिने हरेक भाषा नेपालका अमूल्य सांस्कृतिक पहिचान हुन् । त्यसैले नेपालका हरेक भाषा सुरक्षित हुनुपर्छ, ती सबैको विकास र उत्थान हुनुपर्छ । हरेक स्थानीय भाषालाई त्यो ठाउँको सरकारी कामकाजको भाषा बनाइनुपर्छ, हरेक नागरिकले आफ्नो मातृभाषामा कम्तीमा पनि आफ्नो प्राम्भिक शिक्षा हासिल गर्न पाउनुपर्छ ।
नेपालको संविधानमा भाषा अधिकारका केही कुरा निर्दिष्ट भए पनि त्यसलाई व्यवहारमा लागू गरेको पाइँदैन । नेपाली भाषाको दबदबा, सरकारी उदासीनता र मातृभाषी आफैँ पनि आफ्नो भाषा उत्थानका लागि गम्भीरतासाथ नलाग्दा हाम्रा मौलिक भाषा कुनै दिन इतिहास बन्ने डर छ ।
तर हामीले यो पनि बिर्सन हुँदैन कि नेपालको सरकारी कामकाजको भाषा नेपाली हो । नेपाली हाम्रो साझा भाषा हो, सबै नेपालीहरूको एकताको सूत्र हो । तर नेपाली भाषीहरूले अन्य भाषालाई शत्रुका रुपमा हैन आफ्नो सहयोगीका रुपमा हेर्नुपर्छ । नेपालका अन्य मौलिक भाषाहरूको विकास हुनु नेपाल र नेपाली भाषीहरूका लागि गर्वको कुरा हो ।
नेपालको वर्तमान परिप्रेक्ष्यमा मातृभाषाका रुपमा या द्वितीय भाषाका रुपमा नेपालका सबैजसो साक्षर जनताले नेपाली बोल्न र बुझ्न सक्छन् । अर्थात् निरक्षर र गैरनेपाली भाषी नेपालीहरूले मात्र नेपाली भाषा बुझ्न र बोल्न सक्दैनन् । त्यसरी आँकलन गर्दा नेपालमा कम्तीमा पनि ८० प्रतिशत मानिस सजिलै नेपाली बोल्न र बुझ्न सक्छन् भन्ने अनुमान लगाउन सकिन्छ । तर नेपाली बोल्न र बुझ्न नसक्ने २० प्रतिशत जति मानिसलाई उनीहरूले नेपाली बोल्न नजानेकै आधारमा विभेद गरिनु हुँदैन, उनीहरू हेपिनु हुँदैन, उनीहरूलाई दुर्व्यवहार गरिनु हुँदैन भन्ने सबैलाई थाहा छ ।
यदि नेपालीबाहेक अर्को भाषा बोलेकै भरमा कसैले कसैलाई हेप्छ, दुव्र्यवहार गर्छ भने त्यसको विरोध हुनुपर्छ भन्नेमा कसैको विमति नहोला । सामान्य नागरिक होस् या सरकारी कर्मचारी होस्, जसले दुव्र्यवहार गर्छ, त्यो दोषीलाई कानुनी कारबाही हुनैपर्छ ।
काठमाडौँमा देशभरिका सबै भाषा बोल्ने मान्छे बस्छन्, काठमाडौंमा ती सबै भाषालाई सरकारी कामकाजको भाषा बनाउन सम्भव छ ?
अहिलेसम्म त्यसका लागि कुनै कानुन छैन भने त्यो कानुनको व्यवस्था हुनुपर्छ ताकि फेरि कसैले भिन्न भाषा बोलेका कारणले दुव्र्यवहारको शिकार बन्न नपरोस् ।
सबैको भाषाको सम्मान गर्न नेपाली बोल्नै नजान्ने मान्छे सरकारी कार्यालयमा स्थानीय निकायमा सहजताका लागि उनीहरूलाई त्यो स्थानको स्थानीय भाषाको दोभाषे राखेर सहयोग गर्नुपर्छ– जस्तो कि काठमाडौंका सरकारी कार्यालयमा नेवारी दोभाषे र जनकपुरका सरकारी कार्यालयहरूमा मैथिली भाषाको दोभाषे ।
यो त भयो भाषिक समानताको कुरो । यही कुरोलाई लिएर केही दिनदेखि काठमाडौंमा केही नागरिक अभियन्ताहरूले जुलुस निकालेर विरोध गरिरहेका छन् । उनीहरूको माग सबै भाषालाई समान व्यवहार गरिनुपर्छ भन्ने हो । कसैले नेवारी भाषा बोलेकै भरमा दुव्र्यवहार र अपमान भोग्नुपरेको हुनाले त्यसको विरोधमा उनीहरूले यो अभियान सुरु गरेको भन्ने उनीहरूको कथन छ । त्यो माग नितान्त जायज छ ।
तर हरेक कुरामा आन्दोलन र विरोध गर्नुपर्छ भन्ने छैन । हाम्रो संविधानले भाषा समानताको व्यवस्था गरेको छ, कसैलाई भाषाकै कारण अपमान गरिन्छ भने त्यो कानुनी रुपमा मात्र गलत हैन, मानवताको दृष्टिमा पनि अमानवीय हो । संविधानप्रदत्त अधिकारलाई मियो बनाएर हामीले व्यक्तिगत रुपमा या संस्थागत रुपमा आफ्नो मातृभाषालाई जगेर्ना गर्न र त्यसको विकास गर्न सक्छौं, त्यसमा कसैले बाधा अड्चन गर्ने हैसियत राख्दैन । बरु आन्दोलन र विरोध गर्ने समय भाषा उत्थानका लागि दिन सके त्यसले भाषा उत्थानमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
भाषा समानताको बहानामा सुुरु गरिएको अहिलेको विरोध अभियानमा भाषाको संरक्षण र उत्थानका लागि भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि प्रयोग गरिएको छनक देखिन्छ । आफूलाई बुद्धिजीवी मान्ने एक समूह आफ्नो प्रभाव भएका केही नाम चलेका पत्रपत्रिकाहरूमा भाषा आन्दोलनलाई प्रचारप्रसार गर्न रातदिन लागेको छ । भाषा आन्दोलन भनिएको अहिलेको अभियानका अभियन्ताहरूले सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइनुपर्छ भन्ने छ ।
यो कति व्यावहारिक छ, त्यो सायद ती अभियन्ताहरूलाई पनि थाहा होला । नेपाल जस्तो सयभन्दा बढी भाषा बोलिने भाषिक विविधता भएको देशमा एउटै ठाउँमा दुईभन्दा बढी भाषा बोलिनु एकदमै सामान्य कुरो हो ।
उसो भए कुनै ठाउँमा कतिवटा भाषालाई सरकारी कामकाजको भाषा बनाउने ? के त्यो सम्भव छ ? काठमाडौँमा देशभरिका सबै भाषा बोल्ने मान्छे बस्छन्, काठमाडौंमा ती सबै भाषालाई सरकारी कामकाजको भाषा बनाउन सम्भव छ ? बहुमत स्थानीय जनसंख्याले बोल्ने दोस्रो भाषालाई स्थानीय निकायमा नेपालीपछि सरकारी कामकाजको भाषा त अधिकांश स्थानमा बनाइएकै छ ।
यो अभियानमा लागेका भाषा अभियन्ताहरूलाई यदि भाषाको त्यस्तो माया छ भने आन्दोलनमा खेर फाल्ने समयमा भाषाका शब्दकोशहरू बनाउने, ती भाषामा कथा, कवितासहित अन्य साहित्य लेख्ने, ती भाषाको इतिहासको अध्ययन गरेर त्यसबारे लेख लेख्ने, ती भाषाका सञ्चार माध्यमहरू सुरु गर्ने, ती भाषाका पुस्तकालयहरू खोल्ने गरेमा त्यो कार्यले भाषालाई समृद्ध बनाउँछ, त्यो भाषाको विकासलाई सहयोग पुर्याउँछ । तर त्यो उनीहरूले गर्दैनन् किनभने उनीहरूलाई भाषाको माया लागेर हैन, आफ्नो स्वार्थ पूरा गर्नु छ ।
त्यसैले अहिलेको यो भाषा आन्दोलनको उद्देश्य भाषाको संरक्षणका लागि भन्दा पनि जनताको भावनासँग खेलर विभिन्न भाषाभाषीबीच फुट ल्याउनेबाहेक अर्को देखिँदैन । भाषा संरक्षणका नाममा राजनीति गर्ने, भाषाकै कारणमा जनताहरूबीच फुट ल्याउन उद्यत कामलाई हामी सबै मिलेर दुरुत्साहित गर्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया