बीपी-वृत्तान्त

घट्न नसकेको ‘सान्दाजुको महाभारत’

विमल सुवेदी |
साउन ६, २०७८ बुधबार १७:६ बजे

भारतको नेसनल स्कुल अफ ड्रामाबाट निर्देशन विधामा ग्रयाजुएट विमल सुवेदीले थिएटर भिलेजको स्थापना गरेर दर्जनौँ नाटक गरेका छन् । उनले गरेका नाटकमध्ये एउटा नाटक थियो, ‘सान्दाजुको महाभारत’ । बीपी कोइरालाको राजनीतिक जीवन र उनका औपन्यासिक पात्रहरूको उपस्थिति एकसाथ प्रस्तुत गर्ने नाटक लेखेका थिए, अभि सुवेदीले । विमल सुवेदीको निर्देशन रहेको यो नाटकमा सञ्जीव उप्रेती, सूर्यमाला खनाल र सलिल सुवेदीले अभिनय गरेका थिए । २०७२ साल भदौ २४ बाट थिएटर भिलेजमा यो नाटकको मञ्चन सुरु भएको । निर्देशक विमल सुवेदी नाटक निर्माणको अनुभूति आफ्नै शब्दमा : 


अब छिट्टै नेपालले फेरि नयाँ संविधान जारी गर्ने पक्कापक्की भइसकेको छ । नेपाली राजनीतिज्ञहरूको अपरिपक्वता, अदूरदर्शिता र देशको भूराजनीतिक अवस्था लगायतका विविध कारणले इतिहासदेखि नै नेपालको राजनीति अत्यन्त अनिश्चित र तरल रहेको छ । जसले गर्दा सामान्य जनताको भविष्य सधैँ  अस्वस्थ, अनिश्चित र अन्यौलपूर्ण रह्यो । 


मण्डिखाटारको डाँडामा पाँच तल्लाको एउटा घर छ । त्यस घरको माथिल्लो तल्लामा घरभन्दा पनि धेरै अग्लो एउटा चम्किलो कालो छायाँ देखा पर्छ । मैले तलबाट माथितिर हेर्दै गर्दा माथिबाट सेता कागजका टुक्रा झर्छन् । ती सेता कागजका टुक्राले बिस्तारै काठमाडौँलाई ढाक्छ । सेता कागजका टुक्राहरू जमिनमा झरेर पग्लिनुअघि, जति सँगाल्न सकेँ त्यही थियो नाटक, सान्दाजुको महाभारत । 

प्राध्यापक डा. अभि सवेदीले धेरै वर्ष दसैँमा टीका लगाइदिनु भएको आशीर्वाद थियो, यो । बीपी कोइराला (सान्दाजु) र डा. अभि सवेदीको लेखन, यी दुवै चम्किला, अग्ला छायाँहरूलाई मैले एकैपटक भेट्नु थियो, सँगै । मेरो जीवनमा यस्ता धेरै मीठा संयोग निकै तीतो भएर बगेका छन् । 

मैले यसअघि नेपोलियन, चे ग्वेभेरा, माओत्सेतुङबारे नाटक बनाइसकेको थिएँ । जसले गर्दा इतिहासमा महिमामण्डन गरी देवत्वकरण गरिएका धेरै पात्रलाई सजिलै बुझ्न सकिन्न भन्ने मेरो निष्कर्ष रह्यो । त्यसैले बीपी कोइरालालाई म वस्तुगत मात्र हैन, व्यक्तिगत भई बुझ्न चाहन्थेँ । तर उनलाई बुझ्न मेरा लागि माहाभारत नै थियो । यही बेला मरो गुरु प्रा.डा. अनुराधा कपूरले भारतको प्रख्यात कलाकार रामकिंकरमाथि नाटक गर्दै हुनुहुन्थ्यो, त्यस प्रस्तुतिलाई हेरेर सोनिया गान्धीले कतै बालिन् पनि पछि । 
यस कारण हामी बीचमा एक अर्कोको कामलाई लिएर धेरै कुरा आदानप्रदान हुन्थ्यो । मैले उहाँलाई नाटक पढेर पूरै सुनाएँ र कसरी गर्दै छु पनि भनेँ । उहाँले म आफँै टिकट काटेर भए पनि नाटक हेर्न दिल्लीबाट आउँछु भन्नुभयो । जसले गर्दा म झन् उत्साहित थिएँ । यो नाटकमा कुनै पनि कुरामाथि कञ्जुस्याइँ गर्न थिएन । 

तसर्थ, सबैभन्दा पहिले नाटकमा रिसर्च निकै गर्नुपर्ने थियो । त्यसका लागि एउटा महत्वपूर्ण थलो थियो, बीपी कोइराला संग्रहालय, सुन्दरीजल । मैले त्यहाँ सान्दाजुसँग निकै समय बिताएँ र उनलाई धेरै पटक प्रश्न गरेँ, जसलाई सार्थक बनाइदिनु भएको थियो, त्यहाँका प्रमुख परशुराम पोखरेलले । उहाँले मलाई गान्धी र बीपीका समानता र केही असामनताबारे नयाँ आयाम पनि थपिदिनु भयो । 

यसमा निकै लगानी लाग्ने भएकाले बीपी कोइराला प्रतिष्ठान पनि सहभागी हुने भयो । ठूलो समूहले भव्य रूपले काम सुरु गर्यो । तर अर्को सबैभन्दा ठूलो चुनौती थियो, मुख्य पात्र चयन । राजनीति, समाज र शास्त्र बुझेका बीपी कोइराला र कला, शिल्प र जीवन बुझेकी सुशीला कोइराला । संयोगले दुवै भनेजस्तो व्यक्तित्व भेटियो । प्रा.डा. सञ्जीव उप्रेती र सूर्यमाला खनाल । अब भने सान्दाजुको चश्मा र सुशीला भाउजूको घँुगरुको आवाजले घडीको पातलो सुईमा बसी आफ्नो सशक्त यात्रा सुरु गर्यो । 

संविधान जारी भएको केही दिनमै नेपालमा नाकाबन्दी सुरु भयो । सडकमा गाडी गुड्न छाडे, जहाँ पुगेका थिए त्यहीँ रोकिए । महाभारतको रथ रोकियो । नाटक गरिरहेका सबै पात्र मञ्चमै सधँैका लागि रोकिए । दर्शकहरू बाटैमा छुटे, बीपी कोइराला प्रतिष्ठानले दिने भनेको चेक पनि बाटामै अड्किए ।

यो नाटक प्रयोगात्मक थियो । हामीले यसलाई पेन्टिङ, इन्स्टलेसन आर्ट र ध्वनि लगायतका विविध मिडियमलाई एकै पटक उतारेका थियौँ । बाहिर ठूलो ढ्वाङमा सान्दाजुको आवाजमा सुशीला भाउजूको घँुगरुको आवाज मिसिँदै थियो । तर त्यो आवाजलाई सडकमा हिँडेका सुरक्षाकर्मीको आवाजले छेक्दै थियो । देशले सुरक्षा सतर्कता अत्यन्तै बढाइरहेको थियो । 

सान्दाजुका पात्रहरू फगुनी र युवक सुनकोशीको छालमा प्रेम बगाउँदै थिए । मेरो पात्र सान्दाजु सुन्दरीजलको जेलमा सुशीला भाउजूलाई पत्र लेख्दै थिए । सुशीला भाउजू आफ्नो घँुगरु उन्दै थिइन् र म भने बीपी कोइराला हिँडेका भारतका विभिन्न भूगोलमा उनका पाइला गन्दै थिएँ र मोदिआइनको ब्रह्माण्डलाई नाप्दै थिएँ ।

हामी सबै आफ्नो यात्रामै थियौँ । अचानक नाटकका पात्र चढेको घडी रोकियो, काठमाडौँ पनि अचानक शान्त भयो । र फेरि नेपालै ढाक्ने गरी माथिबाट सेता तमसूक जस्ता कागज झर्न थाले, कतै ती कागजले चन्द्रमाको प्रकाशलाई छेकेर अँध्यारो बनायो भने कतै चन्द्रमाको प्रकाश त्यो सेतो कागजमा रिफ्लक्ट भएर झन् उज्यालो देखियो । त्यो उज्यालो प्रकाशले भिलिक्क देखियो– नेपालको नयाँ संविधान जारी भयो । 

सान्दाजुका पात्रहरू फगुनी र युवक सुनकोशीको छालमा प्रेम जम्यो । मेरो पात्र सान्दाजु सुन्दरीजलको जेलमा सुशीला भाउजूलाई पत्र लेख्न खोज्दै थिए, मसी पोखियो । सुशीला भाउजू आफ्नो घँुगरु बाँधेर नाच्न खोज्दै थिइन्, चुँडिएर छरपस्ट भयो, र म भने बीपी कोइराला हिँडेका भारतका विभिन्न भूगोलमा उनका पाइला गन्दै थिएँ र मोदिआइनको ब्रह्माण्डलाई नाप्दै थिएँ, अचानक रोकिएँ । हामी सबैको आफ्नो आफ्नो यात्रा सबै रोकियो ।

संविधान जारी भएको केही दिनमै नेपालमा नाकाबन्दी सुरु भयो । सडकमा गाडी गुड्न छाडे, जहाँ पुगेका थिए त्यहीँ रोकिए । महाभारतको रथ रोकियो । 
नाटक गरिरहेका सबै पात्र मञ्चमै सधँैका लागि रोकिए । दर्शकहरू बाटैमा छुटे, बीपी कोइराला प्रतिष्ठानले दिने भनेको चेक बाटामै अड्किए ।

नेपाली राजनितिज्ञहरूको अपरिपक्वता, अदूरदर्शिता र देशको भूराजनीतिक अवस्था लगायतका विविध कारणले इतिहासदेखि नै नेपालको रजनीति अत्यन्त अनिश्चित र तरल रहेको छ जसले गर्दा सामान्य जनताको भविष्य सधैँ अस्वस्थ, अनिश्चिित र अन्यौलपूर्ण रह्यो । तर, तिनलाई एकपटक आफ्नो यात्रा पूरा गर्न दिन मन छ, विश्वसामु भविष्यमा । 


Author

थप समाचार
x