बीपी : मेरो अनुभूति
बीपीको शवयात्रामा जति मानव सागर कहिल्यै देखेको थिइनँ
आज बीपी स्मृति दिवस । मैले पनि सम्झेँ । अनायास आज भने एउटा सानो सम्झनाको श्रद्धाको कुसुम अर्पण गर्न मन लाग्यो । हुन त, मलाई केही व्यक्तिहरूबाट बीपी कोइरालाबारे आफ्नो सम्झना लेख्नु न भनी बारम्बार आग्रह भएको हो । आखिरी पटक यस्तो सद्भाव लिएर अनुरोध गर्ने हुनुहुन्थ्यो, डा. दुर्गा पोखरेल ।
अमेरिकाबाट निस्किने कुनै विशेषाङ्कका लागि उहाँले त्यहीँबाट भाइबरमा भन्नुभएको थियो । नचाहेको पनि होइन लेख्न । तर खै, त्यतिबेला पनि मलाई जाँगर नै चलेन । समय पनि कम थियो ।
विश्वेश्वरप्रसाद कोइरालासँग मेरो पहिलो भेट राजा वीरेन्द्रले २०३६ जेठ १० गते जनमत संग्रहको घोषणा गरेपछि बुटवलमा भएको थियो । उहाँ हाटबजार लाग्ने चउरमा एउटा आमसभा सम्बोधन गर्न आउनुभएको थियो । बागलुङबाट आएर बुटवलमा कपडाको व्यापार गरेर बस्नु भएका अग्नि प्रसादजीको घरमा भेट जुरेको थियो ।
भेट गराइदिने हुनुहुन्थ्यो, बुटवल निवासी कांग्रेसी कार्यकर्ता भन्दा धेरै बढी बीपीको अनन्य भक्त कर्णबहादुर पुन । उहा झोलुङ्गे पुलकै आडमा एउटा सानो होटेल चलाएर जीविकोपार्जन गरेर बस्नुभएको थियो । कांग्रेसी नेताहरू अच्युतराज रेग्मीजीहरू बुटवल आएका बेला बस्ने ठाउँ त्यही थियो । टङ्कनाथ काफ्ले पनि नजिकै बस्नु हुन्थ्यो । कर्णबहादुरजी बीपीलाई भगवान् सरह मान्नुहुन्थ्यो । मेरो कारखाना नजिकै पुल्चोकमा त्यो पुल भएको हुँदा बेलुकीपख टहलिन जाँदा उनीसँग मेरो रोजिन्दा जस्तो भेट हुन्थ्यो । त्यतिबेला पुरानो बुटौल बजार र खस्यौली जोड्ने तिनाउ नदीमाथि त्यही एउटा मात्र पुल थियो ।
समयको प्रवाह कसैको अधीनमा छैन । को, कुन बाटोबाट कहाँ पुग्छ, त्यो यात्राको पनि यकिन हुँदैन । न गन्तव्यको नै । म त्यतिबेला ८ वर्षदेखि घिउ प्रशोधनको उद्योग सञ्चालन गरेर बुटवलमा बसेको थिएँ । मेरो ठूलो जिम्मेदारी थियो, मेरो त्यस अर्थमा । त्यतिबेलाको समयमा अलि ठूलै उद्योग थियो त्यो । सायद, बुटवलको पहिलो प्राइभेट नम्बर प्लेट भएको गाडी त्यही कारखानाको थियो । राम्रोसँग बसेको थिएँ, जिम्मेदारी निर्वाह गरेर । त्यसैले बीपीसँग पछि भेट होला भन्ने पनि मेरो मनमा थिएन । विश्वेश्वरप्रसाद कोइरालासँग अन्तर्वार्ता लिएर छाप्छु भन्ने त कल्पनामा नै थिएन । तर समयले मलाई त्यो बिन्दुमा पुर्याइयो ।
त्यतिबेला म बहुदलको प्रचारमा होमिएको थिएँ । आफ्नै गाडीमा माइक राखेर प्रचार गर्दै हिँड्थेँ । जिल्लामा लामो समय बस्दा उकुस–मुकुस भरिएर ज्वालामुखी जस्तो भएको थियो मन । परिवर्तन चाहिन्छ भन्नेमा दृढ थिएँ । तर कस्तो परिवर्तन त्यसको ज्ञान थिएन मलाई । परिवर्तन नराम्रो पनि हुन सक्छ नि भन्ने त हेक्का नै थिएन । परिवर्तन भनेपछि त सुन्दर बिहानीका लागि त हुने हो नि भन्ने विश्वास थियो । उकुस–मुकुसका पत्रहरू पल्टाउँदै खोल्दै गयो भने धेरै लामो कुरा छन् यसमा । त्यो पछि जाँगर चल्यो भने लेख्दै जाउँला । बीपीबारे सम्झनाका सानो टुक्रालाई अलिकति हेरौँ ।
समयको प्रवाह । मभित्रको आक्रोशको ज्वालामुखी र परिवर्तन भएमा त्यो सुन्दर हुन्छ भन्ने विश्वासको सङ्गम बन्यो । केही महिनापछि उनीसँग अन्तर्वार्ता लिन पुगेँ । म काठमाडौँमा मेरो स्कुलदेखिको साथी भिक्टर प्रधानलाई साथमा लिएर । भिक्टर त्यतिबेला त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेपाली विषय पढाउँथे । हाम्रो करिब तीन घण्टाको बसाइको दृश्य शृङ्खला मेरो आँखाअगाडि नाचिरहेको छ । फिनिसिङ पूरा नभएको त्यो जय बागेश्वरीस्थित बीपी कोइरालाको भाइ तारिणीप्रसाद कोइरालाको घरको मूल ढोकाबाट छिरेपछि सिधा पश्चिम उत्तर–दक्षिण लामो अढाइ तले घर देखियो । उत्तरतिरबाट भर्याङ चढ्दै लामो बार्दली हिँडेपछि दायाँतर्फको ढोकाभित्र छिर्यौँ । अलि अगाडि गएपछि फेरि दायाँ ढोकाबाट हलभित्र छिर्यौँ । त्यहाँ सेतो पाइजामा र कुर्ता लगाएको अग्लो व्यक्ति मुस्कुराइरहनु भएको थियो ।
एउटा टेबुल, एउटा मेच र एउटा साधारण ओछ्यान मात्र थियो, त्यो एकदम साधारण कोठामा । साधारण सिमेन्ट प्लास्टर गरेको भुइँमा कुनै गलैँचा थिएन । त्यही कोठामा मेरो उहाँसँग धेरैपटक भेट भयो ।
त्यो उत्तर–दक्षिण लामो हालको दुई तिहाइ भाग गद्दी जस्तोले ढाकिएको थियो । कार्यकर्ताहरू पलेटी कसेर बस्ने ठाउँ त्यो । त्यसको अगाडि तीनवटा केनको कुर्सी थिएँ, नेता बस्ने । सँगै भित्तामा जोडिएको र्याक । ढोकाबाट उत्तर–दक्षिणको सोतोमा प्यान्ट र टिसर्ट लगाएकी एउटी केटी ओहोर–दोहोर गरिरहेकी थिइन् । पछि थाहा भयो, उनी उहाँकी छोरी रहिछन् । त्यही सोतोको अन्त्यतिर एउटा ढोका थियो देब्रेपट्टि । पछिल्ला दिनहरूमा सुसम्बन्ध भएपछि उहाँले मलाई तपाईंबाट तिमी भन्न थाल्नुभयो । त्यो कोठाभित्र लैजानुभयो । पश्चिम फर्किएको त्यो सानो कोठा उहाँको सुत्ने कोठा रहेछ । मैले सम्झेँसम्म एउटा टेबुल, एउटा मेच र र एउटा साधारण ओछ्यान मात्र थियो, त्यो एकदम साधारण कोठामा । साधारण सिमेन्ट प्लास्टर गरेको भुइँमा कुनै गलैँचा थिएन । त्यही कोठामा मेरो उहाँसँग अनेकौँ पटक भेटघाट भयो । मुलुकको अर्थ राजनीतिबारेमा धेरै पटक लामो छलफल भयो त्यही कोठामा । म त्यतिबेला क्याम्पसमा अर्थशास्त्र पढाउँथेँ ।
आफ्नै घरमा विलय हुन बैंककबाट उहाँ फर्केको दिन राम्ररी सम्झिरहेको छु । सलाइन बोत्तल बाँधिएको शरीर । डाक्टरहरू उहाँलाई अझै जाँच्दै थिए । त्यसमध्ये डाक्टर मृगेन्द्रराज पाण्डे पनि हुनुहुन्थ्यो । र, भोलिपल्ट उहाको पार्थिव शरीर सँगै काठमाडौँ सहर परिक्रमा गरेर आर्यघाट पुगेको थिएँ म । शवयात्रा यति विशाल थियो, यति धेरै मानिसहरू सहभागी भएका थिए, त्यो बेलाको समयमा पनि । भाव विह्वल भएर रोइरहेका नेपाली जनता एकाएक जसरी स्वस्फूर्त प्रकट भएर त्यति ठूलो उर्लिएको जनसागर बन्यो । त्यो मैले त्यति मानव सागर कहिल्यै देखेको थिइनँ । एउटा ठूलो सजाइएको खुला ट्रकमा आइसको ठूलो ब्लकमा उहाँको पार्थिव शरीर फूलले सजाएर राखिएको थियो । र, सँगै बसेका थिए उहाँका सहयोद्धाहरू, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई । साथमा थिए, भारतीय नेता चन्द्रशेखर । जो पछि भारतको प्रधानमन्त्री बने । त्यतिबेला आउनुभएको थियो आफ्नो राजनीतिक गुरुको अन्तिम बिदाइमा । एउटा प्रश्नको उत्तर दिँदै उहाँले मलाई आर्यघाटमा बीपीको जलिरहेको पार्थिव शरीरबाट निस्केको आगोलाई हेर्दै भन्नुभयो, ‘बीपी नेपालको मात्र होइन, भारतीय उपहमाद्विपकै एउटा ठूलो नेता हुन् । मेरो त उहाँ राजनीतिक गुरु नै हुनुहुन्थ्यो ।’
मूलतः जयबागेश्वरीस्थित उहाँको निवासको भेटपछि अशक्त भएर भेटघाट गर्न नसक्ने अवस्थामा नपुगुन्जेलको अन्तरालमा मेरो उहाँसँग धेरै पटकका छलफल भए । यससँग सम्बद्ध धेरै सम्झना छन् । दुइटा अगाडि आइरहेका छन् । पहिलो हो, उहाँ मेरो घरमा डिनर खान आउनुभएको बेलाको । दोस्रो, भारतको बम्बैमा क्यान्सरको केमोथेरापी गर्दाको उहाँले मलाई सुनाउनु भएको एउटा घटना ।
बम्बैको घटना भनौँ, उहाँ कुरा गर्दै जाँदा फिस्स–फिस्स हाँसिरहनु हुन्थ्यो । यसले गर्दा उहाँको मुख म जहिले पनि उज्यालो देख्थेँ । यो घटना बताउँदा पनि त्यस्तै थियो । जबकि अनुहार गलिसकेको थियो, क्यान्सरले । भेट्दा बाहिर घर आगाडिको खुला ठाउँमा र डिस्ट्यान्स राखेर कुरा गर्न थालिसक्नु भएको थियो ।
भन्नुभयो, ‘हेर न वसन्त, गजबको घटना घट्यो यो पल्ट बम्बैमा । केमो दिइसकेपछि डाक्टरले मलाई भने, ‘तपाईंले दुई दिन पूरा आराम गर्नुपर्छ ।’ ‘ल’ भनेर म निस्किएँ ।
घरमा पुग्छु त टेलिग्राम आएको रहेछ सुशीला ¬(धर्मपत्नी) को कोइरालाको, बेलुका बम्बै पुग्दैछु भन्ने । म लिन स्टेसन पुगेँ । मलाई केमो दिने डाक्टर पनि उसको आफन्तलाई रिसिभ गर्न त्यहीँ आएको रहेछ । उसले मलाई झ्वाट्टै चिनेन । उसले कल्पना गर्ने कुरै भएन । म त्यहाँ हुन सक्छु भन्नेमा । चिनेको जस्तो लागेपछि सोध्यो, ‘मैले बिहान किमो दिएको तपाईं नै होइन ।’ मैले भनेँ, ‘हो ।’
अनि भन्यो, ‘तपाईंको अनुहार त एकदम डिसेप्टिभ रेहछ ।’ मैले उसलाई अथ्र्याउनु पर्यो, ‘म पहिले राजनीतिज्ञँ हु । त्यसपछि मात्र तिम्रो पेसेन्ट बनेको भनेर । ऊ जिल्ल परेर मलाई हेरिराख्यो ।’
मैले यसको पूरा विवरण त्यतिबेला मेरो सम्पादनमा प्रकाशित हुने साप्ताहिक परिस्थितिमा सविस्तार लेखेको छुु । बीपी भन्नुहुन्थ्यो, ‘हेर मैले राजनीति गर्ने भनेको ‘कमन म्यानको डिग्निटी’का लागि हो । यो तब मात्र सम्भव हुन्छ, जब मुलुकको आन्तरिक तागत बलियो हुन्छ ।’ त्यसैले उहाँको ध्यान आन्तरिक तागत अभिवृद्धि गर्नेमा केन्द्रित थियो । मैले बीपीलाई नेपालको इतिहास निर्माण गर्ने चार नेपालीमध्येको एक ठहर्याएको छु । उँहासँगको सम्झनाहरू मौका मिलेमा लेख्दै जाउँला । यतिखेर चाहिँ यही सम्झनाबाट आफ्नो उहाँलाई श्रद्धाकुसुम अर्पण गर्दछु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया