बालबालिका

कोभिडको मार :

विद्यालय खोल्न हतार किन ?

सुनीता साखकर्मी |
कात्तिक १, २०७७ शनिवार ७:४९ बजे

काठमाडौं : मध्यपुर थिमिकी हसिना श्रेष्ठको एक छोरा र छोरी छन् । दुबै कक्षा चारमा पढ्छन् । हसिनाले उनीहरुलाई अनलाइन कक्षामा राखिदिएकी छन् । तर हसिनालाई अनलाइन कक्षाको पढाइ त्यति चित्त बुझेको छैन । तर अनलाइनमा नपढाए बच्चाको एकवर्ष नै खराब हुने हो कि भन्ने चिन्ताले बेलाबेला उनलाई सताउँछ ।

‘विद्यालयमा पढेजस्तो अनलाइनमा पढेको भइरहेको छैन । तै पनि पढाउन परिहाल्यो । बच्चाहरुको वर्ष खराब गर्न भएन,’ उनी भन्छिन्, ‘दशैँपछि विद्यालय निरन्तर खुल्ने संकेत विद्यालयले दिएको छ । दिनहुँ कोभिड संक्रमित बढेको बढ्यै छ । विद्यालयमा पनि बच्चालाई पठाउन डर छ । साह्रै अन्योल छ ।’ 
हसिना जस्तै थुप्रै अभिभावक आफ्नो बच्चाहरु आफ्ना बच्चाको पढाइको चिन्तामा छन् । कोभिड १९ को त्रास बढेसँगै बन्द भएका विद्यालयहरु अझै खुल्न सकेका छैनन् । शिक्षा मन्त्रालयले पनि विद्यालय खोल्न मनाही गरेको छ । अनलाइन कक्षामा पढाउन आग्रह गरिरहेको छ ।


कयौँ परिवार भने कहिले विद्यालय खुल्लान् र बच्चाहरुलाई पठाउँ भनेर कुरेर बसेका छन् । शिक्षकहरु पनि फटाफट पढाएर कोर्स सकाउने धुनमा छन् । त्यसैले दशैँ अघि मन्त्रालयको आदेशलाई अटेरी गर्दै केही विद्यालयहरु खुले, विद्यार्थीहरुलाई विद्यालयमा बोलाइयो र पढाइयो । दशैँ पछि भने निरन्तर पठनपाठन सुरु गर्ने थुप्रै विद्यालयहरुको योजना छ ।

तर अहिले नै विद्यालय नियमित रुपमा खोल्न र कोर्स सकाउनतिर मात्रै नलाग्न मनोविश्लेषक बासु आचार्य सल्लाह दिन्छन् । उनका अनुसार अझै मास्क लगाउन परिरहेको छ, स्यानिटाइजर लगाइरहन परेको छ । सन्त्रासको अवस्था छ । कोभिडसँग मृत्यु जोडिएको छ । घरमा अभिभावकले पनि बच्चाहरुलाई यो पढिस्, यो गरिस् भनेर किचकिच गरिरहेका हुन्छन्, खुल्ला र आनन्द किसिमले पढ्ने वातावरण छैन ।

त्यसैले कतिपय कमजोर मनस्थिती भएका बच्चाहरुहरुमा एन्जाइटी बढिरहेको छ । यस्तो बेला पढ्न जाँगर नै आउँदैन । युद्धमा पढाएको विद्यालय जस्तो भएको छ । हतारमा विद्यालय खोलिन जरुरी थिएन ।

'हाम्रोजस्तो बढी विद्यार्थी भएको विद्यालयमा सामाजिक दुरी कायम गरी पढाउन गाह्रो हुन्छ । त्यसैले जहाँ कोभिड संक्रमित छैनन्, ति ठाउँमा विद्यालय सञ्चालन गरी पढाउँदा हुन्छ, उपत्यकामा त यो अहिले नै सम्भव छैन ।'

बासु भन्छन्, ‘कोभिड बढेन भने फिजिकल पढाइ सम्भव पनि छ, तर अहिले बढ्ने सम्भावना बढि छ । तर के के न भएजस्तो संसार नै सिध्धिएजस्तो नगरेको भए हुने थियो । किनकी मानसिक, शारीरिक स्वास्थ्य नै ध्यान दिनुपर्छ । खुले पनि संक्रमण, मानसिक स्वास्थ्यको बारेमा बहस गर्नुपर्छ । प्रोफेसनलको सहयोग लिनुपर्छ । नत्र बच्चाको मनस्थिती मै असर गर्न सक्छ ।’

काँडाघारीमा रहेको अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई पनि अहिले नै विद्यालय खोलेर पठनपाठन सुरु गर्न नहुने पक्षमा छिन् । किनकी विद्यालयमा सानादेखि ठूला विद्यार्थी पढ्छन् । ठूलाहरुले सामाजिक दुरीबारेमा बुझे पनि ससाना बालबालिकाको स्वभाव चञ्चल हुने भएकाले उनीहरुलाई सामाजिक दुरी कायम गराउन गाह्रो हुने भएकाले विद्यालय खोलिहाल्न नहुने उनको सुझाव छ ।

लकडाउन सुरु भएसँगै पढाइको अन्यौल सिर्जना भएपछि भक्तपुर नगरपालिकाले भादगाउँ टेलिभिजनमार्फत् कक्षा सुरु गर्‍यो । शिक्षा मन्त्रालयले अनलाइन कक्षाको पहुँचबारे अध्ययन गर्‍यो । त्यसै अनुसार च्यामासिंहमा रहेको बागीश्वरीले पनि माध्यमिक र कलेजका विद्यार्थीले टेलिभिजन र अनलाइन कक्षा पढाइ सुरु गरे ।

माथिल्लो कक्षामा अनलाइन कक्षा प्रभावकारी भए पनि साना कक्षामा भने प्रभावकारी नभएको बागीश्वरीका सहप्राध्यापक ज्ञानसागर प्रजापति बताउँछन् । उनका अनुसार स्नातक र स्नातककोत्तर तहमा सञ्चालन भएको अनलाइन कक्षामा ९० प्रतिशत विद्यार्थीको उपस्थिती हुन्छ । त्यस्तै कक्षा ९/१० मा यो दर ६० प्रतिशत छ भने सो भन्दा मुनीका कक्षामा ३० प्रतिशत पनि विद्यार्थीको उपस्थिती हुन गाह्रो छ ।

विद्यालय नै खोलेर पढाउन पनि समस्या हुने सहप्राध्यापक ज्ञानसागर बताउँछन् । उनी भन्छन्, ‘हाम्रोजस्तो बढी विद्यार्थी भएको विद्यालयमा सामाजिक दुरी कायम गरी पढाउन गाह्रो हुन्छ । त्यसैले जहाँ कोभिड संक्रमित छैनन्, ति ठाउँमा विद्यालय सञ्चालन गरी पढाउँदा हुन्छ, उपत्यकामा त यो अहिले नै सम्भव छैन । जबरजस्ती विद्यालय खोल्नु हुन्न ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x