बालबालिका

बालबालिकाको दशैं

सुनीता साखकर्मी |
कात्तिक १, २०७७ शनिबार १३:५ बजे

ललितपुरः नख्खुकी सुमीत्रा महर्जनले ‘यसपालि लुगा नकिन्‍ने, पोहोर कै लगाउ है’ भन्दा १० वर्षीय छोरा निर्भिकले नाइँ भनेनन् । बरु शनिबार घटस्थापनाको दिन दराज खोतल्दै पुराना लुगा निकालेर ट्राइ गर्न थाले । छोराले ‘पोहोरको टिसर्ट त अलि छोटो भएछ, तै पनि यही लाउँछु’ भनेको सुन्दा सुमीत्रालाई अचम्म लाग्यो । किनकी केही दिन अघि मात्रै पनि घर अगाडि बाटोमा दशैंको लुगा किनिदिन जिद्दी गरेपछि एक आमाले छोरालाई पिट्दै लगिरहेकी थिइन् । लुगा नकिन्‍ने भनेपछि रिसाएर छोरा निर्भिकले दुःख दिन्छ कि भन्‍ने उनलाई चिन्ता थियो । ‘दुःख दिएन त्यसमै खुसी छु,’ सुमीत्राले भनिन् ।
 
सुमीत्राका अनुसार कोभिड १९ को कहरसँगै सुरु भएको लकडाउनमा घरमै बस्‍नुपरेकोले निर्भिकले टिभी धेरै हेरे । टिभीमा उनले कार्टुन मात्रै हेरेनन्, समाचार पनि हेरे । जसमा मानिसहरुले खान नपाएको, दुःख पाएको कुराहरु थिए । ‘लकडाउनको समयमा हामी पति पत्‍नी नै पनि लामो समय काम गरेनौँ, समाचारमा पनि अरुका दुःख हेर्‍यौ । त्यसैले मलाई दुःख दिएनन्,’ सुमीत्रा भन्छिन्, ‘बच्चालाई सानैदेखि दुःख सुख सेयर गर्यो भने बुझ्‍ने हुँदा रहेछन् ।’

बच्चाहरुले माग राख्छन् । तर बच्चालाई सजिलै बुझाउन सकिने लेखक एवं पत्रकार दामोदर न्यौपाने बताउँछन् । उनका पनि छोरा हार्दिक सानै छन् । उनले बाल साहित्य र बाल मनोविज्ञानमाथि ‘सिकाइमा गहिरिएको खाडलः कर्म’, ‘स्कुल बेच्‍ने बालक’लगायत पुस्तक प्रकाशित छन् । ‘धेरै सानाको डिमान्ड नै खासै हुँदैन । हार्दिक जत्राले डिमान्ड गर्छन् तर बुझ्छन् । बुझ्‍ने बेला भयो उनको । कारण दिएपछि बुझ्छन्,’ दामोदर भन्छन्, ‘हार्दिकको किनमेल सकियो । उनलाई नलगी आफै किन्दिएँ । नकिनिदिउँ भने आफ्नै मनले नमान्‍ने । किनमेल गर्दा उनीहरुमा उत्पन्‍न हुने खुसीको संवेगको कुरा गरि साध्य हुँदैन । नँया कपडा लगाएको दिनमा कन्फिडेन्ट लेभल नै अर्को हुन्छ हामी ठूलामा पनि ।’ 



दशैं नजिकिँदै गर्दा छोराछोरीले नरेफाँटकी बुद्धलक्ष्मी साखलाई नयाँ लुगा किनिदिन भने । केही दिन अघि उनले दुई छोरी र एक छोरालाई नजिकैको पसलमा गई नयाँ लुगा किनिदिइन् । 

‘बच्चाहरुको लागि दशैं भनेकै नयाँ लुगा लाउने, चंगा उडाउने, मामाघर जाने हो,’ उनले भनिन्, ‘ लकडाउन भएदेखि बच्चाहरु घरमै छन्, जताततै निराशा मात्रै छ, यस्तोमा नयाँ लुगाले बच्चाहरुलाई थोरै भएपनि खुसी दिन्छ भनेर किनिदिएँ ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x