आमचुनाव २०७९

कञ्चनपुरमा गठबन्धन अगाडि, माओवादीकी विना मगर भने पछाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार १३:३१ बजे

काठमाडौं– कञ्चनपुरमा सत्तारुढ गठबन्धन अगाडि देखिएको छ । जिल्लाका तीन क्षेत्रमध्ये दुइटामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । अग्रता बनाउनेमा नेपाली कांग्रेसका नारायणप्रसाद (एनपी) साउद र रमेश लेखक रहेका छन् । 

कञ्चनपुर–२ बाट उम्मेदवार बनेका साउदले नेकपा एमालेका नरबहादुर धामीलाई उछिनिरहेका छन् । साउदले ८ हजार ६ सय ९८ मत पाउँदा धामीले ३ हजार २ सय ८९ मत ल्याएका छन् । यी दुई २०७४ को निर्वाचनमा पनि आमनेसामने भएका थिए । त्यतिबेला धामीले वाम गठबन्धनको सहयोगमा साउदलाई पराजित गरेका थिए । यसपालि साउद उनलाई हराएर बदला लिने दाउमा छन् । 


कञ्चनपुर– ३ मा गठबन्धनको साझा उम्मेदवार बनेका लेखकले एमालीकी निरूदेवी पाललाई पछाडि पारेका छन् । लेखकले ८ हजार ३ सय ७५ मत ल्याउँदा पालले ४ हजार ६ सय ८८ मत ल्याएकी छन् । यसअघिका तीनटा संसदीय निर्वाचनमा सहभागी भइसकेका लेखक २०७४ को निर्वाचनमा पराजित भएका थिए । उक्त निर्वाचनमा लेखक दीपक भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए । यसपालि उनी पनि हारको बदला लिने दौडमा छन् । 

पाल भने योसहित दोस्रोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी छिन् । गत निर्वाचनमा एमालेबाट समानुपातिक सांसद् बनेकी उनी यसपालि जित्ने दाउमा छिन् । उनी २०६५ को उपनिर्वाचनमा चुनावी मैदानमा उत्रिएकी हुन् । 

कञ्चनपुर– ३ बाट गठबन्धनकी साझा उम्मेदवार बनेकी विना मगर भने पछाडि परेकी छन् । २०७४ को निर्वाचनमा विजयी भएकी उनी यसपालि एमालेका उम्मेदवार तारालामा तामाङसँग उछिनिएकी हुन् । तामाङले २ हजार २ सय ७४ मत ल्याउँदा उनले १ हजार १ सय ८४ मत ल्याएकी छन् ।
 


Author

थप समाचार
x