आमचुनाव २०७९

आमनिर्वाचन २०७९

महेश बस्नेत इन, महेश बस्नेत आउट !

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:४७ बजे

काठमाडौँ- यस पटकको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले दुई महेश बस्नेतलाई उम्मेदवार बनाएको थियो । एकजना अघिल्लो निर्वाचनमा भक्तपुर–२ बाट सांसद बनेका महेश बस्नेत हुन् । अर्का इलाम–१ बाट झलनाथ खनालको प्रतिस्पर्धी बनेका महेश हुन् । महेश बस्नेत नाम यसै पनि चर्चित छ, राजनीतिक वृत्तमा । किनकि सांसदहरूको अपहरण हुँदासमेत महेश बस्नेतकै नाम अगाडि आउने गर्छ । उनी यतिसम्म चर्चित छन् कि केही सञ्चारमाध्यमले झलनाथलाई हराउँदै गरेका इलामका महेशको नाममा भक्तपुरका महेशको फोटो राखेका छन् । यसपटकको निर्वाचनमा भने एमालेको संसदीय रिङबाट एउटा महेश ‘आउट’ हुने सम्भावना बढेकाे छ र अर्का महेश ‘इन’ हुने सम्भावना रहेकाे छ । 

भक्तपुरका महेश तत्कालीन एमालेको युवा संगठन, युवा संघ नेपालबाट केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका हुन् । २०४९ मा एमालेको साधारण सदस्यदेखि जिल्ला सदस्य हुँदै पार्टीको विभिन्न भूमिकामा रहेका काम गरिसकेका छन् । उनी हाल एमालेको केन्द्रीय सदस्य हुन् । उनले २०७४ निर्वाचनमा नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई हराएका थिए । त्यसबेला बस्नेतले ३६ हजार ४ सय १२ मत पाउँदा ढुंगानाले १८ हजार ६ सय ८७ मत मात्रै पाएका थिए । 


तर यसपटकको निर्वाचनमा उनी कांग्रेसका दुर्लभ थापासँग पराजित हुने पक्का भएको छ । मंगलबार अपरान्ह ४ः३० बजेसम्ममा थापाल १४ हजार ९६ मत ल्याउँदा बस्नेतले १३ हजार ४३ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा झण्डै १८ हजारको मतान्तरले विजयी भएका बस्नेतले यसपटक आफ्नो जित कायम गर्न नसक्दा संसदीय रिङबाट बाहिरिनु पर्ने अवस्था सिर्जना हुँदै छ ।

संसद्‍मा महेश बस्नेतको नाम हट्न नदिन इलाम–२ मा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई हराउन लागेका महेश इलामका जिल्ला अध्यक्ष हुन् । एमालेमा हुँदा झलनाथ महेशका शीर्ष नेता थिए । ६२ वर्षीय महेश २०७४ को स्थानीय निर्वाचनमा इलाम नगरपालिका मेयरमा निर्वाचित भएका थिए ।

बस्नेतले अघिल्लो कार्यकालमा इलामको मेयर भएर काम गर्दा स्थानीयबीच राम्रै पकड बनाएका थिए । त्यही जनआधारले बस्नेतले खनालको २०४८ सालको संसदीय निर्वाचनदेखि गर्दै आएको एत्रछत्र राज रोकिदिँदै छन् ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीले स्थानीय चुनावमा नै शीर्ष नेतृत्वले सोचेझैँ जनाधार प्रमाणित गर्न सकेको थिएन । गठबन्धनको साथ पाएको समाजवादीले भागमा परेका धेरै सिट गुमाएको तथ्यांक छ । यसरी नयाँ पार्टीका रूपमा कम अनुभवसहित जाँदा यसपालि खनालले पहिलेझैँ ढुक्कले जित्ने अवस्था गुम्ने तरखरमा छ।

कांग्रेसको साथमा उठेका झलनाथलाई कांग्रेसका कार्यकर्ताले पनि मत दिएनन् । त्यसको फाइदा पनि महेशले उठाउँदै झलनाथलाई इलाममै रोक्दै आफू पहिलो पटक संसद् छिर्दैछन् । मंगलबार अपरान्ह ४:३० बजेसम्ममा बस्नेतले ८ हजार ५६ मत ल्याएरका छन् भने हुँदा खानालले ६ हजार ८ सय ४९ मत पाएका छन् । 


 


Author

थप समाचार
x