आमचुनाव २०७९

ओली-प्रचण्डले पत्याएका दुई महासचिवलाई जनताले पत्याएनन्

इकागज |
मंसिर ८, २०७९ बिहीबार ११:३२ बजे

काठमाडौँ- नेपालका दुई कम्युनिस्ट पार्टीका महासचिव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका हुन् ।

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोखरेल १९७ मत अन्तरले पराजित भएका हुन् । माओवादीकी रेखा शर्माले पोखरेललाई हराएकी हुन् । पोखरेलले २६६८० मत ल्याए भने शर्माले २६८७७ मत ल्याएर विजयी भएकी थिइन् ।


त्यस्तै माओवादीका महासचिव देव गुरुङ पनि प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङसँग ३१८८ मत अन्तर देवले हारेका हुन् । देवले ३१७८१ मत पाएका थिए भने पृथ्वीसुब्बाले ३४९६९ मत ल्याएका थिए ।

२०७९ भदौ ३ गते बसेको माओवादी स्थायी कमिटी बैठकले देवलाई महासचिव बनाएको थियो । माओवादीको महासचिवमा दाबी गरेका ७ जनालाई उपमहासचिवमा थन्क्याउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवलाई महासचिव बनाएका थिए ।

चितवनको सौरहामा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका थिए । महासचिवमा विष्णु पौडेलले दाबी गरे पनि पोखरेललाई महासचिव सर्वसम्मत बनाएर एमाले अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्षमा चुनाव भिडाएका थिए । पोखरेल र पौडेल दुवै ओली निकट हुन् ।


Author

थप समाचार
x