आमचुनाव २०७९

काठमाडौँ उपत्यकामा खस्कियाे एमाले

अघिल्‍लो चुनावमा ९ क्षेत्रमा जित, यसपालि दुई सिटमा सीमित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ११:४१ बजे

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा उपत्यकाकाबाट नेकपा एमाले खस्किएकाे छ । उपत्यकाका तीन जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुरका १५ क्षेत्रमा एमालेले जम्मा दुई क्षेत्रमा मात्रै जित हासिल गर्न सफल भएको छ ।

२०७४ को निर्वाचनमा ९ सिट जितेको एमालेले यसपटक आफैँले जितेका क्षेत्रसमेत जोगाउन असफल भयो । उक्त निर्वाचनमा काठमाडौँमा मात्रै ६ सिट जितेको थियो ।  काठमाडौँ–२, ३, ५, ७, ८ र ९ मा जित निकालेको थियो । तर, यस निर्वाचनमा काठमाडौँ–९ बाट कृष्ण गोपाल श्रेष्ठबाहेक कसैले पनि जित निकाल्न सकेनन् । श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई हराएर विजयी भएका हुन्  ।


श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याउँदा पोखरेलले १० हजार ९ सय ६१ मत मात्रै पाए । यसपटक एमालेले जित्ने अनुमान गरेको काठमाडौँ–५ बाट पनि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हार बेहोरे । उनलाई एमालेका  प्रदीप पौडेलले ५ हजार बढी मतले हराए । 

यस्तै अघिल्लो निर्वाचनमा ललितपुरका तीन क्षेत्रमध्ये दुई एमालेले जितेको थियो । तर, यसपटक भने एमालेले दुई मध्ये एक क्षेत्र गुमाउँदै एकमात्रै जित्याे । ललितपुर–१ बाट नवराज सिलवाल नेपाली कांग्रेसका उदयशमशेर राणासँग ४ हजार बढी मतले हारे । ललितपुर–२ मा भने एमालेका  प्रेमबहादुर महर्जनको जितले एक सिट जोगाएको छ । 

यस्तै भक्तपुरबाट अघिल्लो निर्वाचनमा जित हासिल गरेका महेशबस्नेतले यसपटक भने हार बेहोरे । भक्तपुर–२ बाट उम्मेदवार बनेका बस्नेत कांग्रेसका दुर्लभ थापासँग ९ सय ५७ मतले पराजित भए ।


Author

थप समाचार
x