मोहन बस्नेतको जोर-बिजोर संयोग
मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट उम्मेदवारी दिएलगत्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भनेका थिए-‘योपटक मेरो जित्ने पालो हो ।’ यो क्षेत्रमा एमालेबाट उम्मेदवारी दिएका थिए शेरबहादुर तामाङले । गठबन्धनको साथ भए पनि बस्नेतलाई चुनाव जित्न अनेकौं चुनौतीका पहाडले घेरेका थिए ।
बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । पहिलो आफ्नै संगठनप्रति संशकित थिए बस्नेत । कारण यो क्षेत्रमा उनीनिकट कांग्रेसीहरू नहुनु र उनीहरूले सहयोग नगर्ने शंका । दोस्रो थियो माओवादीले रुखमा भोट हाल्ने हो या होइन् । अर्को थियो गठबन्धनभित्रकै दल नेकपा एकीकृत समाजवादीको भूमिका, किनकि गठबन्धनभित्रकै दल भएपनि उम्मेदवारी दर्ताका दिन समाजवादीका नेता कार्यकर्ता उपस्थित नहुनु अर्को शंका थियो । त्यसैले पनि यो क्षेत्रका गठबन्धनका उम्मेदवार हच्किनु सामान्यजस्तै हो । र, यहाँ त्यतिबेला शंका गर्नुपर्ने कारण थियो कि सिन्धुपाल्चोकमा समाजवादीले कुनै टिकट पाएको थिएन ।
र, अर्को चौथो डर बस्नेतले त्यहाँ मान्नुपर्ने अवस्था थियो कि समुदायप्रतिको सेन्टिमेन्ट भोट । यहाँ एमालेबाट शेरबहादुर तामाङले उम्मेदवारी दिएका कारण तामाङ समुदायबाट उनीमाथि सेन्टिमेन्ट भोट जानसक्ने आँकलन धेरै पछिसम्म गरिएको थियो ।
यी अनेकन चुनौतीबीच पनि बस्नेतले ढुक्क भएर सञ्चारकर्मीसामू बताएका थिए- ‘यो मेरो जित्ने पालो हो ।’ उनले त्यसै भनेका भने होइनन् । उनको राजनीतिक जीवनमा यो प्रक्रिया लागू भएको पनि छ । उनी योसमेत छैटौं पटक संसदीय चुनाव भिड्दै थिए । यसअघिका पाँच चुनावमा उनी दुई पटक विजयी भइसकेका छन् । उनको राजनीतिक ’करियर’ मा एउटा रमाइलो संयोग बनेको छ, बिजोर पटक हार्ने, जोर पटक जित्ने । बस्नेतका अनुसार यो पटक उनले चुनाव जित्ने पालो हो । त्यसैले उनले ‘काल्पनिक’ ढुक्क बनेर यो संवाद पटकपटक बोलेका थिए ।
बस्नेत संसदीय राजनीतिको चुनावी मैदानमा चतुर खेलाडी मानिन्छन् । बस्नेतकै शब्दमा 'चुनाव कसरी जित्नु पर्छ’ उनलाई राम्रैसँग थाहा छ ।
२०४८ देखि बस्नेतले एउटाबाहेक हरेक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै आए । पहिलो पटक उम्मेदवार बनेको २०४८ को आमनिर्वाचनमा उनी साविक क्षेत्र नं. १ बाट उम्मेदवार बने । त्यतिबेला उनका प्रतिष्पर्धी थिए नेकपा एमालेका अमृतकुमार बोहरा ।
२०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहोराले १३ हजार ५ सय मत ल्याएर विजयी बने। प्रतिद्वन्द्वी बनेका कांग्रेसका बस्नेत ११ हजार ९ सय मतमै रोकिए । यो उनको पहिलोपटक अर्थात बिजोर अंकमा चुनाव लडेको अनुभव हो । ०५१ को निर्वाचनमा एमालेका बोहोराले १३ हजार ३ सय मत ल्याएर विजयी बने । बस्नेतले त्यो चुनावमा टिकट नै पाएनन् ।
आयो अनि ०५६ को निर्वाचन । यो चुनावमा १९ हजार १ सय मत प्राप्त गर्यो कांग्रेसले । नेपाली कांग्रेसका उम्मेदवार उनै बस्नेतले बाजी मारे । त्यतिबेला एमालेका बोहोराले १५ हजार ९ सय र राप्रपाका पशुपतिशम्शेर राणाले १० हजार मत ल्याए । यो बस्नेतले चुनाव लडेको दोस्रो पटक थियो अर्थात उनी जोर अंकमा चुनावी मैदानमा उत्रिएका थिए । एमालेका बोहरालाई नै हराएर चुनाव जितेका उनी स्वास्थ्य राज्यमन्त्री बने ।
त्यसपछि माओवादीको सशस्त्र द्वन्द्वका कारण देशमा समयमै चुनाव हुन सकेन । शान्ति प्रक्रियापछि भएको २०६४ को चनुावमा पनि उनी होमिए । त्यो संविधानसभाको निर्वाचन थियो । कांग्रेसबाट उम्मेदवार बने सिन्धुपाल्चोकको क्षेत्र नं. १ बाट उनै बस्नेत ।
त्यतिबेला ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादीका राजकुमार श्रेष्ठ २१ हजार ३ सय मतसहित विजयी बने । एमालेले १३ हजार १ सय मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमै चित्त बुझायो भने कांग्रेसले ७ हजार ५ सय मत ल्यायो । अर्थात उनी तेस्रो भए । बस्नेत चुनावी प्रतिस्पर्धामा ओर्लिएको यो तेस्रो चुनाव थियो । अहिले उनकै भाषामा भन्नुपर्दा ‘हार्ने’ चुनाव ।
अस्थिर मतदाता अनि फेरिरहने राजनीतिक सिनारियोका कारण बस्नेतले आफ्नो क्षेत्रका नागरिकलाई आफ्नो पक्षमा पार्न अनेक जुक्ति लगाए । स्वास्थ्य, शिक्षा, खेलकुददेखि समाजसेवामा उनी तन, मन, वचन अनि कर्मले सक्रिय रहे । यसअघि उनले समाजका लागि भूमिका निर्वाह नगरेका होइनन् । तर झनै क्रियाशीलता देखाएर उनी क्षेत्र नं. १ को ‘लिडर’को भूमिकामा उभिए ।
फेरि अर्को चुनाव आयो २०७० मा संविधानसभाको अर्को चुनाव । यो चुनावमा पनि कांग्रेसबाट उम्मेदवार भए उनै बस्नेत । एमालेबाट अरुण नेपाल र माओवादीबाट उनले सरल सहयात्री पौडेलको सामना गर्नुपर्ने भएको थियो । अन्ततः २०७० मा यो क्षेत्रबाट कांग्रेसले १५ हजार २१ मत ल्यायो र चुनाव जित्यो । त्यस्तै एमालेले १४ हजार नौ सय ८९, माओवादीले १० हजार तीन सय ३० र राप्रपाले ५ हजार पाँच सय ६७ मत ल्यायो । त्यतिबेला बस्नेतले झिनो मतान्तरले चुनाव आफ्नो पक्षमा पार्न सफल भएका थिए । एमालेका अरुण नेपाललाई पछि पार्दै उनले ३२ मतले चुनाव जितेका थिए । यो उनी उठेको चौथो चुनाव थियो ।
यो चुनाव जितेपछि उनी सूचना तथा सञ्चार मन्त्रीसमेत बने । चुनाव जितेको कार्यकाल मन्त्री बन्ने अर्को संयोग पनि बस्नेतले बताउँदै आएका छन् । पाँचौ प्रतिस्पर्धामा २०७४ को निर्वाचनमा उनी पराजित भए । एमालेसमेतको मतमा बस्नेतलाई १० हजारभन्दा बढी मतान्तरमा हराउँदै वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले चुनाव जितेका थिए । उनले भन्ने गरेको संयोगमा यो चुनाव ‘हार्ने’ चुनाव थियो ।
र, यो पटक पनि उनले आफ्नै क्षेत्रबाट चुनाव लड्न खोजेका थिए । उनले अन्तिमसम्म क्षेत्र नं. १ नै दाबी गरेका थिए । तर, राष्ट्रिय गठबन्धनका कारण उनी सो क्षेत्र माओवादीलाई छाडेर क्षेत्र नं. २ मा गए ।
चुनावअघि उनले पार्टी सभापति शेरबहादुर देउवाले उनीमाथि भनेको भनाइ यसरी उदृत गर्दै भनेका थिए, ‘तपाईं जुन क्षेत्रमा गए पनि चुनाव जित्ने भएपछि किन डराउनु । त्यसैले क्षेत्र छाड्नु ।’ उनले त्यसै गरे ।
साविक क्षेत्र नं. ३ सहित २ को आधा भूगोल गाभेर हाल बनेको क्षेत्र नं. २ बाट अहिलेसम्म कांग्रेसले जित्न सकेको थिएन । साविक क्षेत्र छाडेपछि पार्टीले खाता खोल्न २ मा पठाएको प्रतिक्रिया बस्नेतले दिँदै आए थिए । चुनावी अभियानका क्रममा उनले निर्वाचनपछिको नयाँ सरकारको गृहमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गरे ।
हो, यो उनको छैठौं चुनाव हो । अर्थात उनकै भाषामा जित्ने चुनाव । र चुनाव जिते पनि । एमालेका नेता तथा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङको जितमा ‘ह्याट्रिक’ गर्नै दाउमा ब्रेक लगाइदिए । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसका बस्नेत विजयी बने । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरे । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत पाएका थिए ।
एमाले उम्मेदवार तामाङ लगातार चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा थिए । उनले यसअघि २०७० र २०७४ को चुनाव लगालग जितेका थिए । उनी योसमेत पाँचौँ पटक चुनावी मैदानमा उत्रिएका हुन् । २०५६ मा पहिलो पटक उनी साविक क्षेत्र नं. ३ मा मालेबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०६४ को संविधान सभा निर्वाचनमा एमालेबाट यसै क्षेत्रमा उम्मेदवार बनेर उनी पराजित भए । माओवादी, एमाले र राप्रपाबीचको त्रिपक्षीय टक्करमा उनी दोस्रो भए ।
२०७० को अर्को संविधान सभा चुनावमा तामाङले जितको पहिलो स्वाद चाखे । उक्त चुनावमा राप्रपाका पशुपति शम्शेर राणालाई हराउँदै उनी निर्वाचित भएका थिए । माओवादीसमेतको मतमा २०७४ को निर्वाचनमा उनी क्षेत्र नं. २ बाट विजय भए । कांग्रेसको साथ पाएका राप्रपाका पशुपति शमशेर राणालाई नै पराजित गर्दै सांसद बनेका उनी यो कानुनमन्त्री बने ।
२०४८, २०५१ र २०५६ चुनावमा लगातार जितेर ह्याट्रिक गरेका राणा त्यसपछिका तीनवटै निर्वाचनमा ह्याट्रिकै हार बेहोरेपछि यो चुनावमा प्रतिस्पर्धामा थिएनन् । उनी समानुपातिक उम्मेदवार बने । त्यसैले यहाँ बस्नेत र तामाङबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया