५५ वर्षपछि झन् जेलिँदै पहिलो फिल्मको इतिहास
नेपालको पहिलो फिल्म ‘हरिश्चन्द्र’ कि ‘आमा’ ?
अहिलेसम्म पनि यो विवाद टुंगिसकेको छैन । तर, केही समयअघि नारायणहिटी दरबार संग्रहालयभित्र रहेको हलमा यसको रिल भेटिएपछि यो विवाद टुंगिने अपेक्षा गरिएको थियो । तर, दरबारमा भेटिएको रिलको प्रारम्भिक अध्ययनले यसलाई पहिलो नेपाली फिल्म मान्न सकिने दाबीलाई बल पुर्याए पनि यसका निर्देशक भनिएका डीबी परियारको भूमिकालाई लिएर भने नयाँ प्रश्न जन्माएको छ ।
नेपाली सिनेमाको इतिहास लेख्ने लक्ष्मीनाथ शर्मादेखि चेतन कार्कीसम्मले पनि ‘हरिश्चन्द्र’लाई डीबी परियारले निर्देशन गरेको स्वीकार गरेका छन् । लक्ष्मीनाथ शर्माले ‘हरिश्चन्द्र’लाई नेपालको पहिलो फिल्म र डीबी परियारलाई पहिलो निर्देशक मान्नुपर्ने दाबी गरिरहँदा चेतन कार्कीले भने हिरासिंह खत्री र ‘आमा’लाई नै नेपालको पहिलो फिल्म र निर्देशक मान्नुपर्ने जिकिर गरेका थिए ।
यता लेखक अविनाश श्रेष्ठले अन्नपूर्ण पोस्टमा छापिएको एक लेखमा ‘हरिश्चन्द्र’को निर्देशन संघ रथीले गरेको र डीबी परियार कलाकार र संवाद लेखकका रूपमा रहेको जिकिर गरेका छन् । फिल्मलाई कोही एक व्यक्तिले निर्देशन गरेको नभई सामूहिक रूपमा गरेकाले निर्देशकमा संघ रथी नाम राखेको तर पछि चाहिँ यसको निर्देशकको क्रेडिट लिँदै उनले पश्चिम बंगाल नेपाली एकेडेमीले प्रदान गरेको सम्मानसमेत ग्रहण गरेकामा दुःख लागेको आशय व्यक्त गरेका छन् । एकेडेमीको यही सम्मानले ‘हरिश्चन्द्र’ निर्देशकका रूपमा भ्रम छरेको पनि उनको दाबी छ ।
यता डीबी परियारकै जीवनीलाई आधार बनाएर किताब सम्पादन गरेका शंकर तिवारीले संघ रथी डीबी परियारकै नाम भएको दाबी गरेका छन् । उनले सम्पादन गरेको पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी : मेमोयर्स अफ डीबी परिहार’ (परियार ?) मा संघ रथी उपनाम उनलाई फिल्मकै छायांकार सुरेश दासले दिएको र यसलाई बालकृष्ण समले पछि अनुमोदन गरेको दाबी गरेका छन् ।
फिल्मको पहिलो दृश्यमा देखिने पशुपतिनाथको मन्दिर
तिवारीले आफ्नो तर्कलाई पुष्टि गर्ने गरी पुस्तकको अन्त्यतिर हिन्दी मासिक पत्रिका ‘पागल’को विज्ञापन छापेका छन्, जहाँ उनलाई नेपालको प्रथम नेपाली फिल्म ‘हरिश्चन्द्र’का लेखक कलाकार र निर्देशकका रूपमा परिचय दिँदै नयाँ बन्ने फिल्मका लागि निर्माताको माग गरिएको छ । यही बेहोरोको विज्ञापन नेपालको प्रभात मासिक पत्रिकामा पनि गरिएको र यहाँ पनि उनलाई फिल्मको निर्देशकका रूपमा चित्रण गरिएको पुस्तकमा उल्लेख छ ।
नारायणहिटी संग्रहालयभित्र रहेको यो रिलको अध्ययन गरेका चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल भने फिल्म नेपाली भएको कुरामा आफूहरू विश्वस्त हुँदै गएको तर बाँकी कुरा चाहिँ थप अध्ययन पछि मात्र भन्न सकिने बताउँछन् ।
‘हामीले भेटेको रिल एकदमै कमजोर अवस्थामा छ । त्यसलाई प्रोजेक्टरमा यत्तिकै चलाउन सक्ने अवस्थामा छैन । हामीले क्रेडिट लाइनसम्म हेर्यौँ, यो हेर्दा हामीलाई पहिला त यसलाई नेपाली फिल्म मान्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने, ‘किनकि यसको पहिलो दृश्यमा नै पशुपतिको मन्दिर देखाइएको छ । यसको मतलब यो फिल्मको नेपालमा पनि सुटिङ गरिएको हुनसक्छ । अर्को यो हिन्दीबाट नेपालीमा डब गरिएको होइन । यसको नेपाली संवाद लेखकमा डीबी परियारको नाम छ ।’
नेपाली संवाद लेखकको रुपमा मात्र नाम रहेकाले फिल्म डीबी परियारले नै यो फिल्म निर्देशन गरेको भन्ने कुरामा शंका बढेको दाहाल बताउँछन् ।
‘निर्देशकमा नाम नराखेर संवादमा मात्र नाम राख्नुले फिल्मको निर्देशन कसले गरेको थियो भन्ने शंका बढाएको छ । फिल्म पूरै हेरेपछि थप रहस्य खुल्छन् कि ?’ उनले इकागजसँग भने ।
चलचित्र विकास बोर्डले इकागजलाई उपलब्ध गराएको फोटोमा फिल्मका निर्देशक, कलाकार र प्राविधिकहरूको नाम छ जहाँ डीबी परियारको नाम ‘नेपाली डायलग’ लेखकका रूपमा राखिएको छ । धेरै पहिलेदेखि नै यो फिल्ममा हिन्दी, उर्दू र नेपाली भाषाको प्रयोग भएको कुरा उल्लेख हुँदै आएको थियो । रिलमा डीबीको नाम नेपाली संवाद लेखकका रूपमा मात्र उल्लेख भएकाले पनि यो फिल्ममा बहुभाषा प्रयोग भएको बुझ्न सकिन्छ । फिल्ममा पटकथा लेखनको क्रेडिट भने एसपी मुखर्जीले पाएका छन् भने छायांकनमा सुरेश दासको नाम छ भने सम्पादकमा अजित दासको । यसरी संगीत तथा नृत्य विधामा पनि भारतीयकै बाहुल्य रहेको छ ।
चलचित्र विकास बोर्डका सूचना तथा आर्काइभ अधिकृत चिरञ्जीवी गुरागाईं संग्रहालयले फिल्म आफूहरूलाई हस्तान्तरण गरे चाँडोभन्दा चाँडो डिजिटाइज गरेर सबैले हेर्न मिल्ने र यसले धेरै कुराको जवाफ दिन सक्ने बताउँछन् । तर, यसका लागि बोर्डले नारायणहिटीको बाटो कुर्नुको विकल्प छैन ।
‘रिल संग्रहालयको मातहतमा छ । त्यताबाट बोर्डलाई हस्तान्तरण भयो भने हामी डिजिटाइज गर्ने प्रक्रिया सुरु गर्छौँ । यो सम्पूर्ण प्रक्रिया एक महिनामा सकिन्छ । त्यसपछि फिल्मबारे रहेको सबै रहस्य उद्घाटन हुन सक्छन्,’ गुरागाईंले भने । नारायणहिटी संग्रहालयका निर्देशक भेषनारायण दाहालले भने संग्रहालयसँग प्रशस्त पैसा नभएकाले पैसा जम्मा भएपछि डिजिटाइज गर्न दिने जानकारी गराए ।
‘सरकारसँग मागेको पैसा पनि हात परिसकेको छैन । संग्रहालय आफैँसँग पनि पैसा छैन । हुनेबित्तिकै हामी विकास बोर्डलाई काम अगाडि बढाउन आग्रह गर्छौं । यो प्रक्रिया अहिले नै सुरु हुन्छ भनेर भन्न सक्ने अवस्था छैन,’ दाहालले भने ।
बोर्ड वा नारायणहिटी संग्रहालय जसले गरे पनि यो काम हुन्छ नै तर भोलि यो फिल्मले निर्देशकको सवालमा उठेको नयाँ विवादको जवाफ दिन्छ कि दिन्न, त्यसका लागि चैँ अझै केही समय कुर्नुपर्ने देखिएको छ । रिल भेटिँदा मात्र पनि नेपाली फिल्मको इतिहासमा भने गम्भीर काम गर्नुपर्ने यथार्थबोध गराएको छ । किनकि यो फिल्मको नाम ‘सत्य हरिश्चन्द्र’ नभई ‘हरिश्चन्द्र’ मात्र रहेको प्रस्ट भएको छ जबकि हामीले लामो समयदेखि ‘सत्य हरिश्चन्द्र’ लेख्दै आएका छौँ ।
यो पनि
नारायणहिटी दरबारमा भेटियो ‘हरिश्चन्द्र’, तर नेपाली कि हिन्दी ठम्याउन गाह्रो
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया