सिनेमा

कान्स जाँदै सुरक्षा, नेपालबाट ‘लोरी’ र ‘एक मुठ्ठी बादल’ पनि फेस्टिभलमा

इकागज |
जेठ ३, २०७९ मंगलबार ११:५१ बजे

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्त फ्रान्समा हुन गइरहेको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएकी छिन् । उनले सामाजिक सञ्जालमा आफूले अभिनय गरेको बेल्जियन फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छनौट भएको जानकारी दिँदै मंगलबार कान्स प्रस्थान गर्न लागेको जानकारी गराएकी हुन् । सुरक्षाका अनुसार ‘दि एट माउन्टेन्स’ शीर्षकको यो फिल्मको बुधबार कान्समा प्रिमियर हुँदैछ । मनाङमा केही अंश सुटिङ भएको यो फिल्ममा सुरक्षाले पनि अभिनय गरेकी छिन् ।

 यो पटक नेपालबाट लघु फिल्म ‘लोरी’को टिम पनि कान्समा सहभागी हुँदैछ । ‘लोरी’ नेपालबाट मुख्य प्रतिस्पर्धामा अफिसियल्ली छनोट हुने पहिलो फिल्म हो । अविनाशविक्रम शाह निर्देशित फिल्मले १ सय ४० देशका ३५ सय बढी फिल्मबाट उत्कृष्ट ९ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । 

हङकङको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ ले २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । मे १७ देखि सुरु हुने फेस्टिभल २८ मा समापन हुँदैछ । फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ पनि उत्कृष्ट हुने फिल्मलाई पाम डी अर प्रदान गर्ने गरिन्छ । 


यसैगरि, नेपालबाट कान्समा सहभागी हुन ‘एक मुठ्ठी बादल’को निर्माता÷निर्देशक पनि फ्रान्स पुगिसकेका छन् । सहारा शर्मा लिखित तथा निर्देशित यो फिल्मले भारतको फिल्म बजारमा उत्कृष्ट हुँदै कान्समा पिचिङको मौका पाएको थियो ।

यो फिल्मले नेदरल्यान्डको रोट्रेड्याम ल्याबमा पनि सहभागी हुने मौका पाएको थियो । कान्समा सहभागी हुन सहारा शर्मा अमेरिकाको न्युयोर्कबाट कान्स पुगिसकेको र नेपालबाट निर्माता अभिमन्यू दीक्षित पनि कान्सतिर लागिसकेको फिल्मकी निर्माता ऋचा शर्माले जानकारी गराएकी छिन् । 

 


Author

थप समाचार
x