सिनेमा

कान्समा नेपालको बोहनी, अबिनाशको ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड

इकागज |
जेठ १५, २०७९ आइतबार ९:२१ बजे

पाम डी अर विजेता जियाइंग चेनका साथ अबिनाश

काठमाडौँ - नेपालबाट पहिलो पल्ट कान्स फिल्म फेस्टिभलमा  अफिसियिल्ली छानिएर इतिहास बनाएको अबिनाश विक्रम शाह निर्देशित ‘लोरी’ले पुरस्कार जितेर अर्को इतिहास बनाएको छ । सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा रहेको फिल्मले जुरीबाट स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको हो । फेस्टिभलको अन्तिम दिन प्रदर्शन भएको फिल्मले स्ट्यान्डिंग ओभेसन पाएको छायांकार उज्जव बस्ताकोटीले बताए । 

‘अन्तिम दिन पब्लिकका लागि स्क्रिनिङ थियो । फिल्म सकिएपछि दर्शकबाट पाएको प्रतिक्रिया दामी थियो,’कान्समा रहेका छायांकार उज्जवल बस्ताकोटीले इकागजसँग कुरा गर्दै भने, ‘कलाकारदेखि प्रािवधिकसम्म सबको कामको तारिफ भएको थियो ।’


‘लोरी’ले १ सय ४० देशबाट सहभागी भएको ३५०७ फिल्मबाट उत्कृष्ट ९ मा ठाउँ बनाएको थियो । १४ मिनेट लामो फिल्मले नेपालको पित्तृसत्तात्मक समाजमा विद्यामान कुरीतिलाई उजागर गरेको छ ।

निर्देशक अबिनाश विक्रम शाहले नेपालमा विद्यमान बालविवाहलाई कथाको विषय बनाएका थिए । १२ वर्षकी बालिकालाई आमाले शान्त बनाउन लोरी सुनाइरहेकी छिन् । तर लोरी सकिएर बालिका यथार्थमा आउँछिन्, त्यहाँको परिस्थिति बेग्लै छ । मुख्यतया तीन कलाकारको अभिनय रहेको फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता शाहको अभिनय रहेको छ । कान्समा तीनै जना अनुपस्थित थिए । 

शनिबार साँझ सकिएको कान्सको ७५ औँ संस्करणमा सर्ट फिल्मतर्फको पाम डी अर चिनियाँ फिल्म ‘दि वाटर मरमर्स’ले जितेको थियो । यो फिल्मलाई  ंजियाइंग चेनले  निर्देशन गरेकी थिइन् । ‘लोरी’बाहेक अबिनाशको अर्को फिल्म ‘एलिफेन्ट इन दि फग’ पनि कान्सको मेन्टरसिप कार्यक्रममा छनोट भएको थियो । अन्डरग्राउन्ड टाकिजले निर्माण गर्ने यो फिल्मले ट्रान्सजेन्डरको कथा पेश गर्छ ।


Author

थप समाचार
x