सिनेमा

चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले

इकागज |
जेठ २१, २०७९ शनिबार १८:११ बजे

फाइल फोटो

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । 

आज नेपाल चलचित्र संघको ४७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उनले चलचित्रकर्मी देशलाई चिनाउने एक धरोहर भएकाले उनीहरुलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैँ लागि पर्ने बताए । 


मन्त्री आलेले चलचित्रकर्मी लाई आफ्ना चलचित्र छायांकन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि उनले चलचित्रकर्मीलाई आग्रह गरे । 

चलचित्र क्षेत्रलाई डिजिटल युगमा अगाडि बढाउनमा चलचित्र संघले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मन्त्री आलेले खुलेर संघको प्रशंसासमेत गरेका थिए । 

उनले छिमेकी मुलुक भारतका कलाकारलाई मन्त्री स्तरको सम्मान दिइने गरेको र नेपालका कलाकारले विदेश जाँदा विमास्थलमा भिआइपी कक्षसमेत नपाउने गरेको गुनासो आएकाले मन्त्रालयकातर्फबाट कलाकारलाई विशिष्ठ कक्ष उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा पासका लागि पत्र लेखी पठाउने समेत जानकारी गराए । 

`कोभिडका कारण चलचित्रकर्मीले विद्युत् महसुलदेखि विभिन्न समस्या भोग्नुपरेको छ, त्यो समस्या समाधानका लागि म पहल गर्नेछु`, मन्त्री आलेले भने, `कोभिडका कारण चलचित्रकर्मीले भोग्नुपरेका समस्या समाधानका लागि मसहित मेरो मन्त्रालय तयार छ ।`

उनले सुदूरपश्चिमका खप्तड, बडिकेदार, बडिमालिका, जोरायलको छहरा, छतिवन ताललगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गएर आफ्ना चलचित्र छायांकन गरि दिनसमेत आग्रह गरे । 

उक्त कार्यक्रममा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिने वरिष्ठ नायक तथा चलचित्र निर्मातालाई प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो । रासस
 


Author

थप समाचार
x