सिनेमा

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालको रिपार्ट कार्ड, २ दर्जन कामको सुरुवात गरेको दाबी

इकागज |
जेठ २२, २०७९ आइतबार १२:१७ बजे

काठमाडौँ -  शुक्रबारबाट पदावधि सकिएर निवृत्त भएको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले आफ्नो दुई वर्षे कार्यकालमा उपलब्धिमुलक कार्यक्रमको सुरुवात गरेको जानकारी गराएका छन् । उनले आफू गरेका कामको सूची बनाउँदै दुई वर्षे कार्यकाललाई कोभिड १९को महामारीले असर गरेको भए पनि विषम परिस्थितिमा पनि नेपाली चलचित्रलाई दीर्घकालीन हित गर्ने कार्यक्रमको थालनी गरेको दाबी गरेका हुन् ।

अध्यक्षको रुपमा बिदा हुनुअघि उनले इकागजसँग कुरा गर्दै आफ्नो कार्यकालामा स्टोरी बैंक, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा हातेमालो, प्लस टु तहमा नेपाली सिनेकोको पढाइ, काभ्रेको साँगामा इन्डोर स्टुडियोको सुरुवात, बाल चलचित्र समितिको गठन आदिको सुरुवात हुन्लाई सही थालनीको रुपमा लिएको बताएका छन् । 


‘मेरो कार्यकालको लगभग १६÷१७ महिना लकडाउन र बन्दाबन्दीमै बित्यो । हामीले देशभरि चलचित्र सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अवस्था रहेन तैपनि अनुकुल समयमा त्यस्ता कार्यक्रमलाई पनि अगाडि बढाउदै नीतिगत रुपमा चलचित्र क्षेत्रलाई दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विभिन्न योजनाहरुलाई बोर्ड मार्फत स्थापित गर्न सफल भएका छौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा हामीले स्थापित गरेको कार्यक्रम र योजनाहरुले आगामी दिनमा चलचित्र क्षेत्रलाई अझै उचाइमा पु¥याउने छ भन्नेमा म विश्वस्त छु,’ उनले इकागजसँगको कुराकानीमा बताए । 

बोर्ड अध्यक्ष दाहालले चलचित्र विकास बोर्डमा पटकथाको संकलनका लागि भन्दै स्टोरी बैंकको अवधारणा लागू गरेका छन् । स्टोरी बैंकले मौलिक तथा कलात्मक चलचित्रलाई बोर्डले पुरस्कृत गर्ने र निर्माणमा सघाउने उद्देश्य राखेको छ । अध्यक्ष दाहालले यसले मौलिक चलचित्र लेखनलाई प्रात्साहित गर्ने र फिल्म निर्माणमा सरकार पनि अप्रत्यक्ष रुपमा संलग्न हुने हुनाले यसको दूरगामी महत्व रहेको बताए । 

यसैगरि बोर्डले विदेशी फिल्म फेस्टिभलमा छनौट हुने फिल्म र फिल्मकर्मीलाई पनि आर्थिक सहायताको व्यवस्था गरेको छ । बोर्ड अध्यक्ष दाहालले फिल्मकर्मीसँग विदेशका फिल्म फेस्टिभलमा सहभागी हुन पैसाको नभएर जान नपाएको अवस्था देखेकाले बोर्डले विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा जाने फिल्मकर्मीलाई टिकट खर्च आदि दिने व्यवस्था सुरु गरेको बताए । 

बोर्ड अध्यक्ष दाहालले बालबालिकालाई नेपाली फिल्मप्रति आकर्षित गराउन बाल चलचित्र समिति गठन गरी काम सुरु गरेको र यसले भविष्यका दर्शक र फिल्मकर्मी तयार गर्ने लक्ष्य राखेको बताएका छन् । नीतिगत निर्णयकै कुरा गर्दा उनले चलचित्र लगानी कोषको मोडालिटी बनाउने, प्रोजेक्ट तथा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात, अध्ययन अनुसन्धान शाखाको स्थापना, विपदकोष स्थापना, सामाजिक सुरक्षा योजना आदि योजना अगाडि बढाएको जानकारी गराएका छन् । उनकै पहलमा प्लस टु तहमा नेपाली सिनेमाको पढाइ पनि सुरु भएको छ र यो माध्यमिक तहसम्म जाने कुरा कार्यान्वयनको चरणमा रहेको छ । 

अध्यक्ष दाहालले कोभिडका कारण डेढ वर्ष हल खुलाउन दौडँदैमा बितेको र बाँकी समय चलचित्रकर्मीलाई यो पेसाबाट विमुख नहुन् भनेर राहतका लागि सक्रिय रहँदा सोचेका धेरै काम गर्न नसकेको बताएका छन् । उनले आफूले चाहेर पनि चलचित्र विधेयक र राष्ट्रिय चलचित्र नीति आफ्नो कार्यकालमा लागू गर्न नसकेको बताएका छन् ।

‘ चलचित्र विधेयक अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गर्न कानुन मन्त्रालय जाने तयारीमा रहेको छ । कानुनबाट फर्केर सञ्चारमा आएपछि यो लागू हुन्छ । चलचित्र नीति पनि यसैगरि मन्त्रालयमा अड्किएको छ । मेरो कार्यकालमा यी दुई काम गर्न नसकेकोमा भने दुःख लागेको छ,’ दाहालले इकागजसँग भने । 
सञ्चार मन्त्रालयको छायाँमा रहेको चलचित्र विकास बोर्ड स्वायत्त नभएसम्म खास काम गर्न नसकिने गुनासो पूर्व बोर्ड अध्यक्षहरूको रहने गरेको छ । दाहाल पनि स्वायत्ततासँगै अध्यक्षको २ वर्षे कार्यकाल पनि नीतिगत कामका लागि पर्याप्त नहुने धारणा राख्छन् । योबाहेक पेसागत संघसंस्थाले अनावश्यक राजनीति पनि यो क्षेत्रको विकासका लागि बाधक रहेको उनको अनुभव छ । 


Author

थप समाचार
x