सिनेमा

माओवादी द्वन्द्वको घाउ कोट्याउँदै ‘दोख’ टिजर

इकागज |
जेठ २३, २०७९ सोमबार १०:२६ बजे

काठमाडौँ-  असार २४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘दोख’ले टिजर सार्वजनिक गरेको छ । अनुप बरालको निर्देशन रहेको फिल्मको टिजरले १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई पिताको आँखाबाट प्रस्तुत गर्ने जमर्को गरेको छ । पिताको भूमिकामा लोकमणि सापकोटाले मर्मस्पर्शी अभिनय गरेका छन् । डेढ मिनेट लामो टिजरले द्वन्द्वले जवान छोरा गुमाएको पीडालाई प्रस्तुत गरेको छ ।  

सामुदायिक वनको मुद्दालाई लिएर दुई समुदाय भिडेपछि सुरु हुने कथामा माओवादी द्वन्द्व पृष्ठभूमिमा रहेको छ । फुटबल खेललाई माध्यम बनाएर वन कब्जा गर्ने रणनीतिमा उत्पन्न हुने परिस्थिति फिल्मको मुख्य कथा हो । राजन कठैत लिखित फिल्मको टिजरमा मनिष निरौलाले पनि ठाउँ पाएका छन् । 


‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

शैलेन्द्र डी। कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको भूमिकामा छन् । चलचित्रको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र डीसीएन र काठमाडौँबाहिर एफडी कम्पनीले लिएको छ ।


Author

थप समाचार
x