दीपाश्री भन्छिन् - ‘छक्का पञ्जा ४’ हैन, अर्कै फिल्म बनाउन लागेको हो
काठमाडौँ - निर्देशक हेमराज बीसीलाई लिएर ‘छक्का पञ्जा ४’ बनाउन लागेको खबरलाई दीपाश्री निरौलाले खण्डन गरेकी छिन् । उनले मंगलबार बेलुकीसम्म बन्न लागेको फिल्मको नाम सार्वजनिक गर्ने जानकारी गराएकी छिन् ।
सोमबार ‘छक्का पञ्जा ४’ का लागि दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले हेमराज बीसीलाई लिएर फ्लोरमा जान लागेको समाचार आएका थिए । निर्देशक दीपाश्री निरौलाले आफूहरूले गर्न लागेको फिल्मको निर्देशक हेमराज बीसी भए पनि त्यो फिल्म ‘छक्का पञ्जा ४’ नभएको बताएकी छिन् ।
उनले इकागजसँग कुरा गर्दै भनिन्, ‘नाम हामी बेलुकीसम्म सार्वजनिक गर्छौैँ । तर यो ‘छक्का पञ्जा ४’ चाहिँ होइन । अनेक नाम आएको देखेर म आफैँ चकित परिरहेकी छु ।’ समाचारमा कतै कतै फिल्मको नाम ‘माग्ने राजा’ रहने दाबी रहेको छ । दीपाश्रीले यही नाम वा अर्को नाम भन्ने कुरा बेलुकीसम्म तय गर्ने बताएकी छिन् ।
दीपक–दीपाको समूहले लामो समयदेखि ‘छक्का पञ्जा ४’ बनाउने बताउँदै आएको थियो । केही दिनअघि सम्म भारतीय फिल्म प्रदर्शनको समयमा हलमा यसको टिजर पनि बज्ने गरेको थियो । दीपाश्री निरौलाले छोटो समयमा यसको सुटिङ सम्भव नभएकाले अर्कै फिल्म गर्न लागेको बताइन् ।
‘यसको क्यानभास अलि ठूलो भयो । तत्काल सुटिङ गर्न सम्भव नभए पछि यो थाँती राखेर नयाँ प्रोजेक्ट गर्न लागेका हौँ,’ उनले भनिन् । हेमराज बीसीले निर्देशन गर्ने यो फिल्ममा कलाकारको टोली भने ‘छक्का पञ्जा’कै हुनेछ । दीपाश्रीका अनुसार फिल्ममा अहिलेसम्म दीपक–दीपा, केदार घिमिरे र निर्मल शर्मा तय छन् भने केही दिनमै बाँकी कलाकार तय गरिने उनले जानकारी गराएकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया