सिनेमा

‘झिंगेदाउ’ मा कम्मर मर्काउँदै केकी र आँचल

इकागज |
जेठ २६, २०७९ बिहीबार ११:४८ बजे

काठमाडौँ-  भदौ ३१ मा प्रदर्शन हुने घोषणा गरेको फिल्म ‘झिंगे दाउ’ले बाँकी रहेको गीतको सुटिङ गरेको छ । गीतको ललितपुरस्थित श्रीकाली चौरमा सुटिङ गरिएको हो । दुई दिन लगाएर सक्ने भनिएको गीत पानी परेर डिस्टर्ब भएपछि तीन दिन लगाएर खिच्न लागिएको हो । निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार बिहीबार गीतको सुटिङ सकिनेछ । 

ज्ञानेन्द्र देउजाका अनुसार एक गीत बाहेकको छायांकन कोरोना महामारी अगाडि नै सकिएको थियो । निर्देशक देउजाले गीतबाहेकको पोष्ट–प्रोडक्सनको काम पनि सकाइ सकेका छन् । बुधबार सिनेमाको इन्डक्ल्याप राखिएको थियो । तर, बर्षाका कारण सिनेमाको छायांकन बिहीबार अर्थात् आजमात्रै सकिने भएको छ । निर्देशक देउजाले एउटा गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताए ।


सिनेमाको कथाको मागअनुसार सम्झौता नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भएको उनको भनाइ थियो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा सिनेमाको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । 

सिनेमामा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा सिनेमाका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । गीतमा नाचिरहेका कलाकारले गीत निकै मीठो भएको हुँदा भिडियोमा पनि सोहीअनुसार मेहनत गरिरहेको सुनाए । ‘ए माया तिमीविना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।

कपनगढी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ’झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । सिनेमामा सुलभ, समीक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।

 


Author

थप समाचार
x