सिनेमा

विशिष्ट फिल्मकर्मीलाई पनि अब विमानस्थलमा भीआईपी कक्ष

इकागज |
जेठ २६, २०७९ बिहीबार १२:५७ बजे

काठमाडौँ - नेपाल सरकारले विशिष्ठ परिचय प्राप्त फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै  सोेही पत्रअनुसार फिल्मकर्मीका लागि भीआइपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेको हो । 

चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते नेपाल सरकारलाई पत्र लेखी विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा यो सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो अनुरोधलाई सोमबार कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई समेत यसको जानकारी गराएको हो ।


चलचित्र विकास बोर्डले विभिन्न समयमा गरी अहिलेसम्म ४४ जना फिल्मकर्मीलाई योगदानको आधारमा विशिष्ट चलचित्रकर्मी परिचय बाँडेको छ । तर सरकारले नै यसरी बाँडेको परिचयपत्रको खास उपादेयता नदेखिएको भन्दै आलोचना भएको थियो । सरकारबाट पाउने अन्य सुविधासहित विमानस्थलमा पनि भीआईपी कक्ष प्रयोग गर्न पाउनुपर्ने चलचित्रकर्मीको माग रहँदै आएको थियो । बोर्डले थप ६० जनालाई यो परिचयपत्र बाँड्ने तयारी गरिरहेको छ ।

अभिनेता शिव श्रेष्ठले सरकारको यो निर्णयको स्वागत गरेका छन् । उनले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई व्यक्तिगत रुपमा धन्यवाद दिँदै आफूहरू माग सम्बोधन भएकोमा फिल्मकर्मी पनि बधाइको हकदार भएको बताएका छन् । 


Author

थप समाचार
x