सिनेमा

पोस्टर र गीतसहित आयो ‘वेलकम टु हेम्जाकोट’

इकागज |
जेठ २७, २०७९ शुक्रबार ११:५९ बजे

काठमाडौं– युवा निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको नयाँ नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही कात्तिक २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । कास्की जिल्लाको हेम्जाकोटमा छायांकन गरिएको यो हास्य प्रधान फिल्मले काठमाडौंमा आयोजित एक समारोहमा पहिलो गीत तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति  घोषणा गरेको हो ।

आइटम नम्बरको रुपमा तयार पारिएको गायिका ईन्दिरा जोशी तथा गायक उदेश श्रेष्ठको स्वरको युगल गीत ‘मायाको रेडियो’ सार्वजनिक गरिएको हो । उक्त गीतमा राज सागरको संगीत तथा प्रज्वल अधिकारीका शब्दहरु सुन्न सकिन्छ । गम्भिर विष्टद्वारा कोरियोग्राफी गरिएको उक्त गीतमा अभिनेत्री अलिशा शर्मा तथा फिल्मका मुख्य अभिनेता बिनोद न्यौपानेलाई फिचर गरिएको छ ।


समारोहमा फिल्मका निर्देशक सरोज पौडेलले फिल्ममा नेपालको ग्रामिण जीवनशैलीका साथै हेम्जाकोटलाई पर्यटकीय गन्तब्यको रुपमा थप विकसित गर्ने उद्देश्य लिइएको छ । कोरोना भाइरसको संक्रमणको क्रममै छायांकन गरिएको यो फिल्म वास्तवमै रमाइलो बनेको अभिनेता विनोद न्यौपानेले बताए  । ‘कोरोनाकै कारण छायांकनमा केही समस्या पनि भयो, अभिनेता न्यौपानेले भने, ‘फिल्मको अधिकांश छायांकन हेम्जाकोटमै गरिएकाले टिमका सदस्यले परिवारका सदस्य झैं रमाएर काम गरेको स्मरण गरे ।’

यो फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दिप सिग्देल, दिनेश खड्का, प्रेविल क“डेल, अम्बिका तामाङ, सुजाइरा कार्की, अस्मिता पन्त, विशाल पहाडी, शारदा गिरी तथा दिवंगत जयनन्द लामाले अभिनय गरेका छन् । दीर्घ गुरुङद्वारा छायांकन गरिएको यो फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । राज सागरद्वारा संगीतबद्ध यो फिल्मका गीतहरुमा गम्भिर विष्ट तथा कविराज गहतराजको कोरियोग्राफी छ । तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

 


Author

थप समाचार
x