दुई हप्तामा ‘कबड्डी ४’को ग्रस १८ करोड, निर्माताको खल्तीमा कति पर्छ ?
काठमाडौँ - रिलिजको पहिलो दिन नै तीन करोड बढी व्यापार गरेको दाबी गरिएको फिल्मले दोस्रो हप्तासम्ममा १८ करोड ७८ लाखको व्यापार गरेको निर्माताले दाबी गरेका छन् । शनिबार फिल्मको दुई हप्ताको कमाइ सार्वजनिक गर्दै निर्माण टिमले फिल्मले दुई हप्तामै फिल्मले रेकर्ड ब्रेकिङ कमाइ गरेको जनाएको छ । यसअघि ‘छक्का पञ्जा’ सिरिजका फिल्मले हलबाट नउत्रिँदासम्म १६ करोड हाराहारी कमाइ गरेको आँकडा सार्वजनिक भएका थिए ।
वितरकहरूका अनुसार फिल्मले काठमाडौँबाट सालाखाला १० करोड र काठमाडौँबाहिरबाट ८ करोड कमाइ गरेको दाबी गरेका छन् । अघिल्लो हप्ता नै फिल्मले १७ करोड कमाएको दाबीसहितका समाचार आए पनि निर्माण टिमले भने शनिबार मात्र यो तथ्यांक सच्याउँदै १८ करोड ग्रसको आँकडा सार्वजनिक गरेको हो ।
शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले तेस्रो हप्तामा पनि उपलब्ध सोमा हाउसफुल दर्शक पाइरहेको छ । भारतीय र हलिउड फिल्मबाट खासै थ्रेट खप्नु नगरेको फिल्मले यही गतिमा व्यापार गरे हलबाट मात्र २५ करोड हाराहारी व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।
निर्माताको भागमा कति आउँछ ?
निर्माता, प्रदर्शक र वितरकको सेयर बाँडफाँडको अनुपात हेर्ने हो भने १८ करोड ७८ लाख ग्रसबाट निर्माताको भागमा ७ करोड हाराहारी रकम पर्न पाउँछ । विद्यमान व्यवस्था अनुसार फिल्मले पहिलो हप्ता हलबाट ५० प्रतिशत रकम पाउँछन् भने दोस्रो हप्ता ४५ प्रतिशत । तेस्रो हप्ताबाट भने निर्माताको भागमा ३७ प्रतिशत रकम मात्र आउँछ ।
यो फिल्मबाट दुई वितरकले ५–५ गरी १० प्रतिशत रकम पाउँछन् । भीपीसी चार्ज आदि खर्च कटौती गरेर हिसाब गर्ने हो औसतमा निर्माताको हातमा कुल ग्रसको ३५ प्रतिशत रकम पर्न आउँछ । १८ करोड ७८ लाखको कुल कमाइलाई ३५ प्रतिशतमा हिसाब गर्ने हो भने सबै खर्च कटाएर निर्माताको हातमा ६ करोड ९५ लाख रुपैँया पर्न जान्छ ।
यो फिल्मले प्रदर्शन अगावै ३ करोड हाराहारी सुरक्षित गरिसकेको आँकडा आएका थिए । यस हिसाबले निर्माताले १० करोड हाराहारी रकम सुरक्षित गरिसकेका छन् । निर्माताले एउटै फिल्मबाट यत्तिको कमाइ गरेको यो पहिलो अवसर हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया