सिनेमा

‘कबड्डी ४’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म

इकागज |
जेठ ३१, २०७९ मंगलबार ११:२३ बजे

काठमाडौँ - ‘कबड्डी ४’ नेपालको सर्वाधिक कमाउने फिल्म बनेको छ । निर्माताहरूको दाबी पत्याउने हो भने फिल्मले सोमबारसम्म २० करोड ग्रस गरेको छ । यसअघि ‘छक्का पञ्जा ३’ ले २० करोड हाराहारी नै व्यापार गरेका निर्माता दीपकराज गिरीले दाबी गर्दै आएका थिए ।

शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले तेस्रो हप्तामा प्रवेश गरेसँगै २० करोड ग्रस गरेको विवरण निर्माताले उपलब्ध गराएका हुन् । ​दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ आदि कलाकार अभीनित फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म डायस्पोराको बजारमा पनि उत्तिकै कमाइ गरिरहेको छ । अष्ट्रेलियामा मात्र १ करोड बढी कमाइ गरेको जानकारी आएको छ भने जापानमा मात्र फिल्मले ७० लाखको व्यापार गरेको चर्चा छ । योसँगै फिल्म युरोपका ३० बढी सहरमा प्रदर्शन हुँदैछ ।


यता यसको प्रदर्शन रोक्नुपर्ने माग राख्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दर्ता भएको छ । ​बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार  चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका हुन् । 


Author

थप समाचार
x