सिनेमा

‘हल्कारा’सँगै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३  देखि सुरु

इकागज |
असार ४, २०७९ शनिबार ११:१३ बजे

काठमाडौँ- अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२  यहि जुन महिनाको २३ देखि २६ सम्म भौतिक रुपमा र अनलाइन (भर्चुअल) बाट हुने भएको छ । महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८  वटा चलचित्रहरु प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन्।

जुनको २३ तारिख बिहीबार साँझ पुरानो ग्रीन्बेल्ट थिएटरमा बिक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्कारा’को भौतिक प्रदर्शनबाट  महोत्सवको उद्घाटन हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिख आइतबार साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’बाट सोही थियटरमा भौतिक रुपमै हुने जनाइएको छ।


भौतिक प्रदर्शनी बाहेक महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत चलचित्रहरु हेर्न सकिनेछ। विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन भने स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न  डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज अप प्रदर्शन गरिने छ।

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ।  महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसंग पनि ‘भर्चुअल’ संवाद गरिने भएको छ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ।

चलचित्र महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ। निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछन्।  नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर  र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्।

महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।  सन् २०१७ देखि गैर–नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर  यो चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ। कार्यक्रमबारे थप जानकारी संस्थाका सामाजिक संजाल तथा वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 


Author

थप समाचार
x